दक्षिण अमेरिकी मुलुक भेनेजुयलाको राष्ट्रिय सभामा विपक्षी नेता हुवान गुवाइदोले बुधबार सरकारविरोधी एक प्रदर्शन क्रममा आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरे।
त्यसको केही घन्टा नबित्दै शक्ति राष्ट्र अमेरिकाले ३५ वर्षीय हुवानलाई राष्ट्रपतिको वैधानिकता दियो। अमेरिकासँगै ब्राजिल, कोलम्बिया, चिली, पेरू, इक्वेडर, अर्जेन्टिना र पाराग्वे पनि हुवानकै पक्षमा उभिए।
अचानक विकसित भएको यो राजनीतिक घटनापछि वर्षौंदेखि आर्थिक संकटसँग जुधिरहेको भेनेजुयलामा राजनीतिक अनिश्चितता पनि थपिएको छ। दोस्रो कार्यकालका लागि हालै सपथ लिएका राष्ट्रपति निकोलस मडुरोविरूद्ध केही दिनयता लगातार रूपमा प्रदर्शन भइरहेको थियो। प्रदर्शनका क्रममा १०० बढी ज्यान गइसकेको छ।
भेनेजुयलामा विकसित पछिल्लो राजनीतिक विकासक्रमबारे विश्वका देशहरू दुई खेमामा विभाजित छन्। रूस र उसको गठबन्धन देशले मडुरोलाई समर्थन गर्दै हस्तक्षेप नगर्न अमेरिकालाई भनिरहेका छन्।
राजनीतिक विश्लेषकहरूले भेनेजुयलाको राजनीतिक भविष्य के हुन्छ? भन्ने त्यहाँको सेनाले कसलाई समर्थन गर्छ भन्नेमा भर पर्ने बताएका छन्।
सात समुद्र पारी भइरहेको यो राजनीतिक घटनाक्रममा शुक्रबारदेखि नेपाल पनि जोडिएको छ। शितयुद्धकालमा जस्तै अमेरिका र रूसको क्याम्पमा देशहरू विभाजित भइरहेका बेला सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले विज्ञप्ति जारी गर्दै अमेरिकी कदमको कडा शब्दमा भत्सर्ना गरेका छन् भने मडुरोको पक्षमा ऐक्यवद्धता जनाएका छन्।
‘भेनेजुयलाका जनता, राष्ट्रको सार्वभौमसत्ता र चुनावबाट निर्वाचित वैधानिक राष्ट्रपतिका पक्षमा नेकपाले यो विज्ञप्ति जारी गरेको छ,’ दाहालको विज्ञप्तिमा भनिएको छ, ‘जनतालाई विभाजित गरी प्रजातन्त्र, सार्वभौमसत्ता र शान्तिलाई चुनौती दिई हिंसा बढाउने मनसायसहित भेनेजुयलाको आन्तरिक मामिलामा अमेरिका र उसका गठबन्धन राष्ट्रले गरेको हस्तक्षेपको भत्सर्ना गर्दछ।’
दाहालले हुवान गुवाइदोलाई मान्यता दिने अमेरिकी कदम मडुरोमाथिको ग्रान्ड डिजाइन भएको उल्लेख गरेका छन्।
‘आन्तरिक मामिलामाथिको यो हस्तक्षेप र साम्राज्यवादी कुको प्रयास अस्वीकार्य छ,’ दाहालले भनेका छन्, ‘अमेरिकाले गत दशकदेखि आर्थिक नाकाबन्दी लगाई सैनिक हस्तक्षेपको डर देखाएर भेनेजुयलामा अस्तव्यस्तता ल्याउन प्रयास गरिरहेको छ। यो संयुक्त राष्ट्र संघको बडापत्र र शान्तिपूर्ण सहअस्तित्वमाथि गम्भीर चुनौती हो।’
दाहालले अमेरिका लगायत अन्य राष्ट्रलाई अहस्तक्षेप, राष्ट्रिय सार्वभौमता र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तलाई सम्मान गर्न आग्रह गरेका छन्।
विज्ञप्तिमा दाहालले संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायलाई सार्वभौमसत्ताको रक्षा गर्ने भेनेजुयलाका जनताको कदम साथ दिन पनि आह्वान गरेका छन्।
युनाइटेड सोसलिस्ट पार्टी अफ भेनेजुयलाका नेता मडुरो सन् २०१३ मा सत्तामा आएका थिए। लोकप्रिय कम्युनिष्ट नेता ह्युगो चाभेजले क्यान्सरपीडित भएपछि मडुरोलाई उत्तराधिकारी बनाएका थिए।
त्यतिबेला विद्यार्थी नेता रहेका हुवानले मडुरोलाई सत्ता सुम्पने कदमको विरोध गरेका थिए। मडुरो राष्ट्रपति भएपछि गरिएको संसदीय चुनावमा विपक्षी दलहरूले बहुमत ल्याएपछि उनले घोषणामार्फत् संविधान सभा बनाएका थिए।
सत्ता सञ्चालनबारे विपक्षीहरूसँग खटपट भएपछि मडुरोले संविधान सभा चुनावको घोषणा गरेका थिए।
विपक्षीहरूले बहिष्कार गरेको सो चुनावमा मडुरोनिकटहरूले मात्र उम्मेदवारी दिएका थिए। पछि उक्त संविधान सभाले संसदीय अधिकार पनि आफूसँगै रहेको घोषणा गरेको थियो।
गत वर्ष मे २० मा भएको राष्ट्रपतीय चुनावमा पनि मडुरोले मुख्य विपक्षी नेताहरूलाई उम्मेदवारी दिन रोक लगाएका थिए। सो चुनाव धाँधली गरेर मडुरोले जितेको विपक्षीको आरोप छ।
रूसको लयमा लय मिलाउँदै नेकपा अध्यक्ष दाहालले विज्ञप्ति निकालेपछि भेनेजुयलाबारे नेपाल सरकारले नै आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने दबाब आएको कूटनीतिज्ञले बताएका छन्।
‘उहाँले जारी गरेको विज्ञप्तिले सरकारको धारणा भन्दैन। तर सत्तारूढ दलको अध्यक्षले विज्ञप्ति निकालिसकेपछि योबारे धारणा सार्वजनिक गर्न सोही पार्टीको सरकारलाई दबाब हुन्छ,’ परराष्ट्रविद् डाक्टर भेषबहादुर थापाले सेतोपाटीसँग भने, ‘हेरौं, सरकारले के धारणा राख्छ।’
सरकार प्रवक्ता सञ्चार तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले दाहालको विज्ञप्तिले पार्टीको मात्र धारणा समेटेको बताए।
‘आधारभूत रूपमा असंलग्न राष्ट्रका नाताले कुनै देशको आन्तरिक मुद्दा हस्तक्षेप गर्नु हुन्न भन्ने नै हो,’ मन्त्री बाँस्कोटाले भने, ‘अध्यक्षज्यूले के शब्द राख्नुभएको मैले हेरेको छैन। सरकारले यसबारे अहिले ठोस धारणा बनाएको छैन।’