भनिन्छ, राजनीति क्रुर हुन्छ।
एकसे एक शक्तिशालीलाई पनि यसले बीच सडकमा ल्याएर पछार्ने तागत राख्छ।
२०६५ सालमा यस्तै भयो। त्यसको ४ वर्षअघि सेनाको आडमा राजा ज्ञानेन्द्रले ‘कु’मार्फत शक्ति हत्याएका थिए।
उनले नेताहरुलाई थुनामा हाले, सञ्चारगृहमा सेना पठाएर सम्भावित विरोधको मुख थुने। नागरिकका इन्टरनेट र फोन सम्पर्क काटे। समर्थकलाई सडकमा उतारे। दिपावली गर्न लगाए।
उनको शासन जसै सैनिक बुट बजार्दै आयो, त्यसको कसैले विरोध गरेन।
उनले निष्कन्टक शासन सुुरु गरे। कथित स्थानीय निर्वाचन समेत गराएर आफ्नो स्वेच्छाचारी शासनलाई प्रजातन्त्रको बुच्चे जामा पनि लगाइदिए।
त्यही शाही शासनको हिमायतीका रुपमा राजेन्द्र लिङदेन झापा जिल्ला विकास समितिको निर्वाचित सभापति बने।
झापाका कृष्णप्रसाद सिटौला लिङदेनविरुद्ध उत्रिएनन्। लिङदेनविरुद्द उत्रिन उनको हैसियतले दिँदैन थियो।
उनी आफ्ना सभापति गिरिजाप्रसाद कोइरालाको प्रमुख सारथीका रुपमा राजा ज्ञानेन्द्रको शासनविरुद्द काममा लागे।
भारतलाई विश्वासमा लिएर मुलुकभित्र राजाविरुद्ध माओवादी, एमाले लगायतका राजनीतिक शक्तिलाई एक ठाँउमा ल्याउन कोइरालाको ‘दायाँ हात’का रुपमा सहयोग गरे। १२ बुँदे सहमति निर्माण गर्न भूमिका खेले।
त्यही १२ बुँदे सहमतिमा टेकेर नेपालमा लोकतन्त्र स्थापनाका लागि दोस्रो जनआन्दोलन भयो। राजा अन्ततः जनतासँग झुके। पहिलो संविधान सभामा गणतन्त्रवादीकै बहुमत आयो। राजा चाहिन्छ भन्ने राप्रपा(नेपाल) ले संसदमा समानुपातिकतर्फ जम्मा ४ सिट ल्यायो।
पहिलो बैठकमा गृहमन्त्री सिटौलाले राखेको गणतन्त्रको प्रस्तावलाई संविधानसभाले पारित गर्यो।
४ वर्षअघि सर्वशक्तिशाली देखिएका राजाले निरिह भएर गणतन्त्रको घोषणा सुने।
जनताले देख्ने गरी गणतन्त्र कार्यान्वयन हुन ज्ञानेन्द्रले नारायणहिटी छोडनु पथ्र्याे।
त्यही सन्देश लिएर सरकारको प्रतिनिधिका रुपमा ज्ञानेन्द्रलाई भेट्न सिटौला राजदरबार गए।
त्यसको भोलिपल्ट ज्ञानेन्द्रले बिना प्रतिरोध नारायणहिटी छोडे।
सिटौलासँग बदला लिन सक्ने हैसियत ज्ञानेन्द्रले यो जुनीमा सायदै आर्जन गर्लान्।
तर राजनीति र समय यति क्रुर हुन्छ, गणतन्त्र स्थापनाको १० वर्षपछि सिटौलाको राजनीतिक शक्ति छिन्न ज्ञानेन्द्र होइन लिङदेन मैदानमा उत्रिएका छन्।
यसपालि लिङ्देनको ललकार उनले स्वीकार्नै पर्छ। किनभने उनी जनताकहाँ गएका छन्।
र लिङदेनलाई साथ दिएका छन्— गणतन्त्र ल्याउने सिटौलाका सहयात्री एमाले र माओवादीले।
झापा ३ को स्थानीय निर्वाचनको परिणामले देखाउँछ, यहाँ सिटौलाविरुद्ध लिङ्देन एक्लैको केही लाग्दैन।
तर उनलाई जसरी पनि जिताउन र सिटौलालाई हराउन एमालेकै कार्यकर्ता सबैभन्दा सक्रिय भएर लागेका छन्। यो चुनावपछि राप्रपा राष्ट्रिय पार्टी बन्न नसक्ने र त्यसपछि स्वतन्त्र सांसद लिङ्देन एमाले नै प्रवेश गर्ने तर्क उनीहरु गरिरहेका छन्। लिङ्देनलाई जिताउन उत्साहपूर्वक लागेका छन्।
‘एक भोट सूर्य र अर्को भोट गाईलाई दिने हो’, एमाले कार्यकर्ता दधिराम शिवाकोटीले भने, ‘एमाले धेरै भएको ठाउँमा हाम्रो अध्यक्षले त्यसै राप्रपालाई समर्थन गरेका होइनन्। लिङ्देन चुनावपछि स्वतन्त्र सांसद हुन्छन्। अनि एमाले छिर्छन्।’
एमालेको भोट एकोहोरियो भने लिङ्देनले सिटौलालाई सिधै पछार्छन्। स्थानीय चुनावको परिणामले यही भन्छ।
त्यही भएर सिटौला र कांग्रेसले आफ्नो ताकत एमाले र माओवादी मतदातालाई लिङ्देन राजावादी भएको सम्झाउनमा खर्च गरेका छन्। ‘गणतन्त्र ल्याउन भूमिका खेल्ने सिटौलालाई भोट नदिएर कसले राजावादी पक्षधरलाई मत दिन्छ’, भद्रपुर विमलनगरका गिरी थरका एक मतदाताले भने, ‘हामीलाई एमाले र माओवादीको असन्तुष्टिको भोट आउँछ। हाम्रो जित्ने अवस्था छ।’
केही माओवादी कार्यकर्ताले पनि हामीसँग राजावादीलाई मत नदिने बताए।
झापा–३ मा भेटिएका केही माओवादी कार्यकर्ताले सिटौलालाई रोज्ने खुलाए। ‘नेताहरुले तल हेर्दै नहेरी माथि मात्र मिलेर हुन्छ’, भद्रपुर –२ की अधिकारी थरकी एक महिलाले भनिन्, ‘जनता भनेको भेडो हो र! कम्युनिष्ट पनि भन्ने अनि भोट हाल्नचाहिँ पञ्चायत र राजतन्त्रवादीलाई लगाउने।’
अर्का माओवादी समर्थक हल्दीबारीका मदन दंगालले भने, ‘कम्युनिस्टको सबै भोट लिङदेनलाई आउँछ भन्ने छैन। म माओवादी हो। तर समानुपातिकमा पार्टीलाई दिन्छु तर प्रत्यक्षमा के गर्ने अन्यौलमा छु।’
केही एमाले कार्यकर्ताले पनि राजावादी लिङ्देनलाई भोट हाल्ने नहाल्ने अझै निर्णय गरिनसकेको बताए। ‘यहाँ बढी मत एमालेको छ। कति एमाले रिसाएका होलान्’, हल्दीबारी ४ का राम लिम्बुले भने, ‘केन्द्रले निर्णय गरेपनि तल मान्न गाह्रो छ। म पनि दोधारमा छु। समानुपातिकमा एमालेलाई दिन्छु प्रत्यक्षमा थाहा छैन।’
तर हामीले कुरा गरेका बहुसंख्यक एमाले र माओवादी कार्यकर्ताले लिङ्देनलाई भोट दिने बताए। हामी झापा निर्वाचन क्षेत्र नम्बर –३ मा पर्ने सबै नगर र गाँउ घुम्यौं। यो निर्वाचन क्षेत्रमा पर्ने लगभग सबै वडा घुम्यौं।
सेतोपाटीले कुराकानी गरेका ३ सय मतदाता मध्ये १ सय ५९ जनाले लिङ्देनलाई मत दिने बताए। सिटौलालाई १ सय ६ जना मतदाताले रोजे।
तीन सयमध्ये २७ मतदाता अनिर्णित भेटिए। उनीहरुको मत कता जान्छ भन्ने टुङ्गो छैन। त्यस्तै तीन सयमध्ये ८ जनाले समानुपातिकमा आफ्नो दललाई मत दिए पनि प्रत्यक्षमा कसलाई दिने भन्ने निर्णय लिएका छैनन्। यी ८ मध्ये ७ जना एमाले समर्थित मतदाता हुन्।
सिटौलाले गणतन्त्र र राजतन्त्रको कुरा उठाइरहँदा लिङ्देनले भने चुतुर्याइँपूर्वक यी दुबै मुद्दालाई पन्छाएका छन्।
जबकी उनको पार्टीको घोषणा पत्रमै राजतन्त्र पुर्नस्थापना गर्ने उल्लेख छ। उनी स्वंय पनि राजतन्त्रप्रति प्रतिवद्ध व्यक्ति हुन्।
तर उनले राजतन्त्रको मुद्दालाई गौण बनाएका छन
आखिर उनलाई चुनाव जित्न ‘गणतन्त्रवादी’ एमाले र माओवादीको मत चाहिन्छ।
लिङ्देनले सिटौलाई यस्तो रिङमा तान्ने प्रयास गरेका छन्, जहाँ प्रतिस्पर्धा गर्न आफूलाई सजिलो होस्।
लिङ्देन र उनका समर्थक केवल विकासको कुरा गरिरहेका छन्। गणतन्त्र र राजतन्त्रको बहस निरर्थक हो जस्तो गरिरहेका छन्।
यहाँका मतदातालाई पनि विकासकै नारामा धेरै चासो छ।
‘जिल्ला सभापति भएका बेला लिङ्देनले मेची रोड ग्राभेल गरिदियो, राजगढबाट चारकोसे झाडी जंगल वाारिपारी बिर्तामोड जाने बाटो ग्राभेल गरिदियो। मठ मन्दिरमा बनाइदियो,’ कचनकवलका नन्दलाल भट्टराईले भने, ‘ऊ चुनाव हार्दा पनि बाढी आएका बेला सहयोग गर्न आयो।’
‘विकास’ लिङ्देनले जस पाउने मुद्दा मात्र होइन, सटौलाले दोष बेहोर्दै आएको विषय पनि हो।
भद्रपुरलाई राजमार्ग र गाउँलाई भद्रपुरसँग जोड्ने सडक राम्रा बनाउन नसकेकोमा धेरै स्थानीयले सिटौलालाई दोष दिने गरेका छन्।
कांग्रेसकै समर्थक पनि सडकको मुद्दाले सिटौलालाई सताएको स्वीकार्छन्।
‘कृष्ण दाइ राष्ट्रिय नेता हुन्, उनले स्कुलदेखि पुल बनाउन बजेट मिलाएका छन्। स्थानीयका गुनासा सम्बोधन गरेका छन्। कतिपयलाई जागिर दिलाएका छन्’, भद्रपुर–८ मा पसल सञ्चालन गर्ने ढकाल थरका एक मतदाताले भने, ‘तर पनि सडकको हालतमा सुधार नहुँदा उनले गरेका काम ओझेलमा परेका छन्।’
लिङ्देनका समर्थकले सिटौलाविरुद्धको आलोचना तिखो बनाएका छन्। ‘हामीले खानाभन्दा धेरै त धुलो खायौं’, भद्रपुर वडा नं ४ का रेग्मी थरका मतदाताले भने, ‘राजेन्द्र लिङ्देन ८ महिना जिल्ला सभापति हुँदा मात्र पनि सडक ग्राभेल गरे, पिच र बिजुलीको पोल दिने काम गरे।’
भद्रपुर–४का रतन लिम्बुले भने, ‘सिटौलाले व्यक्ति हेर्नुभयो, कतिपयलाई सेना, पुलिसमा जागिर लगाउनुभयो, तर जनतालाई सुविधा दिने केही गर्नुभएन।’
विकासको मुद्दालाई लिएर कांग्रेसकै कतिपय मतदाता रक्षात्मक देखिन्छन्। ‘देखिने काम गरेको भए सिटौलालाई कसैले छुनै सक्दैनथ्यो, तीन पार्टी मिल्दा पनि भारी पथ्र्याे’, वडा नं ५ का ७४ वर्षिय सञ्जेल थरका एक मतदातले भने, ‘पहिलादेखिकै कांग्रेस भएकाले हामी भोट दिन त कांग्रेसमै दिन्छौं।’
विकासबाहेक लिङ्देनलाई कतिपय ठाँउमा जातीय मतको पनि लाभ छ। पाँचथर, तेह्रथुम र ताप्लेजुङलगायत जिल्लाबाट झापा झरेका लिम्बुहरुको ठूलो बस्ती झापा क्षेत्र नम्बर ३ मा पर्छ।
‘लिम्बु नै उठेको छ, भोट उसैलाई दिनु पर्ला’, बिर्तामोड–१० का मनबहादुर लिम्बुले भने, ‘जातको मान्छेलाई भोट दिने सोचेको छु।’ उनले बिर्तामोड– १० मा वडा अध्यक्षमा पनि कांग्रेसका गुरुङलाई भोट दिएका थिए। उक्त वडामा कांग्रेसले जितेको छ।
यी पनि पढ्नुस्:राजा महेन्द्रले बस्ती बसाएको यो वडामा भूपू भारतीय सैनिकको उल्लेख्य उपस्थिति छ। राई लिम्बुको बसोबास रहेको सैनिक बजारमा पनि लिङ्देनको पक्षमा मत आउने अवस्था छ।
यसरी ‘गणतन्त्र वा राजतन्त्र’ भन्ने मुद्दालाई विकासको मुद्दाले ओझेल पार्दा सिटौला अप्ठ्यारोमा परेका छन्।
सिटौला यसरी अप्ठ्यारोमा पर्नुको मुख्य कारण भने गणतन्त्रका ल्याउँदाका सहयात्री नै हुन्। माओवादी र एमालेले दुबैसँग राम्रो सम्बन्ध भएका सिटौलालाई उनीहरुले आफूविरुद्ध राजतन्त्रको वकालत गर्ने पार्टीको महामन्त्रीलाई सघाउँछन् भन्ने रत्तिभर विश्वास थिएन।
त्यस्तो छनक पाएको भए सायद उनी कांग्रेसको समानुपातिक सूचीमै बस्थे।
अरु त के, उनले आफ्नै पार्टीको पूरा साथ पाएनन्।
मुलकभर आफूसँग तालमेल रहेको राप्रपाले झापामा एमाले र माओवादीसँग खुल्लमखुल्ला गठबन्धन गर्दा पनि कांग्रेसले राप्रपासँगको सम्बन्ध तोडेन।
अन्ततः नियतिले गणतन्त्र कार्यान्वयनका एक प्रमुख कर्ता सिटौलालाई राजतन्त्रका एक ‘सामान्य सिपाही’ लिङ्देनसँग आमनेसामने बनाएको छ।
२०६५ सालमा संविधानसभामा गणतन्त्र कार्यान्वयनको प्रस्ताव सिटौला पेश गरेका थिए। त्यसपछि राजाबाट नारायणहिटी दरबार बाहिरिने गेट देखाउन पनि उनै सिटौला पुगेका थिए।
के त्यसको दश वर्षपछि राजतन्त्रका हिमायती लिङ्देनले गणतन्त्र घोषणा गर्ने संसदको गेट सिटौलाका लागि सदालाई बन्द गरिदिनेछन्? राजनीति यति क्रुर पनि हुन सक्छ?
तस्बिरहरू: सन्जिब बगाले