तेत्रा युगमा सीताको स्वयम्वरका लागि विभिन्न देशका राजा, महाराजा, युवराज र वीरपुरुष जनकपुर आए। शिवधनुषमा ताँदो चढाउने वीरसँग सीताको स्वयम्वर गरिदिने राजा जनकको सर्त थियो। धनुषमा ताँदो चढाउन आएका वीर पुरुष एक–एक गर्दै असफल भइरहेका थिए। सीताको मनमा धुकुचुक चलिरहेको थियो—रामले धनुषमा ताँदो लगाउन सक्लान् कि नसक्लान्?
सीताको जन्मभूमि जनकपुरका कतिपय मतदाताको मनमा अहिले यस्तैखाले धुकुचुक छ— ‘दुई शेर’ बीचको चुनावी प्रतिष्पर्धामा कसलाई रोज्ने? धनुषा क्षेत्र नं ३ मा पर्ने जनकपुरबाट प्रतिनिधि सभाका लागि कांग्रेसका विमलेन्द्र निधि र राजपाका राजेन्द्र महतो प्रतिष्पर्धामा छन्।
प्रतिष्पर्धा कतिसम्म छ भने, निधिको पोस्टर टाँसिएका हरेक ठाउँमा महतोको पोस्टर टाँसिएको छ। उत्रै र उस्तैगरी। स्थानीय टेलिभिजनमा विज्ञापनमा पनि उस्तै प्रतिष्पर्धा छ— दुबैको विज्ञापन अघिपछि बज्छ।
‘यहाँ शेर–शेरको लडाइँ छ। निधि जत्तिको कांग्रेसमा वर्चश्व कमाएको मधेसी नेता कोही छैन। अर्कोतर्फ महतो राजपा र मधेस आन्दोलनका अग्रणी हुन्’, जनकपुर १० का अशोक कर्णले भने, ‘दुबै जना संसदमा चाहिन्छ, विडम्बना एक जना हार्ने छन्।’
जनकपुर–७ मा कुटान पिसान मिल चलाउने ४७ वर्षीय मुसाफी ठाकुर पनि दुईको प्रतिष्पर्धाले दोधारमा पारेको थियो। ‘भविष्यको प्रधानमन्त्रीको हो निधि’, उनले भने, ‘राजेन्द्र महतो पनि अध्यक्ष मण्डलमा छ राजपाको।’
तर मतदानको दिन नजिकिएपछि ठाकुरले कसलाई भोट हाल्ने निधो गरिसकेका छन्।
‘स्थानीय चुनावमा राजपालाई भोट हालेका हो। तर महतो बाहिरको मान्छे छ। अर्को चुनावमा आउँछ कि आउँदैन थाहा छैन। त्यसैले म निधिलाई समर्थन गर्छु,’ उनले भने।
महतो जनकपुर बाहिरको मान्छे भन्ने कुरा मतदाताको मनमा बसाउन कांग्रेसका नेता, कार्यकर्ताले सक्दो प्रयास गरेका छन्।
टेलिभिजनमा बज्ने विज्ञापनमा निधिलाई ‘जनकपुरका पुत्र’ को रूपमा प्रस्तुत गरिएको छ।
‘स्थानीयता’ र ‘विकास’को मुद्दालाई निधिले चुनावको ‘डिस्कोर्स’ बनाएका छन्।
महतोका विज्ञापनको जोड उनलाई ‘मधेस आन्दोलनका नेता’ देखाउनेमा छ।
राजपा नेताकार्यकर्ता महतो बाहिरबाट आएको भन्ने विषयलाई चिर्न उत्तिकै प्रयास गरिरहेका छन्।
उनीहरुको तर्क छ—बाहिरबाट आएको भन्ने चुनावी नारा मात्र हो। कुनै पनि नेपाली नागरिक जहाँबाट पनि उठ्न पाउँछ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल काठमाडौं, सिराहा, र चितवनबाट चुनाव लडे, तर बाहिरका भएनन्।
दुई पक्षको यो बहस, दुबै उम्मेद्वारको केन्द्रीय छवि र राष्ट्रिय राजनीतिमा दुबै चाहिन्छ भन्ने भावनाले कतिपय मतदातालाई धुकचुक बनाएको हो।
जनकपुरमा मात्र होइन निधि र महतोमध्ये कसले जित्छ भन्ने चासो देशैभरि छ।
यसपालिको संसदीय चुनावमा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले प्रतिस्पर्धा गरेको गोरखा–२ र निधि र महतो चुनाव लडेको धनुषा–३ मुलुकभर नै सबैभन्दा धेरै चासोले हेरिएका निर्वाचन क्षेत्र हुन्।
सेतोपाटीका चार जना पत्रकार यही चासोलाई पछ्याउँदै दुई दिनसम्म धनुषा–३ मा पर्ने गाँउ र नगर घुम्यौं। सडक, बाटो, घर, बजार, खेतमा भेटिएका करिब साढे दुई सय मतदातासँग कुरा गर्यौं। तिनका चासो र सरोकारबारे सोध्यौं।
जनकपुरमा सेतोपाटी टिमले कुरा गरेका २ सय ३७ मतदातामध्ये १०१ जनाले कांग्रेसलाई मत दिने बताए। निधिलाई भोट दिन्छु भन्नेमध्ये ८४ जना कांग्रेसका परम्परागत मतदाता हुन्।
परम्परागत मतदाताबाहेक स्थानीय चुनावमा स्वतन्त्र र अन्य दललाई भोट दिएका ७ जनाले पनि निधिलाई मत दिने बताए। त्यस्तै स्थानीय निर्वाचनमा राजपालाई भोट दिएका १० जनाले यसपकट कांग्रेसलाई भोट दिने बताए।
यसले धनुषा–३ मा काँग्रेससँगै निधिको व्यक्तिगत प्रभाव रहेको देखाउँछ।
जनकपुरमा राजपाको पनि कम प्रभाव छैन। स्थानीय निर्वाचनमा उपमहानगरपालिको मेयरमा राजपाका लालकिशोर साहले भारी मतान्तरले कांग्रेस उम्मेदवारलाई हराएका थिए। जनकपुर उपमहानगरपालिकाको ठूलो भाग धनुषा–३ मा पर्छ।
हामीले कुरा गरेका २ सय ३७ मध्ये ८५ जनाले राजपालाई मत दिने बताए।
जसमध्ये स्थानीय तनिर्वाचनमा राजपालाई मत दिएका ६२ फेरि राजपालाई मत दिन लागेका हुन् भने २०७०को दोस्रो संविधान सभामा कांग्रेसलाई मत दिएका केहीले यसपालि राजपालाई भोट हाल्ने निर्णयमा पुगेका छन्।
हामीले त्यस्ता १२ जना मतदाता भेट्यौं। तर गत स्थानीय निर्वाचनमा कांग्रेसलाई मत दिएका मतदाता भेटिएनन् जसले यसपाली राजपालाई मत दिन्छु भने।
स्थानीय चुनावमा एमालेललाई मत दिएका ११ जनाले पनि यसपालि राजपालाई मत दिने बताए।
धनुषा–३मा एमाले उम्मेदवार छैनन्। वाम गठबन्धनबाट माओवादीका राम सिंह यादव उठेका छन्।
जनकपुरमा वाम गठबन्धन भने तेस्रो हैसियतमा रहनेछ। माओवादी उम्मेदवारलाई मत दिन्छु भन्ने २५ जना भेटिए। जसमध्ये यसअघि माओवादीलाई भोट दिएका ६ जना मात्र थिए। बाँकीले एमालेलाई भोट हालेका थिए।
हामीले कुरा गरेकामध्ये २६ मतदाता भने अनिर्णित भेटिए।
यसरी हेर्दा कांग्रेसका निधि नै महतोभन्दा केही बलिया देखिन्छन्।
यी पनि पढ्नुस् :तर अन्तिम चुनाव परीणामलाई प्रभावित पार्न सक्ने केही महत्वपूर्ण ‘फ्याक्टर’ छन्, जसको आयाम पुरै खुलिसकेको छैन।
तीमध्ये प्रमुख धनुषा–३ को एमाले भोट हो।
स्थानीय चुनावको परिणाम अनुसार धनुषा–३ मा राजपा र फोरमको मत जोड्दा पनि कांग्रेसको जति पुग्दैन। स्थानीय निर्वाचनमा वडा तहमा आएको भोट हेर्दा जनकपुर उपमहानगरपालिकामा काँग्रेस र राजपाको प्रतिस्पर्धा छ। तर नगरबाहिर राजपा कमजोर छ। त्यहाँ काँग्रेस र एमालेबीच प्रतिस्पर्धा छ।
धनुषा–३ मा काँग्रेस बलियो हुनुको कारण पनि त्यही हो— उसको नगर र गाँउ दुबै क्षेत्रमा भोट छ।
नगरको राजपा मत र गाउँको एमाले मत एकीकृत भयो भने कांग्रेसलाई अप्ठयारो पर्न सक्छ।
स्थानीय एमाले नेता कार्यकर्ताले त्यस्तो सम्भावना नरहेको र आफूहरूले गठबन्धनकै उम्मेदवारलाई भोट हाल्ने बताए।
तर एमाले समर्थकको ठूलो पंक्तिले निधिका विपक्षमा महतोलाई भोट हाल्ने निर्णय गरिसकेको भेटिन्छ।
त्यसको प्रभाव गाँउमा देखिन्छ, स्थानीय चुनावभन्दा जनकपुर नगर बाहिरका क्षेत्रमा यसपालि राजपाको मत बढेको छ। जहाँ एमालेले स्थानीय निर्वाचनमा धेरै भोट ल्याएको थियो, त्यहाँ यसपालि राजपाको भोट बढेको देखिन्छ।
यो मतदाताको तहमा मात्र हो या एमालेका यहाँका नेता, कार्यकर्ताले निधिलाई हराउन महतोलाई भोट हाल्ने निर्णय गरेका हुन् एकिन छैन।
जनकपुरका नगर र गाउँ घुम्दा जसरी जनकपुरको मुख्य बजार र चोकमा राजपा छाडेर कांग्रेस रोज्ने भेटिए त्यसरी नै बाहिरी क्षेत्रमा एमालेको सट्टा यसपालि राजपालाई मत दिने भेटिए।
मुखियापट्टी मुसहरनियाँ– ५ का बुधन यादवले यसपटक राजपालाई मत दिने बताए।
‘स्थानीय चुनावमा एमालेलाई दिएँ, अब राजपालाई दिन्छु’, यादवले भने, ‘जित्ने मान्छेलाई दिने हो, भोट खेर फाल्न हुन्न।’
मुखियापट्टी गाउँपालिकामा एमाले विजयी भएको छ।
यादवले समानुपातिकमा भने एमालेलाई भोट दिने बताए। उनी जस्तै धनौजी–३ का चन्द्र मण्डलले समानुपातिकमा एमाले र प्रत्यक्षमा राजपालाई मत दिने बताए।
किन त्यसरी भोट हाल्ने विचार गर्नुभयो?
उनले भने, ‘मेरो दिलले यही सोचेको छ, म यही गर्छु।’
गठबन्धनका धेरै कार्यकर्ताले भने आफूहरूले रामसिंह यादवलाई नै भोट दिने बताए।
‘हामी सिद्दान्तमा लागेको मान्छे हो। भीडको पछि लाग्दैनौं’, वडा नम्बर २४ का भट्ट थरका माओवादी केन्द्रका एक कार्यकर्ताले भने।
एमाले ‘फ्याकटर’ बाहेक निधि र महतोका लागि अर्को महत्वपूर्ण विषय ‘विकास र पहिचान’ को मुद्दामा बाँडिने मतदातालाई कसरी आफ्नाविरुद्ध जानबाट रोक्ने भन्ने हो।
‘मधेसमा कांग्रेसले केही गर्न सकेन’, वडा नम्बर १६ की कौशिला कुमारीले भनिन्, ‘पहिला त कांग्रेसलाई नै भोट दिन्थें तर उसले मधेश आन्दोलनलाई दबायो। मधेसको छोरा मार्यो। त्यसैले श्रीमानलाई पसलमा राखेर राजपाको लागि भोट माग्दै हिँडेकी छु।’
कौशिलाजस्तै मधेस आन्दोलनमा कांग्रेसको भूमिकाको आलोचना गर्ने र ‘पहिचान’को मुद्दाका कारण राजपालाई मत दिने धेरै मतदाता हामीले भेट्यौं।
धनौजी–२ का अरुण झाले भने, ‘मधेशीको अधिकारको लागि यति ठूलो आन्दोलन भयो। यहाँका जनता सहिद भए, घाइते भए, अपाङ्ग भए। तिनको सपना पुरा गर्ने नेता छान्ने बेला आएको छ।’
उनले निधि गृहमन्त्री भएका बेला प्रहरीले मधेशी जनतालाई गोली हानेको आरोप लगाए।
राजपा छाडेर कांग्रेस रोज्नेहरूको तर्क भिन्न छ। ‘राजेन्द्र महतो किन आफ्नो ठाउँ छाड्यो, किन यहाँ आयो?’, जितेन्द्र यादवले भने, ‘निधिबाहेक कसैले यो ठाउँमा काम गर्नै सक्दैन, यहाँको विकास गर्न सक्दैन।’
नगराइन–३ मा सडक देखाउँदै हार्डवेयर पसले रामप्रित साहले भने, ‘निधिले गाँउमा सडक ल्याए, पिच गरेर यो गाउँको विकास गरे।’
साहको हार्डवेयर पसल छेवैमा टेलरिङको काम गर्ने राजपा समर्थक अलाउद्दिनले निधिले २५ वर्ष सक्रिय राजनीति गर्दा पनि विकास नभएको बताए। ‘यहाँ अस्पताल छैन। नगरपालिका भाडाको घरमा छ। केही किलोमिटर बाटो पिच गरेर केही हुन्न,’ उनले भने।
धनुषा–३ मा पर्ने नगराइन नगरमा निधि नै बलिया छन्। यो उनको पुख्र्यौली गाउँ हो। यहाँ उनको विरासतको मत छ।
‘निधि भौतिक योजना मन्त्री भएको बेलामा यो क्षेत्रका सडकदेखि हरेक क्षेत्रको विकास भएको छ’, नगराइन–५ का ५५ वर्षीय लटुन झाले भने, ‘इमान्दार केटोलाई भोट नदिएर हुन्छ? जित्यो भने भोलि प्रधानमन्त्रीसम्म हुन सक्छ। हामीले त उसको बुवालाई पनि जिताएको हो।’
नगराइनको मत एकत्रित भएर निधिको पक्षमा गयो भने त्यसले उनलाई सजिलै निर्वाचन जित्ने हैसियतमा पुर्याउने छ। स्थानीय चुनावमा कांग्रेसमा देखिएको विभाजन पनि यसपालि मत्थर भएको छ।
मधेसको चुनावमा जातीय जात पनि महत्वपूर्ण ‘फ्याक्टर’ हो। जातीय विभाजनकै कारण स्थानीय तहमा अधिकांश वडामा कांग्रेसका बागी उम्मेदवार थि। बागी उठेका उम्मेदवार यसपटक कांग्रेसकै एक भएका छन्।
वडा नं ४ मा कांग्रेसका सुरेश झा बागी उठेका थिए। राजपा त्यह कारणले विजयी भयो। उनले त्यहाँ तेश्रो बढी मत ल्याए। त्यहाँ कांग्रेसले सन्तोषकुमार साहलाई उम्मेवार बनाएको थियो। तर साहलाई बाहुन झाले रुचाएनन्।
जनकपुरमा कांग्रेसका मेयर उम्मेदवार मनोजकुमार साह सुडी थिए। उनी दलित समुदायका हुन्। उनले सन्तोष साहलाई समर्थन गरेकाले झाले उम्मेदवार दिएका थिए।
झाका छोरा सुजित भन्छन्, ‘हाम्रो वडामा २५ सय मत बाहुन छ। पहिला स्थानीय तहमा दलित उम्मेदवार भएकाले कांग्रेसलाई गएन, यसपालि जान्छ।’
यहाँका मधेसी ब्राह्मणको मत कांग्रेसको पक्षमा आउँदा दलित युवाको सेन्टिमेन्ट राजपाको पक्षमा पनि छ। ‘मेरी आमाले सधैँझैं यसपटक पनि कांग्रेसलाई भोट दिनुहुन्छ’, जनकपुर–१६ कपिलेश्वरका शिव खत्वे मण्डलले भने, ‘म राजपालाई भोट दिन्छु।’
धनुषा–३ मा जनकपुर उपमहानगरका १७ वटा वडासहित नगराइन नगरपालिका, मुखीयपट्टी मुसहरनिया गाँउपालिका, धनौजी गाउपालिका र विदेह नगरको एउटा वडा पर्छ।
यो क्षेत्रको अधिकाशं भूभागबाट यसअघि सद्भावनाका सञ्जय साह ‘टक्ला’ विजयी भएका थिए। साह अहिले जेलमा छन्।
यसपालिको चुनावमा ‘टक्ला फ्याक्टर’ निर्णायक मान्ने पनि धेरै छन्।
टक्ला विगतमा राजेन्द्र महतोसँगै थिए। तर अहिलेको चुनावमा टक्लाको समर्थन कांग्रेसतिर ढल्केको देखिन्छ।
‘सञ्जय आउ मधेस बचाउ’, लेखिएको ब्यानरसहितको गाडी जनकपुर परिक्रमा गरिरहेको छ। साथै अर्को गाडीमा ‘राजेन्द्र महतो बहुरूपिया और घुसपैठिया है’ लेखिएको छ। टक्ला यहाँको साह र साहु समुदायमा प्रभाव राख्छन्। जेलमा भएका टक्लाको समेत चुनावमा प्रभाव छ।
‘विमल जित्यो भने मात्र सञ्जय बाहिर निस्कन्छ, नत्र भित्रै रहन्छ’, जनकपुर–२४ का तरकारी व्यापारी शत्रुघन साहले भने, ‘उसले सहयोग गर्छ भने हामीले पनि गर्नुपर्छ।’
जनकपुर–११ का भुषणकुमार साहले पनि सञ्जयका कारण जनकपुर विकास भएको दाबी गरे। ‘हाम्रा वरपर भएका विकास सञ्जयले गरेको हो। त्यसैले उसले जता भन्छ, त्यतै भोट दिने हो।’
मधेस सेन्टिमेन्ट, राजनीतिक विरासत, एमाले समर्थक भोट, जातीय मत, ‘टक्ला फ्याकटर’ जनकपुर चुनावको परिणाममा प्रभाव पार्न सक्ने पक्ष हुन्।
पैसा अर्को फ्याकटर हो। गरिबी, अशिक्षा रहेको क्षेत्र र समुदायमा पैसाले पनि महत्वपूर्ण भुमिका खेल्न सक्ने स्थानीय बताउँछन्।
‘मलाई स्थानीय निर्वाचनमा भोट मिलाउन २० हजार दियो। भोट मिलाउन बहुत गाह्रो हुन्छ। हिन्दु, मुस्लिम र दलित मिलाउन सकिनँ। कसैले पैसा थोरै भयो भने, कोहीले के भने,’ सडक छेउको झुपडीमा सानी छोरी बोकिरहेका उपमहानगर– २० का एक मुस्लिम मतदाताले भने, ‘लगेर फालिदिएँ बाँडेर लेऊ भनेर।’
मधेसको चुनावमा पैसाको तागत नयाँ कुरा हैन। मुखियापट्टी मुसहरनियाँमा भेटिएका नदिमले भने, ‘केटाहरू परिचालन गर्नुप¥यो। पैसा मागेको २५ हजार जति। तर जम्मा ७ हजार दिएका छन्, म्यानेज गर्न सकिदैँन, पैसा भए जितिने त हो चुनाव।’
चुनावलाई प्रभाव पार्ने यी सारा ‘फ्याकटर’को समजोड आफ्नो पक्षमा पारेर कसले चढाउने छ धनुषा–३को ‘शिवधनुषमा’ ताँदो?
अहिलेसम्म निधि नै बलिया देखिन्छन्। त्यसलाई उल्ट्याउन सक्ने तागत भने एमाले मतले राख्नेछ, महतोलाई भोट दिएर।