कपमा राखिएको तातो चिया सुरूप सुरूप पिउँदै गर्दा त्यही कपलाई चरप चरप चपाउन मिल्ने भइदिए कस्तो होला?
तपाईंहरूले कहिले यसबारे सोच्नुभएको छ?
नसोचेको भए सोचे हुन्छ — चियाको मिठो चुस्कीसँगै अब स्वादिलो कप पनि मजा मानी मानी खान मिल्ने भएको छ।
यो स्टोरी त्यही चियासँग खान मिल्ने कपको बारेमा हो।
चिया लामो समयदेखि नेपाली समाजको लोकप्रिय पेय रहँदै आएको छ। बिहान उठ्नेबित्तिकै तात्तातो चिया नभई नहुने लत धेरैको हुन्छ। दिउँसो खाजामा पनि चिया नखाई धेरैको चित्तै बुझ्दैन। केही समयअघि कफीको लोकप्रियता ह्वात्तै बढेको थियो। त्यस क्रममा क्याफे खोल्ने होडबाजी नै चल्यो। अहिले फेरि चियाको जमाना आएको छ। आजको युवा पुस्ता कफीभन्दा चियाकै स्वादमा रमाउँछन्। त्यसैले जस्तो होड क्याफे खोल्ने थियो, चिया पसल खुल्ने क्रम पनि त्यही रफ्तारमा छ।
यति मात्र होइन, मान्छेहरू चियालाई पहिलेभन्दा फरक ढंगमा कसरी पिउन सकिन्छ भनेर विभिन्न प्रयोग पनि गरिरहेका छन्।
चियासँगै खान मिल्ने कप त्यही सिलसिलामा भएको नवीन प्रयोग हो।
'एस्पियन इन्टरप्राइजेज' नामको कम्पनीले ललितपुरको चापागाउँमा एउटा कारखाना खोलेको छ, जसले दैनिक हजारवटा कप उत्पादन गर्छ। त्यो तपाईं–हामीले सधैं चिया पिउँदै आएको सामान्य कप होइन। चियासँग बिस्कुट खाएझैं चरप चरप चपाएर खान मिल्ने र स्वाद पनि मिठो हुने कप हो, जसको नाम हो – चुस्की बाइट्स।
चुस्की बाइट्सको सुरूआत ३८ वर्षीय सबिर जोशीले गरेका हुन्।
-1752772058.jpg)
-1752772056.jpg)
जागिरे जीवन बिताउनुभन्दा व्यवसायमा लाग्ने उद्देश्य बोकेर हिँडेका सबिरले जब बजारमा चियाको माग बढेको देखे, उनलाई चियासँग सम्बन्धित कुनै व्यवसाय गर्ने सोच आयो। तर उनी चिया पसल खोल्ने होडबाजीमा लाग्न चाहन्थेनन्। उनलाई चियाकै काम गर्नु थियो, तर अरूको भन्दा फरक ढंगले।
यसबारे खोजबीन र सोचविचार गर्दै जाँदा उनले चियासँग खान मिल्ने कपबारे थाहा पाए।
'भारतमा यो कप केही वर्षअघि नै भाइरल भइसकेको रहेछ,' सबिरले भने, 'मैले बजार अध्ययन गर्दा नेपालमा यस्तो कप प्रयोगमा आएको थिएन। अरूले भन्दा फरक काम गर्ने विचारले मैले तुरून्तै भारतका कम्पनीहरूसँग सोधपुछ थालेँ।'
त्यसपछि उनले भारतको नोयडास्थित एक कम्पनीबाट यस्तो कप उत्पादन गर्ने मेसिन मगाए। उक्त मेसिनलाई करिब १२ लाख रूपैयाँ परेको उनी बताउँछन्।
उनी आजभन्दा डेढ वर्षअघि उक्त मेसिन किनेर कप उत्पादनको प्रयास गर्दै थिए। आफ्नो व्यक्तिगत जिज्ञासा र स्वअध्ययनका आधारमा कप बनाउने प्रयास गरेका भए पनि सबिरलाई त्यसको बजारबारे कुनै ज्ञान थिएन।
कप उत्पादन गरेपछि कसरी बजारसम्म पुर्याउने, कसरी त्यसको मार्केटिङ गर्ने लगायत विषयमा उनले केही सोचेका थिएनन्।
त्यसैबीच केही महिनाअघि पोखराको 'चिया चपाऊ' नामको रेस्टुरेन्टले यस्तै कपमा चिया बेच्न सुरू गर्यो र त्यो रेस्टुरेन्ट भाइरल पनि भयो।
'पोखराको 'चिया चपाऊ' ले यो कप प्रयोगमा ल्याएपछि मान्छेहरूमा उत्सुक्ता ह्वात्तै बढेको मैले देखेँ,' सबिरले भने, 'त्यसपछि मलाई पनि आफ्नो मार्केटिङ गर्ने सही समय यही हो भन्ने लाग्यो।'
उनले आफ्नो टिकटकमा 'चियासँगै खान मिल्ने कप चाहिने भए मलाई सम्पर्क गर्नुहोला' भन्ने सूचना पोस्ट गरे।
त्यो पोस्टपछि धेरै क्याफे र चिया पसलहरू उनको सम्पर्कमा आए।
यसबाट एक चरणको बजार तयार भयो। उनले आफ्नो उत्पादन बजारमा ल्याउनुअघि ब्रान्डिङ पनि गरे। चियाको चुस्की लिँदै टोक्न मिल्ने कप भएकाले उनकी श्रीमतीले 'चुस्की बाइट्स' नाम राख्न सुझाएकी थिइन्।
-1752772063.jpg)
-1752772061.jpg)
सबिरले यो व्यवसाय सुरू गरेको साढे दुई महिना भयो। अहिले उनीसँग एउटा मात्र मेसिन छ। त्यसैले दिनको झन्डै हजारवटा कप मात्र उत्पादन गरिरहेका छन्। तर बजारबाट एक्कासि माग बढेकाले भ्याइनभ्याइ भइरहेको उनी बताउँछन्।
चियासँग खान मिल्ने यो कप कसरी बनाइन्छ त?
मैले यसबारे पनि सबिरसँग कुरा गरेकी थिएँ। उनका अनुसार यो कप सामान्य बिस्कुटजस्तै हुन्छ। यसमा मैदा, मकैको पिठो, चिनी र स्वादका लागि अरू केही चिज मिसाइन्छ। उनले अहिलेसम्म चक्लेट, नरिवल र बटर गरी तीनवटा स्वादका कप उत्पादन गर्दै आएका छन्।
'यो कप पूर्ण रूपमा साकाहारी छ,' उनले भने, 'यसमा मैदाको मात्राअनुसार चक्लेट, नरिवल र बटरको स्वाद मिसाइन्छ। सामान्यतया आठ किलो मैदामा पाँच सय एमएल फ्लेभर (स्वाद) राखिन्छ।' यस्ता फ्लेभरहरू उनी बेकरीबाट ल्याउने गर्छन्।
उनले अगाडि भने, 'जसरी आइसक्रिम कोनमा राखेर खाइन्छ, यो कप पनि चियाका लागि कोनजस्तै हो। कोन बनाउन एकचोटि मात्र कोटिङ गरिएको हुन्छ, यो कपमा हामी दुईचोटि कोटिङ गर्छौं। त्यही भएर कप आफैमा स्वादिलो हुने भएकाले चियाको स्वाद अझै बढ्छ।'
यस्तो खान मिल्ने कपमा चियालाई कति बेर राख्न मिल्छ? बिस्कुटजस्तै भए त तातो चियाले कप गल्दैन?
मेरो यो प्रश्नमा सबिरले भने, 'हामीले तातो चिया हाल्दा पनि नगल्ने गरी कप बनाएका हुन्छौं। कम्तिमा २० देखि २५ मिनेटसम्म तातो चिया राख्दा पनि यो कप केही हुँदैन।'
'चुस्की बाइट्स' कारखानामा अहिले सबिर, उनकी श्रीमती र दुई जना कर्मचारी गरी चार जना काम गर्छन्। यसबाहेक परिवारका अरू सदस्य पनि सहयोग गर्न आउँछन्।
-1752772069.jpg)
-1752772071.jpg)
सबिरले अहिलेसम्म काठमाडौं, पोखरा, बुटवल, सुर्खेत, नेपालगन्ज लगायत प्रमुख सहरी बजारहरूमा यस्तो कप आपूर्ति गरिरहेका छन्।
विभिन्न ठाउँका १० वटाभन्दा बढी क्याफेले नियमित अर्डर गरिरहेको उनले जानकारी दिए। तीमध्ये बुटवलको 'चिया गरम' र सुर्खेतको 'चिया अड्डा' ले नियमित कप किनिरहेको उनले बताए।
'यो कप फुट्ने डर भएकाले क्याफेहरूमा आपूर्ति गर्दा 'बबल र्याप' मा राम्रोसँग प्याकिङ गरेर पठाउने गर्छौं,' उनले भने।
अनलाइन अर्डर गर्ने ग्राहकलाई एउटा कपको १२ रूपैयाँ पर्छ भने स्टोरमै लिन आउनेलाई १० रूपैयाँ मात्र पर्छ। उनले दुईवटा साइजको बक्समा कप बेच्ने गरेका छन्। एउटा बक्समा १४० वटा कप हुन्छ भने अर्कोमा ३०० वटा अट्छ।
पहिलोचोटि यस्तो कप प्रयोग गर्ने क्याफेले थोरै मात्र अर्डर गर्छन्। ग्राहकबाट राम्रो प्रतिक्रिया पाएपछि तिनै क्याफे ठूलो परिमाणको अर्डर लिएर आउँछन्।
'मेरो सम्पर्कमा रहेका धेरैजसो क्याफेले एकैचोटि चार–पाँच सय कप मगाउँछन्,' उनले भने, 'बनाउन समय लाग्ने भएर एक–दुई दिनअघि नै अर्डर गर्नुपर्छ।'
अहिले उनीकहाँ उत्पादन हुने कपमा ६० एमएल चिया मात्र अट्छ। यतिले चिया पारखीहरूको धित नमर्ने हुँदा ठूलो कपको माग बढेको उनी बताउँछन्। यसको निम्ति उनले ठूलो आकारको कप उत्पादन गर्न मिल्ने नयाँ मेसिन अर्डर गरेका छन्।
'म अब कम समयमा ठूलो कप बनाउन मिल्ने मेसिन ल्याउँदै छु,' उनले भने, 'यसका लागि भारतीय कम्पनीसँग कुराकानी भइसकेको छ।'
-1752772068.jpg)
चियाँसगै खान मिल्ने कप वातावरणमैत्री पनि छ। अहिले धेरै पसलले कागज र प्लास्टिकका कप प्रयोग गरिरहेका छन्, जसले वातावरणमा नराम्रो असर गर्छ। फोहोर पनि थुप्रिन्छ। तर खान मिल्ने कप प्रयोग गर्दा खेर जाने चिज केही बाँकी रहँदैन। मूल्यमा पनि कागज र प्लास्टिक कपको दाँजोमा खासै महँगो नपर्ने उनी बताउँछन्।
सबिरले आफ्नै भाइसँग मिलेर चापागाउँमा क्याफे पनि खोलेका छन्। 'श्रीचन्द्र भैरव' नामको उक्त क्याफेमा पनि यो कप प्रयोग गर्ने तयारी छ।
पछिल्लो समय नयाँ पुस्ताका युवामा विदेश जाने चलन बढ्दो छ। रोजगार र अध्ययन सिलसिलामा धेरै युवा बिदेसिएका छन्। सबिर भने आफूलाई विदेश जाने सोच कहिल्यै नआएको बताउँछन्।
'जे गरे पनि नेपालमै गर्छु भन्ने मेरो सोच थियो,' उनले भने, 'मैले यो कप उत्पादनमा मेसिनसमेत गरी १५ लाख रूपैयाँ लगानी गरेको छु। अहिलेसम्मको व्यवसायबाट सन्तुष्ट छु।'
आगामी दिनमा खान मिल्ने कप अझ लोकप्रिय हुँदै गएपछि आफ्नो बजार पनि बढ्दै जाला भन्ने उनको आस छ।
त्यही आसले नै ठूलो कप उत्पादन गर्न मेसिन झिकाउने आँट गरेको उनी बताउँछन्।
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
***
-1752772074.jpg)
-1752772074.jpg)
-1752772077.jpg)
-1752772071.jpg)
-1752772066.jpg)
-1752772063.jpg)
-1752772058.jpg)
-1752772056.jpg)
-1752772061.jpg)
-1752772055.jpg)