हिजो राति म भुस निद्रामा थिएँ, मोबाइलको घन्टीले ब्युँझिएँ।
प्राइभेट नम्बरबाट कल आएको रहेछ।
गोप्य ठाउँबाट निद्रा बिथोल्न आउने यी गोप्य मनुवा को होलान् भनेर झर्किँदै, झस्किँदै फोन उठाउँदा मोबाइलको घडीमा मध्यरातको १२:०० बजेको थियो।
‘हेलो सुदीप श्रेष्ठ बोल्नुभएको?’ उताबाट मोटो स्वर सुनियो।
‘हजुर बोल्दैछु,’ मैले हाई काढ्दै भनेँ।
‘म ..., टुँडिखेलबाट,’ फोन गर्नेले आफ्नो नाउँ भनेकै थिए, तर मैले ठम्याउन सकिनँ। ठेगाना चाहिँ चिरपरिचित भएकाले चिनिहालेँ।
टुँडिखेल भन्नेबित्तिकै मलाई एकमन त आर्मी हेडक्वार्टरबाटै हो कि भन्ने भयो। को होला! किन होला! मेरो चिनजानको त त्यहाँ कोही छैन!
म झस्केँ र सतर्क हुँदै सोधेँ, ‘तपाईं आर्मी हेडक्वार्टरबाट हो?’
‘हैन, हैन,’ उनले आफ्नो पूरा परिचय दिँदै भने, ‘म महाराक्षस गुरुमापाको टुँडिखेल दरबारबाट। म उहाँको सेक्रेटरी ..., महाराक्षस गुरुमापाले तपाईंसँग कुरा गर्न खोज्नुभएको छ।’
अरू सबै कुरा त बुझियो, तर उनको नाउँ चाहिँ यसपालि पनि ठम्याइनँ।
त्यसमाथि गुरुमापा भन्नेबित्तिकै मेरो होसहवास गुम भइहाल्यो। अर्थोक सम्झने सुद्धि नै भएन।
मैले आफूलाई सम्हाल्न भ्याएकै थिइनँ, उनले फोन गुरुमापालाई थमाइसकेछन्। उताबाट महाभारत सिरियलमा सुनिने घटोत्कचको जस्तो धोद्रो स्वर सुनियो, ‘सुदीपचा ज्वजल्पा, म महाराक्षस गुरुमापा, नाम त सुनेकै छौ नि?’
उनी यति भनेर जोडसँग हाँसे– हा हा हा हा ।
म त मर्छु कि क्या हो हे माई भवानी! यो आधा रातमा के भइरहेको छ मलाई? म होसमा छु कि बेहोस? कि मेरो सुद्धि ठेगानमा छैन?
म काठमाडौंका महाराक्षस गुरुमापासँग बोल्दैछु, कसले विश्वास गर्ला मेरो!
तिनै गुरुमापा, जो कुनै बेला काठमाडौंका भुराभुरी टपक्क टिपेर आहारा बनाउँथे। काठमाडौंका त्रसित जनताले जसबाट त्राण पाउन टुँडिखेलको खरीबोटमुनि लगेर राखेका थिए। वर्षको एकचोटि फागु पूर्णिमाको दिन सिंगो राँगोको मासु र दस पाथी चामलको भात खुवाउने कबुल गरेर। त्यो दिनपछि बल्ल हाम्रा भुराभुरी गुरुमापाको आहारा बन्न छाडे भन्ने विश्वास अहिले पनि छँदैछ।
गुरुमापालाई बचनमा बाँधेर टुँडिखेलमा नहुलेको भए अहिले पनि काठमाडौंका केटाकेटी खोज्दै हिँड्थे होलान्। उनको नामको आतंक त छँदैछ!
कतिपयले चाहिँ उनलाई बोधिसत्वका रूपमा पनि मान्छन्, जुन उनको बोलीमा झल्किँदै थियो।
मैले यी तर्कनाहरू तकियामुनि घुसारेँ र मनको हलचललाई आफ्नो हाँसोभित्र लुकाउँदै भनेँ, ‘तपाईंलाई नचिन्ने काठमाडौंमा को होला र? यहाँका बच्चा–बच्चा तपाईंको नाउँले तर्सिँदै हुर्के। जब बच्चाहरू राति सुत्न नमानेर रुवाबासी गर्थे, हजुरबा–हजुरआमा भन्थे– द्यँ मचा द्यँ, मखुसा गुरुमापा वइ! (सुत नानी सुत, नभए गुरुमापा आउला)’
उनी फेरि जोडसँग हाँसे– हा हा हा हा ।
यसपालि उनको अट्टहास अघिभन्दा प्रफुल्लित सुनियो। आफ्नो तारिफ सुनेपछि सब दंग पर्दा रहेछन्– मानव हुन् या दानव!
‘क्या बात्, क्या बात्!’ उनले भने, ‘तर तिमीलाई एउटा कुरा थाहा छैन होला? ‘शोले’ फिल्म बनाउनुअघि सलीम–जावेद (लेखक) र रमेश सिप्पी (निर्देशक) काठमाडौं घुम्न आएका थिए। उनीहरूले त्यसको एउटा डाइलग काठमाडौंबाटै टिपेका हुन्। तिमीलाई थाहा छ त्यो डाइलग?’
‘थाहा छ गुरुमापा,’ मैले आज्ञाकारी बालकझैं भनेँ, ‘जब बच्चा रातको रोता है, तो माँ कहती है बेटे सो जा, सो जा नहीँ तो गब्बर सिंह आ जाएगा।’
यसपालि त उनको हाँसो बादलझैं गड्गडायो र टुँडिखेलबाट मोबाइलको रिसिभर हुँदै मेरो बेडरुमभरि गुञ्जियो।
गडगड थामिएपछि उनले भने, ‘नाओ जोक्स अपार्ट, मैले तिमीलाई शोलेको डाइलग सुन्न फोन गरेको होइन।’
‘हजुर भन्नुस् न गुरुमापा, किन सम्झनुभो?’
‘मलाई एकदमै रिस उठेको छ सुदीपचा,’ गुरुमापाको स्वर एक्कासि चट्टयाङझैं धारिलो भयो र मेरो कानमा बज्रिन थाल्यो, ‘काठमाडौंमा टुँडिखेललाई लिएर यत्रो खलबली छ, मलाई एकबचन कसैले सोधेन। टुँडिखेल त मेरो घर पो हो! मेरो घरको कुरा उठ्दा मलाई सोध्नुपर्दैन? के पारा हो यो? कसैको घर मासियो, जग्गा खोसियो भने तिमी पत्रकारहरू उसलाई खोजी–खोजी सोध्न जान्छौ। यहाँ वर्षौंदेखि टुँडिखेलमाथि अतिक्रमण भइरहेको छ। कोही आउँछ, काँडेतार लगाउँछ। कोही आउँछ, बसपार्क बनाउँछ। कहिले मेरो छातीमा सेना परेड खेल्छ। कहिले नेताहरू भाषण ठोक्छन्। यहाँ मेरो नाउँमा जात्रा चलाउने ठाउँ खोइ? मेरै छातीमा खेलेर सयौं पुस्ता हुर्के–बढे, नयाँ पुस्तालाई खेल्ने ठाउँ खोइ? तिम्रो छोरीलाई मेरो छातीमाथि लडिबुडी गर्ने ठाउँ चाहिँदैन?’
म ट्वाँ परेँ।
उनी भन्दै थिए, ‘तिमीहरूले मेरो नाउँमा ‘अकुपाई टुँडिखेल’ गर्यौ, भोलि मेरै नाउँमा ‘तिनिख्य: मार्च’ हुँदैछ। अनि तिमी पत्रकार भएर मेरो अन्तर्वार्ता लिनुपर्दैन? तिमीले नै मलाई खोज्दै आउनुपर्नेमा म आफैं फोन गर्दैछु सुदीपचा, लिन्छौ मेरो अन्तर्वार्ता?’
म अवाक् भएँ, हात कामेर मोबाइल नै खस्ला–खस्लाजस्तो भयो।
‘किन नलिनू महाराक्षस, म भोलि नै टुँडिखेल आउँछु।’
मैले यति भनेको मात्र के थिएँ, उनी त जंगिहाले, ‘म मान्छे हुँ र, भोलि दिउँसोसम्म पर्खनलाई। राक्षस हुँ, अन्तर्वार्ता लिने भए लू तू आइहाल। यो रात आकाशका ताराहरू खसिनसक्दै अन्तर्वार्ता सक्नुपर्छ।’
‘हवस् महाराक्षस, म आइहालेँ।’
गुरुमापाले डाकेर नै होला, मेरो स्कुटर हेलिकप्टरको गतिमा दौडियो। आँखाको एक झिमिकमै म टुँडिखेलको मूलढोकामा थिएँ।
त्यतै कतै उल्लूहरूको किँ किँ, कुर्रकुर्र, कुँ कुँ सुनिँदै थियो। चमेराहरू चिँ चिँ, चुर्रचुर्र, चुँ चुँ गर्दै थिए। वीर अस्पताल इमर्जेन्सी वार्डको कल्याङमल्याङ पनि रातको सन्नाटामा टुँडिखेलसम्मै सुनिँदो रहेछ। त्यसबाहेक त्यहाँ अर्को आवाज भनेको मेरो गोडा र मुटुको चाल मात्र थियो।
टुँडिखेल मूलढोकामा मान्छेजस्तै देखिने दुई आकृति चुपचाप मेरो बाटो हेर्दै थिए। म नजिक गएँ। उनीहरूले आफ्नो परिचय दिए। एक जना त मलाई फोन गर्ने गुरुमापाका सेक्रेटरी नै रहेछन्, जसको नाउँ मैले जतिचोटि सुने पनि सम्झन सकिनँ।
ती अर्धमानव–अर्धदानव आकृतिहरूले आफू अघि–पछि लागेर मलाई स–सम्मान टुँडिखेलको विशाल चउरभित्र छिराए।
भित्र छिर्नेबित्तिकै मेरो आँखा भद्रकाली मन्दिरनिर गुरुमापाको रूखमा गयो। समयको रापतापले पातपतिङ्गर झरेर जिङ्ग्रिङ्ग परिसकेको त्यो रूख रातको अन्धकारमा तिहारको घरजस्तै झलमल्ल थियो। मानौं, त्यसका एक–एक हाँगामा आकाशका एक–एक तारा टाँसिन आएका छन्।
मेरो आँखा चकाचौंध पार्ने त्यही रूख रहेछ, गुरुमापाको दरबार।
म जति–जति नजिक जान्थेँ, गुरुमापाको दरबार उति भव्य देखिन्थ्यो। अघि मैले आवाज सुनेका उल्लूहरू आफ्ना आँखा फाडेर रूखका हाँगामा यस्तरी बसेका थिए, मानौं दरबारका सुसारेहरू खोपीबाट मेरो आगमनमा पुष्पवृष्टि गर्न पर्खंदै छन्। चमेराहरू हाँगामा यस्तरी उँधोमुन्टो झुन्डिएका थिए, मानौं आगन्तुकको स्वागतमा नृत्य देखाउँदै छन्।
अघि–पछि लागेका दुई सेवकले मलाई गुरुमापाको दरबार, यानिकी गुरुमापाको त्यही रूखभित्र प्रवेश गराए।
अलाद्दिनले चुट्की बजाउँदा जसरी आनका तान हुन्छ, रूखको जराबाट छिरेको म सिधै गुरुमापाको सभाकक्षमा पो पुगेँ!
पातपतिङ्गरले सिँगारिएको भित्ता र हाँगाबिँगाहरू लहराइरहेको दलिनमुनिको त्यो भव्य हरित सभाकक्षमा मेरा अगाडि थिए, साक्षात् महाराक्षस गुरुमापा।
जसै म सभाकक्षमा छिरेँ, मेरो स्वागतमा गुरुमापाको अट्टहास गुञ्जियो। आकाशमा बादल गड्गडाएझैं सभाकक्ष गड्गडायो।
मलाई यी सब दृश्य देखेर अचम्म लाग्नुपर्ने हो, मेरो जीउ असिनपसिन हुनुपर्ने हो, मेरा हातगोडा लुगलुग काम्नुपर्ने हो, तर अहँ मलाई केही भएन।
म त उल्टै रोमाञ्चित भएँ।
एउटा कुरा पक्का भयो– जहाँ पुण्य हुन्छ, त्यहाँ पाप हुन्छ। जहाँ धर्म हुन्छ, त्यहाँ अधर्म। अनि जहाँ देउता हुन्छ, त्यहाँ राक्षस पनि हुन्छ। यदि काठमाडौंमा तेत्तीस कोटी देवताहरूको बास छ भने, यहाँ राक्षसहरूको पनि बास हुनैपर्छ। राक्षसबिना देउताको के मान! के मूल्य!
देउताको घर त हामी सबैले देखेकै छौं, जहाँ हामी दिनहुँ धूपबत्ती बालेर मनशान्ति गर्छौं। म एक्लो भाग्यमानी रहेछु, मैले काठमाडौंका यी महाराक्षसको दर्शन पाएँ, जो मध्य–सहरको टुँडिखेलमा बस्छन्।
त्यो टुँडिखेल, जुन काठमाडौंका रैथानेले यिनै गुरुमापालाई बस्न भनी दिएका हुन्। उनलाई यहाँको सुरक्षा गर्न पठाएका हुन्। तर, आज यो चउर शासनसत्ताको काँडेतारमा जकडिएको छ। यसको सुरक्षा गुरुमापाको वशमा पनि छैन। उनी आफैं लाचार छन्। आफ्नो छातीमाथि भइरहेको अतिक्रमणको तमासा टुलुटुलु हेर्न विवश छन्। अनि केही सिप नलागेर मनको बह कहन र वर्षौंदेखि गुट्मुटिएको आक्रोश पोख्न मलाई अन्तर्वार्ताको बहानामा मध्यरात यहाँ डाकेका छन्।
‘मेरो अन्तर्वार्ता लिन तयार छौ त सुदीपचा,’ महाराक्षस गुरुमापाले आफ्नो आसनबाट उठ्दै भने।
मैले मोबाइल साइलेन्ट मोडमा लगेँ र रेकर्डर अन गरेँ। गुरुमापाले बोलेका सम्पूर्ण कुरा हुबहु उनको स्वरमा रेकर्ड हुन थाल्यो, जुन म अब तपाईंहरूलाई हुबहु सुनाउँदैछु।
सबभन्दा पहिले त उनले मलाई आफ्नो दरबार, यानिकी रूखको टुप्पोमा लगे र उत्तरको रानीपोखरीबाट हात घुमाउँदै दक्षिणको दशरथ रंगाशालासम्म फैलाए, ‘यो सबै विशाल टुँडिखेलको हिस्सा हो। हेनरी एम्ब्रोस ओल्डफिल्ड भन्ने एक जना बेलायती चिकित्सक आएर यसको नापी गरेको थियो। उसले करिब पाँच किलोमिटर लामो र तीन सय मिटर चौडा फैलिएको थियो भन्छ। तर, खोइ त त्यत्रो चउर? सुक्यो, बागमतीजस्तै सुक्यो। अब त इत्ति एकचौथाइ बाँकी छ, त्यो पनि कुन दिन गुम्ने हो ठेगान छैन।’
उनले लामो सुस्केरा हाले, ‘उ त्यो काँडेतार देख्दैछौ? सेनाले लगाएको। त्यहाँ सेना परेड खेल्छ। मलाई मात्र होइन, काठमाडौंका नागरिकलाई धरि प्रवेश निषेध छ त्यहाँ। मलाई आफू छिर्न नपाएकोमा मनताप छैन, तर काठमाडौंका जनतालाई आफ्नै चउरमा छिर्न सेनाले छेकबार लगाएको म कसरी सहूँ? मलाई काठमाडौंका जनताले यसको संरक्षण गर्न यहाँ राखेका हुन्। तर, मैले संरक्षण गर्न सकिनँ। मैले हार खाएँ।’
उनको आँखा आँसुले टिलपिल भरियो। राक्षस पनि रूँदा रहेछन् हँ!
‘किन राक्षसको मन हुँदैन र,’ उनले मेरो मनको प्रश्न मनबाटै टिपेर उत्तर दिए, ‘मेरो पनि मन छ, जुन तिमीहरूको मनजस्तै कहिले पुलकित हुन्छ, कहिले त्यसलाई पोल्छ।’
उनले अगाडि भने, ‘२००७ साल फागुन ७ गते यही चउरमा उभिएर राजा त्रिभुवनले प्रजातन्त्रको घोषणा गरेका थिए। त्यो दिन नेपाली जनता रैतीबाट नागरिक भए भनेर म पुलकित भएको थिएँ। तर, २०१७ साल पुस १ गते जसै प्रजातन्त्रमाथि कू भयो, काठमाडौंका नागरिकहरूको यो खुला चउर राज्यशक्तिले खोस्यो। मेरो आँखैअगाडि सेनाले यहाँ हेडक्वार्टर राख्यो, काँडेतार लगाएर टुँडिखेललाई भागबन्डा गर्यो। मैले केही गर्न सकिनँ। भित्रभित्रै मुर्मुरिएर चुपचाप हेरिरहेँ।’
‘तिमीलाई थाहा छ, यहाँ अंजग खरीका बोटहरू थिए। त्यही बोटमुनि उभिएर राज्यले जनतालाई सम्बोधन गर्थ्यो। हाम्रो बर्खाका ओत र गृष्मका छहारी थिए ती रूखहरू। नागरिक अभिव्यक्तिका प्रतीक थिए। तर, पञ्चायतले त्यही रूखमाथि प्रहार गर्यो। राज्यसत्ता जनताको पहुँचबाट टाढिएर नारायणहिटी र सिंहदरबारमा खुम्चियो, टुँडिखेल पनि नागरिकको पहुँचबाट टाढा सेनाको अधीनस्थ हुन पुग्यो।’
उनी भन्दै थिए, ‘त्यही बेलादेखि काठमाडौंका जनताले सांस्कृतिक, सामाजिक र राजनीतिक अधिकार निम्ति प्रयोग गर्दै आएको टुँडिखेल अतिक्रमणमा पर्यो। नागरिकका गोडा चल्नुपर्ने मैदानमा सेनाले परेड खेल्न थाले। नागरिक अभिव्यक्तिको दायराजस्तै टुँडिखेलको आकार संकुचित हुँदै गयो।’
हामी यति बेलासम्म सभाकक्षमा फर्किसकेका थियौं।
बोल्दाबोल्दै गुरुमापा यति भावुक भएछन्, उनी आफ्नो आसनमा समेत नगई मसँगै, मेरै छेउमा आएर बसे। एकछिन आकाशतिर हेर्दै टोलाए। ताराको छाया परेजस्तै उनका आँखा चम्किला हुँदै गए।
‘२०४६ साल चैत २६ गते जब नेपालमा प्रजातन्त्र पुनर्स्थापना भयो, म त्यो दिन दोस्रोचोटि पुलकित भएँ। मलाई लाग्यो, यो प्रजातन्त्रले जसरी राजालाई दरबारको सीमाभित्र कैद गर्दैछ, त्यसरी नै टुँडिखेलको सीमा अब नागरिकको निम्ति खुला हुनेछ। तर, म गलत थिएँ। जनताले चुनेर पठाएका प्रतिनिधिहरूले नै टुँडिखेलको अतिक्रमणमा सहीछाप ठोके। नागरिकका प्रतिनिधि भनिने नेताहरूले नागरिकको नासो फर्काउन चुइँक्क बोलेनन्। टुँडिखेल लुटिएको लुटियै भयो।’
उनको स्वर एक्कासि चर्कियो।
आमसभामा नेताहरूले मुठी हावामा उठाएझैं उनी पनि हावामा हात लहराउँदै जंगिए, ‘केही लछारपाटो लगाएनन् यी नेताहरूले। प्रजातन्त्र त आयो, तर काठमाडौंका जनताले आफ्नो स्वामित्वको टुँडिखेल भोगचलन गर्न पाएनन्। राज्यशक्तिले यसमाथिको काँडेतार झन् झन् कस्दै लग्यो। नयाँ नयाँ भवन बनायो। सेनाले हेडक्वार्टर फैलायो। खेल्ने मैदान बनायो। पार्टी प्यालेस बनायो। जनता हेरेका हेर्यै भए।’
‘२०६२ को जनआन्दोलनपछि भने मलाई खुबै आशा पलाएको थियो। म त्यो बेला तेस्रोचोटि पुलकित भएको थिएँ। जनताले राजतन्त्र नै उखेलेर फालेपछि मलाई लागेको थियो, अब चाहिँ टुँडिखेल पक्कै मुक्त होला। तर, खोइ त? गणतन्त्र आए पनि टुँडिखेलको आधा हिस्सामा सैनिक शासन चलेकै छ। बाँकी आधाको पनि आधा हिस्सामा महानगरले बसपार्क बनाएको छ, कहीँ निर्माण सामग्री थुपारेको छ। पञ्चायतदेखि राजतन्त्रसम्मको विरोध देखेको खुलामञ्च पनि नामअनुसार खुला छैन। आज आएर बल्ल महानगरले खुलामञ्चका टहरा हटाउन डोजर चलाउँदै गरेको देखेँ। मलाई एकदमै खुसी लाग्यो। अब चाहिँ खुलामञ्च साँच्चिकै खुला हुन्छ होला। तर, मुख्य लडाइँ त यो टुँडिखेलको हो, जहाँ म बस्छु। जहाँ मेरो घर छ। जहाँ काठमाडौंका बच्चा–बच्चाले चिन्ने म गुरुमापा राक्षसको रूख छ। मेरो यो घर काँडेतारबाट कहिले मुक्त हुने?’
‘के ‘अकुपाई टुँडिखेल’ ले टुँडिखेललाई मुक्त गर्ला? के भोलि हुने ‘तिनिख्य: मार्च’ मा त्यत्रो शक्ति होला, जसले यसलाई मुक्त गर्न सकोस्? काठमाडौंका जनतामा आफ्नै जमिन खोसिएको चेत कहिले पलाउने हो? कहिले जाग्ने हुन् यहाँका जनता, संस्कृति र सभ्यतामाथिको यो प्रतिगमनविरुद्ध?’ गुरुमापाले एकपछि अर्को प्रश्नको बौछार यस्तरी गरे, मानौं फागुमा अबिर–पानीको पिच्कारी छाड्दै छन्।
त्यही फागुको दिन त हो, काठमाडौंका जनता गुरुमापालाई मासुभात खुवाउन टुँडिखेल आउने। पोहोर तिनै जनतालाई सेनाले छेकेर यहाँ बबाल भएको थियो। निकै बेर गलफत्तीपछि बल्ल सेनाले मूलढोकाको ताल्चा खोलिदिएका थिए।
हरेक वर्ष आफूलाई भोजन खुवाउने जात्राको प्रसंग उठेपछि गुरुमापाले भने, ‘तिमी पत्रकारहरूसँग मेरो एउटा गुनासो छ, तिमीहरू खाली सतहका कुरा मात्र टिप्छौ। गुदीसम्म पुग्दै पुग्दैनौ। टुँडिखेलको कुरा उठेपछि यसको इतिहास, यो कसरी बन्यो र कहिलेदेखि अतिक्रमणमा पर्यो, यस्ता कुराहरू तिमीहरूले थाहा पाउनु पर्दैन? जरोसम्म पुग्नुपर्दैन?'
राक्षससँग अन्तर्वार्ता लिनुको मजा नै यही! हामी पत्रकारहरूले सोध्न चुकेका प्रश्नको उत्तर पनि उनी आफैं भन्दिन्छन्।
‘आजलाई विस्तृत कथा भन्न मसँग समय छैन। आकाशका ताराहरू सप्पै खसिसक्छन्। त्यसैले, संक्षेपमा भन्छु।’
उनी अगत्स्यमुनिलाई कुमारजीले स्वस्थानी ब्रतकथा सुनाएझैं मलाई टुँडिखेल कथा विस्तार लगाउन थाले।
‘तीन हजार वर्षअगाडि काठमाडौं खाल्डोमा किराँतहरूको शासन थियो। मान्छेहरू डाँडामाथि झुरुप्प बस्थे, तल बेसीमा बाह्रै महिना खेती हुन्थ्यो। अहिले पनि उपत्यकाका सबै पुराना बस्ती डाँडाको थुम्कोमै छन्। बस्तीको बाहिरी घेरामा तिमी चउर देख्छौ। टुँडिखेल त्यस्तै प्राचीन चउर हो, जसलाई रैथानेहरू तिनिख्य: भन्छन्।’
‘यहाँ महांकाल, दुई माजु, भद्रकाली लगायत विभिन्न प्राचीन देवी–देउताको बास छ। यी सबै देवी–देउता भूमिको वास्तुअनुसार विभिन्न कोणमा मिलेर बसेका छन्। यसले चउरको धार्मिक महत्व झल्काउँछ।’
उनले अगाडि भने, 'मल्लकालसम्म आइपुग्दा टुँडिखेलको सांस्कृतिक महत्व बढ्यो। विभिन्न सांस्कृतिक र सामाजिक मान्यता टुँडिखेलसँग जोडिन पुगे। समुदायपिच्छे फरक विश्वास, फरक कथा, फरक संस्कृति र फरक नाउँ रहन गयो।'
‘अतिक्रमणको सिलसिला चाहिँ कहिलेबाट सुरू भयो त?’ मैले सोधेँ।
‘शाहकालमा आएर यो चउर सैन्यशक्ति प्रदर्शनको थलो बन्यो। चन्द्रशमशेरले सिंहदरबार निर्माण गराएपछि त टुँडिखेलमाथि फराकिलो सडक नै खनियो। उनले सिंहदरबार, बागदरबार, धरहरा, सेतो दरबार र नारायणहिटी जोड्ने गरी टुँडिखेल वरिपरिको बाटो फराकिलो पारेर विशाल ‘राजपथ’ बनाए। बेलायती राजाहरूले बग्गीमा बसेर अगाडि–पछाडि सेनाको लावालश्कर लगाउँदै सहर परिक्रमा गरेको राणाहरूले देखेका थिए, उनीहरूले त्यसैको सिको गरेका हुन्।’
‘तिमी एकचोटि आँखा डुलाऊ त, त्यति बेला काठमाडौंमा जे–जस्ता नयाँ संरचना बने, ती सबै टुँडिखेल वरिपरि थिए। वीर अस्पताल, सैनिक अस्पताल, दरबार हाइस्कुल, त्रिचन्द्र कलेज हुँदै घन्टाघरसम्म टुँडिखेललाई नै केन्द्रमा राखेर बनाइएको थियो। यहाँसम्म कि, १९९० सालको भुइँचालोपछि जुद्धशमशेरले व्यापार केन्द्रका रूपमा नयाँ सडक बनाउँदा त्यसको एउटा मुख टुँडिखेलतिरै फर्काए।’
म गुरुमापासँगै टुँडिखेलको समय–यात्रामा थिएँ, चुपचाप।
मैले एकचोटि मोबाइल रेकर्डरतिर हेरेँ। अन्तर्वार्ता सुरू भएको झन्डै एक घन्टा बितिसकेछ। गुरुमापाको प्रवचन जारी थियो।
‘राणाकालसम्म आउँदा अतिक्रमण सुरू भइसके पनि यसको महत्व चाहिँ घटेन है। यसको उपभोग काठमाडौंका जनताले नै गरे। पञ्चायती व्यवस्थाको सुरूआतपछि भने संस्थागत अतिक्रमण सुरू भयो। यसले हाम्रो इतिहास र संस्कृति मात्र मासेन, जनताको पहुँचसमेत निषेध गर्यो।’
उनको भोल्यूम बढ्दै गयो, ‘सेनाको बलमा ‘कू’ गरेका महेन्द्रले खरीबोट भत्काएर एउटा इतिहास नै मेटाइदिए। खरीबोट भएको ठाउँमा सैनिक मञ्च स्थापना गराए। सेनाले काँडेतार लगाएर जनतालाई छिर्न दिएन। त्यसपछि सहिद गेट निर्माण गरेर टुँडिखेललाई दाउरा चिरेझैं सर्लक्कै दुई चिरामा बाँडियो। सैनिक हेडक्वार्टर बनेपछि सहिदगेटभन्दा दक्षिणको खण्डमा पनि जनताले छिर्न पाएनन्।’
‘उफ, हेर्दाहेर्दै कस्तरी मासियो नि हाम्रो टुँडिखेल!’ गुरुमापाले लामो सुस्केरा हाले र एकछिन थामिए।
अलि बेरमा फेरि बोले, ‘२०४६ सालको प्रजातन्त्र र २०६२ को गणतन्त्रले टुँडिखेललाई मुक्त गरेर जनताकै स्वामित्वमा फर्काउला भन्ने लागेको थियो, सब बेकार भयो! नेताहरूले टुँडिखेल त बचाएनन् बचाएनन्, अहिलेसम्म बचेको हिस्सा पनि मास्न आँटिसके। अब त नागरिकहरू नै नजागी केही होलाजस्तो छैन।’
उनले यो पनि भने, ‘टुँडिखेल भनेको काठमाडौंको प्राचीन कालदेखिको खुला स्थल हो। नागरिकको निम्ति अपरिहार्य लोकतान्त्रिक स्पेस। अब यसलाई मुक्त गर्ने अभिभारा नागरिकको हातमा, मैले चाहिँ सकिनँ।’
समय घर्किँदै थियो। आकाशका ताराहरू टप्प टप्प खस्दै थिए। उल्लूहरूको किँ किँ, कुर्रकुर्र र चमेराहरूको चिँ चिँ, चुर्रचुर्र पनि सुनिन कम हुँदै थियो।
‘अहिले टुँडिखेल बचाउन भनेर जनता कस्सिएका छन्। ‘अकुपाई टुँडिखेल’ र ‘तिनिख्य: मार्च’ गर्नेहरूलाई मेरो धन्यवाद भन्दिनू। म सबको नाम त लिन्न, तर त्यो सेतै कपाल फुलेको अग्लो–अग्लो मान्छे छ नि, त्यसले काँडेतार हटाएर भए पनि नागरिक सभा गर्छौं भनेर चुनौती दिँदैछ। म त सुनेरै गद्गद् भएँ बुझ्यौ। क्या बात्! क्या बात्!’
गुरुमापा बेस्कन हाँसे– हा हा हा हा ।
मैले सुस्तरी भनेँ, ‘तपाईं त खुसी हुने नै भयो नि, वर्षको एकचोटि मासुभात टन्न खान जो पाइन्छ।’
यतिञ्जेल सभाकक्षको ढोकामा दुई जना सेवक उभिन आइसकेको मैले देखेँ। सायद मलाई फेरि टुँडिखेलको मूलढोकासम्म पुर्याउन आएका थिए।
छुट्टिने बेला मैले भनेँ, ‘अरू केही भन्नुछ गुरुमापा?’
‘काठमाडौंका नागरिकलाई मेरो एउटा सन्देश सुनाइदिनू– दना वा येँ च्वंपिं दना वा, मखुसा लिबाइ! (जाग काठमाडौं जाग, नत्र ढिलो हुनेछ)’