प्लास्टिक मानिसका लागि बहुउपयोगी वस्तु हो। यो आधुनिक युगमा प्लास्टिकबिना जीवन असम्भव नै छ जस्तो भएको छ।
काठ वा धातुका वस्तुको तुलनामा प्लास्टिक निकै सस्तो, किफायती, हलुँगो र प्रयोग गर्न सजिलो छ। प्लास्टिकबाट बनेका झोला सानो आकारमा पट्याएर राख्न मिल्ने हुन्छ। प्लास्टिक सामग्री उत्पादन, भण्डारण र ओसारपसार गर्न निकै सजिलो हुन्छ।
यस्तै गुणका कारण प्लास्टिकका सामानको माग दिनप्रतिदिन बढ्दै गएको छ। एक अध्ययन अनुसार सन् २०२२ मा विश्व बजारमा प्लास्टिकको उत्पादन ४० करोड टन पुगेको थियो। झन्डै २७ करोड टन प्लास्टिक फोहोर उत्पादन भएको थियो।
विश्वमा चीन सबभन्दा बढी प्लास्टिक सामान उत्पादन गर्ने मुलुक हो, त्यही अनुपातमा प्लास्टिक फोहोर पनि उत्पादन हुन्छ। दक्षिण एसियाका मुलुकहरू पनि प्लास्टिक उत्पादनमा निकै अगाडि छन्। त्यसपछि अमेरिका र युरोपेली मुलुकहरू पर्छन्।
विश्वभर प्लास्टिक फोहोर व्यवस्थापन निकै ठूलो चुनौती बनेको छ। सार्वजनिक स्थल, खोलानाला हुँदै समुद्र, ल्यान्डफिल क्षेत्र र खुला ठाउँ जताततै प्लास्टिक फोहोर विसर्जन हुने गरेको छ।
यसले प्रकृतिको पारिस्थितिक प्रणाली र मानव स्वास्थ्यमा समेत प्रतिकूल असर पारिरहेको छ।
प्लास्टिक प्रदूषण नियन्त्रण सम्बन्धमा अन्तर्राष्ट्रिय रूपमा बाध्यकारी कानुनी व्यवस्था विकास गर्न अन्तरसरकारी वार्ता समिति (आइएनसी) को पाँचौं सत्र (आइएनसी–५) दक्षिण कोरियाको बुसानमा आयोजना भएको थियो।
वार्तामा विकासशील देशहरूका लागि क्षमता अभिवृद्धि र प्राविधिक सहयोग गर्ने दिशामा केही प्रगति भए पनि सन्धिको पाठमा पूर्ण सहमति हुन सकेन। अर्को बैठक सन् २०२५ मा हुने निर्णय भयो।
बुसान बैठकमा प्लास्टिक उत्पादन नियमन गर्ने कि नगर्ने, तथा रिसाइक्लिङ (पुनचक्रण) र उत्पादन बीचको सन्तुलन कस्तो हुने भन्ने विषयमा कुरा मिलेन। खनिज इन्धन र रासायनिक उद्योगहरूका तर्फबाट निकै ठूलो संख्यामा पैरविकर्ताहरू उपस्थिति थिए। उनीहरूको व्यवसायमा पर्ने प्रभावबारे पनि चिन्ता प्रकट भएको थियो।
त्यही अन्तरसरकारी वार्ता समितिको बैठक (आइएनसी ५.२) यही २०२५ अगस्ट ५ देखि १४ सम्म स्विट्जरल्यान्डको जेनेभामा हुने तय भएको छ।
अब हुने बैठकले बाँकी विषयहरू सुल्झाएर सन्धि पूर्ण बनाउने अपेक्षा छ।
सन् २०२१/२२ को तथ्यांक हेर्दा नेपालले आफै प्लास्टिक उत्पादन नगरे पनि अन्य मुलुकबाट ३८० हजार टन प्लास्टिक लगायतका सामान र कच्चा पदार्थ आयात गरेको देखियो।
उक्त वर्षको तथ्यांक अनुसार २०.७ किलोटन प्लास्टिक फोहोर उत्पादन भएको छ। यो परिमाण आयात गरेको प्लास्टिकको झन्डै ९ प्रतिशत हो। यो फोहोर प्राकृतिक वातावरण प्रदूषित हुने गरी मिल्काउने गरिन्छ।
नेपालले १६५ हजार टनजति प्लास्टिक रिसाइकल गरी नयाँ सामग्री उत्पादन गरेको देखिन्छ।
विश्व बजारमा प्लास्टिक आयात–निर्यात र तथ्यांक राख्ने प्रविधि (भोल्जा) का अनुसार नेपाली आयातकर्ताले २०२३ अक्टोबरदेखि २०२४ सेप्टेम्बरसम्ममा एक हजार ६३७ वटा विदेशी कम्पनीबाट प्लाष्टिक सामान आयात गरेका छन्। यो आयात ठिक अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले बढी हो।
हरेक वर्ष आयात बढ्दै छ।
यसरी प्लास्टिकको व्यापार र प्रयोग बढ्दै जाँदा केही मात्रामा रोजगारी पनि सिर्जना भएको छ तर रोजगारीको तुलनामा हानि बढी छ। नेपालले आयात गरेको प्लास्टिक एकपटक प्रयोग गरेपछि मिल्काउनुपर्ने खालको अर्थात् पुनः प्रयोग नहुने खालको धेरै छ।
प्लास्टिक फोहोर उत्पादन हुन्छ तर प्रशोधन र रिसाइकलका लागि उपयुक्त पूर्वाधारको अभाव छ। लगानीका लागि अनुकूल वातावरण छैन। प्लास्टिक प्रयोगबारे जनचेतनाको कमी छ जसले गर्दा प्लास्टिक फोहोर जथाभावी जलाउने, गाड्ने तथा ढल, नदीखोला र ताल–पोखरीमा फाल्ने प्रवृत्ति छ।
यस कारणले सर्वत्र प्लास्टिक फोहोर बढ्दो छ। प्लास्टिककै कारणले ढल जाम हुने समस्या बढ्दो छ। अनियन्त्रित र असचेत प्रयोगले वातावरण प्रदूषण बढाएको छ।
यसरी हेर्दा प्लास्टिक प्रयोगले मुख्य तीन पक्षमा प्रत्यक्ष असर पुर्याएको छ।
१. प्लास्टिकले जमिन, जल र वायु तीनैतिर प्रदूषण गर्ने भएकाले मानव लगायत सबै जीवित प्राणीहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारेको छ।
पोलिथिन झोला, काँटाचम्चा, प्लेट, जुस खाने पाइप जस्ता एक पटक मात्रै प्रयोग हुने प्लास्टिकका सामान व्यवस्थापनमा कठिनाइ भएको छ। यस्ता वस्तुको प्रयोग अनियन्त्रित छ।
२. प्लास्टिक बिस्तारै सुक्ष्म कण (माइक्रो प्लास्टिक) मा परिणत हुन्छ र विभिन्न माध्यमबाट जीवजन्तुको पेटमा पुग्छ। हामीले खाने कतिपय खाना र पानीमा समेत माइक्रो प्लास्टिक पाइने गरेको छ।
यस्तो माइक्रो प्लास्टिकले शरीरका कोषमा क्षति पुर्याउँछ। परिणाम स्वरूप शरीरको कुनै अंग वा सिंगो शरीर सुन्निने र एलर्जी हुने समस्या हुन सक्छ। शरीरमा 'अक्सिडेटिभ तनाव' हुन सक्छ।
शरीरमा 'फ्री र्याडिकल' र 'अक्सिड्यान्ट' को असन्तुलन हुनु अक्सिडेटिभ तनाव हो। यसले शरीरका कोषमा क्षति पुर्याउँछ।
केही माइक्रो प्लास्टिकले शरीरको हार्मोन सन्तुलनमा पनि बाधा पुर्याउन सक्छ। माइक्रो प्लास्टिक र न्यानो प्लास्टिक विभिन्न अंगहरू र प्लेसेन्टामा पनि फेला परेको छ। यसले मानव स्वास्थ्यमा सम्भावित नकारात्मक प्रभावका बारेमा चिन्ता बढाएको छ।
प्लास्टिकका अलिक ठूला टुक्राबाट शरीरमा आन्तरिक अवरोध सिर्जना हुन्छ। अंगमा क्षति पुग्छ।
३. प्लास्टिक उत्पादन र अव्यवस्थित प्लास्टिक फोहोरले जलवायु परिवर्तनमा नकारात्मक असर पारेको छ।
नेपालमा प्लास्टिक फोहोर उत्पादन र यसको प्रभावबारे विस्तृत तथ्यांक र अनुसन्धानको अभाव छ। एक पटक मात्र प्रयोग हुने प्लास्टिक झोला र अन्य वस्तुको व्यापक प्रयोगले समस्या बढाइरहेको छ।
नेपालमा अत्यधिक मात्रामा प्लास्टिक प्रयोग हुन्छ तर यसको फोहोर व्यवस्थापन निकै कमजोर छ। यस्तो फोहोर व्यवस्थापनका लागि पूर्वाधारको अभाव छ। व्यवस्थापन सम्बन्धी ज्ञान पनि कम छ।
सहरी क्षेत्रमा यत्रतत्र फालेको, हावाले उडाएर लगेको, माटोमा गाडेको, नाली र नदीखोलामा फालिएको प्लास्टिक फोहोर देखिन्छ। ग्रामीण क्षेत्रमा पनि प्लास्टिक फोहोर बढ्दो क्रममा छ।
नदीखोलfमा पुगेको प्लास्टिक अन्ततः समुद्रमा पुग्छ। समुद्री जीवहरूले त्यही प्लास्टिक खान्छन् र त्यसै कारणले तिनको मृत्यु पनि हुन्छ।
यो त भयो प्लास्टिक प्रयोग र प्लास्टिक फोहोरको कुरा।
उल्लिखत प्रकारका क्षति न्यूनीकरणका लागि नेपालले गर्न सक्ने काम तुरून्तै थाल्नुपर्छ।
सबैभन्दा पहिला नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार मातहतका सम्बद्ध विभागहरूले एक पटक मात्रै प्रयोग हुने प्लास्टिकका सामग्री उत्पादन, बिक्री, भण्डारण र ओसारपसार आआफ्ना स्तरमा नियन्त्रण गर्नुपर्छ।
प्लास्टिक झोलाको साटो बायो ब्याग (कपडाको वा सहजै कुहिने वस्तुको) प्रयोग बढाउनुपर्छ। प्लास्टिकका सामानको साटो काठ, बाँस वा यस्तै किसिमका स्थानीय बोटबिरूवाबाट बन्ने सामान प्रयोगमा प्रोत्साहित गर्नुपर्छ।
स्थानीय प्राकृतिक वस्तुबाट झोला, चम्चा, काँटा, काँइयो पानी राख्ने भाँडो, ब्याग आदि उत्पादन गर्न तीन वटै तहका सरकारले समन्वयात्मक सहयोग गर्नुपर्छ। यसो गर्दा स्थानीयस्तरमा स्वरोजगारी सिर्जना हुन्छ। वातावरणसंगत सामग्रीको प्रयोग बढ्छ। प्रदूषण घट्छ।
घरायसी स्तरमा सकभर रिसाइकल गर्न सकिने प्लास्टिक मात्र प्रयोग गर्ने व्यवस्था गर्नुपर्छ। यसै अनुसार उत्पादनको व्यवस्था गर्नुपर्छ। अनिवार्य अवस्थाबाहेक हानिकारक खालको प्लास्टिक प्रयोगमा बन्देज लगाउनुपर्छ।
रिसाइकल गर्न नमिल्ने प्लास्टिक सामानको उत्पादन र कच्चा पदार्थको आयात बन्द गर्नुपर्छ। आयात गरेको खण्डमा आयात गर्ने कम्पनीले नै त्यसको तथ्यांक राखी व्यवस्थापन गर्ने नियम हुनुपर्छ।
आम सर्वसाधारण र सबै किसिमका प्रयोगकर्ताबाट स्रोतमै प्लास्टिक फोहोर सफा र सुरक्षित तरिकाले संकलन गर्ने व्यवस्था गर्नुपर्छ। संकलित फोहरबाट प्रदूषण र चुहावट नहुने गरी सुरक्षित तरिकाले प्रशोधन केन्द्रसम्म ढुवानी पनि गराउनुपर्छ।
विभिन्न खालका प्लास्टिकको उचित वर्गीकरण, भण्डारण र प्रशोधन गर्ने कामका लागि प्रोत्साहन गर्नुपर्छ। यस्तो कममा पूर्वाधार विकास र व्यवस्थापनका लागि लगानी अनकूल वातावरण बनाउनुपर्छ।
प्लास्टिक संकलन र प्रशोधनका लागि कार्यरत व्यवसायी, कम्पनी तथा कामदारहरूको सीप विकास र ज्ञान अभिवृद्धिका लागि तालिम दिने व्यवस्था गर्नुपर्छ। व्यवसायीलाई आर्थिक सुविधा र कर सहुलियत दिने नीति हुनुपर्छ।
सरकारले व्यवसायी कम्पनीहरूबाट ठीक ढंगले फोहर व्यवस्थापन भए–नभएको अनुगमन गर्ने प्रणाली विकास गर्नुपर्छ। कम्पनीहरूले सामाजिक उत्तरदायित्व बहन गरेको हुनुपर्छ।
प्लास्टिक फोहर व्यवस्थापन गर्ने विभिन्न प्रविधि छन्। नेपालले प्रविधि प्रयोगको निर्देशिका तयार गरी लागू गर्नुपर्छ। यसो गर्न ढिलो भइसकेको छ। अब प्लास्टिकको उचित प्रयोग गरौं, प्लास्टिक फोहोर उत्पादन घटाऔं, वातावरण संरक्षण गरौं भन्ने मूल मन्त्रका साथ अघि बढौं।
(लेखक 'फोहरमैला व्यवस्थापन संघ, नेपाल' का प्राविधिक सल्लाहकार तथा 'ब्लु वेस्ट टु भ्यालु प्रालि' का सञ्चालक हुन्। साथै, विश्व बैंक अन्तर्गत 'दक्षिण एसियामा प्लास्टिक फोहोर उत्पादन र चुहावट सम्बन्धी अध्ययन' टोलीमा नेपालका तर्फबाट प्रतिनिधि हुन्।)
एक्स- @bikashnabin1