काठमाडौंको हावामा दसैंको सुगन्ध छ। त्यो सुगन्ध हाम्रो नाकले थाहा पाउने साधारण बासनाभन्दा अलि फरक छ। छालाले स्पर्श गर्छ, मनले ग्रहण।
एकपल्ट आँखा चिम्लेर लामो सास फेर्नुस्, तपाईंको मनको अन्तरदृष्टिले त्यो बासना भेट्यो भने तपाईं काठमाडौं उपत्यकाको हुनुभयो।
यस्तै वर्णन म लेक–पहाड र तराई-मधेसमा जन्मे-हुर्केकाहरूबाट पनि सुन्छु। उनीहरूले अनुभूति गर्ने सुगन्धको विम्ब भने फरक छ। एकचोटि पहाड घुम्न जाँदा त्यतै जन्मे-हुर्केका एक मित्रले बयान गरेको सम्झन्छु, 'लेकमा फुलेको गुराँसको सुगन्धले पूरै पहाड ढाकेको छ।'
मैले निकै बेर गन्धरहित गुराँसको सुगन्ध सुँघ्न खोजेँ, तर विफल भएँ। सायद कसैले काठमाडौंमा दसैंको सुगन्धको मजा लिन नपाएजस्तै मैले पनि लेकमा गुराँसको सुगन्धको भेउ नपाएको हुन सक्छ।
तराई जाँदा त्यहीँका एक मित्रले भनेको सम्झन्छु, 'म त घर पुग्नेबित्तिकै कलबाट पानी उघाएर घटघट पिउँछु। एक बाल्टिन पानीले खलल जीउ पखाल्छु। यो पानीमा पाइने माटोको सुगन्धको स्वाद तिमीलाई के थाहा?'
तराई जाँदा पानी मैले पनि पिएँ। जीउ पनि पखालेँ। तर, मलाई सुगन्ध त पर, अलि भिन्नै महशुस भयो। सायद कसै-कसैले काठमाडौंमा दसैंको सुगन्धको मजा लिन नपाएजस्तै, मैले पनि जमिनमुनिबाट कलले तानेको पानीमा माटो र आइरनको सुगन्धको भेउ नपाएको हुन सक्छ।
मान्छेले आफ्नो ठाउँको सुगन्ध आफूले मात्र थाहा पाउँदो रहेछ, जसरी आफ्नी प्रेमिकाको शरीरको सुगन्ध सहृदयीले मात्र थाहा पाउँछ। कसैको पसिनाको दुर्गन्ध कसैलाई तृप्त पार्ने सुगन्ध भइदिन्छ।
जसरी नवमीमा चढाएको बोकाको मासुको बासना सम्झेर कोही र्याल काढ्छन्, कोही गन्ध सम्झेरै वाक्क मान्छन्।
मलाई काठमाडौंमा बहने दसैंको सुगन्धले लठ्ठ पार्छ, मग्न पार्छ। चार दशक नाघ्यो, म यसको मातमा लठ्ठिएको। येँया पुन्ही, अर्थात् इन्द्रजात्रा सकिएपछि जुनको कृष्ण पक्षले ल्याउने यो बासनाले घटस्थापनाको औंसी पुगेपछि रफ्तार लिन्छ। अनि कोजाग्रत पूर्णिमाको चक्र सकिएको पत्तै हुन्न। मैले वर्षदिन कुरेको यो बासनाले बिदा लिन्छ एक वर्षका लागि।
यो बासनामा इन्द्रकी आमाले उपहार दिएको कुहिरोभित्रको पानीको कण छ। पाक्न सुरु गरेको अम्बाको सुवास छ। फक्रन लागेको सयपत्रीको सुगन्ध छ। भदौरे झरीले पखालेको आकाशलाई चिर्दै छाएको घामको न्यानो राप छ। उपत्यकालाई बाध्यताको सहर ठानेर गाउँ सम्झँदै हरदिन सराप्दै सुत्ने व्यक्तिको सुस्केरा छ। वार्षिक बिदामा आफ्नो गाउँतिर लाग्दा खुसी भएर ओठमा लहराएको मुस्कान छ। आधाभन्दा बढी मानिस आफ्न्नो गाउँ हिँडेपछि यहाँका रूखहरूले दिएको अक्सिजनको डबल बढी भाग छ। यो सबै मिसिएर बनेको छ, मेरो दसैंको सुवास।
जतिसुकै परिवर्तन भए पनि, प्रदूषित भए पनि, कोलाहल बढे पनि, अस्तव्यस्त भए पनि, काठमाडौंको हावामा दसैंको यो बासना म अझै भेट्छु। थोरै परिवर्तन भने भएको छ। केही हराएजस्तो, केही गुमाएजस्तो।
म सम्झन्छु, सानो छँदा मेरो दसैं कपडा किनेर स्वीका: (सूचिकार) गुर्जुकहाँ नाप दिएर सुरू हुन्थ्यो। फलामको गजले थानबाट कपडा नापेर च्यात्दाको च्यार्रर आवाज। स्वीका: गर्जुले नापअनुसार कपडा काट्दा कैंचीको च्वाइँच्वाइँ। दायाँ हातले कल घुमाउँदै निकालेको त्यो ख्याट ख्याट। यी सबै ध्वनि मिसिएको हुन्थ्यो हाम्रो दसैंको सुगन्धमा।
म सम्झन्छु, अलि जिद्दी गर्ने उमेर भएपछि 'रेडिमेड' लुगा लगाउन रोइकराइ गर्दाको क्षण। बाले न्यूरोडको जुजु रेडिमेडमा लगेर मन लागेको कपडा किनिदिएको क्षण। न्यूरोडबाट खिचापोखरीतिर मोडिँदा दायाँपट्टि पर्ने जुजु रेडिमेडमा लुगा किनेपछि हामीलाई संसार जितेको अनुभूति हुन्थ्यो। हामी जुत्ता किन्न न्यूरोड पारिपट्टि 'बाटा'को शो-रूम छिर्ने रहर गर्थ्यौं। बा भने रत्नपार्कको बाँसबारी जुत्ता पसल लैजानु हुन्थ्यो। स्कुललाई पनि मिल्ने गरी जुत्ता किनौं भन्नुहुन्थ्यो। हाम्रो बालहठलाई बाकै आशयले जित्थ्यो।
सप्तमीमा आगं:द्य (आँगन देउता) मा पूजा सुरू भएको दिनदेखि घरमा दसैं चिउरा भएर आउँथ्यो। अरू बेला राँगाको मासु खाइन्थ्यो, दसैंमा खसीको भाग आउँथ्यो। हरेक दिन बिहानदेखि दिउँसो पूजा नसकिएसम्म खाली पेट बस्नुहुन्थ्यो आमा। उहाँको निम्ति दसैं ग्यास्ट्रिक भएर आउँथ्यो। तरकारी ल्याउने ज्यापू दाइको खर्पनमा दसैं काउली बनेर आउँथ्यो। कहिलेकाहीँ त्यो खर्पनमा टुप्पोमा अलि ओइलाएको फूल अडिएको कलिलो काँक्रो भेटिन्थ्यो। कालो थोप्लो काँडा भएको, टोक्दा अलि च्यापच्याप लस्सा भएको त्यो कलिलो काँक्रोमा पनि हामी दसैंकै बासना भेट्थ्यौं।
दसैंमा बादलले पनि बिदा लिन्छ क्यार, आकाश निलो हुन्छ। त्यो निलो आकाशमा दसैं बापाच्या, दरिवाल, पानबुट्टे, झिलिमिली चंगा भएर आउँथ्यो। चंगा उढाउन कौसी-कौसीको दोहोरी चल्थ्यो। चंगा लडाइँ र चंगा चेटको डंका पिटाइ भएर आउँथ्यो दसैं। काठमाडौंमा चेट... भनेर कराइने विजयी उद्गार पाटन पुगेपछि हाई चेट... बनी गुञ्जन्थ्यो। चंगा उडाउने धागोमा चिम पिसेर बनाएको खा:चुँ (शिशाको धूलो), घिउकुमारी, साबुदाना उमालेर लगाउने माजाको तयारी बनेर आउँथ्यो दसैं।
घटस्थापनाको दिन नजिकको खोलाबाट बालुवा ल्याएर, जमरा रोपेर सुरू हुन्थ्यो दसैं। त्यही बालुवामाथि घोप्टाएको भ्यग:भित्र जौको टुसा भएर पलाउँछ दसैं। त्यही जमरा उखेलेर टीकासँगै सिउरिएर सकिन्थ्यो दसैं।
अगं:छेँ (आँगन देउताको घर) मा बजेको डमरूको डमडम। लाखे अघिपछि बजेका धिमे- धाना तिका नाका धिना छ्याइँ ...। यसमा केटाकेटीको कौतूहल भरिएको डरयुक्त स्वाँस्वाँ। टोल-टोलका पाटीमा भजन मण्डलीले बिहान बजाउने र दिउँसो, साँझ रेडियोमा अहोरात्र बज्ने मालश्री धुनको संगीत भएर आउँथ्यो दसैं। पहाड र मधेसबाट आएकाहरू काठमाडौंलाई यहाँका रैथानेहरूको जिम्मा लगाएर गएपछि यहाँका सडकमा चकमन्न भएर छाउँथ्यो दसैं।
अचेल दसैं न चंगा भएर आउँछ, न खसी भएर। न काउली भएर, न स्वीका: गुर्जुले सिलाएको लुगा भएर। अब त यी सबैको मजा दसैंमा सीमित रहेन। सबै बाह्रमासे जमाना आयो। सबै मानिस बाह्रमासे भए। जिन्दगीको दाउ लगाउन हानथाप छ, बाह्रै मास। यो सहर नै बाह्रमासे सहर भएको छ। बाह्रमासेहरूको सहर भएको छ।
पख्नुस्, यो पूर्णेपछिको कृष्णपक्षले ल्याउने अबको औंसी तिहारको औंसी हुनेछ। त्यो दिन नेपाल देशमा जुवा फुक्थ्यो रे। जुवा, तास, कौडा खुल्थ्यो रे, हाम्रो बा-बाजेको पालामा। हाम्रो पालामा पनि चोक-चोकमा लंगुर बुर्जा चल्थ्यो, जुवा खुल्थ्यो र तिहारको यमपञ्चकसँगै बन्द हुन्थ्यो।
अचेल देशभरिका जुवा खानाहरूमा हररात जुवा खुल्छ, बाह्रैमास।
अब त मोहनी वा दसैं पनि दशहरा भएर आउँछ, विजया दशमी भएर आउँछ, दुर्गा पूजा भएर आउँछ, अनेक रूपमा आउँछ। तपाईंलाई जे भएर आउँछ, त्यसैको शुभकामना।
दसैंको शुभकामना, नजिकै चियाउँदै गरेको तिहारको शुभकामना, छठको शुभकामना।