हिजोअस्तिको काठमाडौं
सुई (इन्जेक्सन) सँगको मेरो पहिलो स्मरण घरबाटै सुरु हुन्छ।
क्वाइलवाला माटोको हिटरमा सुन्तला रङको गाढा नागबेली रापमाथि सानो डेक्ची। त्यसभित्र भकभकी उम्लिरहेको पानी। पानीको फोकासँगै तैरिरहेका सिसाका सिरिन्ज र सियोहरू। तीसँगै हुन्थे, पलेँटी कसेर बसेका एक जना वृद्ध पुरुष। दौरा सुरुवाल र कोट पहिरेका र बाइफोकल चस्मा लगाएका चिन्यमान कम्पाउन्डर।
उनको घर कालिमाटीको मूल सडकमा थियो। अहिले जीवन दाइको पसलकै लाइनमा दुई-चार घर पश्चिम। उहिले कालिमाटीको 'ल्यान्डमार्क' नै उनको घर थियो। समयक्रममा जीवन दाइको पसल 'ल्यान्डमार्क' बन्यो। त्यसमाथि अहिलेको कालिमाटी त चिन्यमान कम्पाउन्डरको घर कहाँ थियो भनेर अन्दाज गर्नै मुश्किल हुने भइसक्यो।
कालिमाटी, टंकेश्वर, ताहाचलदेखि छाउनीसम्म पूरै चिन्यमान कम्पाउन्डरको इलाका थियो। उनको घरमै क्लिनिक थियो। उनी सेवाग्राहीहरूको राम्रै रेकर्ड राख्थे। सुई दिने समय कहिले हो भनेर हामीले सम्झनै पर्थेन, उनी आफैं टुप्लुक्क आइपुग्थे। मेरा हातमा खोपिएका खोपका दाग र दायाँबायाँ पाखुरामा छापिएका सुइँका ल्याप्चे सबै उनै चिन्यमान कम्पाउन्डरका देन हुन्।
हामीलाई उनले बोक्ने छालाको झोला नै कम्पाउन्डरको चिनारीझैं लाग्थ्यो। झोला खोलेर त्यसबाट चाहिने सामान टेबलमा बिछ्याउँदा उनी बडो जतन र सफा गर्थे। सिसाका सिरिन्ज र सुईहरू, इन्जेक्सन पाउडर भएको सानो सिसी, अनि त्यो पाउडरमा मिसाउने पानी भएको अर्को सिसी।
उनको आगमन हाम्रा लागि आतंकै हुन्थ्यो। हामी टाढाबाटै उनको साइकलको घन्टी चिन्थ्यौं। उनले साइकलको प्याडल मार्दा निस्कने जन्जिरको खिद्रिङ खिद्रिङ आवाज र मोडमा बज्ने घन्टीको ट्रिङ ट्रिङ सुनेरै हाम्रो सातो जान्थ्यो। ती आवाज जति नजिकिँदै जान्थे, हाम्रो मुटुको धड्कन उति तेज हुँदै जान्थ्यो।
हुनलाई उनी साह्रै कोमल। स्वभाव पनि हात पनि। हात त यति नरम, प्राय: उनले सुई घोपेको हामीलाई थाहै हुँदैनथ्यो। जब सुई घुसेपछि उनी सिरिन्जको प्लन्जर बूढीऔंलाले ठेल्न सुरू गर्थे र घोपिएको सुईबाट औषधि शरीरभित्र प्रवेश गर्थ्यो, हाम्रो मुखबाट जति सहन्छु भने पनि च्याँ निस्किहाल्थ्यो। कुनै कुनै सुईले त ज्वरो नै निकाल्ने, हात पनि दुई-तीन दिन दुखेर सास्ती।
त्यस बेला ती पुनः प्रयोग गर्न मिल्ने सिसाका सिरिन्ज र सुई हामीलाई निकै ठूला लाग्थे। अहिलेका साना 'डिस्पोजेबल' सिरिन्जभन्दा त पक्कै ठूला हुन्। कुरा आकारको मात्र होइन, सिरिन्ज उमालेर पुनः प्रयोग गर्ने भनेको अचेल अपत्यारिलो लाग्छ।
नियमित खोप र सुईबाहेक कुनै चोटपटक लाग्दा पनि घरमा तुरुन्तै आइपुग्थे, चिन्यमान कम्पाउन्डर। गहिरो घाउ हुँदा झोलाबाट सियो झिकेर सिलाई पनि दिन्थे। साधारण घाउ भए आयोडिन र बेन्जिनको चहराउने लेप लगाइदिन्थे। सबै औषधि र साधन उनको त्यो छालाको झोलामा अटाएका हुन्थे।
त्यति बेला काठमाडौं उपत्यकाको प्राथमिक उपचार र खोप सेवा चिन्यमानजस्तै कम्पाउन्डरहरूले धानेका थिए। घाउखटिरा उपचार र अरू पनि सुरुआती स्वास्थ्य परामर्शका लागि मान्छे कम्पाउन्डरकैमा जान सजिलो मान्थे। डाक्टरहरू थिए, तर उनीहरूसँग साधारण जनता अलि हच्किन्थे। हुन पनि त्यो बेलाका डाक्टरको दम्भ गतिलै हुन्थ्यो। डाक्टरकहाँ जानैपरे पहिलो खुड्किलोको काम कम्पाउन्डरहरूले गर्थे।
यी सबै सम्झँदा त्यस बेलाका कम्पाउन्डरले नै हाम्रो समाजमा विकसित सहरहरूमा हुने 'जि.पी.' (जनरल प्राक्टिसनर) को स्थान ओगटेका थिए भन्दा गलत नहोला।
हुन त कम्पाउन्डरको शाब्दिक अर्थ विभिन्न रसायन र 'कम्पाउन्ड' मिसाएर औषधि बनाउने र बिरामीलाई दिने व्यक्ति मानिन्छ। आयुर्वेदमा जडिबुटी मिसाएर औषधि बनाउने मान्छे वैद्य भएजस्तै। हाम्रा लागि भने कम्पाउन्डर भनेका डाक्टरसरह नै थिए।
अहिले पढेका डाक्टर, स्वास्थ्य केन्द्र र अस्पताल संख्या बढ्दै गए। कम्पाउन्डररूपी 'जि.पी.' सेवा भने विस्थापित हुँदै गयो।
स्वास्थ्य सेवाको 'सिस्टम' सुल्टो हिँड्यो कि उल्टो? खै?
केही दिनअघि डाक्टरी पास गरेर उपत्यकाबाहिरको सरकारी अस्पतालमा कार्यरत एक नवजवान एमबिबिएस डाक्टर भेटेको थिएँ। उनले सुनाए, 'कस्तो अचम्म! गाउँको स्वास्थ्य केन्द्रमा त डाक्टरलाई जचाउनेभन्दा हेल्थ असिस्टेन्टलाई जचाउनेको लाइन लामो हुँदो रहेछ। हामी डाक्टरकहाँ कोही आइहाले पनि जाँचेको रिपोर्ट र लेखेको औषधि त्यहाँका रैथाने पुराना हेल्थ असिस्टेन्टलाई भेरिफाई नगरी मान्दै नमान्ने।'
यो घटनाले स्वास्थ्य सेवाप्रति हाम्रो अज्ञानता मात्र होइन, ज्ञान र योग्यताभन्दा व्यक्तिप्रतिको भरोसाले अर्थ राख्छ भन्ने देखाउँछ। हुन पनि विश्वास भनेको व्यवहारले जित्ने हो, डिग्रीले होइन। अहिले पनि हामीमध्ये कति जना डाक्टरले लेखेको औषधिभन्दा आफ्नै टोलको औषधि पसलेले भनेको कुरा बढी पत्याउँछौं। नपढेकाको त कुरै छाडौं, पढेका जमातसमेत यसै गर्छन्।
ती नवजवान एमबिबिएस डाक्टरले गाउँमा भोगेको अनुभव काठमाडौंका क्लिनिक-क्लिनिक, अस्पताल-अस्पतालमा व्याप्त छ। पहिलेजस्तो कम्पाउन्डरको जमाना अहिले छैन। साधारण हिसाबले हेर्ने हो भने अरू पढाइमा जस्तै डाक्टरीमा पनि सर्टिफिकेट, स्नातक, स्नातकोत्तर, विद्यावारिधिको पढाइ र डिग्रीबाट कुन डाक्टर कति योग्य भनेर सजिलै छुट्याउन सकिन्छ।
साधारण हिसाबले हेर्दा हेल्थ पोस्टदेखि ठूला अस्पतालको सेवामा लागेका डाक्टरहरूमा बढीजसो सिएमए/अनमी/एचए, एमबिबिएस, एमडी/एमएस, डिएम/एमसिएच जस्ता डिग्री देखिन्छन्। साधारण हिसाबले भन्दा यो क्रमलाई सर्टिफिकेट, स्नातक, स्नातकोत्तर र विद्यावारिधिको पढाइ र योग्यता बुझ्न सकिन्छ।
म सानो हुँदा सहरका अस्पतालमा एमडी पढेका डाक्टर कम थिए। बालरोग विशेषज्ञ भनेपछि 'एमबिबिएस/डिसिएच' वाला हुन्थे भने स्त्रीरोग विशेषज्ञ भनेपछि 'एमबिबिएस/डिजिओ' लेखेकाहरू देखिन्थे। यहाँ 'डी' भनेको 'डिप्लोमा' हो- डिप्लोमा इन चाइल्ड हेल्थ, डिप्लोमा इन गाइनाकोलोजी। यी भनेका केही महिना वा केही वर्षवाला कोर्स हुन्, स्नातकोत्तर बराबरको डिग्री होइन।
अचेल प्राय: विशेषज्ञ डाक्टरहरू स्नातकोत्तर बराबरको डिग्री 'एमडी/एमएस' गरेका देखिन्छन्। त्यसको पछाडि मेम्बरसिप, फेलोसिप लगायतको लस्कर पनि हुन्छ। कुनै कुनै मेम्बरसिप र फेलोसिपको डिग्री बराबर मान्यता भए पनि ती प्राय: आलंकारिक प्रकृतिका मात्र हुन्छन्।
हामी भारतको दिल्लीमा कुनै ठूलो अस्पताल गयौं भने त्यहाँको डाक्टर सूचीमा 'एमडी' त नामेट भइसक्यो। प्राय: 'डिएम' देखिन्छन्। नेपालमा भने 'डिएम' अझै दुर्लभ डिग्रीका रूपमा छ।
नेपालमा डिग्रीको महत्व बढ्दै त छ, तर बिरामी र सेवा उपभोक्ताहरू अझै डिग्रीवालाभन्दा पुराना डिप्लोमावाला डाक्टरका क्लिनिकमै धाएका देखिन्छन्। डिग्रीवालाभन्दा डिप्लोमावाला बालरोग 'विशेषज्ञ', स्त्रीरोग 'विशेषज्ञ', नेत्ररोग 'विशेषज्ञ' व्यापक प्रचलनमा छन्। हुँदा हुँदा क्यान्सरजस्तो विशिष्ट विशेषज्ञताको खाँचो पर्ने विधामा समेत डिप्लोमावाला डाक्टरको बोलबाला देख्दा भने अचम्मै लाग्छ। यो जनचेतना कमीका साथै नियमनमा रहेको नीतिगत त्रुटिको पनि फल होला!
काठमाडौंका ठूल्ठूला महँगा निजी अस्पतालमा त यस्तो व्यक्ति पछ्याउने प्रवृत्ति कायम छ भने, गाउँमा एमबिबिएसलाई भन्दा हेल्थ असिस्टेन्टलाई पत्याएकोमा आश्चर्य मान्नुपर्ने कारण नै के छ र?
यो हाम्रो मानवीय चरित्रको कुरा हो, प्राविधिक होइन। विश्वासको कुरा हो, योग्यताको होइन।
कुनै डाक्टरको भर परेर लम्पसार परेपछि ती डाक्टरले आफ्नो 'शरण' मा आउने बिरामीलाई जाने-नजानेको, आफ्नो विशेषज्ञताअन्तर्गत भए-नभएको प्रस्ट भनेर, आफ्नो मातहतको नभए अरूकोमा जान सुझाउने वा रेफर गर्ने प्रक्रिया संसारभरका स्वास्थ्य क्षेत्रमा व्याप्त छ। हामीकहाँ भने यो चलन दुर्लभ छ। आफ्नै विवेकले अरू डाक्टरसँग सोधेको वा 'सेकेन्ड ओपिनियन' लिएको थाहा पायो कि डाक्टर साहेबको इगोमा ठेस लाग्छ। त्यस्तो अवस्थामा 'मलाई जाँच्न खोजेको?' भन्दै रिसाउने डाक्टर साहबहरूको कमी छैन यहाँ।
यी सबैको संगतमा फस्दा र शरणमा पल्टेका बिरामीको हविगत हेर्दा मलाई भने बरू ती चिन्यमानको जमानाका कम्पाउन्डरहरू नै बेस हो कि झैं लाग्छ। जानेको इलाज गर्थे, नजानेको वा अलि जटिल लागेपछि डाक्टरकोमा वा अस्पताल जान सुझाउँथे।
त्यस बेला अहिलेजस्तो कुन ब्रान्ड र कुन मोडलको गाडी चढ्छ भन्नेबाट डाक्टर चिनिने जमाना थिएन। रुखो–खरो जे भए पनि प्राय: इमानका धनी थिए। घरको एक पैसा खर्च नगरी पाकेट खर्चसमेत पाउने छात्रवृत्तिका उत्पादन हुन्थे प्राय: डाक्टर। अहिले परिवारको घरखेत बेचेर डाक्टर पढेका वा भनौं पढाइएकाहरूको जमात बढ्दो छ।
यसको अर्थ, त्यस बेलाका सबै डाक्टर इमान-जमानवाला हुन्थे र अहिले इमानविहीन हुन्छन् भनेको होइन। यो अनर्थ कदापि नलागोस्। फरक यत्ति हो– त्यस बेला सेवामुखी डाक्टरको जमातमा पैसामुखी डाक्टर अपवाद हुन्थे। अचेल पैसामुखी डाक्टरको जमातमा सेवामुखी डाक्टर अपवाद छन्। स्वास्थ्य क्षेत्र अहिलेजस्तो बजारीकरण भएको थिएन। सरकारी अस्पतालबाहेक डाक्टरले निजी क्लिनिकमा सय-पचास रूपैयाँ लिएर बिरामी जाँच्थे, त्यतिमै सन्तुष्ट हुन्थे।
केही लोभीपापी डाक्टरको महत्वाकांक्षाले क्लिनिकलाई नर्सिङ होमको रूप दिन थाल्यो। सुरु-सुरुमा नर्सिङ होम भनेका प्राय: स्त्रीरोगवालाहरूले चिरेर बच्चा जन्माउने र 'गर्भपतन' गर्ने थलोका रूपमा चलेका थिए। अरू उपचार र अपरेसनहरू प्राय: अस्पतालमै हुन्थे। अस्पताल भनेका सबै सरकारी। त्यसपछि विस्तारै बिग्रिन थालेको हाम्रो स्वास्थ्य क्षेत्र सेवाभावबाट विचलित हुँदै आज सम्भवतः सबैभन्दा बढी नाफा कमाउने 'व्यापार' मा रूपान्तरित भएको छ।
त्यस बेला र अहिलेको एउटा सान्दर्भिक सम्झना यहाँ बाँड्न चाहन्छु।
एक गाइनाकोलोजिस्टका सर्जन श्रीमानले भनेको याद आउँछ, 'सर्जन लोग्नेको काम भनेको अस्पतालको ड्युटी सकेपछि गाइनो श्रीमतीको ड्राइभर बन्नु हो। क्लिनिकमा अपरेसन गर्न मिलेन...'
यो करिब २०४२-४३ सालको कुरा हो।
अब यसलाई अलि फास्ट फरवार्ड गरेर २०७६ को घटना हेरौं।
एक जना साथीको अपरेसन गर्नुपर्ने भयो। चिनेको सर्जनसँग सल्लाह गर्दा उनी यसो भन्दै थिए, 'म तीन ठाउँमा छु, सरकारी अस्पताल हुने नै भयो, त्यसपछि एउटा निजी अस्पताल अनि अर्को निजी टिचिङ अस्पताल। कहाँ अपरेसन गर्ने तपाईंको इच्छा छ? सरकारीमा दस-पन्ध्र हजारमा सल्टेला, निजी टिचिङमा गर्ने भए चालीस-पचास हजार, निजी अस्पतालमा गर्ने भए लाख-डेढ लाख पर्ला।'
उनले अगाडि भने, 'हेर्नुस्, तपाईं चिनजानको मान्छे, मलाई तपाईंसँग पैसा बनाउनु छैन, प्रस्टसँग खुलेर भन्छु। सरकारीमा हुने लाइन र अरू सेवाको स्तर मेरो वशमा छैन, हुँदैन पनि। निजी अस्पतालमा लाग्ने सेवा शुल्कको बिल मेरो वशबाहिर हुन्छ। फेरि निजी अस्पतालमा हामीलाई दिने शुल्कबाटै हामीले सहयोगी टोलीलाई बाँड्नुपर्छ। त्यो पैसा डाक्टरको टिममा बाँडे आफ्नो भागमा खासै बच्दैन।'
'यस्ता 'साधारण अपरेसन' मा डाक्टरले नै गर्नुपर्ने काम पनि सहयोगी नर्सबाटै चलाइन्छ। त्यसैले, बीचको बाटो समातौं, तपाईं निजी टिचिङ अस्पताल आउनुस्। त्यहाँ भने इन्टर्न, जुनिअर रेसिडेन्ट सबै सहयोग गर्न तयार र उपलब्ध हुन्छन्। इट इज सेफर एन्ड बेटर।'
उनको यो सटिक सुझाव हालको स्वास्थ्य सेवा बुझ्न काफी छ।
म फेरि अतितमै फर्किन्छु। अस्ति भर्खरसम्म अस्पताल संख्या सीमित थियो। सबैभन्दा नयाँ अस्पतालका रूपमा टिचिङ भर्खर खुलेको थियो। टिचिङको वास्तुकला, भित्रको अन्तरिक सुविधा, भुइँमा पोतिएका रंगीचंगी मार्गदर्शक लाइन, आधुनिक उपकरणहरू सबै जापानी शैलीका थिए।
टिचिङ भर्खर खुल्दा हेर्न गएको दिन अझै याद छ। अस्पताल देखाउँदै एक जना दाइले भनेका थिए, 'यो वास्तुकला जापानी शैलीको हो। बाहिरबाट हेर्दा एक तल्लेजस्तो, तर भित्र तीन तल्ला छ। अस्पतालभित्र छिरेपछि भुइँमा विभिन्न रङका धर्का छन्। हरेक विभागको आफ्नै रङ हुन्छ। जहाँ जानुपर्यो त्यही रङको धर्सो पछि लागे कसैलाई सोध्नै पर्दैन।'
त्यति भन्दै हामी रङ पछ्याउँदै निजी क्याबिनतिर लाग्यौं। भवनभित्र हिँड्दै गर्दा भुइँमा पाताको पट्टी देखियो। पहिलोपटक मैले केही सोधिनँ। फेरि आयो, अनि सोधेँ, 'यो पाता चाहिँ किन नि?'
जवाफ आयो, 'जापानमा धेरै भुइँचालो आउने भएकाले त्यहाँका इन्जिनियरहरूले ठूलो भवन बनाउँदा खण्ड खण्ड गरेर बनाउँछन्। एउटा खण्ड भत्किए पनि अर्कोलाई नतानोस् भनेर।'
मैले खासै बुझिनँ, तर 'ए' भनिदिएँ।
टिचिङ खुल्नुभन्दा पहिले सबभन्दा आधुनिक भनेको शान्ता भवनबाट लगनखेल सरेपछिको पाटन अस्पताल नै थियो। बेलायती मिसनले बनाएको पाटन अस्पताल भने हलुका र मितव्ययी निर्माण शैलीमा निर्मित थियो। सिमेन्टको 'हलो ब्रिक' प्रयोग गरेर बनेको काठमाडौंको पहिलो ठूलो भवन त्यही होला।
त्यसबाहेक पुरानोमा वीर अस्पताल मात्रै हो। अरू स्पेसलाइज्ड अस्पतालमा बालबालिकाका लागि कान्ति, प्रसूतिसम्बन्धि थापाथलीको प्रसूति गृह, आँखासम्बन्धी त्रिपुरेश्वरको आँखा अस्पताल, सरुवा रोगका लागि टेकु अस्पताल, क्षयरोगका लागि कालिमाटीको क्षयरोग अस्पताल र मानसिक रोगका लागि लगनखेलको मानसिक अस्पताल।
कोही दुर्घटनामा परेर इमर्जेन्सीमा लगेको छ भन्ने खबर आयो कि सिधै वीरको इमर्जेन्सीमा गए हुन्थ्यो। व्यथा लागेर अस्पताल लगेको खबर आए सिधै थापाथलीको प्रसूति गृह दौडने जमाना थियो। धेरै पहिलेको कुरा होइन, ०४२–४३ सालसम्मै यस्तै थियो।
अचेल अस्पताल धेरै भए। डाक्टर पनि धेरै भए। स्वास्थ्य सेवाले साँच्चै फड्को मार्यो। अलि जटिल समस्याका लागि दिल्ली, भेलोर धाउनुपर्ने हाम्रो बाध्यता देशमै निवारण हुन थाले। यो विकासलाई राम्रो मान्नुपर्छ। तर, राज्य मातहत हुनुपर्ने यो सेवा निजी क्षेत्रको हातमा पर्दै गयो। सेवाभाव प्राथमिक हुनुपर्ने पेसामा 'व्यापार' ले प्राथमिकता पायो।
राज्यअन्तर्गत रहनुपर्ने स्वास्थ्य सेवा लगाम नभएको घोडाजस्तो छाडा दौडिरहेझैं लाग्छ। त्यही लगामविहीन घोडालाई अब सत्ताधारीहरूले अश्वमेघ यज्ञका घोडाझैँ खुल्ला छाडिदिएका छन्, आफ्नो अधिनायकवादी सत्ताको साँध-सिमाना फराकिलो बनाउन।
कसैले बोले वा विरोध गरे युद्धको शंखघोष नै गर्छन्। स्वास्थ्य क्षेत्रको यो छाडायुग अन्त्य गर्न अब त लव-कुशकै जन्मको आश गर्नुभन्दा अर्को विकल्प देखिन छाड्यो।
म भाग्यवादी व्यक्ति होइन। सन्दर्भ र परिस्थितिअनुसार भगवान, धार्मिक ग्रन्थ र कथाहरू भने सम्झन्छु। भगवानको कृपाले म स्वयं अस्पतालमा बास बस्नुपरेको छैन। डाक्टरको अगाडि लम्पसार शरणार्थी हुनुपरेको छैन।
तर, यहाँको स्वास्थ्य क्षेत्रको ताल देख्दा म साथीभाइ र परिवारसँग भन्ने गर्छु, 'मसँगै स्कुल पढेका अधिकांश साथीहरू विदेशमा छन्। विदेश नगई यहीँ बसेकोमा मलाई कुनै पछुतो छैन। आफू भाग्यवादमा विश्वास नगर्ने भए पनि एउटा कुरा भने भगवानसँग सधैं प्राथना गर्छु, यो देशमा सबै परिस्थिति झेल्ने आँट छ, तर यहाँ बिरामी कहिल्यै हुनु नपरोस्।'
तस्बिरहरू: निशा भण्डारी/सेतोपाटी
(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)
यी पनि हेर्नुहोस्:
जब दक्षिण एसियाकै उत्कृष्ट मानिन्थ्यो नेपालको टेलिफोन सिस्टम
कल्पनै थिएन, काठमाडौंमा पार्किङको पैसा पर्ला!
प्रिय सरकार, नयाँ गर्न सक्दैनौ भैगो, पुरानालाई नछोऊ
नर्वेका युवराजको चिना बनाउने नेपाली ज्योतिष
स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
राणाहरूको दरबारजस्तै मेरो पुर्खौली घर