हिजोअस्तिको काठमाडौं
होस खुल्दै मेरो घरमा गाडी थियो।
म दुई वर्षको हुँदा नै मेरा आमा र बा फक्सवागन बिटल लिएर दिल्ली गएको मेरो पारिवारिक एल्बमले बताउँछ। पछि सोद्धा, आमा यात्राको बयान मज्जाले गर्नुहुन्थ्यो।
यात्राको सुरुआत बाले त्रिपुरेश्वरको टीवडेवाला एन्ड सन्समा गाडी सर्भिसिङ गराएर तेल फुल-ट्यांक र ग्यालनमा जगेडा तेल भरेर गरेको हुनुपर्छ।
त्यस बेला काठमाडौं उपत्यकामै सबभन्दा बढी पेट्रोल पम्प त्रिपुरेश्वरमै थिए। राजा त्रिभुवनको सालिकपूर्व मायाराम भोलाराम, उत्तरमा जयन्ती आयल र पश्चिममा टीवडेवाला एन्ड सन्स।
त्यहाँबाट एकैचोटि कालिमाटी चोकको माली आयल र सोल्टीमोडभन्दा अलि वर महालक्ष्मी पेट्रोल पम्प।
त्रिभुवन राजपथको यात्रा तय गर्नुअघि प्राय:ले यिनैमध्ये एउटा पम्पमा तेल हाल्थे। नत्र त्यहाँबाट गएपछि एकैचोटि हेटौंडा।
नेपाल आयल निगम स्थापना भएको २०२७ सालताका मात्रै हो। त्यसअघि यहाँका पेट्रोल पम्पले भारतबाट आफैं ट्यांकरमा तेल ओसार्थे र बेच्थे। सबैका स्रोत अलग हुन्थे। आफ्नो सम्पर्कअनुसार कोही इन्डियन आयल, कोही बर्मा शेल, कोही क्यालटेक्स, इस्सो आदिबाट किनेर ल्याउँथे।
त्यसैको अवशेष होला, आयल निगम स्थापनापछि पनि मेरो स्मरणमा रहेका ती पेट्रोल पम्पमा कतै इन्डियन आयल त कतै बर्मा शेल, क्यालटेक्स, इस्सोका बोर्ड देखिन्थे। विस्तारै ती बोर्डलाई आयल निगमले विस्थापित गर्यो।
दृश्यहरू धमिलो हुँदै गएका यी सम्झनालाई पुष्टि गर्न मैले टीवडेवाला एन्ड सन्सका नाति पुस्ताका शरद टीवडेवालालाई सम्पर्क गरेँ। उनले आफ्ना बुबाबाट सुनेका रोचक घटनाहरू सुनाए।
उनको परिवार इन्धन व्यापारमा लागेको सन् ५० दशकमा हो। त्यस बेलाको 'स्ट्यान्डर्ड भ्याक्युम आयल कम्पनी' सँग सम्झौता गरी उनीहरू टिनका भाँडामा तेल आयात गर्थे। केही समय नेपाल रोपवेले हेटौंडाबाट काठमाडौंसम्म ढुवानी गर्यो। त्रिभुवन राजपथ खुलेपछि मात्र मेसिनले तानेर ‘पम्प’ गरी पेट्रोल बेच्ने चलन सुरू भएको शरद बताउँछन्।
'स्ट्यान्डर्ड भ्याक्युम आयल कम्पनी' मेरो स्मरणबाहिरको नाम थियो। शरदका अनुसार पछि यो कम्पनी छुट्टिएर 'इस्सो' र 'मोबिल' मा टुक्रियो। त्यसपछि 'इस्सो' मार्फत् माउ कम्पनीको नेपाल कारोबार अघि बढ्यो।
'आयल निगमले आपूर्ति नगरुञ्जेल हामी इस्सोबाटै तेल आयात गर्थ्यौं,' शरदले भने।
मैले सर्भिस स्टेसनबारे थप जिज्ञासा राखेँ।
उनले भने, 'हामीले काठमाडौं र वीरगन्जमा पेट्रोल पम्पका साथै साठी दशकमै सर्भिस स्टेसन पनि सुरू गर्यौं। सायद दुवै ठाउँको पहिलो सर्भिस स्टेसन त्यही हो।'
उनले यति भनेपछि मैले त्यो बेला आमा र बाले गर्नुभएको भारत यात्राबारे कल्पना गर्न थालेँ।
नेपाल र भारतका राजमार्गमा डाँका लाग्ने डर हुन्थ्यो। साँझ पर्नुअघि बास बस्ने योजनासहित हिँड्नुपर्थ्यो। काठमाडौंबाट बाइरोडको बाटो हुँदै हेटौंडा, वीरगन्ज, रक्सौल, पटना, लखनउ अनि दिल्ली। त्यहाँबाट आग्रा, जयपुर घुम्दै नेपाल।
सोच्दै कस्तो रमाइलो! त्यो पनि सन् १९७२-७३ को समयमा। गाडीमा न रेडियो न गीत बज्ने कुनै सिस्टम। बाटोभरि यात्रु-यात्रुबीच संवाद मात्र। कस्तो भावनात्मक!
अचेल कामले म नेपालका राजमार्गहरूमा धेरै गुड्छु। हरेकपटक बाहिरबाट फोन गर्दा आमाको पहिलो प्रश्न हुन्छ, 'डाइबर लिएर गएको हो?'
म भन्छु, 'होइन, आफैं हाँकेको।'
त्यसपछि आमा भन्नुहुन्छ, 'यो पनि बाउजस्तै मोटर चलाएर नथाक्ने भो।'
बाले जस्तै मोटर त मैले कहाँ चलाउन पाएँ र!
मैले होस सम्हाल्दा आमाबा दिल्ली घुमेको त्यो बिटल हाम्रो ग्यारेजबाट उडिसकेको थियो।
मेरो स्मरणमा भएको हाम्रो पहिलो गाडी फोर्ड कम्पनीको ‘एङ्ग्लिया थेम्स’ मोडेलको निलो कार थियो। त्यो गाडी झोछेँबाट १५० डलरमा किनेको मेरो बा बताउनुहुन्थ्यो।
'लेफ्ट ह्यान्ड ड्राइभ' वाला त्यो बेलायती गाडी सम्भवत: जर्मनीबाट कुनै यात्रीले हाँकेर ल्याएको हुनुपर्छ। त्यस बेलाका प्राय: गाडीको स्रोत पर्यटकले हाँकेर ल्याउने गाडी नै हुन्थे। त्यस्तोमा धेरै फक्सवागन भ्यान र मर्सिडिज बेन्जका मिनीबस हुन्थे। आक्कलझुक्कल अरू कार पनि।
कालान्तरमा ती फक्सवागन भ्यान स्कुल बस वा विमानस्थलबाट सामान ढुवानी गर्ने साधन बन्दै विस्थापित भए। मर्सिडिज मिनीबसहरूले भने थानकोट, भक्तपुर र बनेपासम्म यात्रु ओसार्ने काम पाए। ती पनि लामो समय सार्वजनिक यातायातका रूपमा चलेर विस्थापित भए। अचेल त्यसका केही अवशेष ‘सुटिङ गाडी’ का रूपमा भेटिन्छन्।
यी मिनीबस मर्मत हुँदा हुँदा यसले आफ्नो मौलिक रूप गुमाएर नेपाली काइदाको बेग्लै रूप धारण गर्यो। हामी ठट्टा पनि गर्थ्यौं, 'यी मिनीबसलाई मर्सिडिजका डिजाइन इञ्जिनियरहरूले देखे भने बेहोस होलान्!'
त्यो समय धेरै 'फ्लावर जेनरेसन' हिप्पीहरू युरोपबाट इरान, पाकिस्तान, भारत हुँदै नेपाल आउँथे। हरदम गाँजा र चरेसको दम मार्थे। आफ्नो आर्थिक दम सक्किएपछि ल्याएका गाडी र अन्य सामान बेचीवरी घर फिर्थे। उनीहरूले बेच्न ठिक्क पारेका गाडी झोछेँ अघिल्तिर वसन्तपुर दरबारको चौडा सडकमा लाम लगाएर राखिएका देखिन्थे। ती सबैमा हस्तलिखित सूचना टाँसिएका हुन्थे– ‘कार फोर सेल’।
कुनै कुनै गाडीका सूचना दिनहुँ परिवर्तन हुन्थे। अघिल्लो दिनको मोल काटेर पहिलेभन्दा घटाइएको मोल राखिन्थ्यो। ती पर्यटक घर फर्कने मिति नजिकिँदै जाँदा मूल्य घटाघट झन् तीव्र हुँदै जान्थ्यो। यही क्रममा ३०० डलरको मोल घटेर १५० मा पुगेको दिन मेरा बाले घर ल्याउनुभयो, हाम्रो फोर्ड ‘एङ्ग्लिया थेम्स’, जसलाई हाम्रा ड्राइभर दाइहरू ‘थोमस’ गाडी भन्थे।
हाम्रो ‘थोमस’ ले नेपाली चिनारी वा दर्ता पायो- बा. अ. १८३८ (हेर्नुहोस् आवरण तस्बिर)।
नम्बरले नै बताउँछ यो कथा काठमाडौं उपत्यका केन्द्रित बागमती अञ्चलमा दुई हजारभन्दा कम निजी गाडी भएको जमानाको कुरा हो। हाल बा २१ च को नम्बर चल्तीमा छ, जसको मतलब ४५ वर्षको उपलब्धिका रूपमा काठमाडौंले दुई लाखभन्दा बढी निजी गाडीको भार खेपेको छ।
गाडी विरलै हुने त्यो समय हाम्रो गाडीले कति बिरामी बोके, कति दुलही बोके गन्तीमै छैन। सामान पाउन छाडेपछि त्यो गाडी थन्किँदै गयो र अन्ततः एक दिन कबाडी आएर लिएर गयो।
'भिन्टेज' गाडीको अवधारणा नबुझ्ने नेपाली चलन र कानुनले यस्ता पुराना गाडीको दर्ता खारेज गरी कबाडमा बिक्री गर्न बाध्य पार्छ। नत्र वार्षिक करको भार खपिनसक्नु हुन्छ। त्यो गाडी अहिले हुँदो हो त 'भिन्टेज' का रूपमा स्याहारेर राख्थेँ। अन्तर्राष्ट्रिय ‘फोर्ड एङ्ग्लिया कार क्लब’ को सदस्य बन्थेँ। तर, नेपालमा भएको त्यो सम्भवत: 'वान-पिस' गाडी कबाड भयो।
यस्ता धेरै 'भिन्टेज' गाडी कबाड भएको मैले देखेको छु यहाँ।
दुर्भाग्य! विडम्बना!
नहुनेको एउटा पीर, हुनेका सयथरी। यो भनाइ धेरै सन्दर्भमा सही लाग्छ मलाई।
गाडी हुनेभन्दा नहुनेको बाहुल्य रहेको त्यो समय गाडी भएकै कारण हाम्रा बाले बेलाबखत निकै अप्ठ्यारो खेप्नुपर्थ्यो। नहुनेले त मागेरै जोहो गर्थे, हुनेले नहुनेहरूको माग व्यवस्थापन गर्नैपर्ने बाध्यकारी अपेक्षा।
ताहाचलमा एक कुँवर थरका अवकाशप्राप्त सैनिक बस्थे। उनको छोराको लगन जुरेछ। निम्तो गर्न हाम्रो घर आए। कार्ड टेबलमा राखेपछि भने, 'साहुजीसँग एउटा सहयोग चाहिने थियो।'
बाले भन्नुभयो, 'कस्तो सहयोग मेजरसाप?'
उनले भने, 'बिहाका लागि गाडी चाहिएको थियो।'
बाले जवाफ दिनुभयो, 'मेरो यो निलो कार र फक्सवागन भ्यानमा जुन चाहियो भन्नुस् न त।'
उनको दाउ अर्कै रहेछ, 'हैन, तपाईंको त्यो बेन्ज कार भनेको, दुलाहा चढाउन।'
हाम्रो ग्यारेजमा एउटा बेन्ज कार पनि थियो, तर हाम्रो होइन, ठूलो बाको। हिफाजतका लागि उहाँ बाहिर जाँदा हामीकहाँ राख्नुहुन्थ्यो। मेजरसापले त्यही देखेका रहेछन्, त्यही ताकेछन्। अब परेन फसाद!
त्यो गाडी दिन आफूलाई अप्ठ्यारो भएको बाले सुनाउनुभयो।
मेजरसाप कड्किए। टेबलमा राखेको कार्ड उठाए र फर्किए। जाने बेला तल गेटमा पालेदाइलाई फत्फताउँदै भनेछन्, 'यो न्यार साउ पनि पैसाले मात्तेछन्। यसलाई मैले जानेको छ।'
उनले के जाने, हामीले त्यो जान्ने मौका त पाएनौं, तर गाडीले ल्याउने दु:ख कस्ता कस्ता नौरंगी हुन्छन्, त्यसको एक रंग भने हामीले जान्यौं।
हाम्रो गाडी सकेसम्म सहयोगका लागि उपलब्ध हुन्थ्यो, तर कहिलेकहीँ यस्ता प्रतिकूल अवस्था पनि सिर्जना हुन्थे।
घरमा भएका गाडीमध्ये कामको सिलसिलामा सामान ढुवानी गर्न मेरो बाका लागि फक्सवागन भ्यान उपयुक्त थियो। सत्तरी दसकको मध्यतिर गाँजा प्रतिबन्ध भएपछि र त्यसै दशकको अन्त्यतिर इरानमा द्वन्द्व सुरू भएपछि युरोपबाट स्थलमार्ग हुँदै नेपाल आउने यात्री संख्या घट्यो। त्यससँगै गाडीको आपूर्ति प्रणाली बिथोलियो।
पर्यटकबाहेक गाडी कि विदेशी नियोगको लिलाममा पाइन्थ्यो कि दरबारियाहरूसँग किन्ने उपाय हुन्थ्यो। श्री ५ पगरीधारी सबैलाई कर छुट थियो। त्यसैले, कतिले त अरूका लागि गाडी मगाएर ‘बेच्ने धन्धा’ पनि गर्थे।
कति श्री ५ हरूले अरूको पैसामा गाडी मगाउँथे, अनि आफूले सोख पूरा गरेर मात्र असली धनीलाई गाडी बक्सन्थे। श्री ५ हरूलाई प्रश्न गर्ने औकात कसैको थिएन।
मेरा बाले अन्नपूर्ण होटलको ग्यारेजमा काम लाग्ने भ्यानहरू थन्किएर बसेका छन् भन्ने सुइँको पाउनुभएछ। अनेक तिकडम लगाएर होटल मालिक्नी श्री ५ हेलेन शाहको ‘दर्शन’ गर्न पुग्नुभएछ। सरकारबाट सोधनी मर्जी भएछ, ‘के का लागि आयौ?'
बाले भन्नुभएछ, 'सरकार, हजुरको ग्यारेजमा दुईवटा फक्सवागन भ्यान थन्किएर बसेका छन्, सेवकलाई बक्से कृपा हुन्थ्यो।'
केही बेरको भलाकुसारी र त्यस बेलाका राणा, शाह र नेवारहरूको सम्बन्धको नालीबेलीपछि सरकारबाट सोधनी भएछ, 'कति तिर्छौ?'
मोलमोलाइमा खप्पिस मेरा बाले बिन्ती गर्नुभएछ, 'सरकार १० हजार आँटछु।'
सरकारबाट मर्जी भयो, 'ल १५ हजार देऊ, लिएर जाऊ।'
यसरी सन् १९७८ तिर हाम्रो घरमा दुईवटा गाडी थपिए। एउटा सेतो, अर्को निलो। सिट भएको राम्रो भ्यान। तीमध्ये निलो भ्यानको सिट झिकेर ढुवानी काममा लगाइयो। सेतो भने पारिवारिक प्रयोजनमा बस्यो।
पर्यटकबाट किनिने गाडीभन्दा यो गाडी हाम्रो सडक सुहाउँदो थियो। 'राइट ह्यान्ड ड्राइभ' यानिकी यसमा ड्राइभरको सिट दायाँतिर थियो।
पञ्चायत कालमा ‘श्री ५’ को नाममा ब्लु-बुक भएको गाडीको बेग्लै ‘सान’ र ‘सहुलियत’ हुन्थ्यो। त्यही बुझेर होला, बाले गाडी ल्याउनुभयो, नामसारी गर्नुभएन।
त्यसपछि हाम्रो घरमा भित्रिएको गाडी भनेको सन् १९८० मा एउटा क्यानेडियन प्रोजेक्टको लिलामीमा किनेको पहेँलो डाइहाट्सु जीप। त्यो जीप पहिले बाको पर्यायवाची भएर, त्यसपछि मेरो र दाइको पर्यायवाची भएर काठमाडौंका सडकमा लामो समय गुड्यो। अर्थात्, पहिले नेपाल साहुको गाडी, पछि रवि–किरणको गाडी।
त्यो गाडीको नम्बर ६६०१ थियो, जसले त्यस बेलासम्म पनि उपत्यकामा गाडीको संख्या दस हजार नपुगेको इंगित गर्छ।
मैले मोटर चलाउन थालेको सन् १९८६–८७ सालदेखि हो। हामी काठमाडौंमा पार्किङ र जामको समस्याबाट बेपरवाह थियौं। पहेँलो जीप बाको निजी भइहाल्यो। त्यो हामीले पाउन जोखाना हेर्नुपर्थ्यो। मैले उपाय निकालेँ- हाम्रो ग्यारेजमा थन्किएको श्री ५ हेलेन शाहको नाममा भएको गाडी मर्मत गरेर चलाउने।
त्यो गाडी हाम्रा साथीहरूमाझ निकै प्रख्यात थियो। मोटरसाइकलसमेत कसैकसैको मात्र हुने त्यो जमानामा गाडी! त्यसमा कति साथीका दाइहरूको जन्ती बोकियो, जन्तीका ब्यान्ड बोकियो! गोदावरी, गोकर्ण, धुलिखेल, नगरकोट कति गइयो गइयो!
हुँदा हुँदा काठमाडौंबाहिर पोखरा, नारायणघाटसमेत लगियो। त्यो गाडीको अवस्था अहिले सम्झँदा ती सबै गर्न नहुने आँट गरेँजस्तो लाग्छ।
ब्लु-बुक नवीकरण बेला रमाइलो हुन्थ्यो। हनुमानढोका डिएसपी कार्यालय आडको टहरोमा हामी सबै चार-पाँचवटा गाडीका ब्लु-बुक बुझाउथ्यौं। श्री ५ को नाममा भएका दुईवटा गाडीको काम तुरुन्त सक्किएर बोलाइहाल्थे, अरू बाँकीको काम घन्टौं लाग्थ्यो।
०४६ सालमा पञ्चायतको अवसानसँगै ती श्री ५ को नामका गाडीको भविष्य धरापमा पर्न थाल्यो। सीमित श्री ५ बाहेक अरू करको दायरामा आउने भए। गाडीधनीको नाम परिवर्तन गर्नुपर्ने र त्यसो गर्न कर तिर्नुपर्ने नियमको हल्ला चल्न थालेपछि ती गाडी पनि कबाडीको भागमा परे।
त्यस बेलाका ‘खटारा’ गाडीको महत्व र मजा अहिलेको आधुनिक गाडीमा कहाँ! गाडी हाँक्न आफैं सानोतिनो मेकानिक नै हुनुपर्ने। सबै 'म्यानुअल'।
'प्रि-हाइड्रोलिक' युगका ती गाडी, हामी र प्रि-ट्राफिक जाम युगका सडक। ओरालो आयो कि स्टार्ट बन्द गर्यो सररर।
अहिलेको गाडीमा त्यो सम्भव नै छैन। स्टार्ट अफ भयो कि स्टेरिङ–ब्रेक सबै जाम। निकम्मा भैहाल्छ।
त्यति बेला हाम्रो खेती थानकोटतिर थियो। बराबर गइराख्नुपर्थ्यो। थानकोटबाट फर्कंदा म सधैं एउटा खेल खेल्थेँ। यो क्रम १९९०–९२ सम्मै चल्यो।
त्यो खेल के भने, थानकोटको चेकपोस्टमा म स्टार्ट अफ गर्थें, अनि गाडीलाई आफैं गुड्न दिन्थेँ।
चेक पोस्टपछि खुल्ला खेत। बलम्बु–गुर्जुधारा आएको संकेत बायाँतिर ठूल्ठूला सेता छाता उत्तानो पारेर राखेको भू-उपग्रह केन्द्र, त्यसपछि डुंगा चलाउन मिल्ने सानो पोखरी भएको कोपिला रिसोर्ट।
बलम्बुको झुरुप्प घरहरूपछि सतुंगलसम्म खाली थियो। त्यसमाथि पूरै ओरालो। स्टार्ट अफ गरी न्युट्रल गियरमै मज्जाले पुग्ने नै भयो। सतुंगल र नैकापबीच बल्खु खोलामा साँघुरो पुल थियो, दुइटा गाडी पास नहुने। उताबाट आएको गतिमा त्यो पुल पार गर्न पाएको बेला नैकापको उकालोसम्म मज्जाले कट्ने।
नैकाप र त्यसपछि ढुंगेअड्डामा भएका छिटपुट घरबाहेक पूरै खेत थियो। ढुंगेअड्डा पुग्नुअघि उत्तरतिरको थुम्कोमा मौसमअनुसार धान, गहुँ झुलेको अस्तिसम्मै हो।
तोरी फुल्ने मौसममा त त्यो थुम्कोको सौन्दर्य कम्ता मोहक हुन्थेन!
केही छिटपुट घरका बस्ती र बाँकी खेत भएको यो भेगमा अब खाली जमिन छिटपुट भयो। चेकपोस्टदेखि कलंकीसम्म पूरै एकसरो बस्ती बन्यो। कलंकी–थानकोटको बाटो त राजमार्ग नै मानिन्थ्यो। रिङरोड पूरै गाडी सिक्न मिल्ने।
काठमाडौंको अहिलेको सर्वाधिक व्यस्तमध्ये बानेश्वरको सडक नै राजमार्गजस्तो भएको याद छ, अस्तिसम्मै। थानकोटको बाटोमा न्युट्रलमा गाडी छोडेजस्तै गरी बानेश्वरको बाटोमा गाडी र मोटरसाइकल कुदाएको याद अझै ताजा छ।
माइतीघरबाट कुदाएपछि बिजुलीबजारको हल्का उकालोमा स्पीड कायम गर्यो। त्यहाँबाट एभरेस्ट होटल काटेपछि एक्सिलेटर पूरै निमोठेर ट्रलीबस ओरालो हुँदै हुइँकिएपछि तल बागमती पुल पुग्दासम्म अधिकतम स्पीड भेट्थ्यो। त्यसपछि तिनकुने मोड आउने हुनाले स्पीड घटाउनुपर्थ्यो।
मैले मेरो १०० सिसीको कावासाकी बजाज मोटरसाइकलमा त्यो बाटो दिउँसै १०० को स्पीड छोएको याद छ। अहिले सम्झँदा मुर्ख्याइँ लाग्छ, तर त्यो बेलाको तातो रगत!
यी बाटोमा यस्तरी मस्ती गरेको मान्छेलाई अहिले त्यही बाटो छिचोल्दा कस्तो लाग्ला?
कति सरल र रमाइलो थियो त्यो बालापन, त्यो काल, ती मोटर, ती सडकहरू!
हामीले सानो हुँदा काठमाडौंमा कुनै दिन पानी र पार्किङको पैसा पर्ला भनेर कल्पनै गरेका थिएनौं। गाडी नै यति कम थिए, पार्किङ समस्या हुने कुरै भएन। अनि बोतलको पानी विदेशी पर्यटकले बाहेक कसले खान्थे र?
मलाई सानो हुँदा न्यूरोडमा सडकबीचमै गाडी रोकेको धमिलो सम्झना छ। त्यति बेला न्यूरोडमा पार्किङ गर्ने ठाउँ भनेकै सडकको बीचमा थियो, ट्राफिक लाइनको माथि।
गाडी बढ्दै गएपछि खिचापोखरीको लाइन हुँदै, तरकारी बजार, फ्रेस हाउस अनि नगरपालिकादेखि जुद्ध सालिकको लाइनमा पार्किङ थियो। पार्किङ नपाएको किस्सा कसैबाट सुन्न पर्दैन थियो। मैले गाडी हाँक्न थालेपछि पनि आफू जहाँ जानुपर्ने हो, त्यसको ठ्याक्कै अगाडि प्राय: रोक्न पाइन्थ्यो। दुई-चार पसल यताउता रोक्नुपरे दिक्क लाग्थ्यो।
न्यूरोडको नेपाल बैंक जाँदा भवन अगाडिको पार्किङले मज्जाले धानेको थियो।
विशालबजार बनेपछि हामीले पहिलोपटक भूमिगत पार्किङ देख्यौं। त्यहाँ गाडी राखेबापत् केही रुपैयाँ शुल्क तिर्नुपर्थ्यो। काठमाडौंमा पहिलो सशुल्क पार्किङ सेवा सुरू गर्ने विशालबजार नै थियो कि जस्तो लाग्छ। धेरै समय त्यो भूमिगत पार्किङ नेपाली फिल्मको फाइट सिन सुटिङ गर्ने स्टुडियोजस्तै बन्यो।
आइजी डिबी लामाको पालामा सडकमा वान-वे सुरू भएपछि असनभित्र गाडी जान बन्द भयो। त्यहाँका गाडीवालाहरूले मासिक शुल्क तिरेर यो पार्किङ सेवा उपभोग गर्न थाले।
काठमाडौंको सडकमा सशुल्क पार्किङको सोच आएको त २०४६ को प्रजातन्त्र पुनर्स्थापनापछि मात्र हो। विजयकुमार गच्छदार सडक तथा यातायात मन्त्री भएपछि उनका केही आसेपासेले नीतिगत रूपमा सशुल्क पार्किङको थिति बसालेका हुन्।
नेताहरू भ्रष्ट हुने क्रमको सुरुआती चरण थियो त्यो। कमाइ हुने विकल्पको खोजी आसेपासेले गर्थे। त्यही क्रममा पार्किङका नाममा नेताका आसेपासे, कार्यकर्ता हुँदै स्थानीय क्लब र गुन्डा समूहका हातमा काठमाडौंका सडक भागबन्डा हुँदै गए। आफ्ना र आफूले पैसा पाए जनतालाई बेवास्ता हुने क्रमको सुरुआती दिनको याद हो यो।
थिति बस्ने आस, आसै रह्यो। पार्किङ व्यवस्थापन गर्ने नाममा सशुल्क पार्किङ सुरु त भयो, तर खोइ व्यवस्थित भएको?
कतिपय काठमाडौंबासीको गाँसबास जोडिएको एक मात्र घर भत्काएर बाटो चौडा गरेपछि ट्राफिक व्यवस्थित हुन्छ भनेको होइन? खोइ त?
धेरैले भन्छन्- काठमाडौं बिग्रियो, ध्वस्त भयो, खत्तम भयो।
हो, काठमाडौं अव्यवस्थित सहरीकरणले थला परेको छ। यसको उपचार पो गर्नुपर्यो। बिग्रियो, ध्वस्त भयो, खत्तम भयो भन्दै कराएर मात्र समाधान निस्कँदैन।
जतिसुकै खत्तम भए पनि के गर्नु, मलाई यो सहर नै सुन्दर लाग्छ, आफ्नी बूढी आमाजस्तै। यौवनमा कस्ती राम्री थिई, अहिले बुढेसकालमा अलि चाउरी परेकी, अलि फुलेकी, तर झन् ग्रेसफुल।
(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)
यी पनि हेर्नुहोस्:
प्रिय सरकार, नयाँ गर्न सक्दैनौ भैगो, पुरानालाई नछोऊ
नर्वेका युवराजको चिना बनाउने नेपाली ज्योतिष
स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
राणाहरूको दरबारजस्तै मेरो पुर्खौली घर