हिजोअस्तिको काठमाडौं
गाडीजस्तै फोन पनि हाम्रो घरमा मैले थाहा पाएदेखि नै थियो। नम्बर, १३२०५।
पछि यो पाँच अंकको फोन नम्बरमा अगाडि दुई थपियो। फोनको माग बढ्दै गएपछि उपत्यकाका तीन जिल्लाका लागि अलग-अलग नम्बर थपिएको थियो। नम्बर सुन्नेबित्तिकै ठेगाना छुट्याउन सकिन्थ्यो। काठमाडौंका नम्बरमा अंक २, ललितपुरमा ५ र भक्तपुरमा ६।
काठमाडौंमा आबादीसँगै घर-घरमा फोनको माग पनि बढ्यो। हाम्रो नम्बर पाँच अंकबाट छ हुँदै अहिले सात अंकको छ।
जति बेला पाँच अंकको नम्बर थियो, हामी आफ्नो फोन नम्बर गन्तीमै भन्थ्यौं। अर्थात्, १३२०५ भन्नुपर्दा अहिलेजस्तो अंकमा होइन, 'तेह्र हजार दुई सय पाँच' भन्ने चलन थियो। अंक बढेपछि नम्बर भन्ने तरिका पनि बदलियो। अचेल कसैले पनि मेरो नम्बर यति लाख यति हजार भनेको सुनिँदैन। गाह्रो पनि हुन्छ!
त्यही चलन कायम रहेको भए मोबाइल नम्बर कसरी भनिन्थ्यो होला? मेरो नम्बर ९८५१०..... भन्नुपर्दा 'नौ अर्ब पचासी करोड दस लाख ...'!
केही चलन त नयाँ नै बेस!
मेरो पहिलो फोनको सम्झना भनेको कालो रङको यन्त्र, जसमा अगाडि घुमाउने डायल थियो। कसैलाई फोन गर्दा त्यही डायलमा भएको नम्बरमा औंला घुसारेर घुमाउनुपर्थ्यो। अहिले किबोर्ड वा किप्याडमा नम्बर थिचे वा छोइदिए पुग्छ। तै फोन गर्नुलाई डायल गर्नु नै भनिन्छ।
केही पुरानो बानी कहिल्यै छुट्दैन!
नपत्याए नेपाल टेलिकमको नम्बर उठाउनुस् र फोन गर्नुस्। उताको नम्बर व्यस्त भए के सुन्नुहुन्छ?
'तपाईंले डायल गर्नुभएको नम्बर अहिले व्यस्त छ ...'
हाम्रो छोरी पुस्ता जसले फोन कहिल्यै डायल गर्नुपरेन, उनीहरू सोच्दा हुन्- नम्बर थिच्नु वा टचस्क्रीन छुनुलाई किन डायल गर्ने भनेको!
त्यस बेला फोन प्रविधिको हिसाबले नौलो थियो। नौला-नयाँ चिजले समाजलाई धेरै नयाँ कुरा सिकाउँछ। फोनले पनि सिकायो। अंग्रेजी नजान्नेलाई समेत अंग्रेजी अंक र केही शब्दसँग परिचित गरायो। अंग्रेजीको ‘ए’ नआउनेहरू फोन उठाउनेबित्तिकै आफ्नो बुझाइ र लवजले बुझेअनुरूप, ‘हल्लो ... हेलो ... ह्यालो... हेल्लो ...’ भनिहाल्थे।
फोनमा एकछिन कुर भन्नलाई ‘पख है, एकछिन होल्डिङ गर’ भन्थे। ‘होल्ड-अन’ भन्ने अंग्रेजी शब्द नेपालीकरण हुँदा ‘होल्डिङ’ भएको थियो। आवाज मधुरो भए 'लाइन खराब छ' भनिन्थ्यो। यस्ता भनाइ अहिले पनि कायमै छन्। फोनलाई 'फुन' भन्ने चलन पनि छँदैछ।
यस्ता नयाँ आगन्तुक शब्दले व्याकरणमा पनि रमाइलो प्रयोग सुरू गराउँछ।
फोनको घन्टी बज्नुलाई 'फुन आयो' भनेर किन र कसले भन्न सुरू गरेको होला?
अंग्रेजीमा फोनसँग सम्बन्धित यस्तो भाव भेटिन्न। 'फोन इज कमिङ' वा फोन आएको थियो भन्नलाई 'फोन ह्याड कम' भनेको सुनिँदैन। नयाँ कुराले हाम्रो भाषामा नयाँ आगन्तुक शब्द र भाव थपेको अनुभव मलाई रमाइलो लाग्छ।
फोन आयो, आएको थियो, गर, गरेको थियो- यी हाम्रा मौलिक भाव भए। हुन त हिन्दीमा पनि फोन आया, किया, करो प्रचलनमा थियो र छ। न त्यतैबाट आएको हो कि? खोइ?
त्यस बेलाको ताहाचल गाउँमा कतिवटा फोन लाइन थियो यकिन छैन। हाम्रो छिमेकमा भने हाम्रोबाहेक थिएन भन्दा हुन्छ। भए पनि कम थियो होला। दस औंलामा अटाउनेजति पनि थियो कि थिएन, कुन्नि?
त्यसैले त, हाम्रो फोन भएको कोठा सामुदायिक फोन बुथजस्तै थियो। आधा फोन त छिमेकीकै आउँथ्यो। फोनले गर्दा पनि छिमेकीहरूसँगको सम्बन्ध थप सुमधुर रहन्थ्यो।
हाम्रो घरको ढोका सबैलाई खुल्ला थियो। सबै निसंकोच सरासर आउँथे, फोन गर्थे, अझ कति त चिया खाउँ भनेर फर्माएर पनि जान्थे।
त्यस बेला यो सबै साधारण लाग्थ्यो। समुदायमा बसेको रस भनेको त्यही त होला! कति सौहार्द थियो त्यो छिमेक।
यसरी फोन गर्न र फोन उठाउन आउनेहरू नौरंगी हुन्थे। कोही त मेरो फोन आउनुपर्ने छ भनेर घन्टौं अड्डा जमाउँथे। दुई-तीन राउन्ड चियापानी भ्याउँथे।
छिमेकका जन्मदेखि मृत्युसम्मको खबरवाहक थियो हाम्रो फोन। कोही खुसी हुँदै फर्कन्थे, कोही सुँक्क सुँक्क गर्दै।
हाम्रो छिमेकमा सिलवाल खलकका जेठा दाइ सेनामा मेजर थिए। उनलाई सबै मेजरसाप भन्थे भने उनकी दुलहीलाई उमेर र सम्बन्धअनुसार मेजरनी साप, मेजरनी भाउजू, मेजरनी आमा...।
एकदिन मेजरनी आमालाई फोन आयो। उनको माइतिपट्टि कुनै नजिकको नातेदार बिरामी परेछ। फोन होल्डमा राखेर बोलाउनासाथ आत्तिँदै दौडेर आइपुगिन्। फोनमा कुरा गरेपछि आँखाभरि आँसु राखेर बातिर हेर्दै भनिन्, 'सिकिस्त रहेछन्, वीर अस्पतालमा। जान पाए हुन्थ्यो, कसरी जाने होला?'
मेरा बा उनको संवेदना बुझेर उठे र आफ्नो मोटरमा राखेर उनलाई अस्पताल लगे। गरिरहेको कामसाम लथालिंग। अहिले आउला छैन, भरे आउला छैन। तीन-चार घन्टापछि साँझतिर बा फर्किनुभयो। पछि थाहा भयो, अस्पतालमा बिरामी बिसेक भएर डिस्चार्ज हुने भएछन्। यातायात सुविधा सुलभ हुने कुरै थिएन। कुरेर, बिरामी र उनका परिवारलाई भीमसेनगोलातिर पुर्याएर फर्केछन्।
यसरी फोनको सुविधा कहिलेकाहीँ यस्तो विस्तृत समाजसेवामा तन्किन्थ्यो।
भर्खर विवाह भएर माइत आएका छिमेकी महिलाको श्रीमानले फोन गर्दा भने रमाइलो हुन्थ्यो। मनोरञ्जनका मध्यम सीमित भएको बेला, त्यस्ता फोन आएको भेउ पाएपछि हामी सबै कुनै न कुनै बहाना बनाएर फोन कोठामा पुग्थ्यौं। खुब रमाइलो हुन्थ्यो त्यो प्रेमभावयुक्त खुसरफुसर सुन्न। अहिले सोच्दा लाज लाग्छ, तर त्यस बेला कम्ता रमाइलो हुँदैन थियो।
फोन सक्किने बेला राताराता गाला पार्दै उनी फर्केपछि सुरु हुन्थ्यो, हामी केटाकेटीमा उनको नक्कल गर्ने शृंखला।
कोही कोही त आफ्नो धन्दा नै हाम्रो फोनबाट चलाउँथे। हाम्रो छिमेकमै एक जना जवान भारतीय महिला भाडामा बस्न आइन्। उनको ध्यान आफूतिर आकर्षित गर्न हाम्रा टोले जवान दाइ र अंकलहरू मरिहत्ते गर्थे।
दिनमा एक-दुईपटक उनको आगमन हाम्रो घरमा हुन्थ्यो। स्मार्ट थिइन्। मेकअपले पोतिएकी हुन्थिन्। हरेकपटक आउँदा हामी केटाकेटीलाई हाते ब्यागबाट टफी निकालेर दिन्थिन्। टोकेपछि पिच्च चकलेटको झोल निस्कने क्याडबरी एक्लेर्स। एकपैसे पिप्लामेट पाए लाख लाग्ने त्यो बेला यस्तो खोल भएको क्याडबरी दिने दिदी हाम्रो प्रिय हुने भैहाल्यो!
छिमेकको फोन आयो कि बोलाउन जाने ड्युटी हामी केटाकेटीको भागमा पर्थ्यो। अरूको फोनको खबर गर्न जानुपरे बहाना खोज्ने र अल्छी मान्ने हामी यी दिदीको फोन आयो कि को जाने भनेर हानाथाप गर्थ्यौं। जो गयो, उसैको भागमा एउटा टफी कमाइ हुन्थ्यो।
प्राय: छिमेकीका फोन आउने-जाने ठाउँ निर्धारित र सीमित हुन्थे। यी दिदीको भने प्राय: नयाँ नयाँ। उनी प्राय: हिन्दी र अंग्रेजीमा बोल्थिन्। हामीसँग भने टुटेफुटेको नेपालीमा बोल्ने कोशिस गर्थिन्। फोनमा उनले बोलेका कुरामा यो लाइन किन हो अझै याद छ, 'आज तो मुम्किन नहीँ है, थोडी देरमे कोई आ रहा है। आप कल आओ आरामसे बैठेंगे।'
निकै मस्किएर बोल्थिन्। मायालु थिइन्। हामी बच्चाहरूलाई मिठो मिठाइ दिएपछि मायालु लाग्ने नै भयो। उनको नाम मन्जु थियो। हामी सबै मन्जु दिदी भन्थ्यौं। हाम्री आमा भने उनी आएको देखेपछि नाक खुम्च्याउँथिन्। मन्जु दिदीको हाउभाउ र आमाको प्रतिक्रियाबारे त्यो बेला हामीले बुझ्ने कुरै भएन।
उनको बास हाम्रो छिमेकबाट छिट्टै उठ्यो।
त्यस बेला र धेरै पछिसम्म पनि हाम्रो फोनबाट काठमाडौं उपत्यकाका तीन जिल्लाबाहेक अन्त फोन सिधै गर्न मिल्दैन थियो। त्यसका लागि त्रिपुरेश्वर उकालोमा रहेको दूरसञ्चारको अन्तर्देशीय–अन्तर्राष्ट्रिय सेवा उपयोग गर्नुपर्थ्यो। घरमा फोन नभएकाहरू त्यहीँ गएर घन्टौं कुरेर फोन गर्थे।
फोन भएकाले भने १८०, १८६, १८७ मा डायल गर्नुपर्थ्यो। अपरेटरले फोन उठाउँथ्यो, अनि सम्पर्क गर्नुपर्ने गन्तव्य सहर, देश र नम्बर टिपाएपछि कुरेर बस्नुपर्थ्यो। तुरुन्तै लाइन पाउनु भनेको चिठ्ठा परेसरह। कहिले घन्टौं कुर्नुपर्ने त कहिले त्यस दिन पालो नै नआउने।
यो क्रम धेरै पछिसम्म कायम रह्यो। पछि हाम्रो पुरानो सिस्टम डिजिटल भएपछि एसटिडी (STD – Subscribers Trunk Dialing) र आइएसडी (ISD – International Subscriber Dialing) सेवा सुरु भयो। यो सेवाको सुरुआतसँगै हाम्रो फोनमा प्रजातन्त्र आएझैं भयो।
नत्र, योभन्दा पहिले सरकारले चाहेमा दूरसञ्चारमार्फत् हामीलाई लाइन उपलब्ध छैन भन्दै बाहिर संसारसँग सम्बन्दबिच्छेद गरेर राख्न सक्थ्यो।
त्यसपछि हाम्रा ती काला फोनहरू नम्बर थिच्न मिल्ने किप्याडयुक्त राता, हरिया डिजिटल फोनमा परिणत भए। डिजिटल फोन दूरसञ्चारमै मात्र पाइन्थ्यो। पछि विभिन्न कम्पनीका सेता फोनहरू पनि आउन थाले। त्यसमा प्यानासोनिक ब्रान्डको फोन बढी चल्यो। तर, दूरसञ्चारमा पाइने रातो, हरियो फोनजस्तो बलियो हुँदैन थियो।
फोनको नयाँ लाइन पाउन त्यस्तै गाह्रो। अलि बाठा मान्छे टेलिफोन अड्डामा गएर आफ्नो र आफ्ना परिवारको नाममा मिलेसम्म फोन दरखास्त राख्थे। दरखास्त राखेपछि नाम निस्कन वर्षौं लाग्थ्यो। नाम निस्कनु पनि चिठ्ठा परेसरह। धेरैले त बेच्नकै लागि दरखास्त राख्दै हिँड्थे। एरिया हेरेर फोन लाइनको किनबेच १०–२० हजार देखि लाख रुपैयाँसम्ममा हुन्थ्यो।
२०४०-४१ सालतिर नेपालको फोन सिस्टम डिजिटल हुँदा भारतमा भने भएको थिएन। हामी फोन डायल गर्ने अभ्यासबाट बहिरिँदै डिजिटल किप्याडमा नम्बर थिच्ने भैसकेका थियौं। फोन डायल गर्दा आउने क्यार्रक्यार्र आवाजको सट्टा टिँ टिँ टिँट सुन्न अभ्यस्त हुँदै थियौं।
२०४६–४७ सालसम्मै भारत जाँदा त्यहाँका पुरानो फोन क्यार्रक्यार्र घुमाउँदा दिक्क मान्थ्यौं र फूर्ति लगाउँथ्यौं– 'अरे यार यहाँका फोन तो अभी भी पुराना है, नेपालमें तो सब डिजिटल हो गया है। नम्बर दबाओ बस, यहाँ जैसा घुमाना नही पड्ता है।'
भारतीय साथीहरू दन्त्यकथा सुनेसरी ट्वाँ परेर सुन्थे।
त्यस बेला नेपालको टेलिफोन सिस्टम दक्षिण एसियाकै उत्कृष्ट मानिन्थ्यो। कुनै युरोपेली कम्पनीले स्तरोन्नति गरेको हाम्रो सिस्टम साँच्चै राम्रो थियो।
भारतीय प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीले पहिलोपटक नेपाल आउँदा संविधानसभामा 'हाइवे, आइवे र ट्रान्सवे' का विषयमा बोल्दै आइवे यानिकी सञ्चार क्षेत्रमा भारतले सहयोग गर्ने आश्वासन दिए। सभासदज्यूहरूले जोडले टेबल पिटे। त्यो पिटाइको जोड मैले आफ्नो टिभीमा जति ठूलो सुनेँ, त्यति जोडको झापड खाएको महशुस भएको थियो मलाई।
कस्तो थियो, कस्तो दिन आयो भनेर सम्झँदै!
दूरसञ्चारको प्रगतिसँगै, ‘फ्याक्स’ को चलन आयो। त्यसअघि लिखित सञ्चार भनेको हुलाक र ‘टेलेक्स’ मात्र थियो। दूरसञ्चार अड्डाबाहेक ठूला ट्राभल एजेन्सीहरूमा यो सहुलियत जोडिएको हुन्थ्यो। टेलेक्स आयो भन्दै फोन आयो कि दौडेर लिन जानुपर्थ्यो। अर्जेन्ट खबरको मध्यम ‘टेलेक्स’ थियो। फ्याक्स मेसिन सुरूमा आउँदा जादु हेरेजस्तै भयो।
हाम्रो घरमा २०४३–४४ तिर फ्याक्स मेसिन आएको हो। फोनको घन्टी बजेपछि विस्तारै कागज निस्कन्थ्यो। कागजमा उता घुसाएको पन्नाको फोटोकपी यता आउँथ्यो। मसी पनि नचाहिने, आफैं प्रिन्ट हुने। कत्ति पछिसम्म पनि फ्याक्समा घन्टी बजेपछि म दुगुर्दै ‘फ्याक्स’ आएको हेर्न जान्थेँ।
त्यसपछि संसार डब्लूडब्लूडब्लूमा प्रवेश गर्यो। २०५२–५३ सालसम्मै इमेल भनेको व्यक्तिगत हुँदैन थियो। इमेल आएको लिन र पठाउन मर्केन्टाइलको अफिस जानुपर्थ्यो। एक किलोबाइटको १५ रुपैयाँसम्म पर्थ्यो। बाइट-बाइटको हिसाब हुन्थ्यो। अहिलेका टेराबाइट, गिगाबाइटको कुरै थिएन। १.४ एमबी (मेगाबाइट) को फ्लोपी डिस्क सर्टको पाकेटमा राख्दा संसार खल्तीमा अटाएको भान हुन्थ्यो। यो धेरै अगाडिको होइन, अस्ति २०५५-५६ सालतिरको कुरा।
केही दशकमै सञ्चार प्रविधि कहाँबाट कहाँ पुग्यो! तारवाला फोन नै हराउने धुनमा गइसके। ताररहित मोबाइल फोनको तरंगले घर, समाज, टोल, देश सबै जकेडिसके। टोलमा एकाध फोन भएको बालापनको याद सम्झँदै अहिले व्यक्तिपिच्छे फोन नम्बर भएको देख्दा आफैंलाई बारम्बार चिमोट्दै बस्छु।
मोबाइल अन गर्छु, टचस्क्रीनमा घरको नम्बर छुन्छु, फोन कानमा थाप्छु, एउटा सन्देश बज्छ- 'तपाईंले डायल गर्नुभएको नम्बर अहिले व्यस्त छ, केही समयपछि पुन: डायल गर्नुहोला।'
मोबाइल तल राख्छु र पुनः डायल गर्नुको सट्टा हाम्रो नम्बरवाला डायल भएको पुरानो कालो ध्याब्रे फोन सम्झन्छु। डायल गर्दाको क्यार्रक्यार्र आवाज सम्झन्छु।
फेरि मोबाइल हातमा लिन्छु, सेटिङमा जान्छु, रिङटोनमा भएको सूची स्क्रोल गर्छु र ‘क्लासिक ओल्ड फोन’ सेलेक्ट गर्छु। त्यत्तिकैमा घरबाट फोन आउँछ। मोबाइलमा त्यही पुरानो कालो फोनसँग मिल्दो आवाज बज्छ- टिरिङ टिरिङ।
(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)
यी पनि हेर्नुहोस्:
कल्पनै थिएन, काठमाडौंमा पार्किङको पैसा पर्ला!
प्रिय सरकार, नयाँ गर्न सक्दैनौ भैगो, पुरानालाई नछोऊ
नर्वेका युवराजको चिना बनाउने नेपाली ज्योतिष
स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
राणाहरूको दरबारजस्तै मेरो पुर्खौली घर