हिजोअस्तिको काठमाडौं
मेरो स्मरणमा बागमती ठ्याक्कै कस्तो थियो, म अहिले त्यसको आकृति उतार्न सक्दिनँ। बिग्रेर अहिलेको अवस्थामा पुग्छ भन्ने पूर्वानुमान भएको भए याद गर्थें होला, मनमा फोटो खिचेर राख्थेँ होला।
मेरो सम्झनाको नजिकको रूप कलाकार रमानन्द जोशीको चोभारबाट काठमाडौंतिरको दृश्यमा पाउँछु। दृश्यको जिम्मा कलाकार जोशीको माथिको पानीचित्रलाई छोड्दै बागमतीसँग सम्बन्धित केही कुरा सम्झने कोशिस गर्दैछु।
मेरा बा हरेक शनिबार पशुपति–गुह्येश्वरी र हरेक मंगलबार चोभार गणेश जानुहुन्थ्यो। बोर्डिङ स्कुलबाट मीनपचास विदामा घर हुँदा हामी पनि सँगै जान्थ्यौं।
'पशुपति-गुह्येश्वरी' यात्रा पहिले गुह्येश्वरीमा रोकिन्थ्यो। गुह्येश्वरी सिँढीमुनिको द्वारसँगै गाडी पार्क हुन्थ्यो। गाडीबाट ओर्लेर हामी सिधै उत्तरपूर्वमा रहेको बागमतीतिर लाग्थ्यौं। खुड्किला ओर्लेर, हातगोडा धोएर, मुख कुल्ला गरेर टाउको माथि पानी छर्कन्थ्यौं, अनि फर्केर द्वार प्रवेश गर्थ्यौं।
गुह्येश्वरी मन्दिरका पुजारी परिवारमा मेरी मितिनी आमाको विवाह भएको थियो। फर्कंदा आमाले केही मिनट आफ्नी मितिनीसँग भलाकुसारी गर्नुहुन्थ्यो। उहाँ हामीलाई देख्नेबित्तिकै 'आसे हीँ' (पख है) भन्दै मन्दिर प्रांगणमै रहेको निवासको खुड्किलो उक्लेर एउटा पोको लिएर आउनुहुन्थ्यो। ‘का थो मस्तेत:’ (यो बच्चाहरूलाई) भन्दै आमाको हातमा पोको थमाउनुहुन्थ्यो।
पोकोमा उहाँका पुजारी पतिले मन्दिरबाट ल्याएको प्रसाद हुन्थ्यो। बिहान केही पनि नखाई देउताथान जाने चलन थियो। भोक लागेको सुरमा त्यो पोको तुरुन्तै खोल्न पाए हुन्थ्यो जस्तो लाग्ने, तर पशुपति दर्शन नगरी मुखमा केही राख्ने कुरै भएन।
गुह्येश्वरीबाट मोटर चढेपछि किराँतेश्वरको डाँडा घुमी साँघुरो पुल तरेर कैलाश पर्वत प्रवेश गर्ने ठाउँमा गाडी रोकिन्थ्यो। त्यहीँ पार्क गरेर पश्चिम द्वारबाट पशुपति प्रवेश हुन्थ्यो। पशुपति मन्दिरको द्वारसम्म पुग्दा दायाँबायाँ बूढाबूढी र हात खुट्टा गलेका केही बिरामी लामबद्ध माग्न बसेका हुन्थे। दायाँपट्टि हलवाईको पसल र फूल नैबेद्य बेच्ने केही स्टल थिए। हामी चिनजानको पसलमा धूप किनेर, चप्पल छोडेर मन्दिर प्रवेश गर्थ्यौं।
पशुपति मन्दिर र भित्र बढेमाको साँढेलाई दायाँ पारेर घुम्दै बासुकिनाथको मन्दिर उक्लिन्थ्यौं, अनि झर्दा बागमती झर्ने ढोका सामुन्ने सरस्वतीको दर्शन गर्थ्यौं। अन्त नचढाए पनि यहाँ चढाउनलाई हामी सिक्का साँचेर राख्थ्यौं। विद्याकी देवी सरस्वतीलाई खुसी पार्नै पर्यो।
पशुपतिमा हामी बागमती झरेर हातगोडा पखाल्दैन थियौं, गुह्येश्वरी घाटको पानीले पखालेका हातगोडा चोखै हुने भएर होला। पशुपति माथिबाट पर्खालमा झुन्डिएर हामी तल चियाउँथ्यौं - बागमती कलकल बगिरहेको हुन्थ्यो, पशुपतिको शिवलिङ्ग स्नान गराउन पुरेतहरूले गाग्रीमा पानी उघाउँदै ओसारिरहेका हुन्थे, ब्रह्मनालमा लास, चिता र शोकाकुलहरूको जमात देखिन्थ्यो। ती शोकाकुलको भिड नियालेर आमाले को बितेको रहेछ अड्कल लाउन खोज्नुहुन्थ्यो।
अहिलेजस्तो सबैको केन्द्रीय घाट पशुपति हुँदैन थियो। सबैका स्थानीय घाट प्रचलित थिए। पाटनकाहरू प्राय: शंखमुल, काठमाडौं विष्णुमती वारपारकाहरू शोभाभगवती, कालोपुल आदि प्रयोग गर्थे। शववाहनको चल्ती खासै थिएन। हरियो बाँसमा शव बाँधेर खाली खुट्टा पशुपतिसम्मको लामो यात्रा सम्भव पनि त थिएन।
हालसालै मलामीका क्रममा पशुपति पुलको दक्षिणपट्टि घाट पुगेँ। शवमा दागबत्ती दिएपछि गफ गर्नु र कुर्नुबाहेक खासै काम रहँदैन।
मैले प्रश्नबाट गफ सुरु गरेँ, 'यो घाटको नाम के हो थाहा छ?'
एक जना मलामीले फ्याट्ट भने, 'आर्यघाट।'
सँगै मेरा मावल भाइ प्रज्ज्वल पनि थिए। उनले त्यो फ्याट्ट बोल्नेलाई हेर्दै भने, 'आर्यघाट त पुलको उत्तरपट्टिकोलाई भन्ने हो, यो त भश्मेश्वर घाट हो।'
त्यहाँ उपस्थित सबैका लागि त्यो नयाँ ज्ञान भयो। मैले भाइतिर हेर्दै भनेँ, 'ओहो यो घाटका भकारीहरू त सबै गायब भएछन् त।'
उनले जवाफ दिए, 'यहाँ लास जलाउने ठाउँ जम्मा ६ वटा थियो, अहिले भकारी भत्काएर ९-१० वटा बनाए। पारिपट्टि भने भकारी थपेका छन्।'
उनले हामीलाई पारिपाट्टीका नयाँ भकारी देखाए। सँगै रहेकाहरूको अनुहारको भावबाट उनीहरूले कुरा नबुझेको भान पाएँ। सोधेँ, 'भकारी भनेको बुझ्नुभयो नि?'
फ्याट्ट बोल्ने मानिसको अर्को बोली आयो, 'खोइ, भकारी कता छ भनेर हेर्छु, देख्दिनँ त।'
उनी अन्नको भकारी खोज्दै रहेछन्। मैले बागमती किनारका गोला पिल्लरजस्ता बाँध, जहाँ बसेर श्राद्ध आदि काम पनि गरिन्छ, त्यसलाई भकारी भनिने कुरा बताएँ। यो त्यहाँ वरिपरि जम्मा भएका मलामीका लागि दोस्रो नयाँ ज्ञान भयो। फेरि भाइतिर हेर्दै भनेँ, 'भकारीमा जोडिएका मोटामोटा फलामका सिक्री त सबै गायब छन्, चोरेर खाए कि बेचेर?'
यो कुरामा भने भाइ पनि ट्वाँ परे, 'फलामका सिक्री रे?'
सायद मैले ऊ जन्मनुभन्दा पहिलेको कुरा गरेँ। फ्याट्ट जवाफ दिने व्यक्तिले भने सकारे, 'हो हो फलामको सिक्री थियो, मलाई पनि याद छ।'
मैले सानोमा पशुपति दर्शन गर्न जाँदा बागमती किनारका भकारीमा झुन्डिएका फलामका ठूल्ठूला सिक्री देखाउँदै आमालाई सोधेको थिएँ, 'यो के हो? किन राखेको?'
उहाँले आफ्नो बाल्यकालको यादमा डुब्दै भन्नुभएको थियो, 'हामी सानो हुँदा ग्वले मा (आमाको माइती ग्वल:– जयबागेश्वरी भएकाले हजुरआमालाई हामी ‘ग्वले मा’ भन्थ्यौं) सँग यहाँ नुहाउन आउँथ्यौं। हामीलाई खुड्किलोमाथि पानी नभेट्ने ठाउँमा राखेर आफू तल पानीमा डुबुल्की मार्न जानुहुन्थ्यो। एकपटक उहाँले डुबुल्की मारेको देख्यौं, तर माथि आउनु नै भएन। एकछिनमा त्यो भकारीमा भएको सिक्री समाएर कराउनुभयो। वरिपरिकाले समातेर ताने। त्यो सिक्री नभएको भए ग्वले मालाई बगाउँथ्यो।'
मेरो मस्तिष्कमा बागमतीमा भेल आएको, ग्वले मालाई बगाएको, उहाँले फलामको सिक्रीमा समाएर आफूलाई जोगाएको सबै दृश्य ताजा थियो। पछि ग्वले मा हाम्रो ताहाचल घर आउनुहुँदा मैले बागमतीमा बगाएको किस्सा सोधेको थिएँ। वहाँ हाँस्नु मात्र हुन्थ्यो।
उहाँ ताहाचल आउन गौशालाबाट बस चढेर रत्नपार्क झर्नुहुन्थ्यो। अनि त्यहाँबाट असन, इन्द्रचोक, मरु हुँदै हिँड्दै आउनुहुन्थ्यो। रत्नपार्क बसस्टपमा लाइनै टेबलकुर्सीसहित माइकमा भट्टाइरहेका मानिस हुन्थे।
'ल आउनुस् भाग्य अज्माउनुस्... लिनुस् भाग्योदय चिठ्ठा'
अर्को टेबलकाले आफूतिर ग्राहक तान्न भट्टाइरहेका हुन्थे, 'परे होन्डा नपरे चन्दा।'
यसरी बेचिने चिठ्ठा– क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस, नेत्रज्योति संघजस्ता केही सामाजिक संस्थाहरूले सञ्चालन गर्थे। चिठ्ठाको रकम १, २ रुपैयाँ थियो क्यारे, पुरस्कार भने लाख भनेको सुन्थ्यौं। ती चिठ्ठा नेपालमा मात्र नभई भारतमा पनि बिक्री हुन्थे।
ग्वले मा हरेकको एक-एकवटा चिठ्ठा किन्नु हुन्थ्यो र आफ्नो थैलीमा सुरक्षित राख्नुहुन्थ्यो। हामीलाई देखाउँदै भन्नुहुन्थ्यो, 'यो पर्यो भने सबै तिमीहरूलाई बाँड्छु।' हाम्रो दिमागमा सय, हजारको सपना दौडिन्थे। लाख त कल्पनामा पनि आउँदैन थियो।
उहाँ सकुन्जेल रत्नपार्कको बाटो हिँड्नुभयो। त्यो बाटो हिँडुन्जेल ती टेबलहरूमा अडिनुभो, चिठ्ठा किन्नुभो, तर परेको कहिल्यै सुनिएन। पछि पछि यो चिठ्ठा भन्ने चिज पर्ने चिज होइन भन्ने छाप पर्यो, त्यसैले अचेल पनि विदेश जाँदा साथीहरू 'मार्क सिक्स भरौं' भन्छन्, मेरो भने कहिल्यै जाँगर चल्दैन।
मेरी हजुरआमा– ग्वले मालाई झन्डै बगाएको घाटमा मैले अन्तिमपटक नुहाएको भनेको २०४५ ताका, मेरी जेठी आमाको सदगत बेला हो। त्यो बेला बागमती फोहोर नै त भएको थिएन, तर कन्चन पनि थिएन।
त्यस साँझ बागमतीमा डुबुल्की मारेर घर आएपछि राति सुत्ने बेला मलाई केही गन्ध आएको महशुस भयो। निकै बेरपछि आफ्नो जीउ नै गनाएको निर्क्यौलमा पुगेँ र घरमा फेरि नुहाएँ। त्यसपछि बल्ल राहत भयो।
बागमती त्यसबेला फोहोर हुन थालिसकेको रहेछ। बढ्दो आबादी र सिधै खोलामा ढल निकास एउटा कारण भयो। मुख्य कारण भने, त्यसै ताका काठमाडौंमा कार्पेट उद्योग फस्टायो। ती उद्योगका कारखानाको घनत्व बानेश्वरदेखि बौद्ध, जोरपाटीतिर थियो। कार्पेट धुने र धागो रंगाउने कारखाना प्राय: बागमती तिरमा बस्यो।
उद्योग खोल्दा उद्यमीले प्रदूषित पानी प्रशोधन गरेर मात्र ढलमा मिसाउने सर्त स्वीकारेर सही गर्नुपर्थ्यो। तर त्यस्ता सर्त खासै पालन हुँदैन थिए। यी उद्योगले खोलाको पानी तानेर प्रयोग गर्थे अनि फेरि रंग र रसायन मिसिएको प्रदूषित पानी खोलामा फाल्थे। यसले बागमती र यसका सहायक नदीहरूलाई दोहोरो मार पर्यो। ढल मिसिँदासम्म त धानेको थियो, हानिकारक रसायनसमेत पानीमा मिसिन थालेपछि बागमतीका जलचरलाई पनि प्रभाव पर्यो।
बागमती–विष्णुमतिमा जीव थियो भन्ने अहिले पत्याउन गाह्रो छ। जीव मात्र होइन, काठमाडौंका लागि बालुवाको श्रोत नै विष्णुमती, बागमती, मनहरा थिए। बालुवा निकालिएकै कारण २०४६ ताका थापाथलीको बागमतीको मूल पुल भास्सिएको थियो। भास्सिएको पुल भत्काएर नयाँ बनाउनुपर्ने भयो, तर नेपालका केही इञ्जिनियरले ठूल्ठूला ट्रक उचाल्नेजस्ता जगले भास्सिएको पुल उचालेर तल जगमा ढलान गरेर पुल फेरि सञ्चालनमा ल्याइदिए। त्यो पुल हालसम्म भगवान भरोसा चलेको छ।
त्योसँगै फलामको पुल थियो। त्यही ठाउँमा जापानिजहरूले हालको ‘नयाँ पुल’ बनाएका हुन्। नयाँ पुल बनाउँदा एउटा कुराले हामी अचम्मित भएका थियौं। पुलमुनि ‘फिस ल्याडर’, अर्थात् ‘माछा खुड्किलो’ बनाउँदै छन् भन्दा धेरै मानिस चित खाएका थिए। के रहेछ भनेर हेर्न जाने रमितेहरूको कमी थिएन।
फिस ल्याडर राखेकाले त्यस ताकासम्म बागमतीमा माछाहरू थिए भन्ने स्थापित हुन्छ। अहिले बागमती लगभग मृत घोषितझैं छ।
काठमाडौंबाट बाहिरिँदा उपत्यकाको खोला सबै मिसिएर बागमतीको नामले चोभारबाट विदा हुन्छिन्। यसका केही प्रमुख शाखा नदीहरूमा कर्मनाशा, नक्खु, हनुमन्ते, मनहरा, धोबीखोला, विष्णुमती, बल्खु आदि पर्छन्। यीमध्ये पाटनको कर्मनाशा र काठमाडौंको बल्खु बर्खामा ३-४ दिन पानी पर्यो कि बहुलाउने चरित्रका हुन्। कर्मनाशा खोला ग्वार्को–बालकुमारी खण्डको रिङरोड माथि बगेको यी आँखाले देखेकै हो। थानकोटदेखि बलम्बु, सतुंगल, विष्णुदेवी, कलंकी हुँदै हनागुलु टोल छोएर बागमतीमा मिसिन नसकेर कुर्लिंदै फर्केर बल्खु र कलंकीको गहिरो फाँटमा ताल बनेको पनि यी आँखाले देखेकै हो। एकचोटि होइन, धेरैचोटि देखेको हो।
अब त झन् यी खोला मिचिएर कयौं ठाउँमा नहरजस्तो भैसक्यो। फाँट सबै २-४ आनावाला घडेरी भइसक्यो। हरेक बर्खामा मिचिएका खोला वरपरका बस्ती डुबानको त्रासमा रहन्छ। मिच्ने आफू, बाढी आए दोष सरकारको। हुन त ठिकै हो। मिचेको देख्दादेख्दै चुप लागेर बस्ने सरकार नै क्षतिको दोषी हुनै पर्छ।
काठमाडौं उपत्यकाको बालुवा आपूर्तिमा बागमती, विष्णुमती र मनहरा मुख्य रहन्थे। विष्णुमतीको बालुवाभन्दा बागमतीको बालुवा अब्बल मानिन्थ्यो, र बालुवा ल्याउने ‘पावरटिलर ट्रयाक्टर’ ड्राइभरलाई केरकार नै गरिन्थ्यो, 'बागमतीको हो नि पक्कै, विष्णुमतीको त होइन?'
ट्रयाक्टर ड्राइभर टाउकोमा भएको टोपी हातले रगड्दै भन्थे, 'सत्ते बागमतीकै हो।'
यो पावरटेलर भन्ने ट्रयाक्टर मलाई असाध्यै जटिल लाग्थ्यो। इन्जिनमा हट्ठा घुसाएर जोडले घुमाएर स्टार्ट गर्नुपर्ने, एक्सिलेटरलाई दायाँ बूढी औंलाले चलाउनुपर्ने, गियर पनि हातैले भ्याउनुपर्ने अनि ब्रेक पनि ह्यान्डब्रेक मात्र हुने, हातैले भ्याउनुपर्ने। हातलाई यतिले काम नपुगेर, फेरि दायाँ मोड्नुपर्दा बायाँ हत्केलाले ब्रेकजस्तो देखिने लिवर अँठ्याउनुपर्ने, बायाँ मोड्न दायाँ हातले र दायाँ मोड्न बायाँले लिवर अँठ्याउनुपर्ने।
कृषि प्रयोजनका लागि नेसनल ट्रेडिङले मगाएर बेचेको यो खेत जोत्ने दुईपाङ्ग्रे पावरटेलरमा नेपाली बुद्धिले ट्रेलर जोडेर ढुवानी साधन बनाइएको थियो। काठमाडौंभित्रको ढुवानी धेरै पछिसम्म गाडा, रिक्सा र यी ‘ट्रयाक्टर’ ले धानेको थियो। अहिले पनि फाट्टफुट्ट यस्ता ट्रयाक्टरले काठमाडौंका सडकमा डन्डी सिमेन्ट बोकेका देखिन्छन्।
एकपल्ट बालुवा, इँटा लिएर आएको यस्तो ट्रयाक्टर ड्राइभरले स्टार्टमै छाडेर पिसाब फेर्न गएको मौका छोपी, चलाउने दुस्प्रयास गरेको थिएँ। के के भो के के, एकैचोटि पर्खालमा गएर गन्द्रयाङ्ग आवाज आएको याद छ। धन्न घाउचोट केही भएन। ड्राइभरको सराप र आमबाको गाली भने अघाउने गरी खाइयो।
काठमाडौंका घरमा सिमेन्टको प्रयोग त्यति हुँदैन थियो। त्यसैले बालुवा पनि कमै भए हुने। सिमेन्ट प्रचलनमा आउन थालेको र यसले व्यापकता पाएको २०४५ सालको भूकम्पपछि हो जस्तो लाग्छ। त्यसपछि काठमाडौंमा बालुवाको माग बढ्यो र बागमती, विष्णुमती अनि मनहराले धान्न नसक्ने भयो।
बागमतीको भन्दा विष्णुमतीको बालुवा अलि कालो हुन्थ्यो। अहिले कारण सोच्दा, बागमतीभन्दा विष्णुमती पहिल्यै प्रदूषित भइसकेको अनुमान गर्छु। बागमती सहर बाहिर-बाहिरबाट बग्ने र विष्णुमती सहरमाझ बग्ने भएकाले बढी दूषित भएको होला। त्यसमाथि शोभाभगवतीदेखि टंकेश्वर किनारको बगरमा बढी काटमार हुन्थ्यो। रगत, फोहोर, खुर, सिंग त्यही नदी किनारमै फालिन्थ्यो। यसले टंकेश्वर घाटसम्म खोला प्रदूषित बनाएको थियो।
टंकेश्वर घाटपछि प्रदूषित हुनेमा टेकु, कालोपुल त्रिवेणी नजिकैको घाट थियो। काठमाडौं फोहोरमैला प्रशोधन संस्थाले डम्पिङ साइट र कम्पोस्ट उत्पादन सञ्चालन गरेपछि टेकु दोभानमुनिको बागमती प्रदूषित हुन थालेको हो।
अब त बागमती, विष्णुमती हेर्दा मृत लाग्छ। केही वर्षदेखि बागमती सफाइको लक्ष्यसहित हरेक साता शनिबार सफाइमा जुट्ने समूह देख्दा आशा भने पलाउँछ।
उक्त समूहका एक अभियन्ता किशोर थापा बागमतीबारे संक्षेपमा यसो भन्छन्, 'नेपालका अरू ठूला नदीजस्तो बागमती हिमनदी होइन। यो शिवपुरी डाँडाको मूलबाट सुरू हुन्छ। यसको अधिकांश पानी खानेपानीका लागि सुन्दरीजालमा जम्मा गरिन्छ। खोलामा एकदम कम छाडिन्छ। सुख्खा मौसममा त यति कम छाडिन्छ, त्यस बेला बागमतीमा बग्ने भनेकै ढल मात्रै हो भन्दा हुन्छ।'
कुराकानीकै क्रममा उनी आफ्नो अतीतमा डुबे, 'म सानो हुँदा यही बागमतीमा हिले, असला, सिंगे माछा मार्थ्यौं। जेठमा नदीमा पानी कम हुँदा पूरै बालुवाको फाँट हुन्थ्यो। पानी कम हुँदै गएपछि माछाहरू बालुवामा छट्पटिन्थे। हामी केटाकेटी मौका यही हो भन्दै माछा छोप्थ्यौं।'
थापा काठमाडौंका रैथाने हुन्। उनी बागमती सुन्दरीघाटपारि चोभारमा जन्मे-हुर्के। त्यहीँ नजिक बागमती किनारको ल्याब स्कुलमा पढे। उतिबेलाको बागमती र अहिलेको बागमती सम्झँदै उनी निराश छन्, तर हौसला हारेका छैनन्। 'सफाइकै क्रममा अस्ति सिनामंगल र थापाथलीमा म आफैंले माछा भेटेँ। केही स्वयंसेवी साथीहरूले टेकुमा कछुवा भेटे,' अनुहार उज्यालो बनाउँदै उनले भने, 'मृततुल्य भइसकेको यो नदीमा माछा, कछुवा भेट्नु ठूलो राहतको कुरा हो।'
त्यसै समूहका एक जागरुक अभियन्ता राम साह २०७१ देखि निरन्तर हरेक शनिबार बिहान सफाइमा जुट्छन्। केही वर्षअघि उनलाई पुत्रीलाभ भयो। उनले आफ्नी छोरीको नाम राखे, बागमती।
केही दिनअघि रामजी भेट हुँदा उनी भन्थे, 'अबको केही समयमै मेरी छोरी स्कुल जान थाल्ने छिन्। अहिले नै धेरैले कस्तो ढलको नाम राखेको भनेर जिस्क्याउँछन्। केही वर्षसम्म पनि बागमती सफा पार्न सकिनँ भने मेरी छोरीलाई उनका साथीहरूले जिस्क्याउने नाम नै बागमती हुनेछ। त्योभन्दा अघि यो नदी सफा गरेरै छाड्ने हो।'
किशोरजी, रामजी लगायतको यो जोश र लगाव देख्दा बागमतीको रूप फेरि पुनर्स्थापित होला भन्नेमा विश्वास बढ्छ। बागमतीको घाटमा पानीले हातमुख धोएर, पशुपति, गुह्येश्वरी दर्शन गर्ने सम्भावना जीवित रहेको महशुस हुन्छ।
बागमती कसैले सफा गर्दैमा रातारात कन्चन हुने पक्कै होइन। तर, हामी सबैले योगदान पुर्याउन सकिने एउटा सजिलो उपाय भने छ, यसमा फोहोर फाल्न र मिसाउन बन्द गर्ने। फोहोर नै नगरेपछि सफा त हुन्छ नै।
सबै चित्र– आरएन जोशी, सौजन्य: आरएन जोशी म्युजियम
(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)
यी पनि हेर्नुहोस्:
देउतालाई नै चल्न छाडे सुका, मोहोर र डबल
ठूलो सुई लिएर आउने चिन्यमान कम्पाउन्डर
जब दक्षिण एसियाकै उत्कृष्ट मानिन्थ्यो नेपालको टेलिफोन सिस्टम
कल्पनै थिएन, काठमाडौंमा पार्किङको पैसा पर्ला!
प्रिय सरकार, नयाँ गर्न सक्दैनौ भैगो, पुरानालाई नछोऊ
नर्वेका युवराजको चिना बनाउने नेपाली ज्योतिष
स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
राणाहरूको दरबारजस्तै मेरो पुर्खौली घर