काठमाडौं सम्झनाकाठमाडौं वीर अस्पतालको पश्चिमतिर महाबौद्ध टोल छ। यो ठाउँलाई ‘महा बु बहा’ भन्ने स्थानीय चलन थियो। अझ अपभ्रंस हुँदै कसैकसैले त ‘महा भूत’ पनि भन्थे।
नाम जे भए पनि यो एक बुद्ध बिहार हो। यहाँको बुद्ध चैत्य स्वयम्भू जस्तै देखिन्छ। ढुंगाले बनेको चार कुना वैठकमाथि इँटाले बनेको ठूलो गुम्बज स्वयम्भू जस्तै प्रतीत हुन्छ। गुम्बजमाथि चारै दिशाका चार पाटामा बुद्धका आँखा खुलेका छन्। त्यो चारपट्टिको भाग माथिबाट गजुर आकाशतिर चुलिन्छ। र, सबभन्दा माथि धातुको छत्रावलीमा गजुर टुंगिन्छ।
सदा सर्वदा सेतो चुनले पोतिएको यो स्तुप वरपरको क्षेत्रलाई हामी ‘बहा’ भन्थ्यौं। नेवारी भाषाका शब्दमा ‘ल’ थपेपछि नेपाली भाषा बन्छ। ‘झ्या’ लाई झ्याल, ‘ख्यः’ लाई खेल भनेझैं ‘बहा’ लाई बहाल भनिन्छ।
त्यही बहालमा मेरो बाल्यकाल र किशोरावस्था बितेको थियो। बहालमा हुर्केका सम्झनाका माकुरे जालोमा अड्केको एक अनौठो पात्र मेरा स्मृतिमा आज पनि सल्बलाउँछ।
ऊ थियो, फोगिन, मागेर खाने मान्छे। नाम कहलिएको ‘भ्वे फोगीं’, अर्थात् भोज फोगिन। भोज फोगिन यसकारण, ऊ मागेर पनि हामी जस्तो सधैं दालभात खाँदैन थियो। दिनकै भोज नै खान्थ्यो।
हामी उसलाई ‘ग्वार्चा’ अर्थात् डल्ले भनेर बोलाउँथ्यौं। उसो त सबैको नाममा हामी ‘चा’ जोड्थ्यौं। ‘चा’ शब्दले माया थप्थ्यो, जस्तो प्यारी छोरीलाई नानीचा, सानोभाइलाई भाइचा। कसैलाई हेपेर बोलाउनुपर्यो भने पनि ‘चा’ नै जोड्थ्यौं। ‘ऐ लतमाँचा’ भनेर रत्नमानलाई बोलाउँथ्यौं।
माया र हेपाइ दुबैमा जोडिने ‘चा’ को अर्थ चाहिँ माटो रहेछ। नाममा ‘चा’ जोडेपछि हामी माटोमा मिल्ने पार्थिव पिण्ड हौं भन्ने तत्वबोधमा पुग्न सकिन्छ। र, अहिले सन्दर्भ छ ‘ग्वार्चा’ को।
डल्लो जीउडालको ग्वार्चाको अनुहार कालो वर्णको थियो। त्यसैले होला उसका आँखा निकै चम्किला थिए। दाँत भने पहेँला र फोहोरी। अनुहारभन्दा कालो र घुम्रिएको कपाल ज्यादै मैलो हुन्थ्यो। सधैं टाउको कन्याइरहने उसको बानी थियो। नुहाइ–धुवाइमा नाइँनास्ती गर्ने केटाकेटीलाई आमाबाबु भन्थे, ‘ग्वार्चालाई जस्तै जुम्रा पर्छ है, नुहाउनुपर्छ।’
हुन पनि मंसिर–पुसतिर घाम तापेर बसेकाबेला ग्वार्चा आफ्ना नङले टिकटिक जुम्रा मारिरहेको हुन्थ्यो। ऊसँग चार–पाँचवटा कुकुर साथै हुन्थे।
ती कुकुर ग्वार्चासँगै सुत्थे, ऊ नउठुन्जेल वरिपरि घेरा हालेर हलचलसम्म नगरी बस्थे।
ग्वार्चाको कुकुर प्रेम र कुकुरहरूको ऊप्रतिको माया अगाध थियो। यसको प्रमाण विशेषतः खानेबेलामा देखिन्थ्यो। ग्वार्चा कहिले पनि कुकुरहरूलाई नखुवाई आफू खाँदैन थियो।
महाबौद्धको त्यो पाटीमा ग्वार्चाले ‘च्यइच्यइ’ गरेपछि सबै भुस्याहा कुकुर उसका अगाडि जम्मा हुन्थे। पुच्छर हल्लाउँदै उसलाई चाट्न आउँथे। ग्वार्चा उनीहरूलाई खान दिन्थ्यो, अनि आफू खान्थ्यो। खानामात्र होइन, कुकुरसँग ऊ न्यानो पनि साट्थ्यो। ठूलो बर्को ओढेर हिँड्ने ग्वार्चा कुकुरसँग लपक्क भएर सुत्थ्यो।
ग्वार्चाले खाना माग्ने टोल महाबौद्ध मात्र होइन। आसपासका वटु, गुच्चाटोल, भोंसिको र इन्द्रचोक पनि उसका ‘क्याचमेन्ट’ क्षेत्र थिए।
ग्वार्चामा यस्तो खुबी थियो, त्यो सायदै अरू कसैमा होला। कुन घरमा कहिले भोज हुँदैछ भन्ने उसलाई सधैं थाहा हुन्थ्यो। श्राद्ध होस् या पास्नी, जन्मदिन होस् वा बिहे–ब्रतबन्ध, त्यो घरको छिँडीमा ग्वार्चाको ‘यो वजे भ्वय् छ भा फोने’ भनेर आवाज नपुगुन्जेल भोजको रीत नै नपुग्ने जस्तो थियो।
बिहानको छाक यताउति गरेर टारेपछि साँझ पाटीमा ऊ पलेँटी कसेर बस्थ्यो। गुनगुन गर्दै कराउन थाल्थ्यो ‘उखें वइला, थुखें वइला...’। आजको भोज यताबाट आउला कि उताबाट आउला भन्ने आशमा बस्थ्यो।
भोजको निम्तामा सिँगारिएर जाने पाहुना हेर्न उसका आँखा चल्मलाइरहन्थे। त्योबेला काठमाडौंमा मोटर–ट्याक्सी थिएन। सुनचाँदीका गहनाले लटरम्म निम्तालु पैदलै हिँड्नुपर्थ्यो। कसैको डर–भर थिएन। नयाँ दुलहीहरू टाउकाभरि सुनका गहना र पाउमा चाँदीका कल्ली नचाउँदै भोजमा पुग्ने चलन थियो। ग्वार्चालाई भोज हुने ठाउँ पत्ता लगाउने यही संकेतले इसारा गथ्र्यो। उसलाई कुनै समस्या हुन्थेन। देख्नेबित्तिकै यताबाट आए पनि, उताबाट आए पनि, उनीहरूको पछि लाग्नु उसको नित्यकर्म नै थियो।
भोज हुने ठाउँ पत्ता लगाएपछि ग्वार्चा त्यहीँ जमेर बस्थ्यो। उपयुक्त समय भएपछि ‘यो वजे भ्वय् छ भा फोने’ भन्दै रटन सुरु गर्थ्यो।
ग्वार्चा भिकारी थियो, उसको उपस्थिति भने कुनै पाहुनाभन्दा कम थिएन। महाबौद्धको ग्वार्चा भोजमा आयो भनेपछि टाढाको टोलले पनि गर्व गर्थ्यो।
दिनेले पनि उसलाई भिकारी भनेर फ्याँकेको वा जूठो खानेकुरा दिन्नथे। अरूलाई सरह भोजको भाग नै दिन्थे। ग्वार्चा आफैं पनि जूठो वा उब्रिएको भोज खान बस्दैन थियो।
भोज पाएपछि ऊ त्यहाँ बस्थेन। आफ्नो भाग लिएर सरासर महाबौद्धको पाटीमा आउँथ्यो, आफ्ना कुकुर बोलाउँथ्यो र खाना बाँडेर खान्थ्यो। उसको भोज कुकुरसँगै सुरु हुन्थ्यो, सकिन्थ्यो।
काठमाडौंमा भोजमा जाने निम्तालु पाहुनाका पछि लागेर जाने केही ‘विशेष अतिथि’ पनि हुन्थे। नबोलाइएको भोजमा पनि पाहुना सरह लुगा लगाएर सरिक हुन जाने एकाध व्यक्ति हुन्थे। यो त्योबेलाको चलन नै थियो। यसरी अरूको पछि लागेर जाने अतिथिलाई ‘धायू म्वाः पाहां’ अर्थात् निम्त्याउनु नपर्ने पाहुना भनिन्थ्यो।
सामाजिक भोजमा यो चलन आजभोलि छैन। बरू केही सेमिनार वा गोष्ठीको ‘लन्च’ भेट्टाउन पुग्ने अतिथि महानुभावहरूको संख्या बढ्दो छ भन्ने गुनासो सुनेको छु।
त्योबला त ग्वार्चा पनि त्यस्तो थिएन, भोज भएको ठाउँमा बसेर खाँदैन थियो। भोज पत्ता लगाएर पछि लाग्नुको कारण आफ्नो पेट भर्नु मात्र थिएन। उसको आश गरेर बसिरहेका अरूलाई पनि खुवाउनु थियो। सित्तैमा खानु वा माग्नुको पनि उद्देश्य होस् न ग्वार्चाको जस्तो।
त्यसैले त ग्वार्चा निकै परिचित थियो। उसलाई चिनेजानेकाले भोज दिँदा अरू पाहुनालाई जस्तै हरियो पातको लपटेमा दिन्थे। एक माना जति चिउरा चुलाएर त्यसको वरिपरि ‘क्वा धासा’ अर्थात् पकवानहरू सजाइन्थ्यो।
पकवानमा विशेषगरी गेडागुडी (बोडी, सिमी, केराउ, भटमास आदि), आलुतामा, तोरीको साग, फर्सी, सुकाएका मूलाका चाना र ‘लाक्वा’ मासुका परिकार (तःखा अर्थात् थलथले, पाकेको तातो मासु, भुटुवा) राखेर ‘भ्वेब्व’ दिइन्थ्यो। त्यसमा लप्सीको झोल अचार ‘पाउँक्वा’ र रक्सी ‘ऐला’ भएपछि भोज पूर्ण हुन्छ।
माटोको ‘संलिचा’ (सानो बटुका) मा धातुको विशेष सुराई ‘अन्ती’ बाट चुहेको रक्सी भने ग्वार्चाले पिउन पाउँदैन थियो।
जे भए पनि ग्वार्चालाई ‘भ्वे भाग’ नदिएको भोज हाम्रो टोलमा अपूर्ण भोज जस्तो हुन्थ्यो।
उसले काठमाडौंका सबै जसो भोज चाखेको थियो। यहाँका नेवार समुदायमा कोही बौद्धमार्गी त कोही हिन्दुमार्गी छन्। जुन मार्गका भए पनि भोजको तौरतरिकामा धेरै समानता हुन्छ।
तथापी मिहीन रूपले हेर्दा भने बौद्धमार्गीहरू विशेषगरी शाक्य, बज्राचार्य, उदास लगायत जातिको पकवान र हिन्दुमार्गीहरू विशेषगरेर ज्यापु र श्रेष्ठ समुदायका साथै राजभण्डारी, अमात्य, कर्माचार्य, आचार्य (आचाजु), वैध, प्रधानहरूको पकवानमा केही भिन्नता भने देखिन्छ।
पर्वअनुसार पनि परिकार फरक हुन्छन्। संस्कारअनुसार पनि। आजभोलि जस्तो सबै संस्कारमा एकै खाले भोज र सबै जातिको एकै स्वादको खाना हुन्थेन।
फरक जात र पर्वमा फरक स्वाद हुन्थ्यो। श्राद्ध, जन्मोत्सव, पास्नी, बिहे, ब्रतबन्ध, इही एवम् वान्हा (छोरी मान्छे विशेष) र मृत्यु संस्कारका भोजमा सबै खाले परिकार चाख्ने सायदै ग्वार्चा नै थियो। हरेक संस्कृतिका स्वाद चाखेर प्रसिद्धि कमाएका फोगिनमध्ये ग्वार्चा सर्वोपरीमै आउँछ भन्ने मलाई लाग्छ।
कहाँको, को हो थाहा नभए पनि ऊ हामी टोलवासीको ग्वार्चा भएको थियो। हाम्रा सबै सुखदुःखमा ऊ सहभागी हुन्थ्यो।
सायद २०२७–२८ सालताका होला, म काठमाडौं बाहिर भ्रमण सकेर घर फर्केको थिएँ। सडकतिर फर्केको मेरो घरको वार्दलीबाट बाहिर हेर्दै थिएँ। टोलका भुस्याहा कुकुरहरू टोलाएका जस्ता, भोकाएका जस्ता, रोइरहेका जस्ता देखिए। उनीहरूलाई कसैले च्यइच्यइ गरिरहेको थिएन। उनीहरू कोही उठ्ने प्रतीक्षामा थिएनन्। अनाथ भएछन्।
म काठमाडौं फर्किनुभन्दा केही दिनअघि नै ग्वार्चा दिवंगत भएको रहेछ। एउटा टोलको कथा सकिएको रहेछ। ‘यो वजे भ्वय् छ भा फोने’ सुनिन छाडेको रहेछ।
उसको मृत्यु कस्तो भयो होला?
मैले साथीहरूलाई सोधेँ।
महाबौद्धको त्यो टोलमा उसको जति स्थान थियो, टोलेहरूले कायम राखेछन्। उसको शवयात्रा निकालेछन्। हरेक घरबाट मलामी गएछन्। कर्णदीप (विष्णुमती) मा पुगेर ग्वार्चाका नाममा आँशु बगाएछन्। जसरी भोजमा ग्वार्चालाई अरू पाहुना सरह भाग दिइन्थ्यो, अन्त्येष्टीमा पनि कर्म पुर्याएछन्।
कहाँको, को हो, कसैले सोधेनन्, कसैले जान्न चाहेनन्, जसरी ऊ हाम्रा हरेक सुखदुःखमा साथ थियो, उसको अन्तिम क्षणमा साथ दिएछन्।
पैंतालिस वर्ष नाघिसक्यो होला, मेरा स्मृतिबाट ऊ हराउन सकेन। बेलाबेला सम्झिन्छु, उसको ‘राज’ चलेका ती दिन। उसका ती प्रिय कुकुरहरू। उसको आवाज र ऊ बिना पाटीमा छाएको सन्नाटा।
त्योबलाका अरूले पनि सम्झँदा हुन् र उसलाई?
यही चैत १२ गते मैले यसको जवाफ पाएँ।
मेरा बालसखा रूद्रानन्द वैधको घर गएको थिएँ। उहाँ महाबौद्ध नै बस्नुहुन्छ। उहाँको स्मृतिमा पनि ग्वार्चा सल्बलाइ रहेको बताउनुभयो। हामीले उसका कुरा थाल्यौं।
उहाँबाटै थाहा पाएँ, ग्वार्चा मेरो मात्रै सम्झनामा कहाँ हो र, टोलकै सम्झनामा बाँचिरहेको छ। म त सम्झिन्थें मात्र, टोलेहरूले त उसलाई श्रद्धा दिन पनि भुलेका रहेनछन्।
ग्वार्चाको कोही थिएन, टोलेहरूले शवयात्रा निकालेर मलामी गएका थिए। आज तिनै मान्छेले उसको संस्कार जोगाइराखेका छन्। सोह्र श्राद्धमा आफ्ना पितृसँगै ग्वार्चाका नाममा पनि पिण्डदान गरिरहेका छन्।
रूद्रानन्द र मैले पिण्डदान त गरेनौं, सम्झनामा बाँचिरहेको भिकारी ग्वार्चाको यादमा आँशु भने चुहायौं।
यस्तो सम्झना संसारमा विरलै होला।