बुधबार नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अलहैलले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटे। प्रधानमन्त्री कार्यालयको विदेशी पाहुनालाई भेट्ने कोठामा भएको यो भेटको तस्बिर अहिले पनि प्रधानमन्त्रीको ट्वीटर टाइमलाइनमा सबैभन्दा माथि छ।
तस्बिरमा कोठाको भित्तामा ठूलो फ्रेममा राखिएको हिमालको तस्बिर देखिन्छ। यो चीनतिरबाट खिचिएको सगरमाथाको तस्बिर हो।
चीनतिरबाट देखिने सगरमाथाको तस्बिर प्रधानमन्त्रीको बैठक कोठामा राखेपछि त्यसको अालोचना भएको छ।
सगरमाथालाई लिएर नेपाल र चीनबीच लामो समयसम्म विवाद थियो। नेपालले जहिले पनि सगरमाथा र यसको चुचुरो नेपालको अभिन्न अंग मान्दै अाएको छ। तर चीनले पनि सगरमाथालाई अाफ्नो भूभागमा पर्ने दाबी गर्दै अाएको छ।
सन् १९६० मा वीपी कोइरालाले चीन भ्रमण गर्दा चीनले सगरमाथासम्बन्धी सीमा विवाद सल्टाउन छलफल गर्नुपर्ने अडान लिएको थियो। तर, कोइरालाले मुलुक भित्र त्यसबारे ब्यापक परामर्श गर्नुपर्ने भन्दै छलफल गर्न इन्कार गरेका थिए।
पछि वीपी कोइरालालाई अपदस्त गरी चीन भ्रमण गएका राजा महेन्द्रले चीनसँग सम्झौता गरी सगरमाथा र यसको चुचुरोमा नेपाल र चीनको अाधा अाधा स्वामित्व रहने गरी सम्झौता गरे। महेन्द्रले अाफ्नो सत्ता जोगाउन नेपालको हितविपरित त्यो सम्झौता गरेको अारोप लाग्ने गरेको छ।
चीनले उत्तरी मोहडाबाट थोरै शुल्क लिएर विदेशी अारोहीलाई सगरमाथा चढ्न दिन्छ भने नेपालतिरबाट चढ्न महंगो शुल्क तिर्नुपर्छ।
सगरमाथाका तीन वटा मोहडा छन्- उत्तर चीनतिरबाट देखिने मोहडा जसलाई रोङबुक मोहडा भनिन्छ। पूर्वतिर देखिने मोडडालाई काङसुङ भनिन्छ। दक्षिण मोहडा नेपालबाट देखिन्छ।
प्रख्यात ब्रिटिश पर्वतारोही जर्ज म्यालोरीले लामो समयसम्म उत्तरी मोहडाबाट सगरमाथाको चुचुरोमा पुग्ने प्रयास गरे, जतिखेर नेपाल पर्वतारोहणका लागि खुलेकै थिएन।
सन १९२१, २२ र २४मा उनले त्यस्तो प्रयास गरेका थिए। तेस्रो पटक सन् १९२४ मा उनी सगरमाथा चढ्ने क्रममा हराए। १५ वर्ष अघि मात्र उनको शरीर उत्तरी मोहडामा भेटिएको थियो।
महालंगुर हिमश्रृङ्खलामा पर्ने सगरमाथा हिमालले नेपाल र चीनको सीमा छुट्याउँछ।
बिहीबार बिहान पत्रकार कुन्द दीक्षितले प्रधानमन्त्री देउवाले सोही कोठामा अर्को विदेशी प्रतिनिधिमण्डलसँगको भेटेको तस्बिर ट्वीट गर्दै लेखे – नेपालको प्रधानमन्त्रीले विदेशी पाहुनालाई भेट्ने कोठामा चीनपट्टिबाट खिचिएको नेपालको तस्बिर।
आफूले हिमालसम्बन्धी चासो राख्ने र केही हिमाल पनि चिन्ने भएकाले प्रधानमन्त्री कार्यालयमा चीनतिरबाट खिचेको सगरमाथाको तस्बिर देखेपछि ट्वीट गरेको दीक्षितले बताए।
‘एकातिर उत्तरतिरबाट खिचेको त्यो तस्बिर बिगारेर सगरमाथालाई धेरै भिरालो देखाइएको छ, अर्कोतिर हाम्रो प्रधानमन्त्री कार्यालयमा नेपालतिरबाट खिचेको नभई चीनतिरबाट खिचेको तस्बिर राखिएको छ,’ दीक्षितले भने, ‘यसले नेपालीको गौरव सगरमाथाबारे प्रधानमन्त्री कार्यालय असंवेदनशील भएको देखिन्छ।’
दीक्षितको ट्वीटरमा प्रतिक्रिया दिँदै कार्टुनिष्ट राजेश केसीले सगरमाथाको यो तस्बिर ल्युका गालुजीले सन् २००६ मा तिब्बतबाट खिचेको उल्लेख गरेका छन्।
प्रधानमन्त्री कार्यालयको भित्तामा किन यस्तो तस्बिर भन्ने सेतोपाटीको प्रश्नमा मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले आफूलाई त्यो बारेमा जानकारी नै नभएको बताए। ‘त्यो कोठामा म धेरै गएको छैन, त्यस्तो तस्बिर राखिएको छ भन्ने पनि मलाई थाहा थिएन’, क्षेत्रीले भने, ‘जानीजानी त पक्कै राखेका होइनन् होला म आजै त्यो तस्बिर हटाउन लगाउँछु।’