मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठकले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि जोखिमयुक्त राजमार्ग/सडकमा रात्रिकालीन बस नचलाउने निर्देशन दिएको छ। आइतबार बसेको पोष्ट बैठकले नागढुंगा–मुग्लिन, मुग्लिन–नारायणगढ, कान्ती लोकपथ लगायत जोखिमयुक्त राजमार्ग–सडकमा रात्रिकालीन बस नचलाउन निर्देशन दिने निर्णय गरेको हो।
बैठकले अवरुद्ध सडकहरुको मर्मत सम्भार गरी तत्काल सडक सञ्चालन गर्न सडक विभागलाई लेखी पठाउने निर्णय पनि गरेको छ।
अत्यावश्यक सेवा, राजमार्गमा रोकिएका मालबाहक र यात्रुबाहक सवारी साधन तथा छोटो दूरीमा सञ्चालन हुने सवारी साधनहरूको हकमा स्थानीय स्तरको विपद् जोखिमको अवस्थालाई दृष्टिगत गरी अन्तर जिल्ला समन्वयमा आवागमन सञ्चालन गर्न स्थानीय प्रशासनलाई निर्देशन दिने निर्णय पनि गरिएको पोष्टले जनाएको छ।
त्यस्तै बैठकले स्थानीय तहसँग समन्वय गरी मृतकका परिवारलाई मापदण्ड बमोजिम तत्काल राहत उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिने निर्णय पनि गरिएको छ।
अतिभारी वर्षाका कारण उत्पन्न मनसुनजन्य विपद्का घटनाबाट पीडित तथा प्रभावित व्यक्तिहरुको खोज, उद्धार, राहत तथा पुनस्र्थापना कार्यलाई निरन्तरता दिने निर्णय भएको छ।
विपद्जन्य घटनाबाट भएको प्रारम्भिक क्षतिको आकलन, प्रभावित जनसंख्या तथा क्षेत्रको विवरण यथाशीघ्र संकलन गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउन सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ।
विपद् प्रभावित व्यक्ति तथा परिवारलाई राहत, स्थानान्तरण तथा पुनर्स्थापना सम्बन्धी कार्य यथाशीघ्र सम्पन्न गर्न सम्बन्धित स्थानीय तह र सरोकारवाला निकायलाई अनुरोध गर्ने पनि निर्णय भएको छ।
अवरूद्ध खानेपानी, विद्युत, संचार लगायतका अत्यावश्यक सेवाहरु सञ्चालन गर्न क्रमशः खानेपानी सेवा प्रदायक संस्था, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल विद्युत प्राधिकरणले यथाशीघ्र आवश्यक कार्य गर्न लेखी पठाउने पनि निर्णय भएको छ।
