वर्षौदेखिको लोडसेडिङ तथा ल्यापटपको दबदबाले बिक्नै छाडेको डेस्कटप कम्प्युटरको कारोबारमा पछिल्लो समय उल्लेख्य वृद्धि भएको छ। पछिल्लो समय राजधानी लगायतका स्थानमा नियमित बिजुली आपूर्ति हुन लागेसँगै डेस्कटपको व्यापारमा पनि उत्साहजनक वृद्धि भएको व्यापारीहरु बताउँछन्।
विशेषतः कार्यालय प्रायोजन, ठूला प्रकृतिका कार्य, किफायती र भरपर्दो हुने भन्दै केही वर्षअघिसम्म पहिलो रोजाइमा ल्यापटप भन्दा डेस्कटप नै पथ्र्यो तर चार्ज गरेर चलाउन नमिल्ने प्रविधि भएकै कारण घण्टौ लामो लोडसेडिङमा डेस्कटपको उचित विकल्प ल्यापटपको प्रयोग बढ्यो।
१२ वर्षदेखि टेक व्यवसायमा संलग्न न्युरोडस्थित डाइनामिक टेकका सोनाम गुरुङ विगत वर्षहरुमा नगन्य हुने डेस्कटपको विक्री पछिल्लो केही महिनाबाट ह्वातै बढेको अनुभव सुनाउँछन्।
‘२० घण्टासम्मको लोडसेडिङमा विद्युतबिना नचल्ने डेस्कटप कसले किन्ने ?’ उनले भने ‘बरु चार्ज गर्न सकिने ल्यापटपमा लगानी गरे केही सहज त हुन्छ भन्ने सोचले अधिकांशले ल्यापटप किन्ने गर्थे जसको कारण डेस्कटपको कारोबार केही वर्ष अघिबाट निरन्तर ओरालो लाग्दै गएको थियो, तर केही महिनादेखि भने डेस्कपटको कारोबार निकै फस्टाएको छ।’
न्युरोडकै अर्का पसल आइहब जोनका प्रकाश भेटवालका अनुसार लोडसेडिङताका शून्य अवस्थामा रहेको डेस्कटपको व्यापार हाल निकै बढेर गएको छ।
पहिले मुस्किलले आफ्नोबाट महिनामा १० वटा विक्री हुने गरेको डेस्कटप आजभोली दिनको ५ वटासम्म विक्री हुने गरेको उनले बताए।
तर डेस्कटपको विक्री बढे पनि यसलाई ल्यापटपले विस्थापित गर्ने क्रम भने नरोकिएको उनको भनाई छ।
उनका अनुसार १५ हजारदेखि २ लाखसम्म मूल्यका कम्प्युटर र ल्यापटपमा ४० देखि ७० हजार सम्मको मध्यम रेन्जमा धेरै विक्री हुने गर्दछ।
नेपाली बजारमा डेल, एसस, एसर, एमएसआई लगायत ब्राण्डका डेस्कटप तथा ल्यापटपहरु लोकप्रिय छन्। सिंगापुर, अमेरिका, थाइल्याण्ड लगायतका देशबाट नेपालमा यी सामानहरुको आयात हुने गर्छ।
ल्यापटप तथा कम्प्युटर किन्दा यी कुरामा ध्यान दिनुहोस्व्यापारीहरुका अनुसार पछिल्लो समय टेक ग्राहक निकै सजग हुँदै गए पनि विज्ञापनमा जे देख्यो त्यसैलाई सर्वोत्कृष्ट ठान्ने प्रवृतिको विकास हुँदै गएको छ। फलस्वरुप आफूलाई सुहाउँदो कम्प्युटर तथा ल्यापटप छान्न सक्दैनन्।
ल्यापटप तथा कम्प्युटर किन्नुभन्दा पहिले त्यसमा समावेश गरिएका सिपियु प्रोसेसर, स्टोरेज क्षमता, विन्डोज तथा ब्याट्री ब्याकपमा विशेष ध्यान दिनुपर्ने सम्वन्धित व्यापारीहरु सुझाउँछन्। विक्रेता सागर पोखरेल ल्यापटप किन्दा चाहिएको स्कृन साइज, हार्ड डिस्क, र्यामजस्ता कुराहरु निकै महत्वपूर्ण रहने बताए।
आफूले कुन प्रयोजनका निम्ति किन्न लागेको हो ? त्योबारेमा विक्रेतालाई स्पष्ट जानकारी गराएर उनीहरुको सुझावमा मात्रै ल्यापटप किन्नुपर्नेमा उनले जोड दिए। ‘बजारमा त १६ हजारदेखिकै ल्यापटप र डेस्कटप पनि पाइन्छन् तर त्यसको क्षमता तथा प्रोसेसिङमा धेरै काम गर्न मिल्दैन’ उनले भने ‘त्यसकारण आफूले किन्ने ल्यापटपमा कस्ता कस्ता काम गर्ने हो, के के प्रोग्राम राख्ने हो सबै कुराको जानकारी गराएर मात्रै सोहीअनुसारको किन्नुपर्छ।’
कतिपयले सुरुमा सस्तो पाएको भन्दै किन्ने तर पछि विभिन्न प्रोग्राम तथा सफट्वेयर थप्दै जाँदा पुनः स्तरीय किन्न आउने गरेको उनले बताए। ‘एक पटक किनिसकेको कम्प्युटरले सधैभरी सबै काम गर्न सकियोस् भन्ने उद्देश्य राख्नुपर्छ, जतन गरेर चलाउने हो भने एउटै कम्प्युटरमा वर्षौ काम गर्न सकिन्छ’ पोखरेलले भने।
केही व्यक्तिले आफ्नै पसलमा सुरुमा १८ हजारको ल्यापटप किनेर ६ महिनापछि ४०–५० हजारको किनेको उनले अनुभव सुनाए। ‘यदी सुरुमै आफूलाई चाहिने ल्यापटपको बारेमा जानकारी गराएर किनेको भए, पहिले नै लागत जोगिने थियो’ उनले भने।