स्थानीय निर्वाचनको विरोध गर्दै राष्ट्रिय जनता पार्टी नेपालले आयोजना गरेको बन्दले मगलबार तराई मधेसको जनजीवन प्रभावित भएको छ।
पूर्वदेखि पश्चिमसम्म सार्वजनिक यातायातका साधन चलेका छैनन्। बजार भने कुनै ठाउँमा बन्द र कुनै ठाउँमा खुलेका छन्। सेतोपाटीले तराई/मधेसका विभिन्न ठाउँका स्थानीय प्रहरी र पत्रकारसँग बन्दको प्रभावबारे बुझेको थियो।
विराटनगर: विराटनगरमा बन्दको प्रभाव सामान्य छ। उद्घोष दैनिकका सम्पादक मोहन भण्डारीका अनुसार बजार क्षेत्र प्राय: खुलेको छ। ठाउँठाउँमा राजपाका कार्यकर्ताले प्रदर्शन गरेका छन्। यस्तो प्रदर्शन हुँदा अासपासका पसलहरु बन्द हुन्छन्। विराटनगरमा सार्वजनिक र लामो दुरीका यातायात चलेका छैनन् तर निजी सवारी भने चलेका छन्। सुरक्षा व्यवस्था बिहानैदेखि कडा पारिएको र चोकचोकमा प्रहरी परिचालन गरिएको छ।
सिराहा: यहाँ पनि बन्दको प्रभाव सामान्य छ। सिराहाका डिसएसपी विश्वमणी पोखरेलका अनुसार बजारका अाधा पसल खुलेको छन्। शैक्षिक संस्था पनि केही चलेका छन् केही बन्द छन्। सार्वजनिक यातायात भने ठप्पै छ।मोटर साइकल लगायतका निजी सवारी भने चलेको उनले बताए।
राजविराज: राजविराजमा बन्दको प्रभाव बढी छ। पत्रकार अवधेश झाका अनुसार सरकारी कार्यालयबाहेक अरु सबै बन्द छन्। यातायातका साधन चलेका छैनन्। मंगलबार विहान राजविराजको गजेन्द्रचोकमा प्रदर्शन भएको थियो। टायर बालेरै प्रदर्शन भए पनि अप्रिय घटना भने केही नभएको उनले बताए। सप्तरीका डिएसपी यादवराज उप्रेतीका अनुसार विहान बजार खुलेको थियो तर प्रदर्शनपछि भने बन्द भएको छ। शैक्षिक संस्थाहरु समेत बन्द छन्। केही शैक्षिक संस्था भने खुलेको उनले बताए। यातायातका साधनमा मोटरसाइकल चलेका छन्।
जनकपुरः बिहानैदेखि राजपा नेपालका कार्यकर्ताहरुले ठाउँठाउँमा प्रदर्शन गरेका छन्। मुल बजार ठप्प छ भने भित्रि पसलहरु भने खुलेका छन्। ठूला गाडीहरु चल्न नकसेपनि मोटरसाइकल भने चलेका छन्। जनकपुरमा राजपा नेपालको प्रभाव पर्ने भएकोले व्यवसायीहरुले स्वत स्फुर्त रुपमा बजार बन्द गरेको पत्रकार सुरेश यादवले बताए।
वीरगन्ज: बिहानैदेखि राजपाका स्थानीय नेता तथा कार्यकर्ता वीरगन्जका विभिन्न चोकमा टायर बालेर प्रदर्शन गरेपछि बन्दले वीरगन्जको जनजीवन प्रभावित भएको छ। राजपा कार्यकर्ताहरुले बिहानदेखि वीरगन्जको घण्टाघर, मुर्ली,श्रीपुर, गण्डक, छपकैया, नगवा, इनर्वा, रानीघाट लगायतका स्थानमा टायरवाली सवारीका साधन संचालनमा रोक लगाउनुको साथै , उद्योग, बजार समेत बन्द गराएका छन्।
बन्दले वीरगन्जबाट देशको विभिन्न स्थानका लागि छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधन सञ्चालनमा आउन सकेको छैनन्। यातायातका साधन सञ्चालनमा आउन नसेकेपछि सयौको संख्यामा यात्रीहरु वीरगन्जको नयाँ बसपार्कमा अलपत्र परेका छन्।
बन्दको असर बारा पर्सामा रहेका शैक्षिक संस्थाहरुमा समेत परेको छ। बिहानदेखि टायर बालेर चोक चोकमा प्रदर्शन गरिएपछि यस क्षेत्रका सबै विद्यालय, क्याम्पस लगायतका शैक्षिक संस्था बन्द भएका छन्। बन्द आह्वानकर्ताले प्रेस, एम्बुलेन्स,कुटनीतिक नियोग, बारुण यन्त्र,जन्ती बोकको वाहन, दुधको वाहन र मोटरसाइकललाई चल्न दिएका छन्। बन्दका क्रममा हुने सम्भावित धनजनको क्षतिलाई रोक्न स्थानीय प्रशासनले वीरगन्जमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचान गरेको छ।
भैरहवा : रुपन्देहीमा
बन्दको प्रभाव मिश्रित देखिएको छ। जिल्ला सदरमुकाम भैरहवा, बुटवल, सालझण्डी, देवदह लगायतका क्षेत्रहरुमा निर्वाध रुपमा यातायात, उद्योगधन्दा र बजार चलेका छन्। भैरहवाका शिक्षण संस्था, बैंक तथा बित्तीय संस्था भने बन्द छन्। हुलाकी मार्गहरुमा भने बन्दको प्रभाव बढी देखिएको छ। भैरहवा–लुम्बिनी, मर्चवार, भैरहवा–परासी खण्डामा यातायात ठप्प छन्। यी क्षेत्रमा पर्ने शिक्षण संस्था, उद्योगधन्दा, बैंक तथा वित्तीय संस्थाहरु भने बन्द छन्।
अहिलेसम्म बन्दको प्रभाव सामान्य देखिएको र हुने सक्ने सम्भावित घटनाको मध्यनजर गरी व्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी बेलबहादुर पाण्डेले बताए।
नेपालगन्ज: नेपालगन्जमा बन्दको प्रभाव सामान्य छ। बिहान त्रिभुवन चोकमा कांग्रेसका मेयर उम्मेदवारको गाडीमा तोडफोड भएपनि अरू घटना नभएको बाँके प्रहरीले जनाएको छ। बाँकेका प्रहरी प्रमुख एसपी टेकबहादुर राईका अनुसार बन्दको नेपालगन्जमा सामान्य रुपमा सवारी साधन चलिरहेका छन्।
धनगढी: सुदुरपश्चिमको धनगढीमा राजपाले आव्हान गरेको बन्दको कुनै प्रभाव परेको छैन। धनगढीमा बन्दको कुनै प्रभाव नरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीर बहादुर बुढाले सेतोपाटीलाई बताए।
'यहाँ कुनै प्रभाव छैन,' उनले भने, 'हिजोअस्तिजस्तै सामान्य छ।'
चर्को गर्मीमा उम्मेद्वारहरू चुनावी प्रचारमा जुटिरहेका छन्। धनगढीका पत्रकार दीर्घराज उपाध्यायका अनुसार आज पनि उम्मेद्वारहरू भोट माग्ने अभियानमा सरिक छन्।
'यहाँ चुनावी माहोल तातेको छ, सबै उम्मेद्वार भोट माग्न व्यस्त छन्,' उनले भने, 'यहाँ राजपकाको कुनै प्रभाव नभएकाले बन्दको कुनै प्रभाव छैन।'
राजमार्गमा सवारी साधन बन्दराष्ट्रिय जनता पार्टीको बन्दकाे कारण पुर्व पश्चिम राजमार्गमा अांशिक प्रभाव देखिएको छ। सप्तरीमा गाडी चलेका छैनन्।अत्यावश्यक गाडीहरुलाई प्रहरीले स्कर्टिङ गरेर पठाएको सप्तरीका प्रहरी प्रमुख अनुराग द्ववेदीले सेताेपाटीलाई बताए । उनलेे सडकमा गाडी नचलेको र कुनै अवरोध पनि नभएको बताए।
बारामा सिमारादेखि दक्षिण बन्दकाे प्रभाव परेकाे छ। राजमार्गमा गाडी चलेका छन भने सिमारादेखि तल गाडी नचलेको बाराका प्रहरी प्रमुख नरेन्द्र उप्रेतीले सेताेपाटीलाई बताए। राैतहटकाे चन्द्रनिगाहपुरमा बन्दकाे प्रभाव परेकाे छैन भने गाैरमा अांशिक प्रभाव परेको छ।
गाैरमा ठूला गाडी नचलेको तर पसलहरू भने खुला रहेकाे राैतहटका प्रहरी प्रमुख यज्ञविनाेद पाेखरेलले सेताेपाटीलाई बताए। महोत्तरीको वर्दिवासमा पनि बन्दको प्रभाव सामान्य देखिएको छ।