नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि अहिलेसम्म ५४ प्रतिशत बढीले हस्ताक्षर गरेका छन्।
मंगलबार दिउँसोसम्म ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका हुन्। यो संख्या अझै बढ्ने नेताहरू बताउँछन्।
५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष कारण खुलाएर विशेष महाधिवेशन माग गर्न आज हस्ताक्षर बुझाउन लागिएको हो।
कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाउन केन्द्रीय कार्यालयमा महाधिवेशन प्रतिनिधिहरू पुगेका छन्। कार्यवाहक सभापति खड्का र महामन्त्री गगन थापासहित नेताहरूबीच छलफल पनि चलिरहेको छ।
कार्यवाहक सभापति खड्काले समय दिएपछि हस्ताक्षर बुझाउने उनीहरूको तयारी छ।
यदि कार्यवाहक सभापतिले हस्ताक्षर नबुझे महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई हस्ताक्षर बुझाउने तयारी छ।
कांग्रेसमा २०७८ सालमा १४ औं महाधिवेशन गर्दा ४७४३ जना महाधिवेशन प्रतिनिधि थिए। त्यसमध्ये ४६ जनाको मृत्यु भएको छ भने ६८ जनाले दल त्याग गरेका छन्।
अहिले कायम महाधिवेशन प्रतिनिधि ४५५६ जना छन्। जसमध्ये २४८७ जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न हस्ताक्षर गरेका छन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंसिरभित्रै नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्नुपर्ने कुरा राखेपछि विशेष महाधिवेशनका पक्षमा देशैभर हस्ताक्षर भएको थियो।
सभापति शेरबहादुर देउवाले आज सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा विधानअनुसार १५ औं महाधिवेशन हुने कुरा बताएका छन्।