मौसमी प्रणालीमा आइरहेको फेरबदलले यो वर्ष मनसुन चाँडै हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।
सामान्यतयाः जुन १० बाट नेपालमा मनसुन सुरु हुने गर्छ । तर, यसवर्ष भने नेपालमा मनसुन सामान्यभन्दा केही दिन अगाडि सुरु हुने प्रणाली विकास भएको मौसमविद् सुवास रिमालले जानकारी दिए।
“जुन १० बाट सुरु हुनुपर्ने मनसुन नेपालमा केही चाँडो आउने देखिएको छ”उनले भने।
सामान्यतयाः १० जुनमा पूर्वी नेपालबाट मनसुन प्रवेश गरी केही दिनमा देशभर फैलिने गर्छ । यसवर्ष भने नेपालमा मनसुन चाँडो हुने देखिएको छ ।
दक्षिण एसियामा, मनसुन बङ्गालको खाडी हुँदै उत्तर पूर्वतिर अगाडि बढ्ने गर्छ । हालसम्मको मौसमी नक्सा तथा भू–उपग्रहको चित्रबाट प्राप्त सूचनाका आधारमा पूर्वी र मध्य बङ्गालको खाडीमा तथा बङ्गालादेशको मध्य भागसम्म मनसुन विकसित भइसकेको हुँदा, नेपालमा मनसुन केही दिन अगाडि भित्रिने अनुमान महाशाखाले गरेको छ ।
पूर्व मनसुन र मनसुनको सङ्घारमा रहेकाले नेपालमा अहिले बदलीसँगै वर्षात् गराएको मौसमविद् रिमालको भनाइ छ ।
यसका साथै बङ्गालको खाडीबाट सतही रुपमा आइरहेको जलवास्पयुक्त हावा तथा भारतको विहार आसपासमा न्यूनचापीय प्रणाली विकास भएकाले त्यसको असरस्वरुप नेपालका धेरै स्थानमा बदली भएको छ ।
योसँगै मनसुन रेखा पनि स्थापित हुँदै गरेकाले बदली र वर्षात् गराएको हो । देशभरि नै वर्षात् गराउने प्रणाली विकास भएकाले मङ्गलबार र बुधबार सामान्यभन्दा ठूलो वर्षात् हुने र देशका धेरै स्थानमा बदली रहने मौसमविद् रिमालले बताए।
आइतबार वर्षकै बढी गर्मी महसुसः
यसैबीच वर्षात् गराउने प्रणाली विकसित नहुँदा राजधानी उपत्यकासहित मुलुकभर अत्यधिक तापक्रम बढेको छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार उपत्यकामा आइतबार यो वर्षकै बढी तापक्रम ३२ डिग्री सेल्सियस पुगेको छ । तापक्रम बढेपछि वर्षकै बढी गर्मी महसुस गरिएको महाशाखाले जनाएको छ ।
महाशाखाले आज बिहान ८:४५ मा राखेको विवरणअनुसार काठमाडौँको अधिकतम तापक्रम ३२ र न्यूनतम २१ डिग्री सेल्सियस छ । देशका अधिकांश भेगमा बदली भएकाले आजको तापक्रम २९ देखि ३० को हाराहारीमा पुग्ने अनुमान महाशाखाको छ ।
महाशाखाका अनुसार आज देशका धेरै स्थानमा बदली भएको छ । अहिले पूर्वी पहाडी र मध्यका उपत्यकासहितका क्षेत्रमा वर्षात् भइरहेको छ । रासस