प्रहरीले बलम्बु प्रहरी प्रभागमा आगजनी र तोडफोडमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।
अनुसन्धानका क्रममा प्रहरीको फेला परेका भिडिओ र फोटो प्रमाणका आधारमा जिल्ला सर्लाही मलंगवा गाउँपालिका वडा नं. ४ स्थायी ठेगाना भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका वडा नं. १० सतुङ्गल बसोबास गर्दै आएका १८ वर्षीय  धर्मजित यादवलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार, जेनजी  समूहले घोषणा गरेको आन्दोलनको नाममा केही अज्ञात व्यक्तिहरूले बलम्बुस्थित प्रहरी प्रभागमा तोडफोड र सवारी साधनमा आगजनी गरी ठूलो क्षति पुर्याएका थिए।
उक्त घटनामा  बा १ झ ७४१८ नम्बरको गाडी कार्यालय परिसरबाट बाहिर लगेर आगजनी गरी पूर्ण रूपमा नष्ट गरिएको अनुसन्धानबाट खुलेको छ।
उक्त घटनाको अनुसन्धान जारी रहेको र पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट पठाइएको बलम्वु प्रहरीले जनाएको छ।
बलम्वु प्रहरीले केहीदिन अगाडि ४ जना पक्राउ गरी अनुसन्धान गरिरहेकाे छ।