धादिङको थाक्रे गाउँपालिका–७ सातकिल्लास्थित पृथ्वी लोकमार्गमा सोमबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
प्रहरीका अनुसार साँझ करिब साढे ६ बजेतिर काठमाडौंबाट महादेवबेँसीतर्फ जाँदै गरेको बा ७० प १६५१ नम्बरको मोटरसाइकल र गजुरीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ९७ प २८५२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्।
बा ७० प १६५१ नम्बरको मोटरसाइकल चालक उत्तम अर्याल सडकमा लडेर काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ट्रकको अगाडिको दाहिने टायरमुनि परेका थिए। ट्रकले घिसारिदिँदा उत्तम करिब १५ मिटर तानिँदै अघि गएका थिए।
थाक्रे–६ नौकिल्लाका अन्दाजी ६० वर्षीय उत्तमको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, बा ९७ प २८५२ नम्बरका मोटरसाइकल चालक गजुरी गाउँपालिका–१ का ३० वर्षीय राजन श्रेष्ठ घाइते भएका छन्। उनलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले बताएको छ।
दुर्घटनापछि घटनास्थलमा दुई–तीन सय जना स्थानीय बासिन्दा भेला भएर दुईतर्फी सडक अवरूद्ध पारेका प्रहरीले जनाएको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय खानिखोलाबाट प्रहरी निरीक्षक नन्दराज जैसीको कमाण्डमा ट्राफिकसहित २० जनाको टोली खटिएको थियो।
ना ६ ख ३०१३ नम्बरको ट्रकका चालक बेनिघाट रोराङ–५ का ३५ वर्षीय धनबहादुर परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मृतकको मुचुल्का उठाएर राति ८:०५ बजे शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको र त्यसपछि बाटो दुवैतर्फ सञ्चालनमा आएको प्रहरीले जनाएको छ।