दश वर्ष पहिले जंगल र झाडी रहेको कालीगण्डकीको किनार अहिले देशकै महत्त्वपूर्ण धार्मिक क्षेत्र बनेको छ।
लुम्बिनी र गण्डकी प्रदेशको सिमानामा पर्ने पाल्पाको रम्भा गाउँपालिका- १ असेर्दी र  स्याङ्जाको गल्याङ नगरपालिका- १ मालुङालाई समेटेर धार्मिक पर्यटनको महत्त्वपूर्ण गन्तव्य स्थल बनाउने काम भइरहेको छ।
विशेष गरि उत्तरतर्फ फर्किएर बग्ने कालीगण्डकी नदीको विशेष महत्त्व रहको भन्दै सो क्षेत्रलाई उत्तर गण्डकी नामकरण गरी महत्त्वपूर्ण तीर्थस्थलका रूपमा विकास गर्न कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठान सक्रिय रूपमा लागेको छ।
सोही योजना अनुरूप प्रतिष्ठानकै अगुवाइमा गत असोज २१ गतेदेखि उत्तर गण्डकी महामेला ‘दामोदर धर्मोत्सव’ सञ्चालन भइरहेको छ। 
प्रतिष्ठानका अध्यक्ष आचार्य चैतन्यकृष्ण जी महाराज नदीहरू उत्तरतर्फ बगेको विरलै भेट्ने गरे पनि कालीगण्डकी नदी राम्दीदेखि मालुंगा हुँदै छर्तीसम्म करिब साढे तिन किलोमिटर उत्तर वाहिनी भएर बगेको बताउँछन्।
सोही कारण सो क्षेत्रलाई उत्तर वाहिनी अर्थात् उत्तर गण्डकी नामकरण गरी धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न लागिएको आचार्य चैतन्यकृष्णले बताए।

‘कालीगण्डकी नदी सबैभन्दा लामो साढे ३ किलोमिटर दूरीमा उत्तरतर्फ बग्ने नेपालमै दुर्लभ क्षेत्र हो, स्कन्दपुराणलगायत धार्मिक ग्रन्थहरूमा उल्लेख भएको यो स्थल ‘गया’ वा ‘प्रयाग’ भन्दा पनि बढी पुण्यदायी मानिएको छ,’ उनले भने, ‘कालीगण्डकी आफैमा पवित्र नदी हुन्, कालीगण्डकीको पवित्रता र उत्तर वाहिनी क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न सकिन्छ।’
उत्तर वाहिनी क्षेत्रमा स्नान, तर्पण, श्राद्ध, दान लगायत कुनै पनि धार्मिक कार्य गर्दा अक्षय पुण्य प्राप्त हुने उनले दाबी गरे।
भगवान् विष्णुको प्रतीक मानिने शालग्राम शिला पाइने एक मात्र कालीगण्डकी नदी रहेकोले यसलाई विश्वभर चिनाउनुपर्ने आचार्य चैतन्यकृष्णको भनाइ छ। 
धार्मिक सांस्कृतिक र पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण मानिने यो क्षेत्र चर्चामा नहुँदा महामेला आयोजना गरेर थोरै भए पनि प्रचारप्रसार गर्न खोजिएको उनको भनाइ छ।
प्रतिष्ठानले २०७३ सालमा असोज २७ देखि कात्तिक ७ गतेसम्म सञ्चालन गरेको नेपाल महिमा एवं गीता ज्ञान विज्ञान महायज्ञबाट संकलित रकमबाट यो क्षेत्रमा विभिन्न भौतिक संरचना निर्माण गरिसकेको छ।
आचार्य चैतन्यकृष्णका अनुसार उक्त महायज्ञबाट संकलित रकमबाट ४० रोपनी जग्गा खरिद गरी कालीगण्डकी प्राकृतिक चिकित्सालय र कालीगण्डकी गुरूकुल विद्यालय सञ्चालन भइरहेका छन्।
यस्तै, संघीय सरकारको दुई करोड १२ लाखको लागतमा १२ वटा कोठाको प्राकृतिक चिकित्सालयको भवन निर्माण गरिदिएको छ। जहाँ विगत दुई वर्षदेखि प्राकृतिक चिकित्सा, योग उपचार आदि सञ्चालन भइरहेको छ। 

२०७६ सालदेखि सञ्चालन गरिएको कालीगण्डकी गुरूकुलमा करिब ४० जना बालबालिकाले आधुनिक संस्कृत शिक्षा आर्जन गरिरहेका छन्।
कक्षा ६ देखि १० सम्म सञ्चालन भइरहेको गुरूकुलबाट हालसम्म दुई शैक्षिक सत्रका विद्यार्थीले एसइई परीक्षामा सहभागी भई शतप्रतिशत उत्तीर्ण भइसकेका छन्।
‘यो त संस्कृत र अंग्रेजी माध्यमबाट पठनपाठन हुने पहिलो गुरूकुल हो, यहाँ धार्मिक ग्रन्थका पुस्तक मात्र पढाइँदैन,’ उनले भने, ‘आधुनिक विज्ञान प्रयोगशाला, प्रविधिमैत्री पुस्तकालय, योग–व्यायामशाला लगायतको सुविधा उपलब्ध छन्, जहाँ निःशुल्क रूपमा बसेर पढ्न पाइन्छ।’
हाल सञ्चालन भइरहेको महामेलाबाट करिब ११ करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने प्रतिष्ठानको लक्ष्य रहेको छ।
‘अहिले यहाँ आउने धार्मिक तिर्थालुहरूले गर्ने सहयोग र अन्य दाताहरूले गर्ने सहयोगबाट प्राकृतिक चिकित्सालय र गुरुकुलको खर्च व्यवस्थापन भइरहेको छ अक्षयकोष थप भयो भने त्यसैको व्याजबाट खर्च व्यवस्थापन गर्न सजिलो हुन्छ,’ उनले भने।
प्राकृतिक चिकित्सालय रहेको स्याङ्जातर्फको क्षेत्रमा भगवान् शिवको २० फिट उचाइको मूर्तिसहित १०८ धारा, १०८ शिव लिंग, शङ्खद्वार, नृसिंह गुफालगायतका संरचना निर्माण गरिएका छन्। कालीगण्डकी गुरूकुल रहेको पाल्पातर्फको क्षेत्रमा एकै स्थानमा सवा लाख बढी शालग्राम राखिएका छन् भने रेडियो जनकल्याण समेत सञ्चालन गरिएको छ। 
त्यस्तै, एकै पटक एक सय ५० जना भन्दा बढिलाई बास बसाल्न मिल्ने गरी अतिथि गृह पनि सञ्चालन भइरहेको छ।
‘कालीगण्डकी नदीको वारि र पारिलाई जोडेर अगाडी बढाइएको उत्तर वाहिनी क्षेत्रलाई ‘मिनी मुक्तिनाथ’ को योजना अनुसार काम भइरहेका छन्’, आचार्य चैतन्यकृष्णले भने। 
धर्मोत्सवमा भारतका हरिद्वारलगायतका नेपाल र भारतका विभिन्न स्थानहरूबाट पाँच लाख बढी सन्त गुरू तथा तिर्थालुहरू सहभागी भएको आयोजकले जनाएको छ।
महामेलामा सहभागीबाट दुई करोड भन्दा बढी दान सहयोग प्राप्त भएको १५ कोठासहित ध्यान कक्ष निर्माणका लागि पाँच करोड सहयोगको घोषणासमेत भइसकेको चैतन्य कृष्णले बताए।
उत्तर वाहिनी क्षेत्रको समग्र विकासका लागि लुम्बिनी र गण्डकी प्रदेशका दुवै सरकारले चासो दिएका छन्।
‘हाम्रो निरन्तरको प्रयासका कारण सरकारी क्षेत्रबाट हालसम्म करिब ५ करोड रुपैयाँ प्राप्त भएको छ भने यस वर्षका लागि पनि आठ करोड रूपैयाँ विनियोजन भएको छ,’ उनले भने,‘दुई वटा प्रदेश सरकारले सडक निर्माणका लागि एक/एक करोड रुपैयाँ र संघीय सरकारबाट अन्य पूर्वाधार निर्माणका लागि ६ करोड रुपैयाँ विनियोजन भएको छ।’

आचार्य चैतन्यकृष्णले कालीगण्डकी र उत्तर वाहिनी क्षेत्रको माध्यमबाट यस क्षेत्रका अन्य ऐतिहासिक एवं धार्मिक महत्वका तीर्थस्थलहरूको पनि उर्जागर गर्न सकिने बताए।
कालीगण्डकीको महत्वलाई मात्र विश्वमा चिनाउन सके बर्सेनि २० लाख धार्मिक पर्यटकलाई ल्याउन सकिने उनको भनाइ छ। 
प्रतिष्ठानले गुरूकुलको माध्यमबाट अध्यात्म विज्ञान र भौतिक विज्ञानलाई सँगसँगै जोड्ने काम गरेको बताए।