सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। (setopati@gmail.com)
तपाईं आफ्नो सोख र रूचिले केही सामान बनाउनुहुन्छ? ती सामान कहाँ, कसरी बेच्ने होला भन्ने सोचिरहनुभएको छ?
यसमा तपाईंको मद्दत गर्न सक्छ अरनिगो डटकमले। यो यस्तो प्लेटफर्म हो जहाँ तपाईंले आफ्ना रचनात्मक र कलात्मक सरसामानहरू राख्न सक्नुहुन्छ। कसैले मनपराए, बेच्न सक्नुहुन्छ।
यसका लागि तपाईं कुनै व्यवसायी हुनुपर्दैन। आफूले घरैमा बनाएका टप, झुम्का, गमला चित्रदेखि हातले बनाएको अचार होस् वा कुनै काठमा कोरेको कला, अरनिगोमा राख्न सकिन्छ। आफूले बनाएका र किनबेच गर्न मिल्ने जुनसुकै सरसामान र कलाकृति अरनिगो वेबसाइटमा राख्न सकिने यसका सह-संस्थापक परिवेश कोइराला बताउँछन्।
'नेपालमा हस्तकला र रचनात्मक कलाको राम्रो बजार छ। तर थुप्रै कलात्मक सीपहरू घरमै लुकेर बसेका छन्। त्यसले उचित र फराकिलो प्लेटफर्म पाइरहेको छैन,' ३१ वर्षीय परिवेश भन्छन्, 'त्यस्ता सीप र कलालाई हामी व्यवसाय बनाउने स्थान दिन्छौं।'
परिवेशका अनुसार अरनिगोले तीन सूत्रमा रहेर काम गर्छ- कस्टम (कुनै सामानमा आफ्नो सीप-कला प्रयोग गरिएको), रचनात्मक र हस्तनिर्मित।
यस्ता सामानहरू बिक्रेताबाट लिएर ग्राहकसम्म पुर्याउन अरनिगोले मध्यस्तकर्ताको भूमिका निर्वाह गर्छ।
परिवेश र उनका साथीहरू, विवेक शर्मा, समुद्र घिमिरे, रिकेश श्रेष्ठ, नितु श्रेष्ठ र निर्मल कोइराला मिलेर गत वर्षको मध्यतिर नै हस्तनिर्मित सामग्री किनबेचका निम्ति प्लेटफर्म बनाउने सोचेका हुन्।
त्यस्तैमा कोरोना महामारी फैलियो। लकडाउन भयो। इ-कमर्स व्यापक बढ्यो। त्यही समयलाई अवसरका रूपमा लिँदै उनीहरूले आधिकारिक रूपमा अरनिगो वेबसाइटमा काम थाले। र, गत जनवरीदेखि प्लेटफर्ममा बिक्रेताका सरसामान राख्न थाले।
यो टोलीको प्रमुख काम भने ज्योतिष शास्त्रसम्बन्धी हो। सन् २०१६ देखि 'एस्ट्रोवेदा' नामक मोबाइल एप्लिकेसन सञ्चालन गरिरहेका छन्। यसबाट उनीहरू आप्रवासी नेपाली र विदेशीलाई अनलाइनबाट चिना हेराउने, ज्योतिष परामर्श दिने, पूजा गराइदिने जस्ता काम गर्दैछन्।
अरनिगो टोलीमा अधिकांश सूचना-प्रविधि विषय पढेकाहरू छन्। उनीहरू सफ्टवेयर बनाउने काम पनि गर्छन्। मुख्यगरी विदेशी बजार लक्षित भएर काम गरिरहेको यो टोलीले नेपालमा पनि केही गर्न सकिने विश्वासमा अरनिगो ह्यान्डमेड मार्केट सुरू गरेका हुन्।
'हामीले अनलाइनबाट ज्योतिष परामर्श र पूजा सेवा दिँदै गर्दा नेपालमै पनि पूजाका लागि चाहिने दुना-टपरी लगायत सामान पाइने बजारको कमी महशुस गर्यौं,' परिवेश अरनिगो सञ्चालन गर्ने आइडियाको पृष्ठभूमिबारे भन्छन्, 'यस्ता सामग्री अनलाइनमा पाइए सहज हुन्छ। अनि जो व्यवसायी हुन् उनीहरूका कथा पनि ग्राहकलाई सुनाउन सक्छौं भन्ने लागेर अरनिगो सुरू गरेका हौं।'
हुन पनि हामीमध्ये धेरैलाई आफूले किन्ने सामान बनाउने व्यवसायीको कथा थाहा हुँदैन। अरनिगोमा पाइने हरेक सामानका पछाडिको कथा ग्राहकले पढ्न पाउने परिवेश बताउँछन्।
अरनिगो आफैंले कुनै व्यवसायीको सामान बेच्ने होइन। व्यवसायीले नै प्रत्यक्ष रूपमा ग्राहकसँग सम्पर्कमा बेच्ने हो। अरनिगोको भौतिक पसल खोल्ने पक्षमा पनि यो टोली छैन। आफ्नो मुख्य काम अनलाइनसम्बन्धी हुँदा काम गर्न सहज र भौतिक पसल सञ्चालन खर्चिलो भएकाले अनलाइनमै काम गर्ने उनीहरूको सोच छ।
'हामी जुन कुरामा विज्ञ छौं, त्यही अनुसार काम अघि बढाउने सोच्यौं। अहिलेको अवस्थामा धेरैजसो ग्राहक र व्यापारी अनलाइनबाटै सम्पर्क गर्न रूचाउनुहुन्छ,' परिवेश कोरोना महामारीको अवस्थालाई इंगित गर्दै भन्छन्, 'साथै हाम्रो उद्देश्य कुनै पनि कला-सिर्जनाका पछाडिको कथा समेत ग्राहकसम्म पुर्याउने हो। यो अनलाइनबाट मात्रै सम्भव छ।'
अरनिगो ह्यान्डमेड मार्केटले आफूसँग जोडिनेहरू व्यवसायिक बिक्रेता होऊन् भन्ने चाहेको छैन। जसलाई आफ्नै हातले सरसामान बनाउन रूचि छ, अरू पेसामा आवद्धहरूले सोखका रूपमा केही बनाएका छन् भने त्यस्ता सामान अरनिगोमा राख्न सकिन्छ। जस्तै कसैले ऊनीका लुगा-सामान बुनेका भए, केही पकाएको भए, कुनै सामानमा आफ्ना सिर्जना भरेका भए, उनीहरूले यहाँ बेच्न सक्छन्।
त्यसैले कसैले आफ्नो रूचि र सोखका रूपमा बनाएका सामानको बजार हो अरनिगो। परिवेशका अनुसार अरनिगोमा आफ्ना सामग्री राख्ने बिक्रेता कोही सरकारी जागिरे छन् भने कोही निजी काममा संलग्न छन्।
तीमध्ये पनि ९० प्रतिशत बिक्रेता महिला भएको परिवेश बताउँछन्। हाल अरनिगोमा १६ वर्ष उमेरदेखि ४० वर्ष उमेर समूहका बिक्रेता छन्। केहीले सजावटका सामग्री राखेका छन् र कतिले खानेकुरा बेचेका छन्।
'धेरैको मुख्य काम यो व्यवसाय होइन। तर उहाँहरूको सपना एक उद्यमी बन्ने छ। त्यसमा हामी मद्दत गर्दैछौं,' परिवेश भन्छन्, 'उहाँहरूको सपना पूरा गर्न अरनिगो मेरूदण्ड बन्नेछ। किनभने उहाँहरूको सफलता अरनिगोको सफलता हो।'
अरनिगो वेबसाइटमा आफ्ना सामग्री राख्ने पहिलो बिक्रेता 'डिआइवाई विथ पूजा' हो। यो बिक्रेताबाट विभिन्न डिजाइनमा झुम्का, चुरा, लकेट, कार्डलगायत सामान बिक्रीका लागि अरनिगो वेबसाइटमा राखिएको छ।
तर वेबसाइट आधिकारिक रूपमा सार्वजनिक गर्नुअघि परिवेश र उनको टोलीलाई बिक्रेता खोज्न सहज भएन। उनीहरूले इन्स्टाग्राम र फेसबुकलगायत सामाजिक सञ्जालमा हस्तकला र केही रचनात्मक काम गर्ने पेजहरू चहारे। अरनिगो प्लेटफर्मबारे बुझाउँदै म्यासेज पनि पठाए।
'सुरूका दिन निकै गाह्रो भयो। धेरैले हामीलाई उहाँहरूका सामान हाम्रो इन्स्टाग्राममा राख्ने अनि बिक्री गरिदिने सोच्नुहुन्थ्यो,' परिवेशले बिक्रेतालाई बुझाउँदाको सुरूआती दिनका अनुभव सुनाए। उनका अनुसार बाहिरी बजारको तुलनामा नेपालमा अझै पनि व्यवसायिक तरिकाले काम भइरहेको छैन। बिक्रेता र ग्राहकलाई इ-कमर्सबारे बुझाउन चुनौतीपूर्ण भएको उनी बताउँछन्।
तर विस्तारै बिक्रेताले अरनिगोको खास काम बुझेर आफ्ना सामान प्लेटफर्ममा राख्न थाले। गत जनवरीदेखि बिक्रेताका सामान राख्न थालेको अरनिगो ह्यान्डमेड मार्केटमा अहिले ६० भन्दा बढी बिक्रेताले सामान राखिसकेका छन्।
अरनिगोले कुनै पनि सामान राख्नुअघि बिक्रेता प्रमाणित गर्छ। आफ्ना सामान राख्न बिक्रेताले निश्चित प्रकिया पूरा गर्नुपर्ने हुन्छ। अरनिगोका हरेक बिक्रेता स्वतन्त्र हुन्छन्। अन्य प्लेटफर्ममा पनि आफ्ना सामान राख्न पाउँछन्। तर अरनिगोबाहेक बाहिरी प्लेटफर्मबाट हुने उनीहरूका कुनै पनि कारोबारको अरनिगोले जिम्मा लिँदैन।
अरनिगोले बिक्रेतालाई अगावै सामान बनाउने र बिक्रीमा राख्ने प्रावधानभन्दा अर्डर आएपछि मात्रै बनाउन जोड दिन्छ। ग्राहकले पैसा तिरेपछि नै कलाकृति बनाउने थुप्रै बिक्रेता उनीहरूसँग जोडिएका छन्।
'अन्तर्राष्ट्रिय बजारमा हेर्दा पहिले पैसा तिर्ने र पछि मात्र सामान पाउने चलन छ। तर नेपालमा यो चल्ती धेरै छैन। यस्तो अवस्थामा हामी भने पे-फर्स्ट प्रणालीलाई जोड दिँदैछौं,' परिवेशले भने।
अरनिगोमा आफ्नो सामग्री व्यापारका लागि राख्दा बिक्रेताले सात प्रतिशत कमिसन दिनुपर्ने हुन्छ। तीन प्रतिशत कमिसन बैंकिङ कारोबारमा जान्छ।
अरनिगोको दीर्घकालीन योजना यो प्लेटफर्मका सामानलाई विदेशसम्म पुर्याउनु हो। त्यसैले नाम पनि अरनिगो राखेका हुन्। १३ औं शताब्दीमा कलाकार अरनिको आफ्नो कला देखाउन चीन पुगेका थिए। टोलीले उनै अरनिकोको नाममा अंग्रेजी शब्द 'गो' अर्थात 'जाऊ' मिलाएर अरनिगो बनाएका हुन्।
अरनिगोले भविष्यमा यो प्लेटफर्मसँग जोडिएका 'उद्यमी' लाई अन्तर्राष्ट्रिय बजारसम्म पुग्न मद्दत गर्ने परिवेश बताउँछन्।
'नेपालमा अझै पनि थुप्रै अरनिकोहरू छन्। उनीहरू भोलिका दिन अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने र नेपाली कलाकृति चिनाउनेमा हामी सकारात्मक छौं,' परिवेशले अरनिगो नाम राख्नुको कारण र भविष्यप्रति आशावादी हुँदै भने।
(अरनिगोसँग उनीहरूको वेबसाइट, इन्स्टाग्राम वा ९८४००६३८१४ मा सम्पर्क गर्न सकिन्छ।)