सगरमाथा, क्षेपु, महांकाल, चन्द्र-सूर्य, धर्मचक्र, बज्र र कुमारी।
यी नाम हिमाल र सांस्कृतिक सम्पदामा मात्रै सीमित छैनन्।
नेपालको पहिचान झल्काउने यी नाम विभिन्न सामग्रीका नामका रूपमा पनि प्रयोग हुँदै आएका छन्। यिनलाई हाम्रा कलाकारहरूले कतै चित्र त कतै कागज, काठ वा भित्ताहरूमा उतारिरहेका छन्।
उद्यमी आयुषा श्रेष्ठले भने नयाँ पहल सुरू गरेकी छन्। उनले महिलाका गरगहनामै नेपाली सम्पदाका नामअनुसार प्रतीक झल्काउने नौलो प्रयास थालेकी छन्।
'आमो' ब्रान्डमार्फत् आयुषाले झुम्का, औंठी, लकेट, स-साना चिम्टी, साडी पिन लगायत सामग्री उत्पादन गर्छिन्। सन् २०१५ मा सुरू 'आमो' अन्तर्गत नेपाली संस्कृति र पहिचान हस्तकलामार्फत उतारिएको छ।
आमो शब्दले आमा जनाउने आयुषा बताउँछिन्।
'आमा शब्दसँग मिल्ने यो शब्दले माया, प्रेम र ममताको भाव झल्काउँछ,' उनले भनिन्।
गरगहनाको सौख र आफ्नो संस्कृतिको मायाले आयुषालाई 'आमो' को गन्तव्य तय गराएको थियो। बाल्यकालमा देखेको 'डिजाइनर' बन्ने सपना पूरा गर्न पाउँदाको खुसी भने उनले मात्रै ढिलो पाइन्।
भारतबाट समाजशास्त्रमा स्नातकोत्तर पढेकी आयुषाको धेरै समय देशबाहिरै बित्यो। जसकारण नेपाली संस्कृति र चाडपर्व उनका लागि टाढा हुँदै गयो।
'चाडपर्व सुरू भएलगत्तै नेपाल आउन नपाउँदा निकै न्यास्रो लाग्थ्यो,' आयुषाले भनिन्, 'बिदामा आउँदा यहाँका सम्पदा क्षेत्रको सुन्दरता नियाल्थेँ। मन्दिरमा कुँदिएका सुन्दर शील्प र चित्र मेरा लागि सधैं आकर्षण बन्थे।'
हरेक साल नेपाल आउँदा उनी आफ्ना विदेशी साथीलाई नेपाली चिनोका रूपमा यहाँका झुम्का र माला उपहार लगिदिन्थिन्। पछि उनलाई ती सामानमा नेपाली पहिचान हराउँदै गएको र नभएकै पनि महशुस हुन थाल्यो।
भारतीय डिजाइनले बजार ओगटेका बेला आयुषाले नेपाली हस्तकलाका गरगहना पाइनन्। विदेशी साथीलाई नेपाली सभ्यता देखाउन नपाउँदा खिन्न हुन्थिन्। नचाएरै पनि तिनै सामान किन्न बाध्य हुन्थिन्।
पढाइ सकेर फर्किएपछि आयुषा गैर–सरकारी संस्थामा जागिरे भइन्। राम्रो कमाइ र स्थिर जागिरले उनलाई बलियो भविष्यको सपनाले बाँध्यो। भित्री सन्तुष्टि भने पाइरहेकी थिइनन्।
'जीवनमा चाहिने सबैथोक हुँदाहुँदै पनि आफैंमा अधुरो महशुस गरिरहेकी थिएँ,' उनले भनिन्, 'बाल्यकालमा त अनेकौं कलात्मक सामानप्रतिको आकर्षणले पूरा गर्थेँ। त्यो पनि सम्भव भएन।'
आयुषाले आफ्ना ती पुराना अपूर्ण चाहनालाई नयाँ रूपमा परिवर्तन गर्ने सोचिन्। यसका लागि फेरि 'ग्राफिक डिजाइन'मा स्नातकोत्तर गर्न काठमाडौं विश्वविद्यालयमा भर्ना भइन्।
'भारतमा लामो समय पढेर राम्रो जागिर खाएकी छोरी एकाएक विद्यार्थी भएर कलेज जान थालेको परिवारलाई चित्त बुझेको थिएन,' आयुषाले भनिन्, 'बुवा त कत्ति दिनसम्म बोल्नु नै भएन।'
उनले आफ्नो हुटहुटीमा केही बाधा आउन दिइनन्।
कला र डिजाइनको चासोले फेरि कलेज भर्ना भए पनि आयुषालाई त्यो विषयमा ज्ञान भने शून्य थियो। उनले शून्यबाटै सुरू गरेर आफ्नो पढाइ सकिन् र डिजाइनर बन्ने सपना पूरा गरिन्।
पढाइपछि उनले करिब सात महिना कामबारे अध्ययन गरिन्। अनि पचास हजार रूपैयाँ लगानी गरी 'आमो' यात्रा सुरू गरेको आयुषा बताउँछिन्
उनले सुरूआती समयदेखि नै झुम्का, ब्रासलेट, औंठी, पिन लगायत गरगहना उत्पादन गरिरहेकी छन्। नेपालका प्राचीन वस्तुकला र संस्कृतिका प्रतीक झल्किने ती सामानको डिजाइन उनी आफैं कोर्छिन्। अहिलेसम्म उनले २ सय ५० डिजाइन बनाइसकेकी छिन्।
आयुषाले 'आमाको बगैंचा', 'वर्षा', 'शक्ति', 'देवी' नामबाट डिजाइनहरूको शृंखला पनि बनाएकी छन्। हरेक शृंखलाका सामानमा जीवनका केही मूल्यवान् सम्झना र क्षण प्रतीकमा उतार्ने प्रयास गरेकी छन्।
'आमाको बगैंचा मेरो अजी (हजुरआमा)मा समर्पित छ। यसमा उहाँको बगैंचा र बोटविरुवाप्रतिको माया झल्किन्छ,' आयुषाले भनिन्, 'यसैगरी वर्षा शृंखलाले पानी र शरद ऋतुका विशेषता झल्काउँछ। त्यस्तै शक्ति र देवी शृंखला भने नारी शक्तिमा समर्पित छ।'
आयुषाका अनुसार पित्तल, निकोल र तामाबाट बनाइएका आमोका उत्पादनमा २२ क्यारेट सुन जलप लगाइएको छ। गहनाको मूल्य ६ सयबाट सुरू भई ६ हजारसम्म पर्छ। हातको कालीगढीबाट बनेका यी गहना बाहिर पाउने सामान्य झुम्का र औंठीभन्दा केही महँगा लाग्छन्।
आयुषा आफ्ना उत्पादनलाई नेपाली संस्कृतिको प्रतिबिम्व मान्छिन्। हराउँदै गएका वास्तुकला नयाँ पुस्तामाझ संरक्षण गर्नु उनको मुख्य लक्ष्य हो।
यही लक्ष्य पूरा गर्न उनले आमोको चार वर्षे यात्रामा कुनै पनि बाहिरी कुरालाई काममा बाधा बन्न दिइनन् रे। उनलाई बजारमा बढेको 'कपिराइट' समस्याको विषय बनेको थियो।
'हामीले कयौं दिन अनुसन्धान र अध्ययनपछि निकालेको डिजाइन बजारमा जो-कोहीले पनि उतारेका हुन्छन्,' आयुषा भन्छिन्, 'सरकारले यो विषयमा कडा कानुन नबनाएकाले हाम्रो मिहिनेत बजारमा पाइने सस्तो मूल्यमा खेर गइरहेको छ।'
यस विषयमा उपभोक्ताको सक्रियता पनि महत्वपूर्ण हुने आयुषाको भनाइ छ।
'डिजाइनको अर्थ बुझेर उत्पादन गर्नुपछाडिको कारणबारे सचेत हुन हरेक ग्राहकको कर्तव्य हो,' उनी भन्छिन्।
उनका अनुसार आमोका उत्पादन संख्यात्मक हिसाबले बजारमा मेसिनबाट बनेका सामानको तुलनामा कम छ। यसका पछाडि उपभोक्तालाई सामानको संख्यामा नभई गुणस्तरमा विश्वास गर्न उत्प्रेरित गराउनु हो।
'ग्राहकले नेपाली हस्तकला सामान महँगो हुन्छ भनेर आलोचना गर्नुभन्दा त्यसको महत्व बुझेर स्थानीय उत्पादनलाई हौसला दिन जरूरी छ,' आयुषा भन्छिन्, 'तब मात्र बजारमा विदेशी सामानको हालीमुहाली हट्छ। नेपाली ब्रान्ड, सभ्यता र पहिचान उत्थान हुन्छ।'
तस्बिर सौजन्यः आमो
आमोलाई फेसबुक पेज, वा ९८४९२७२५४३ मा सम्पर्क गर्न सकिन्छ।