पोहोर माघमा धुमधाम तरिकाले बिहे भएको हो मेरो। मलाई हेर्न आउँदा सासूआमैले भन्नुभाथ्यो रे, 'तपाईंहरूकी छोरीलाई हामी भगवानलाई जस्तै पूजा गरेर राख्छौं।'
म मख्ख थिएँ। पढ्न पाउने भएँ भनेर। त्यसै त प्राइभेट नोकरी, यति धेरै पेलाउँथे कि घरका काम धन्दा केही गर्न पाइन्थेन। अब त ढुक्कै हुने भो सोच्दै थिएँ। किनकि बिहे हुने घरका मान्छेहरू धेरै नै प्रगतिशील छन् भनेर सोचेर। आफ्नो काम आफै गरेर बुहारीलाई छोरीकै दर्जाको रूपमा राख्छन् भनेर।
अझ त अझ हुनेवाला श्रीमानसँग भएका बिहे अघिका एक दुइटा भेटमा बडा मीठा कुरा गरेका थिए। कामहरू सबैले बाँडेर गर्दा अपनत्व हुने जस्ता भाषण दिएका थिए। म त नाटक वा कुनै बोलचित्र हेरिरहेछु जस्तो महसुस गरिरहेको थिएँ। बिहे गरेपछि स्वर्गबाट नर्कजस्तै जीवन भोग्नुपर्छ भनेको सुनेथेँ, हैट! म त भाग्यमानी रहेछु- स्वर्गबाट स्वर्गमा नै पुग्ने भएँ भनेर। यस्तै यस्तै सोचमा राजकुमारीको ताज लगाइसकेको थिएँ मैले सपनामा।
तर कहाँ बिहे, सपना जस्तो हुँदो रैछ र? कता कता सुनेको राजकुमारीको कथा जस्तो हुँदो रैछ र? बिहे त असाध्यै अस्पष्ट हुँदो रहेछ। बिहे अगाडि एउटा बिहे पछाडि अर्कै, भोगेपछि थाहा हुँदो रैछ। नगरूँ भनेर बस्यो भोगिराख्न पर्ने, भोगिराख्यो बानीमा अभ्यस्त भइने। उर्फ, समुद्रमा उत्रिरहेको हाँसखेल गरेको जीवन त भोग्दाभोग्दै पिँधमा नै पुग्दो रहेछ।
बिहेको दिन त म राजकुमारी नै थिएँ। श्रृंगार अनि बनावट र लुगा सबैले यस्तै बोल्दै थिए। त्यो माधुर्य र मोहनी सबै उपन्यासको पात्रकी जस्तो। बिहे पछिका केही दिनहरू पनि आहा! कति राम्रा। कतै माटो नै छुइन्छ कि झैं हत्केला नै बिछ्याए जस्तो। हनिमुन नमनाउँदासम्म त श्रीमान पनि अनेक कौशल पस्किरहने। रंगीचंगी ध्वजा नै फरफराएर हमेशा मेरै सुनिरहने। त्यतिबेला लाग्थ्यो, यति बिघ्न खुसी पाउन रहेछ- मैले बिहे चाहिँ किन यति ढिलो गरेछु भनेर।
तर जब हनिमुन पिरेड सकियो, त्यसपछि सुरू भयो सकस। सरकारको जस्तै मेरो पनि विश्वास/अविश्वासमा खडा हुन थाले केही तर्कहरू। स्वर्गको झिल्का अब माटोमै मिलिसकेको थियो। दिन बिराई घरका सबै लुगाफाटाहरू मेरै निम्ति थुप्रिन थाले। झूटा भाँडा जति सबै मेरै जिम्मामा हुन थाले। तरकारी काट्ने केलाउने खाना बसाल्नेमा अलि अलि सासूआमा सघाउँथिन् तर पनि बोली नै रूखो। बरू एक्लै नै गरौंजस्तो लाग्ने। जाडोको महिना थियो, ससुराबा र श्रीमान त बिहानसम्म सुत्थे अनि दिउँसो व्यापारमा लाग्थे। मेरो पनि दिउँसो जागिर थियो। कसरी कसरी पो भ्याउनू? अफिसमा त थकानले निद्रा नै लाग्थ्यो। सबैले गिज्याउँथे, नौली दुलहीलाई रातभरी सुत्ने फुर्सत छैन कि? भन्दै। आफ्नो भने कहानी बेग्लै थियो।
भाञ्जाभाञ्जी हाम्रैमा बसेर पढ्थे। ससुराबा पिँढीमा बसेर बिहान बिहान पाठ पढाउँथे दुवैलाई।
'राम्ररी पढ्नुपर्छ नत्र पछि घरधन्दा सम्हालेर बस्न पर्ने हुन्छ,' भन्दै अर्ति दिन्थे मतिर हेर्दै अझ। म पनि त कम थिइनँ पढाइमा। ग्रयाजुएट थिएँ, नोकरी पाएकै थिएँ। तर घरधन्दा जे जति अह्राउँछन् मानें खुरूखुरू भन्दैमा यतिविधि त गर्नपर्ने थिएन।
म भित्रिनु पूर्व आ-आफ्नो भाँडा ससुरा श्रीमान सबैले माझ्थे रे। आफ्नो लुगा आफै धुन्थे रे। छिमेकीले भनेका। तर अब चाहिँ धुन हुन्न भन्ने उर्दी जारी भयो एकदिन सासूआमाको। बार्तलीमा बसेर आदेश दिइन्, 'बुहारी भित्रिएको घरमा नि कहीँ नपाएर लोग्ने मान्छेले भाँडा माझ्ने गर्छन् त? आयु घट्छ्।' म त कुरा सुनेर बसेको बसैं भएँ। झोक्रिरहें। त्यसदिनदेखि त के चाहियो र? खाएकै थालमा चुठेर हिँड्न थाले। सबैका झूटा भाँडा सोह्रदै हिँड्ने पालो मेरै थियो। आएको १-२ महिना भा छैन, विद्रोह नै गरिहाल्न मन नलाग्ने। अरू त अरू मामाघर बसेका भाञ्जाभाञ्जीले पनि केही गर्न हुन्न रे।पाँच ६ कक्षा मा पढेकाहरूलाई समेत पुल्पुलाएर सबै स्कुलका ड्रेस समेत मैबाट धुलाउँथें। मेसिन किनेर ल्याम् न त भन्दा मैलो निखार्दैन रे। जसरी पनि बुहारीलाई नै पेल्ने दाउ।
अवहेलनाले तीव्रता पाउँदै थियो भने म चाहिँ गधाको तक्दिर बाँचिरहेको थिएँ। लुगा सुकाएर डोरीमा हेरिरहेको थिएँ। मलाई आफ्नै छायाले गाली गर्यो- 'कतिन्जेल आफ्नो शक्ति र जवानी धुँदै सुकाउँदै गरेर बस्छेस्' भनेर। अनि त आफैप्रति दया उत्पन्न भएर आयो। अनि त बोल्ने आँट थिएन। त्यही भएर 'सासूआमा! तपाईंले घरमा बुहारी भित्र्याएको कि वासिङ मेसिन?' शीर्षकको अधिकारवादी भएर एउटा चिठी लेखेर सासूआमाको कोठामा छोडिदिएँ अनि अफिस गएँ। फर्किएर बेलुका आउँदा सासूआमा रिसले फुल्लिएर बसेकी थिइन्। श्रीमान ससुराबा मुखमा पिँडालु हालेर बसेका थिए। सबैका अघि चिठी वाचन भएको पत्तो मैले पाएँ। अफिसबाटै खाजा खाइवरी आएको थिएँ। चुपचाप रूममा बसेर फेसबुक चलाउँदै थिएँ। राष्ट्र बैंकको लिखित परीक्षामा आफ्नो नाम निस्किएको थाहा पाएँ। राति सुत्न आएका श्रीमानलाई भनें। अनि बिहानैको गाडी समातेर अन्तर्वार्ताका लागि काठमाडौं हानिएँ।
काठमाडौं आएपछि म फर्किएर फेरि गाउँ जान परेन किनकि अन्तर्वार्तामा समेत नाम निस्कियो। श्रीमान काठमाडौं आइराख्छन्। अस्ति आउँदा सुनाउँदै थिए, 'आजकल आमै, बार्तलीमा बसेर, लोग्नेमान्छे भनेर हुन्छ र? आफूले खाको थाल आफै माझ्न पर्छ नि!' भन्छिन् अरे।
हामी दुवै मज्जाले हाँस्यौं।