एसइईको नतिजा आयो। सरकारी स्कुलबाट पढेर पनि 'ए' ग्रेडमा पास भई कविता। टंकसेरले घरकै सानो सुँगुर पाठो काटेर खुसीयाली मनायो।
नतिजा आएको महिना दिन पुग्यो तर घरमा केही चर्चा नसुनेपछि एक दिन ऊ आफैँले आपालाई आफ्नो अगाडिको पढाइबारे सोधी। टंकको मात्र हातमा हुने भए, जस्तो अभाव खेपेर पनि उसले छोरीलाई कलेज पढाउँथ्यो। तर ऊ आफ्नो श्रीमतीकै खटनपटनमा चल्न थालिसकेको थियो।
सौतेनी आमा दमयन्तीले घरको पारिवारिक र आर्थिक दुःखको लामै फेहरिस्त उसको अगाडि राखिदिएकी थिई। आपाको पनि बाध्यकारी असहयोगपछि एक्ली परेकी कविताले आफ्नो पढाइलाई तिलाञ्जली दिई। उसको जीवन आलोकित पार्ने सूर्य अब निभ्यो।
दमयन्ती आफ्नो स्वार्थअनुसार अरूसँग नरम गरम भइराख्थी तर कवितासँग उसको सम्बन्ध सधैँको तिक्त नै रह्यो। आफ्नो सौतेनी आमा र भाइ कुबेरलाई कविताले उत्तिकै प्यारो मानेकी थिई जति आफ्नो आपालाई तर आपाबाहेक उसलाई त्यो घरमा मायाले सुमसुम्याउने अरू कोही थिएनन्।
उँधौली मनाउन तुवाचुङ्ग जान तीन दिन बाँकी रह्यो। कविता र यशोदा सरस्वतीको कोठामा बसेर उसको पर्सि साकेलामा लाउने गहना, लुगाहरू हेर्दै थिए। कवितालाई उसको चन्द्रहारी गहना साह्रै मन पर्यो। सँगै एकै ठाउँ, एकै दिन नजाने भए उसले सरस्वतीलाई त्यो गहना मागेरै छोड्थी।
उसले मनमनै आपालाई ठ्याक्कै त्यस्तै चन्द्रहारी किनी माग्ने सोच बनाई। सुँगुर चारो हालेर फर्किरहेको आपा आँगनमा आई नपुग्दै उसले आफ्नो कुरा राखी। कविताको कुराले टंकको अनुहारमा अन्योल मुस्कान छायो।
घामले अस्ताचलमा लालिमा घोप्टाइरहेको छ। मुढे डाँडादेखि देखिएको परपरको सुन्तले आकाश र पहाडका थुम्काहरू माथि उडिरहेका एक हुल चराहरूको दृश्यमा रमाउँदै सालको पातमा टङ्क सुर्ती हाल्दै छ।
टंक सुर्ती तान्दै एक्लै भाका हाल्दै गर्दा कविता पनि बाख्राहरू धपाउँदै आइपुग्छे। आपालाई प्रसन्न भावमा देखेर उसको पनि अनुहार उज्यालिन्छ। टंकले कवितालाई देख्छ। उठेर माथि कोठा निस्किँदै भन्छ, 'आइज माथि।'
'त्यो चन्द्रहारीभन्दा यही कण्ठहार सुहाउँछ तँलाई नानी,' टंकले एउटा पुरानो रंग खुइलिइसकेको जस्तो कण्ठमाला उसको हातमा राखिदिँदै भन्छ।
कविता एकछिन खङ्ग्रङ्गै हुन्छे तर आपाको उध्रेको टोपी र अस्कोटको खल्तीसँग ऊ सुपरिचित छे। उसले केही नभनी टाउको हल्लाउँछे। आपालाई हेरेर फिस्स मुस्कुराउँछे। उसको विवश मुस्कानले टंकलाई किञ्चित ग्लानि हुन्छ। उसले मनमनै अर्को उँधौलीमा छोरीले भनेको गहना जसरी पनि किन्ने अठोट गर्छ। अनि छोरीको शिरलाई मायाले सहलाउँछ। कविता कण्ठहारलाई सुमसुम्याउँदै उठ्छे।
'आपा, अर्को उँधौलीमा चाहिँ त्यही गहना किन्दिनु है,' जाँदाजाँदै भन्छे।
दुई महिनापछि पहिल्यै सुगर र प्रेसरले सुक्दै गइरहेका टंकसेर एक दिन दिक्तेल बजारबाट उकालो लाग्दै गर्दा बाटोमै ढल्छन्। यसरी कि फेरि उठ्नै सक्दैनन्। टंकसँगै कविताको माया ममताको आधार खाँबो ढल्छ। ऊ टुहुरी जस्तै हुन्छे।
दुई वर्षपछि उसको जीवनमा आउँछ 'सुमन'। दिक्तेल बजारको एउटा किराना पसलमा हिसाब किताब हेर्ने काम गर्थ्यो ऊ। अरूले सोध्दा आफू धनकुटाबाट आएको भन्ने गर्थ्यो। नुन भुटुन किन्न सुमनको पसल जाँदा कविताले उसलाई चिनेकी थिई। त्यहीबाट उनीहरूको सम्बन्धले शनै:शनै: प्रेमको आकार लिँदै थियो। ऊ अर्को हप्ता दिक्तेलको बसाइँलाई टुङ्ग्याएर दिल्ली जाँदै थियो। आफ्नो तिप्पाको ठुलो रेस्टुरेन्टमा एकाउन्टेन्टको काम गर्न।
सुमनले कवितासँग उतै घरजम गर्ने, उसले चाहे जति आफूले पढाउने, आफ्नो मनसुबा कवितालाई अन्तिम पटक सुनाइसकेको थियो। कविता जटिल संघारमा उभिएकी थिई। आफूले फेरि पढ्न पाउने आशा र सुमनसँग सुखी घरजमबारे सम्झिँदै उसका पखेटाहरू फिँजारिए तर गाउँघर, परिवार छोडी बिरानो ठाउँ जाने कल्पनाले उसका पखेटाहरूले भुइँ छोड्न सकेनन्।
घाम बिना टेको माथि अडिरहेको छ। कविताले अघि नै पँधेरोबाट पानी ल्याएर कुखुरालाई चारो दिएर, अहिले घरको बिच खाँबोमा बसी ठेकीभित्रको मधानीलाई घार्रघुर्र घुमाउँदै छे। माथि बार्दलीबाट कुबेर आँखा मिच्दै झर्छ।
'हन अझसम्म आगो नबालेर के गरी बस्छ यो,' भान्साको चिसो चुलो हेर्दै ऊ कुर्लियो।
'एकछिन पख् है। मही पारिसक्छु पहिला।'
'तेरो घारघुर छोडेर चिया बना पहिला, कुन टाइममा के काम गर्ने पनि थाह हुँदैन हौ यसलाई,' पिँढीको गुन्द्रीमा थ्याच्च पल्टेर आँखालाई कुहिनोले ढाक्दै ऊ बोल्यो।
कविताले आँगनमा हेरी। उसकी आमा निलकाँडा छेउ बसेर पल्लो घरकी फुपूसँग ढुक्कले बात मार्दै छे। छेउमै भाइ पनि भर्खर दुई गरा बारी बाझो मारेर थकाइ मेटेझैँ मस्त निदाइरहेको छ। घरको यो चिरकालिक अपरिवर्तनीय वातावरणले उसको मनमा निराशा र दिक्दारीको ज्वारभाटा उठ्छ। ऊ तत्क्षण आफ्नो मन र ठेकीभित्रको मन्थन सकेर चुलोतिर लाग्छे।
रातको चकमन्नतामा सानो ब्यागमा उसले आफ्नो सामानहरू हाली। खाट मुनिबाट बिस्तारै टिनको बाकस तानेर खोली। आपाले किनिदिएको कण्ठहार हेर्दै एकछिन टोलाई अनि ब्याग भित्रै मिलाएर राखी। झ्याउँकिरीको तिखो एकालापले कविताको मन पनि एकोहोरो बनाइरहेको थियो।
औँसीको रात भएकोले आकाशबाट जून र भोलिको अज्ञात यात्राले कविताको आँखाबाट निद्रा गायब थियो। नयाँ जीवनको सुरुआतको कल्पनाले उसको मन चिसो भयो तर सुमनसँग आफ्नो भविष्य सुनिश्चित गरेपछि दुवै छिट्टै गाउँ फर्किने सोच उसले बनाई। आफ्नो मनलाई थुमथुम्याई।
स्वर्गको आसमा सुमनसँग दिल्ली पुगेकी कविता नरकको भासमा भासिन पुगी। गाउँको अत्तर पोखिएको शीतल हावामा सास फेर्दै उडी हिँड्ने कोकिल चरी, दिल्लीको यो अँध्यारो चार बाई ६ को कोठामा खुम्चिन पुगेकी छे। उसलाई कोठाको चारैतिर सिनोको हरक फैलिएको भ्रम भइरहेको छ। चेत निस्तेज भएकी अबोध प्राणीझैँ एउटा सानो खाटमा ऊ लडिरहेकी छे।
अनुहार सिरानीमा जोतेर एउटा भीमकाय पुरुष छेउमै ढल्किरहेको छ जसको जीउमा एउटा खैरो गन्जी र निलो जागे बाहेक केही छैन। नसा नसामा उसको रगतसँगै घिन र घृणा सञ्चारित हुँदै छ। हठात् सुमनको विद्रुप सम्झना हुन्छ उसलाई जसले जिबी रोडको कोठा नम्बर ५९ मा ९५ हजार भारुमा उसलाई बेचेर गएको थियो। उसको माया, भरोसा र सपनाहरू उसले त्यहाँ लिलाम गरेर फेरि कहिले फर्केर आएन।
त्यस सानो क्याबिन जस्तो कोठामा कविता थुप्रै पुरुषको घिनलाग्दो पाशविकताको सिकार भई। कतिले जीउको मासु लुछुँला झैँ गिजोले। कतिले उन्मादको चरममा उसका वक्ष, पाखुरा, पेटतिर दारे। उनीहरू स्खलित हुन्थे। तृप्त हुन्थे। जान्थे। र फेरि नथाम्नुको ऊर्जा र उन्मत्ततासँग फर्केर आउँथे तर कविता त्यस कोठरीमा यसरी स्खलित भई कि जीवनप्रति कुनै उमङ्ग, उल्लास फेरि ऊभित्र पलाउन सकेन।
उसको मन मरुभूमि भइसकेको थियो। कुनै बेला एक अस्पृश्य, स्निग्ध सुकुमारी ऊ पनि थिई भनेर पत्याउन ऊ आफैँलाई मुस्किल पर्छ। पैशाचिक देहहरूको लस्करभित्र उसले केही अपत्यारिला त्यस्ता पुरुषहरू पनि भेटी जसले उसलाई नङ्ग्याउने, नंग्राउने, गिजोल्ने गर्थेनन् बरु ऊसँग मात्र केही घण्टा बस्थे। त्यहाँ कुरूप वासना क्रीडा हुन्थेन। आत्मीयता प्रबल हुन्थ्यो। त्यस्तै मान्छेहरूबिच एक थियो प्रकाश। उसको मरुभूमि जीवनको 'ओएसिस'।
ऊ कविताको साँघुरो कोठामा हप्तै जसो आइरहन्थ्यो। कवितालाई भेट्न आउँदा कहिले खानेकुरा, कहिले शृङ्गारका चिज ल्याइदिन छुटाउँथेन। कवितासँग बसेर पहाड, प्रकृति र उसको गाउँको कुराहरू गर्थ्यो। कविताले उसको आँखामा बिस्तारै सरलता र निर्दोषता भेटाउन थालेकी थिई।
एक रात बाहिर मेन रोडको गाडी र मान्छे मिश्रित कोलाहललाई बेवास्ता गर्दै कविता शिर निहुराएर टोलाउँदै खाटमा बसेकी थिई। प्रकाशले कविताको चिउँडोमा आफ्नो दुई औँला पुर्यायो। 'क्या हुआ महिमा?' बिस्तारै सोध्यो।
कविताको नाम परिवर्तन भइसकेको थियो। अनायास उसको अनुहारमा साहसको पुट देखियो। उसले प्रकाशलाई एउटा आत्मीय विश्वासले हेरी। अनि नेपाली लवजको हिन्दीमै कनीकनी भनी, 'मुझे इधर से निकाल्दो भइया.. मुझे मेरा गाउँ जाना हे।'
यति भन्दै गर्दा उसको आँखाको कुलो बगिसकेको थियो। यहाँ ल्याएको दिनदेखि ऊ आफ्नो गाउँघर फर्किनलाई तड्पिरहेकी थिई। आफ्नो भाषा बोल्न र सुन्न छटपटिइरहेकी थिई। गाउँ छोडेको दुई वर्ष नाघिसकेको थियो। प्रकाश उसको कोठाको ग्राहक हुन थालेको महिनौँ भए पनि उसको वेदनासँग ऊ अहिलेसम्म निरपेक्ष थियो तर अहिले अचानक त्यो निरङ अनुहारभित्र लुकेको पीडा देख्दा ऊ आफैलाई अनौठो र अप्ठ्यारो लागिरहेको छ। उसको मर्मभेदी बिन्तीले प्रकाशको मन एकाएक कुँडिन्छ।
पर्सिपल्ट कविताको जीवनमा त्यो घुम्ती आयो जसले उसको नारकीय जीवनमा नाटकीय परिवर्तन ल्याइदियो। प्रकाश आफूसँगै पाँच/छ जना दिल्ली पुलिससहित सिधै कोठा नम्बर ५९ मा छिर्यो। त्यो थियो पुलिस रेड। त्यस जीर्ण भवनमा एउटा भुइँचालो गयो। चारैतिर भागाभाग र हंगामा। पुलिसले त्यस दिन चार जना नेपालीसहित जम्मा सात जना त्यहाँ जबरजस्ती बन्दी बनाइएका महिलाहरूको उद्धार गर्यो।
आज कविता आफ्नो माटो फर्किँदै छे। उसको अनुहारमा आँखा तिरमिराउने दीप्ति छ। चहकदार ज्योतिले दुवै आँखा धपक्क बलेका छन्। कविताको छेउ सिटमा बसिरहेको प्रकाशले उसलाई एउटा सानो चेप्टो बट्टा दिन्छ, 'तुम्हारे सुन्दर सपनेके लिए।'
कविताले बट्टा खोल्छे। भित्र एउटा मोटो चाँदी रङको चम्किलो कलम छ। कलम देखेर कविताले अनायास आफ्नो सुदूर हराइसकेको सपनाको बारेमा सम्झिन्छे।
खाइलाग्दो गुरुजीले सिटमा बसेर बस स्टार्ट गरेपछि प्रकाश ओर्लिन्छ। झ्यालबाट दुइटा चिप्सका प्याकेट दिँदै अन्तिम पटक भन्छ, 'अच्छे से जाना।'
कविता अझै मौन छे। झट्ट झड्का दिँदै बस हिँड्दा हठात् कविताका दश औँला जोडिन्छन्। प्रकाशतिर हेर्दै सजल आँखाले भन्छिन्, 'भइया, आप्ना ख्याल राख्ना।'
प्रकाशले केही भन्न नपाउँदै बस पर मेन रोडमा निस्किसकेको हुन्छ। बसले फालेको धुवाँ र धुलोमा प्रकाश अदृश्य हुँदै गइरहेको छ तर उसको त्यो उन्मुक्त अन्तिम मुस्कान भने कविताले टड्कारो देख्छे।
दुई वर्षको हजार हन्डर र यातनापछि कविता आफ्नो गाउँ फर्की। आपाको न्यानो सम्झना दिने घर, सानो परिवार, साथीसंगी र प्यारो गाउँको काखमा फर्किँदा उसको मन धेरैपछि रेसम धागोझैँ हल्का भएको थियो तर घरको आँगन टेकेकै दिन दमयन्तीको हलाहल वचन सुनेर उसको मन एकाएक पहाड झैँ गह्रुङ्गो भयो।
दमयन्तीले धारे हात लाउँदै भन्न हुने नहुने सबै गाली गरी। कानभित्र उम्लिरहेको तेल हाल्दिए जस्तो भयो कवितालाई। झन्डै भनी 'आमा, मैले यही घरमा एउटा छोरीले पाउने माया पाएको भए, मेरो इच्छा, खुसी तपाईंहरूले बुझिदिएको भए, म आफ्नो गाउँघर छोडेर त्यसरी चोर झैँ भाग्थेँ होला र!'
तर ऊ बोलिन। आपा भएको भए बोल्थी होला। मन रित्तिने गरी। शब्द नपुग्ने गरी। आफ्ना व्यथाहरू। किनकि आपा रिसाए पनि बुझिदिने आस हुन्थ्यो। क्षमा गरिदिने विश्वास हुन्थ्यो। तर उसको आमाको अगाडि ऊ निर्वाक शिर झुकाएर उभिरहेकी थिई। आखिरमा कुबेरले आमालाई सम्झाई बुझाइ गरेर नानालाई त्यही घरमा बस्न दियो। यसको कारण, पहिलो उसकी नवदुलही कोपिलाको आग्रह र दोस्रो ऊ आफैँको घरको कामप्रति घोर अल्छीपन थियो।
घरमा आमाछोराको व्यवहार कविताप्रति पूर्ववत् नै थियो। ऊसँग बोल्ने र काममा हात दिने एउटी सहयोगी भनेको उसकी बुहारी कोपिला थिई। तर कोपिला पनि ऊसँग निर्बन्ध रूपमा कहिल्यै घनिष्ठ हुन सकिन। खै केले अंकुश लगायो उनीहरूको सम्बन्धलाई मज्जाले फक्रिन तर आमाजू र बुहारीबिच माया र आदर भने एक अर्काप्रति थियो।
प्रारब्धको चक्र यसरी घुम्यो कि कविता फेरि आफ्नो पहिलाकै जीवन स्थितिमा आइपुगी। त्यही सधैँको घाँस, दाउरा, मेलापात, दुःख पसिना। सबै उही र उस्तै। गाउँघरको दुःख कष्ट त ऊ खुसी साथ पन्छाइदिन पनि सक्थी बस् उसलाई आफ्नाहरूको माया र स्नेहको इन्धनको खाँचो थियो।
आफ्नो गाउँलाई सम्झेर ऊ फर्केकी थिई तर त्यहाँ उसले एउटा समाज पाई जसले उसलाई बेलाबेला विचित्रको अछुत व्यवहार गर्न थालेको थियो। उसको जीवनमा आएको फरकपन यति थियो।
माथ्लो घरका दिदीहरूसँग गफिँदै घन्काएको पँधेरोमा अब पानीधारो र झ्याउँकिरीको आवाज हाबी हुन थाल्यो। पहिला अरूले खेताला बोलाउँदा कहिले नछुट्ने कविता अब आफ्नै खेतबारीमा मात्रै व्यस्त हुन थाली। डाँडाको शुक्रमानले घरमा बालन पूजा लाउने भयो। निम्तो गइराख्ने सबै घरलाई गयो। कुबेरको घर छोडेर।
यस्तैमा उँभौलीको दिन आइपुग्छ। गाउँका सबैजसो किराँती पहिरनमा सजिएर तुवाचुङ्ग डाँडा जाने तरखरमा छन्। कोही बाटो लागि पनि सके। कविताले हिजै सरस्वती र यशोदालाई गोठालो जाँदा भेटेर साकेलामा सँगै जाने सल्लाह गर्ने सोचेको थिई तर उनीहरू हिजो आएनन्।
आज आफ्नो झ्यालको चेपबाट उसले हेर्दै छे। सरस्वती र यशोदा उसको घरको बाटो काटेर जाँदै छन्। कविताको घरतिर हेर्ने फुर्सद उनीहरूलाई छैन। उसले आफ्नो कोठाबाटै उनीहरूलाई भावशून्य हेरिरही।
भोलिपल्ट शान्त बिहानीमा कविता आँगनमा दाउरा चिर्दै छे। कोपिला त्यहीँ धोएको लुगाहरू सुकाउँदै छे। कुबेर खुट्टा बजार्दै आँगनमा आइपुग्छ। हातको दुई गेलेन कोदोको रक्सी झोकिएर पिँढीमा पछार्छ। उसको उपद्रो देखेर कविताको ओठमुख सुकिजान्छ। कोपिला बुढोको यो बहुलठ्ठी पारा देखेर भृकुटी खुम्चाउँछे। घर पछाडिबाट दगुर्दै आएर दमयन्ती पनि कुबेरको जात्रा हेरेर पड्किन थाल्छे, 'बौलाइस् कि क्या हो?'
कुबेरले छेउको राडी ओछ्याउँछ, 'यो सुँगुर्नीले गर्दा गाउँबाट उठिबास लाग्ला जस्तो छ..। जहाँ पनि हेप्न, होच्याउन मात्र खोज्छन्...।'
'कल्ले के भन्यो?' दमयन्तीले सोधी।
'रक्सी नराख्ने रे केसरेले.. गाउँको कोही खान मान्दैन रे यसले बनाएको रक्सी भनेपछि। के-के फोहोर रोग बिमार बोकेर आएको मान्छेको हातको रक्सी नखुआऊ हामीलाई भन्छन् अरे केसरेलाई।'
कुबेरले लगाइरहेको ज्याकेट निकाल्यो।
आमाले फेरि कवितालाई नै आँखाको विषालु वाण हान्दै भनी, 'यसको त कर्जै खाको रहेछु। उतैतिर गुल्टेको भए त ढुक्कै हुन्थ्यो।'
कोपिलाले दिक्क भएर बुढालाई सम्झाउन खोजी, 'उनीहरूले जे भने पनि नानालाई किन गाली गर्नुपर्ने हौ, बसिखानु दिनु हुन्न उसलाई? गाउँमा रक्सी राखेन भने बजार झार्दा हुँदैन?’
कोपिलाको बोली भुइँमा नखस्दै आमाले उसलाई पनि गोरु जत्रो आँखा पार्दै सुर्ती केलाउन थाली। कुबेरले जङ्गिएर खुट्टाबाट फित्ते चप्पल निकाल्यो। कोपिलातिर झट्टी हान्यो।
'धेर न्यायाधीश नबन्। भित्र गएर स्कुश काट्।'
कोपिलाको जीउमा तत्क्षण उग्रचण्डी अवतरित भई। दारा किट्दै ऊ कुबेर नजिक गई, 'तिम्रो चप्पलको झटारो खाने देख्यौ मलाई? नानाजस्तो सिधासुधो भन्ठान्या हो? तिमर्को दासी होइन म। धेर तागत देखायौ भने अहिले तल चौकी गर खोरमा जाक्न लाइदिउँला।'
कुबेर कालोनिलो भएर आमालाई ताक्न थाल्यो। आमा पनि दङ्ग परिन् र केही नबोली बेरिसकेको सुर्ती सल्काउन थालिन्। कोपिला उनीहरूको सातो खाएर सिधै आफ्नो कोठातिर लागी। अघिदेखि कोपिलालाई हेरिरहेकी कविताको मनमस्तिष्कमा अचानक बिजुलीको तरंग दगुर्यो।
'तिमीहरू सबलाई तह लाउँछु म पख्' भन्दै कुबेरले आफ्नो मोबाइलबाट श्याम घर्तीलाई फोन लगायो।
'बल्ल तेरो घैँटोमा घाम लाग्यो। अस्ति ऊ आएकै बेला कुरा पक्का गरेर यसलाई पठाइदिएको भए गाउँमा यति छिः छिः दुरदुर त हुन्थेन,' दमयन्ती फेरि बम्की।
श्याम घर्ती। भूतपूर्व गाविस अध्यक्षको आवारा र बेरोजगार छोरो। अलि सुस्त मनस्थितिको पनि। नजिकै गाउँको भएकोले कविताले उसलाई चिनेकी थिई। आमा र भाइको पछिल्लो कुराले कविताको मुटुमा शूल रोपियो। उसको आँखा पिँढीको भित्तामा पुग्यो। ध्वाँसोले कालो भइसकेको सिसाको फ्रेममा झुन्डिरहेको थिए टंकसेर। एक अजर मुस्कानसहित। आमा र भाइको पाषाण हृदयको अगाडि उसले आज घुँडा टेकी।
ऊ चुपचाप आफ्नो कोठामा गई। टिनको बाकस खोली। भित्र उसको गुन्यु, चोली र पटुकी थियो। उसले पटुकी उठाई। पटुकीमुनि आपाले दिएको कण्ठहार उसलाई चियाइरहेको थियो। छेउमै प्रकाशले उपहार दिएको कलम पनि। झ्यालको प्वालबाट छिरेको किरण सिधै त्यो चम्किलो कलममाथि परेर टल्किरहेको थियो।
चिर निद्राबाट एक्कासि बिउँझे झैँ उसले खाटमुनिबाट आफ्नो ब्याग निकाली। आफ्ना लुगाहरू र गुन्यु, चोली, पटुकी सबै ब्यागभित्र हाली। बाकसमा अब कलम र कण्ठमाला मात्र थिए। कलमलाई ब्यागभित्रै मिलाएर राखी। एक्लो भएको कण्ठहारलाई सजल आँखाले हेर्दै ऊ एकछिन अन्यमनस्क भई। कम्पित हातहरूले त्यो कण्ठहारलाई उसले थाममा ठोकिएको काँटीमा झुन्डाइदिई। आफ्नो ब्याग बोकी र कोठाबाट निस्की।
कुबेर र श्याम घर्ती आँगनमा बसेर बात मार्दै थिए। कविता उनीहरूतिर हेर्दै नहेरी चुपचाप अगाडि बढी। सुँगुरको फिला काट्दै गरेकी दमयन्ती कवितालाई नै अचम्म गरी हेर्दै थिई। माथि बरन्डामा निस्केकी कोपिलाको पनि आँखा नाना तिरै सोझिएका थिए। उसकी आमाले हतार कुबेरलाई हेरेर आँखैले कवितातिर इसारा गरी।
'कता हिँडेको त?' कुबेरले नानातिर प्रश्नको भकुन्डो फ्याँक्यो।
जवाफ फर्किएर आएन।
'ओए..?'
मौनता मात्र।
'नाना...'
कविता घरमुनिको बाटो पुगिसकी। श्याम ओठका कापहरू फराकिलो पार्दै मुस्कुराउन थाल्यो। कुबेरलाई यो सह्य भएन। ऊ नानालाई छोपेर गयो। ढाडमा एक मुड्की बजार्यो। झन्डै डिल काटिन उसले।
एकछिन असह्य पीडाले केही बोल्न सकिन तर ऊ भित्रको दीर्घकालीन दमित आक्रोश र असन्तुष्टिको ज्वाला विस्फोट भइसकेको थियो। त्यही प्रचण्ड आवेगमा कुबेरको गालामा एउटा चोटिलो र वजनदार चड्कन उसले लगाई। उसका पितृहरूलाई एकछिन आँखै अगाडि देख्यो कुबेरले।
केशको त्यान्द्रो पछाडि पार्दै कविताले कुबेरलाई यति भनी, 'अब तिमीहरूलाई आफ्नो सम्झेर यो घरमा फर्किने गल्ती म गर्दिनँ। पशुले सम्म बुझ्ने माया प्रेमको भाषा, तिमीहरूले कहिले बुझेनौ। भगवानले तिमीहरूलाई सद्बुद्धि दिउन्।'
कविताको कुराले आमा एकछिन मौन हुन्छे। माथि बरन्डामा उभिरहेकी कोपिला र कविताका आँखा चार हुन्छन्। कोपिला कविताको आँखामा तुष्टि र कविता कोपिलाको आँखामा आफ्नो लागि माया र सम्मान पाउँछे।
जिन्दगीभर सुखी र सहज जीवनको आशामा भौँतारिरहेका त्रिशङ्कुले बल्ल एउटा दर्बिलो धरातल पाएकी छे। बाटो छेउको पानीको पाइप फुटेर त्यो साँघुरो गोरेटो हिलाम्य भएको छ। हिलोमाथि नै कविता आफ्ना पाइलाका डोबहरू छोड्दै अगाडि बढिरहेकी छे। कुबेर नानाको त्यही पदचिह्न हेर्दै निष्प्रभ टोलाइरहन्छ। टोलाई नै रहन्छ।