गाउँबाट पढ्न राजधानी छिर्दा एउटा खालको संघर्ष थियो मलाई। घर परिवारले खर्च दिँदैन थिए। दिने हैसियत थिएन। मागिनँ पनि मैले। बरु मबाट आशा गर्थे। आशा र भरोसाको केन्द्रमा थिएँ म। सकेको न्याय गरेँ मैले परिवारलाई।
ट्युसन पढाएर कोठा भाडा, खाना/खाजा र पकेट खर्च पुर्याएँ। सरकारी क्याम्पस पढेकोले फीको चिन्ता भएन। अझ छात्रवृत्ति पो पाएँ।
पढाइपछि जागिरको तनाव कुरा गरी साध्य छैन। स्नातक तहपछि सरकारी जागिरको लागि संघर्ष सुरु भयो मेरो। वर्षौँको प्रयासपछि सरकारी जागिर खाएँ। जागिर खाँदै एमपिए पास गरेँ। एक जनाको जागिरले घर व्यवहार तथा परिवार चलाउनु पर्छ। एक काँधे छ जिन्दगी। तर पनि गुनासो छैन मलाई।
श्रीमतीको जागिर थिएन/छैन। जागिर खाने कोसिस नै गरिनन् उनले। मैले पनि कर गरिनँ जागिर खान। मन पराएर विवाह गरेको हो मैले उनलाई। आज भोलिको भाषामा लभ म्यारिज भन्छन् क्यारे!
गाउँ ओहोरदोहोरको हैरानले आमाबाबुलाई सहरमै ल्याएँ। गाउँमै बस्न रुचाउनु हुन्थ्यो उहाँहरू। तर कहिले बा बिरामी कहिले आमा बिरामी! उपचार गराउन फेरि सहरमै ल्याउनु पर्ने! झन् तनाव। बरु सँगै राखेँ मैले। भाडाको घरमा बुढाबुढी रमाउनु भएन। करले बस्नु भयो।
सँगैका अरू कर्मचारी साथीहरूको प्रगति देखेपछि मैले पनि मालपोत कार्यालयमा जागिर सरुवाको प्रयास गरेँ। महिनौँपछि प्रयास सफल भयो। सरुवाको लागि धेरै पापड बेलेँ। सरुवाको लागि संगठन र मन्त्रीसम्म पहुँच पुर्याएँ। त्यसै सरुवा हुँदो रहेनछ। जे अरूले गर्थे त्यो मैले पनि गरेँ।
४ आना जग्गा बल्लतल्ल किनेँ। दुई वर्षपछि मालपोत कार्यालयबाट जिल्लामा सरुवा भइहाल्यो। छोराछोरी पढाउन, जग्गा किनेको ऋण तिर्न, घर व्यवहार चलाउन महाभारत भयो। बैंकको ऋण, सञ्चय कोषको ऋण र त्यसको किस्ता तिर्दै युवा जोस जाँगर सकियो। रमाउने जिन्दगी संघर्षमा बित्यो।
सबै साथीहरूको राजधानीमा घर। आफू मात्र कोठाभाडामा! पुरानो ऋण सक्दा नसक्दै घर बनाउन ऋणको भारी बोकेँ मैले फेरि। घर बनाउँदा लागेको ऋणको किस्ता तिर्न गरेका संघर्षको कथा बताउनै सक्दिनँ। तनावले निन्द्रा लागेन मलाई।
घर बनाएको ऋण तिरिसक्दा ५० नाघेँ। जोस जाँगर सबै निस्तेज भए। रोगले सताउँदै गयो। घर बनाएको ऋणपछि सुखको सास फेर्ने धोको कल्पना मात्र भयो। एकपछि अर्को बोझहरू थपिँदै गए। जिम्मेवारीले थिचिँदै गएँ।
मैले गाउँ छोडेँ। छोरोले देश छोड्यो। कुरो त उस्तै उस्तै हो। छोरो नेपाल बस्दै नबस्नेमा पुग्यो। विदेश जाने भनेर गरेको किचकिच कति सुन्नु? जा भन्दिएँ रिसले।
कैयौँ पटक लोक सेवा पढ्न सम्झाएँ। नेपालमै केही गर्न सकिन्छ भनेँ। मान्दै मानेन। आम युवाको प्रतिनिधि थियो ऊ। गलत बाटो रोज्ला भन्ने चिन्ता बढ्दै गयो मलाई। विदेश जान अनुमति दिएँ। सबै प्रक्रिया उसैले मिलायो।
सम्पत्तिको नाममा घर छ मेरो। गाउँको सम्पत्तिको के कुरा गर्नु? बाँदरको राज्य छ त्यहाँ। बुट्यानले ढाकेको छ। कौडीको भाउमा पनि बिक्दैन। सम्पत्तिमा दर्ज भएको काठमाडौँको घर पनि बैंकमा बन्दकी राखिदिएँ छोराको खुसीको लागि। लाखौँ लाख ऋणको भारी बोक्न मन्जुर भएँ म। घर बैंकमा बन्दकी राखेर छोरो विदेश उड्यो।
छोरो विदेश गएको केही वर्षपछि छोरी पनि विदेश जाने भनेर ढिपी कस्न लागी- ‘दाइलाई पठाउनु भयो। म पनि जान्छु।’
दोधारमा परेँ म। छोरीलाई एक्लै विदेश पठाउन मन लागेन। अरूले मलाई रुढीवादी भने नि भनून्, बिहे गरेर मात्र जा भनेँ मैले। छोरीको विवाह गर्न फेरि १० औँ लाख खर्च भयो। त्यसको पनि भारी थपियो मलाई।
छोराले म बुढाको ऋण तिरी देला भन्ने आशा गरेको; उसकै कथा र व्यथा सुन्दै ठिक छ। उसलाई विदेशमा सेटल हुन मुस्किल पर्यो रे! नेपाल फर्कन अनुरोध गरेँ मैले। मान्दै मानेन। बरु काठमाडौँको घर बेचौँ भन्यो उसले। छोराको कुरा मानिनँ। अझै ऋण बाँकी छ। घर बेचेर म फेरि डेरामा जाऊँ? कम्ती संघर्ष थिएन काठमाडौँमा घर बनाउन! घरका कण कणमा मेरो रगत भिजेको छ। जेसुकै गर् तर घर बेच्दिनँ। आमा र मेरो मृत्युपछि बेच्नू भनिदिएँ।
बिहे गरेपछि छोरी ज्वाइँसँगै विदेश गई। ढुक्क भयो मलाई। पैसा पनि हाल्नु परेन। राहतै अनुभव गरेँ।
जीवनभर दुःख र संघर्ष गरेँ। तर केका लागि? न साथमा छोरो छ, न छोरी! अहिले उसकी आमा बिरामी छे। म आफै सुगर र प्रेसरको रोगी छु।
छोरालाई विदेश पठाउँदाको ऋण र छोरीको बिहे गर्दाको ऋण बाँकी नै छ। पटक पटक ऋणी भएँ। अझै ऋणी छु। खाई नखाई ऋण गरेर घर बनाएँ। अहिले त्यसको छतमा जाने तागत छैन ममा। भर्याङ चढेर घरको छत पुग्न मलाई पहाड चढे झैँ लाग्छ। सक्दिनँ जान। रिटायर पछिको जिन्दगी झन् सकसको भयो।
रोगले श्रीमती बिती। रोगले च्याप्दा हस्पिटल लगिदिने मान्छे भएन। म बुढोले सक्दै सकिनँ। हेर्दा हेर्दै मेरै अगाडि अन्तिम सास फेरी उसले। केही गर्न सकिनँ मैले। बेलैमा उपचार गराउन पाएको भए अलि लामो समय बाच्थी। छोडेर गई उसले पनि मलाई।
लास उठाउन छोरो आएन। शव वाहनले लास लग्यो। आमा बितेको ५ औँ दिन छोरो आयो। १५ दिन पनि बसेन। छोराछोरी र श्रीमती एक्लै छन् भन्दै हतारिएर गयो ऊ। मलाई लाने कुरा गरेन। मैले पनि जान्छु भनिनँ।
लट्ठी मेरो सहारा! त्यसैको भरमा हिँड्दै छु। कति दिन हो हिँड्ने? आफैलाई थाहा छैन। जीवनभर छोराछोरीको खुसीको लागि ऋणको भार बोकेँ मैले। जिम्मेवारीबाट भागिनँ। जुन बेला भोक लाग्थ्यो, पैसा थिएन। पैसा छ अहिले, रोगले खान दिँदैन।
पढ्दा, जग्गा किन्दा, घर बनाउँदा, छोरो विदेश पठाउँदा, छोरीको बिहे गर्दा पटक-पटक ऋणी भएँ। जिम्मेवारीको भारी बोकिरहेँ। बिसाउन पाइनँ। भारी बिसाउन नपाएकोमा कुनै गुनासो छैन मलाई। जब तिर्नु पर्ने ऋण सकियो, जीवन पनि सकियो मेरो। जीवनको अन्तिम सास फेर्दै छु। एक्लै छु म। नितान्त एक्लै।
‘बाबुआमाको मन छोराछोरी माथि, छोराछोरीको मन ढुङ्गा मुढा माथि’
‘बाह्र छोरा तेह्र नाति बुढाको धोक्रो काँध माथि’
यस्तै उखानहरू गाई बाख्रा चराउन जाँदा अग्रजहरूले सुनाउँथे गाउँमा। अर्थ बुझिनँ त्यस बेला मैले। बल्ल अहिले आएर बुझेँ। बुद्धु नै रहेछु म पनि।
नयाँ पुस्ता मोबाइल कम्प्युटरमा अभ्यस्त छन्। मलाई भने कपीमै कलमले नलेखी चित्त बुझ्दैन। मोबाइल/कम्प्युटरमा लेख्यो आज छ भोलि हराउँछ। कपी कलममै विश्वास छ। बिरामी परेका दिन बाहेक हरेक दिन डायरी लेख्छु। रक्सी, चुरोट, खैनीको कुनै लत छैन।
डायरी लेख्ने बानी नै बस्यो। दैनिक नलेखेसम्म के छुट्यो के छुट्यो जस्तो लाग्छ। कलेज पढ्दादेखि लेखेको डायरी हात चलुन्जेल लेख्ने प्रयासमा छु। डायरी लामो र भद्दा लेख्दिनँ। जीवन र जगतका मुख्य मुख्य कुरा छोटकरीमा लेख्छु। आफैले पहिले लेखेका घटनाहरू पढ्दा कहिलेकाहीँ आफैलाई अचम्म लाग्छ।
तिमीलाई भेट्छु भेट्दिनँ थाहा छैन। भेटिनँ भने पनि बाबा मरेछ भन्नू। यदि तिमीलाई कुनै दिन फुर्सद भए बाबाको डायरी चाहिँ एक पटक पढ्नू है छोरा। डायरी दराजमा सुरक्षित छ। यति चाहिँ बिन्ती बिसाएँ मैले। अरू केही गर्नु पर्दैन मेरो लागि।