माघको महिना थियो। सारा धरती कठ्याङ्गिएको थियो। तर, मेरो मनमा भने चिन्ता र आक्रोशको राँको दन्किदै थियो। आफूभित्रै आगो बलेपछि बाहिरको चिसोले पनि छुँदो रहेनछ मानिसलाई।
मंगलसेनबाट बिहानै गाडी चढेको थिएँ। गाडी बयलपाटा, साँफे, डोटीको सानागाउँ हुँदै पिपल्ला बजारमा रोकियो। यात्रीहरू चिया नास्ताका लागि ससाना पसलहरूमा छरिए। मलाई भने भोक तिर्खै थिएन। त्यसैले म पसलतिर छिरिनँ। निरुद्देश्य हिँड्दै गएँ। नजिकैको सेती नदीको पुलमा पुगेँ। त्यसकै अविछिन्न बहाबलाई हेरेँ।
सोचेँ, कहिलेसम्म बग्ने होला? कहाँसम्म पुग्ने होला? टुङ्गिनु त पर्ला यो नदीले पनि। आफैलाई प्रश्न गरेँ, के नदी जस्तै हो त मनिसको जीवन पनि? जबाफ भेटिनँ। बित्थामा झन् खिन्न भएँ। गाडीको हर्न बझ्यो। तान्द्रा टुट्यो। गएर आफ्नो सिटमा बसेँ ।
गाडी अगाडि बढ्दै गयो। तर, थोत्रो भएर हो वा चालक पाको परेर, मेरो मनको वेगलाई त्यसले पछ्याउन सकेन। मलाई जति सक्यो चाँडै यो भूगोल छोडेर जानु थियो। यद्यपि गन्तव्य कहाँ हो? कहिले फर्केर आउँछु भन्नेमा प्रष्ट थिइनँ। तर पनि जाने हतारो थियो। स्याउले पुगेपछि गाडीको गति सुस्त भयो। झ्यालबाट हेरेँ, सुन्दर डडेल्धुरा बजारलाई बाक्लो कुहिरोले ढपक्क ढाकेको थियो। अधुरै भए पनि कलेज जीवनका गुलाबी दिनहरू बितेको त्यो ठाँउ, किशोरवय भावनाहरू फूलेको भूमि! आँखाले स्पर्श गर्दै जाने रहर थियो। पूरा भएन। त्यतिकै मन मात्रै कुँडियो।
गाडी तेलेको लेक हुँदै गुड्दै थियो। झल्याँस्स दिलसरालाई सम्झेँ। मंगलसेनमा बस चढ्नै लाग्दा टाढैबाट उसलाई आउँदै गरेको देखेको थिएँ। छल्न खोज्दा खोज्दै ऊ मेरो सामुन्ने नै आइपुगेकी थिई। छुट्टिने बेलाको अनुभूति रमाइलो हुने कुरा थिएन? अमिलो मन पारेर भनेँ, ‘बस् है दिलसरा! म त गएँ, कतै पुगेर केही कमाउन सकेँ भने फर्केर आउँला, नत्र खाली हातले त कुन मुख लिएर आउनु र’- ऊ बोलिन।
गह मात्र टिलपिलाए। बुढीगंगाको कन्चन जलजस्तै दिलसराका आँसु! हेर्न सकिनँ, फरक्क फर्कें। बस चढेँ। बसको झ्यालबाट हेरेँ। मेरी बाल सखी दिलसरा त्यही उभिएर बसलाई नै हेरिरहेकी थिई।
हुन त गाउँमा हामीसँगै हुर्किएका थियौं तर उसका भावनाहरू म हिँड्ने बेलामा मात्रै खुलेका थिए! त्यो पनि आँसुको रूपमा। सोचेँ, सायद त्यो आँसुमा उसको मौन गुनासो हुँदो हो, ऊ भन्दै होली ‘कस्तो निष्ठुरी दाने तँ! थाहै नदिई हिँड्न लागिस्! मेरो बारेमा एकपटक पनि सोचिनस् तैंले ? ....’ नमिठो पीडा भयो। मनमनै उसलाई भनेँ, ‘पेटमा आगो बलेपछि अरू के सोच्न पाइँदो रहेछ र दिलसरा?’ झ्यालबाट बाहिर हेरेँ।
गाडी भासु भिरको बाटो भएर गुज्रिँदै थियो। पहिला पहिला यो ठाउँ पुग्दा सातो जान्थ्यो। तर यसपटक त्यस्तो अनुभूति भएन। डर लाग्न पनि सायद मनमा आनन्द हुनु पर्दोरहेछ। निरपेक्ष भावले सिटमा बसिरहेँ, बस उसैगरी गुड्दै गयो।
पृष्ठभूमिमा सुमधुर गीतहरू गुन्जिइरहेका थिए। संगीतको लागि मरिमेट्ने म, आज त्यसको मतलबै लागेन। म आफ्नै घर अछामको ठूलासैंन पुगेँ। आमालाई सम्झें। मेरी जन्मदातृ, ममताकी खानी, मेरी संरक्षक, मेरी गुरू, मेरी आमा! जो हरेक दिन गिट्टी कुट्दै मेरो सुखद् भविष्यको सपना बुन्थिन्। दुःखको अनन्त सागरमा डुबेर पनि मेरै लागि मरिमेट्थिन्। उनले नझेलेको कुनै कष्ट थिएन। नबोकेको कुनै शोक थिएन। त्यति निश्छल माया, न्यानो वात्सल्य र ममतामयी आशीर्वाद आमा बाहेक अरू कसले दिन्छ र? मलाई लाग्छ ईश्वर त मान्छेको एउटा विश्वास मात्र हो। आमाभन्दा ठूलो सत्य संसारमा कुनै छैन। आमाभन्दा ठूलो ईश्वर कोही छैन। आमाप्रति नतमस्तक भएँ।
गाडी आफ्नै गतिमा गुड्दै थियो। अगाडिका दृष्यहरू छुट्दै गए, पछाडिका स्मृतिहरू गाढा हुँदै आए। म एस .एल .सी. फेल भएको त्यो ‘ मनहुस’ दिनको सम्झना आयो। त्यस दिन आमा असीम पीडामा थिइन्। उनका आँखाबाट आँसु मात्रै झरेका थिएनन्, आँसुसँगै उनका सपनाहरू पनि बगेका थिए। व्यथित भएर उनले भनेकी थिइन्- ‘नेताहरूका पछि नलाग् भनेको मानिनस्, पढाइ पनि बिग्रियो, अब के गरेर खान्छस्?’
घरका कोठाहरू मकैका ढोडले बारेका थिए। पल्लो कोठामा आमा रातभरी सुक्सुकाइरहिन्। वल्लो कोठामा म पीडाले रन्थनिँदै बसेँ। आमा रोएको सुन्न पनि फलामकै मुटु चाहिने रहेछ! पीडा र ग्लानीले फतक्कै गलेँ। तत्क्षण राजनीतिमा नलाग्ने निर्णय गरेँ। तर, गाउँमा चुनाव थियो। म विद्यार्थी संयोजक थिएँ। प्रचार प्रसारमा नहिँडी सुखै पाइनँ। त्यही रात कमल बजारमा झडप भयो। म लगायत केही साथीहरू पक्राउ पर्यौं। मुद्दा चल्यो। चौबिसौं दिनमा धरौटी पनि खुल्यो। तर कसैले फर्केर पनि हेरेन। आमाले नै कानको माँडवारी बेचिन्। जेलबाट निकालिन् र दरो मन गरेर भनिन्- ‘यता बसिस् भने तँलाई राजनीतिले खान्छ! बरू जा खाडीतिर। देश पनि देख्छस्। कमाइ पनि हुन्छ।’
म राजनीतिले देश बनाउन हिँडेको मान्छे। आमाको देश छोड्ने कुरा चित्त बुझेन। केही वर्षहरू यतै राजनीति भनेरै अलमलिएँ। तर, राजनीति बिग्रिँदै गयो। अवसरवादीहरूले तरक्की गर्दै गए। निष्ठावानहरू किनारा लाग्दै गए। सपना देखे/देखाइए जस्तो होइन रहेछ राजनीति! विरक्त लाग्यो।
एक दिन सहकर्मीसँग जागिरको लागि याचना गरेँ। तर, ऊ पनि बिचौलिया भइसकेछ। मसँगै पैसा माग्यो। विस्मित भएँ। राजनीति प्रतिको भ्रम टुट्यो र, देशै छोडेर जाने निर्णयमा पुगेँ।
आमालाई विदेश जान्छु भनेर काठमाडौंतिर लागेँ। विदेश जान पनि पुलिस रिपोर्ट चाहिँदो रहेछ। चुनावमै फौजदारी अभियोग लागिसकेको थियो। रिपोर्टमा त्यही कुरा आयो। त्यो खोटो रिपोर्ट लिएर विदेश जानुको अर्थ थिएन। फेरि लाचर भएर गाउँ फर्किएँ। केही समय मजदुरी गरेँ । तर, आफैले राजनीति सिकाएका अवसरवादीहरू शक्तिमा पुगिसकेका थिए। उपेक्षित भएर तिनकै हैकममा बस्न सकिनँ। र, बाँच्ने उपाय खोज्दै काला पहाड (भारत) जाने निर्णय गरेँ।
बस साँझपख धनगढी पुगेर रोकियो। अत्तरिया चोकमा उभिएँ। कता जाऊँ कता जाऊँ - दुबिधामा परेँ। महेन्द्रनगर जाने बस अगाडि आएर रोकियो। त्यसैमा चढेँ। पछाडिको सिटमा गएर बसेँ। हिँड्ने बेला आमाले भनेका शब्दहरू सम्झिएँ ‘बाउकै जस्तो हालतमा नफर्केस् नि’ .... स्मृतिमा पन्ध्र वर्षअघि मृत्युवरण गरेका बाबुको अनुहार आयो। उनको तिरस्कारपूर्ण मृत्यु सम्झेर मन अमिलो भयो। बस अगाडि बढ्दै गयो। म नमिठा सम्झनाहरूले विरक्तिँदै गएँ।
बा गाउँमा मजदुरी गर्दथे। बेलुका रक्सीले मातिएर आउँथे। बाटा घाटैमा पनि लड्थे। आमासँग सधैं झगडा पर्दथ्यो। कहिल्यै शान्ति हुँदैनथ्यो। एकदिन अचानक बा कालापहाड हिँडे। तीन वर्षपछि विदेशी रोग (एड्स) बोकेर आए।‘आइसोलेट’ गरेर गोठमा राख्यौं। नि:शुल्क पाइने जति औषधि पनि खुवायौं। रोगले भन्दा पनि बा तिरस्कारले गले। फर्केको तीन महिना मै चोला बिसाए। मरेपछि पनि उनलाई काँध दिने पनि कोही भएन। छिमेकमा एकजना ठेकेदार थिए। उसैको स्काभेटरले लास उठाइयो। गाँउदेखि निकै पर खाल्डो खनेर पुरियो। न दागबत्ती, न चिता पिन्ड ! न पूजाआजा ! बा कुकुर मरे जस्तै गरी मरे।
महेन्द्रनगरबाट इभी ( बिजुली गाडी) चढेर गएँ। बनबासा नजिक इन्डिया गेटमा उभिएर आफ्नो भूगोलतिर अन्तिम दृष्टि फिँजाएँ। मेरो गाउँ, मेरो सहर हुँदै त्यतिबेला म मेरो देशकै अन्तिम सिमानामा थिएँ। तम्तमाइँदो अनुभूति थियो। एक मन लाग्यो, यहीबाट फर्केर जाऊँ, अर्को मनले सोचे, निकम्मा भएर कति दिन बुढीआमाको रगत चुसौं? लामो सुस्केरा लिएँ। आफैले गुजारेको राजनीतिक जीवनको फेरो मारेँ। लाग्यो, म जस्तोको लागि होइन रहेछ यो राजनीति! राजनीति भनेरै पढाइ छुट्यो। उमेर गुज्रियो। मुद्दा लाग्यो। आमाका सपना टुटे। आफ्ना जीवनका बाटा हराए। सिंहासनमा उक्लिने/ झ्रर्नेहरूका मायावी अनुहार सम्झेँ। नमिठो पीडा भयो। फरक्क फर्कें। सरासर बरेली जाने बसमा चढेँ। बरेलीबाट रेल समातेर भारतको चण्डिगढ पुगेँ।
सामान्यतया नेपालीहरूले त्यहाँ वाचमेनको मात्रै काम पाउँदा रहेछन्। मैले पनि त्यही सुरू गरेँ। नेपालमा राजनीतिक प्रशिक्षण दिँदै हिँड्ने र राष्ट्रवादको चर्को भाषण गर्ने मान्छे, त्यहाँ तिरस्कारपूर्ण भावले ‘बहादुर’ भनेको सुन्दा सारै पीडा हुन्थ्यो। तर, दुषित राजनीति र भ्रष्टाचारले गाँजेको देशको लाचार नागरिकले स्वाभिमान मात्रै भनेर बाँच्न सक्दो रहेनछ। परिस्थितिसँग सम्झौता गरेँ। चौकीदारको काम गर्दै गएँ। त्यहाँ पनि धेरै नेपालीहरू रहेछन्। कोही बाध्यताले घिसारिएका, कोही आपराधिक गिरोह सञ्चालन गरेर बसेका। थरिथरिका नेपालीहरू भेटेँ। थरिथरिका अनुभूतिहरू संगालेँ।
एक दिन एउटा नेपालीले अचम्म लाग्ने कुरा गर्यो । ऊ भन्दै थियो ‘के होटलमा चौकीदारी गरेर बस्नु भ’को दाजु ? सेठहरूको घरमा काम गर्नूस् न। उनीहरूसँग भए प्रशस्त सुन, चाँदी र नगद हुन्छ। तपाईं विश्वास जित्नोस्। घरमा कोही नभएको बेला सूचना दिनोस्। हामी आएर चोरी गर्छौं। तपाईं भागेर नेपाल पुग्नुस्। सामान उतै पठाइदिन्छौं। नेपालमा यस्ता सामान किन्ने खास मान्छेहरू छन्। बेचौंला, सबै मिलेर पैसा बाँडौंला। यता चोरी गरेको नेपालमा मुद्दा लाग्ने होइन। लागि हाले पनि अभद्र व्यवहारको हो। २४ दिनमा छुटिहाल्छौं। जाबो दुई चार हजारमा किन आफ्नो जवानी खेर फाल्नु हुन्छ? हाम्रा चोरीका कमाइ खानेहरू नेपालमा करोडपति भएका छन्! तपाईंलाई के थाहा?’
म आश्चर्य चकित भएँ। कन्सिरी तात्यो। विश्वभरी इमानदार र नैतिकवान भनेर चिनिएका नेपालीहरूको गरिमाय छविको आडमा यिनले गर्दै आएको संगठित अपराध र राष्ट्रघातप्रति क्षोब पैदा भयो। रिसले आँखा देखिनँ। बेस्करी हकारेर पठाएँ। त्यसपछि नेपालीसँग पनि औचित्य बिनाको भेटघाट गरिनँ।
कहिलेकाहीँ आमासँग फोनमा कुरा हुन्थ्यो। सामाजिक सञ्जालले गर्दा देश बाहिर छु भन्ने अनुभूति हुँदैनथ्यो। केही दिन ‘ग्याप’ त रह्यो, विस्तारै साथीहरू पुनः जोडिएँ। दिलसरासँग पनि भिडिओ कल हुन थाल्यो। उसैले आमासँग पनि कुरा गराइदिन थाली। घरमा धेरथोर पैसा पठाइदिन थालेँ। आमाले गिट्टी कुट्न छोडिन्। भिडिओ कल गर्दागर्दै दिलसरा मनभित्रै पुगी। देशमा महसुस नगरेको भावना त्यहाँ पुगेर झांगियो। तर दुर्भाग्य! मेरो देशको त्यो दूरदराजको गाउँ, त्यहाँ कहिले नेट हुँदैनथ्यो, कहिले दिलसरासँग डाटा। मन लागेको दिन कुरा हुन सक्दैनथ्यो। कुरा गर्न नपाउँदा आङमा घामै लाग्दैनथ्यो।
एकदिन एउटा सुन्दर सपना देखेँ। चण्डिगढ नजिकैको हरियाणाको मोरनी हिल्समा थिएँ। क्षितिजमा शिबालिक पर्वतमाला थियो। वरिपरि हरिया सुन्दर पहाडहरू थिए। बीचमा मनमोहक तिक्कर ताल थियो। आकाश सफा थियो। हावाका मन्द स्पर्शमा पातहरू झुमिरहेका थिए। म थिएँ, साथमा दिलसरा थिई। ऊ चन्द्रमा जस्तै मुस्कुराएकी थिई। म त्यो मृदुल मुस्कानमा आफ्नो मनको अँध्यारो मेट्न खोज्दै थिएँ। समय उन्मुक्त थियो। मौसम मातिएको थियो। मैले उसलाई अँगाल्न खोजेँ। ऊ नखरा पार्दै भागी। म पछि पछि दौडिएँ। त्यहीबेला कल बेल बज्यो। निद्रा खुल्यो। सपना टुट्यो। घडी हेरेँ। बिहानको साढे पाँच बजेको छ। उठेर फ्रेस भएँ। छ बजेको ड्युटीमा तैनाथ भएँ।
दिलसरालाई सपनाको कुरा सुनाउन आतुर थिएँ। दुर्भाग्यबस कुरा हुन सकेन। दिनभरी त्यही सपनामा रुमल्लिएर बसें। भोलिपल्ट सुनाएँ। पहिला उसले आश्चर्य मानि । पछि रसिला आँखा पारेर भनी ‘सबै सपना विपना हुन सक्दैनन् नि दाने! म त वर्षौंदेखि तेरै सपनामा झुण्डिएर बाँचेकी छु। तर, बिहेको कुरा चल्दै छ, के थाहा ? एकदिन आफ्नै सपनाहरू नै गलाको पासो बन्ने हुन् कि? डर लाग्छ दाने! तँ बिना पनि बाँच्नु पर्ने दिन आयो भने ...... ’
उसका भावुक शब्दहरूले मुटु अठ्याए। अनुभूतिको गहिराइमा पुगेंँ। ऊ बिना म पनि बाँच्न सक्ने थिइनँ ! बिहेको कुरा सुनेर ज्यादै चिन्तित भएँ। कोठामा गएँ। पचास हजार जति भारु बचाएको रहेछु। त्यो पैसा बोकें। एक महिनाको छुट्टी मागें। दिलसरालाई फोन गरें। म लगत्तै फर्किन लागेको कुरा विश्वासै गरिनँ। पछि भावुक हुँदै भनी ‘आएर मलाई पनि आफू सँगै लैजा!’ उसले मेरो मनकै कुरा गरी। त्यहीबाट आमालाई पनि फोन गरें, आमाले भनिन् ‘तेरो र दिलसराको कुरा के हो? ऊ त मसक्कै मस्केकी छे नि!’
असजिलो लाग्यो। म बोल्न सकिनँ। आमाले आफै भनिन्
‘आफ्नै आँखा अगाडि हुर्केकी टुहुरी केटी, यत्तिकी बुहारी पाए मलाई त के चाहियो र!’ संसारै जिते जस्तो लाग्यो। रेलमा चढें। बाटोभरी दिलसराबाहेक कसैलाई सम्झिनँ। मनभरी, कल्पनाभरी, तर्कनाभरी ऊ मात्रै घुमिरही। रात बितेको पत्तै भएन।
बिहान वनबासा पुगें। आमाका लागि केही कपडाहरू किनें। दिलसराको लागि किन्न फेन्सी पसलमा पसेँ। जीवनमा पहिलो पटक किन्दै थिएँ। उसले मन पराइन भने? .. दुबिधा भयो। अन्त्यमा एक जोर मरुन कलरको कुर्ता सुरूवाल, त्यही रङ्गको ओढ्ने र एउटा जग्यामा लगाउने रातो सारी किनें। सोचें, पहिला उसको घरमै गएर माग्छु। कुरा मिलेन भने षोडशा देवीको मन्दिरमा लगेर सिन्दुर हाल्छु र चण्डिगढ लिएर आउँछु। त्यहि अठोटका साथ मंगलसेन जाने बस चढें।
बस गोदावरीबाट उकालो लाग्दै गयो। बाटाभरी फुलेका लालीगुराँसले मनमा उमंङ्ग भरे। ठाउँ ठाउँमा मुस्कुराउँदै झुल्किने अपि र सैपाल हिमालले उस्तै रोमान्चित पारे। मनमा रहरका इन्द्रेणी झरे। कल्पनामा जुन तारा मुस्कुराए। गाडीमा आँखा लोलाए। सपनामा फेरी दिलसरा नै आई। बसबाट मंगलसेनमा झरेँ। सरासर घरमा गएँ। ढोकामा ताल्चा लागेको थियो। बाख्राहरू टाट्नामा थिए। त्यहीँ गएँ। सिंगारी बाख्राले मलाई यतिका दिनपछि पनि चिनी र मेरो हात चाट्न थाली। म त्यसलाई सुमसुम्याउँदै सोच्न थालेँ। एकछिनपछि त्यही बाटो भएर मानमति भाउजू आइन् र टक्क उभिएर भनिन्-
‘आमा त अस्पतालमा हुनु होला बाबु! दिलसरालाई गए राति छाउपडी गोठमा बदेलले आक्रमण गर्यो! अस्पताल त लगेका छन् तर, के गर्नु दैबको खेल!’
म स्तब्ध भएँ। टेकेको जमिन भासियो। हतास भएर अस्पताल पुगें। दिलसरा बेडमा थिई। आँखाहरू अर्ध खुला थिए। तर, ऊ होसमा थिइन। नजिकै गएँ। सुस्तरी बोलाएँ। आँखाका नानीहरू सलबलाए। ओठहरू चलमलाए। हेर्दाहेर्दै अत्यधिक भावुक भएँ। लाग्यो, ऊ मलाई हेरेर मुस्कुराउन चाहन्छे। मेरो बाटो कुरेर बस्दाका सकसहरूको बारेमा भन्न चाहन्छे। मायालु अंगालोमा बाँधिएर आफ्ना गुनासोहरू पोख्न चाहन्छे। तर, मेरा ती अनुभूतिहरू सबै प्रेमिल मनका भ्रान्ति मात्र रहेछन्! गहिरिएर हेरेँ, उसको देहमा जीवन देखिनँ। असैह्य पीडा भयो। सहें। बौरी पो हाल्छे कि भन्ने सोचें र फेरि बोलाएँ।
‘दिलसरा ! सँगै लैजा भन्थिस् नि तँ। हेर, म लैजान आइपुगेँ दिलसरा!’
उसले हेर्दै हेरिन। आँखाहरू विस्तारै बन्द हुँदै गए। तर, अचम्म! बन्द परेलाबाट बर बर आँसु झरे। लाग्यो, ती आँसुमा हाम्रो वियोगको असीम पीडा छ। अधुरा सपनाहरूका अनन्त वेदना छ। कुरीती र अन्धविश्वास प्रतिको लाचार विद्रोह छ। उसका आँसु पुछिदिएँ। तर, आफ्ना आँसु रोक्न सकिनँ। ओठ मुख सुक्यो। हात खुट्टा गले। यसैबीच डाक्टर आए। निकैबेरसम्म उसलाई गिजोले र अन्त्यमा भने- ‘अब उहाँ रहनु भएन!’
मेरो लागि आकाशै खस्यो। धरती भासियो। गलेर भुइँमा थचक्क बसेँ। आमा पछाडि उभिएकी रहिछन्। बिस्तारै उठाइन्। उठेर उसको निस्प्रण देहलाई फेरि हेरेँ। मनमनै सोचेँ, मेरी दिलसरा बाँच्न खोज्दा खोज्दै मरी। फूल्ने रहर हुँदा हुँदै झरी। सोह्र श्रृंगार गरेर दुलही बन्ने सपना बोकेरै मरी। यो पाखण्डी समाजले एउटी निर्दोष किशोरीलाई छाउपडी गोठमा थुनेर मार्यो! म सीमातित पीडाले आक्रान्त भएँ।
आमाले मलाई बाहिर लगिन्। चौतारीमा राखिन्। अनुहारको पसिना पुछिदिइन् र आद्र आवाजमा भनिन्, ‘यो अन्धो थितिले अझै कति दिलसराहरूको ज्यान लिने हो! ...बोल्दा बोल्दै आमा भक्कानो परिन्। नियतिले ठूलो घात गर्यो। दिलसराले महाप्रस्थान गरी। म पनि मरेतुल्य भएँ। भावशून्य र चेतनाहीन भएँ।
निकैबेरपछि निन्द्रा खुलेझैं भयो। अस्पतालको साइनबोर्ड देखें। शरीरमा काँडा उम्रेझैं भयो। उसको शरीर मैले कपडाले छोपेर बाहिर ल्याइसकिएको थियो। निसहाय भावले वरिपरि हेरेँ, मेरो झोला लिएर आमा नजिकै बसेकी थिइन्। झुरूक्क उठेर झोला खोलेँ। उसैका लागि भनेर वनबासमा किनेका कपडाहरू झिकें। आमालाई दिएँ। आमाको मन! सन्तानको भावना के बुझ्दैनथ्यो र? उनले ‘मरुन’ रङ्गको ओढ्नेले दिलसराको देहलाई छोपिदिइन्। लाचर म! स्वयम्बरका लागि भनेर ल्याएको रातो सारी हातमा लिएर उभिइरहें। लास लिएर शवबाहन गयो। मेरा निरीह सपनाहरू पनि उनैसँगै गए। अनि म विल्कुल रित्तो र शून्य भएँ।
(यो एउटा काल्पनिक कथा हो। यसमा उल्लेखित घटना र ठाउँहरू अन्तर सम्बन्धित छैनन्।)