आज बिदा परेकोले विद्यालय गइएन।
'ल ल बस्तुभाउ फोएर चरनमा लैजाओ,' आमाले गोठतिर हेर्दै भन्नुभयो।
साइँलो दाजु र म गाईबस्तु फोएर बारीको पुच्छरमा रहेको कायर खोलातिर सोझियौँ। खोलाको
'शिरतिर पनि विचार गर्दै गर्नु, आज दिन धुम्म पनि छ,' यति भनेर आमा गोठ सफा गर्न लाग्नु भयो।
हुन पनि हो, वर्षा लाग्यो कि कसैलाई न कसैलाई झुक्क्याई हाल्थ्यो। वर्षा लाग्यो कि कायर हुन पर्ने अवस्था थियो। त्यही भएर कामअनुसारको खोलाको नाम 'कायर' रहन पुगेको होला।
अघिसम्म एक आपसमा मडारिँदै गरेको कालो बादल युद्ध बिरामका थकित सिपाही जस्तै झुन्ड झुन्ड भएर ब्यारेकमा बसेका जस्ता देखिन्थे। यही मौका छोपेर घाम हामीसँग लुकामारी खेल्दै थियो।
कहिलेकाहीँ झुलुक्क देखिँदै गरेको घाम पश्चिम दिशातिर मोडिँदै थियो। एक आपसमा छुटिएका बादल फेरि जोडिन थाले, अन्तरङ्गको समयपछि खेलाडी खेलमा फर्किए जस्तै गरी। आकाशमा बादल बादल बिचको घम्साघम्सीले आगाबाट फुत्केको तुवाँलो जस्तै गरी पूरै सगर ढाकिदियो एकै छिनमा।
नजिक बसेको बिर्खेले औँल्याउँदै देखायो, 'उ हेर त आकाशतिर। बादल निकै मडारिएर आउँदै छ। अब यहाँ बस्न उचित छैन। लागौँ घरतिर।'
दुई जुवा घाम छँदै अर्कोले पनि होमा हो मिलायो। साँच्चिकै बादल पनि अघिको भन्दा झनै मडारिएर आउँदै छ। बर्खाको के भर हुन्छ र! उसले पनि बिर्खेको कुरामा सही थाप्दै घर तिरै सोझिन उचित ठान्यो।
बस्तुभाउ घरतिर लघार्न लाग्यौँ। दिदीलाई अघिल्तिर टुप्लुक्क देख्यौँ। तीज मान्न दिदी घरबाट आज सखारै हिँड्नु भएको रहेछ।
काली भैँसीले 'आइँ' गर्यो। दिदीलाई चिनेर रहेछ। बिर्खेले काखी च्यापेको दबदबेको एक मुठा घाँस दिदीले आफ्नै हातले दिनु भयो। त्यसपछि आज्ञाकारी चेलाजस्तै काली भैँसी आफ्नो बाटो लुरु लुरु लाग्यो। हामीले पनि दिदीले दिएको चकलेट खुब मिठो मानी मानी खायौँ।
बिर्खे नाच्न गाउनमा खप्पिस थियो। गाउँघरको बिहे व्रतबन्धमा नाचगान गरेर रमाइलो गर्ने कार्यमा सधैँ अग्रसर हुन्थ्यो। ऊ नभएको चाडपर्व एक किसिमले खल्लो नै लाग्थ्यो।
'आज त तीज, निकै जमाउनु पर्छ है दिदी' भन्दै थियो ऊ।
हाम्रो घरभन्दा अलि पर खरले छाएको घरमा ७ दिदीहरू पछिको एक्लो छोरो थियो ऊ। सानोमा ऊ धेरै बिमारी भइरहन्थ्यो रे। त्यतिखेर अहिले जस्तो गाउँघरमा डाक्टर भनेको नै गुरौ हुन्थ्यो। रोगले उसैलाई मात्रै सताइरहन्थ्यो रे।
हामी त्यस्तै दुई क्लासमा पढ्दा ऊ ६ मा पढ्थ्यो। बाटो एउटै भएकाले स्कुल जाँदा सँगै जान्थ्यो। हाफ टाइममा आफैसँग ल्याएको खाजा बाँडिचुँडी खान्थ्यौँ। पढाइमा जति उत्तम थियो व्यवहारमा पनि उस्तै नरम। त्यसैले उसलाई बुढापाकाले उत्तम भनेर पनि बोलाउने गर्थे।
घामपानीले जति सताए पनि हामीहरूको घरको पिँडीमा समेत ओत लाग्न मान्दैनथ्यो, बिर्खे। ऊ भन्थ्यो, 'विष्टको घरमा कहिल्यै नपस्नु भनेकी छन् आमाले। छोइछिटो लाग्छ रे। देउता रिसाउँछन् रे।'
अलिक बेरमै रंगीविरंगी पुतली जस्तै भएर आमा, दिदी, बहिनीले आँगन भरिभराउ भयो। तीजको रौनक दिन कम्मरमा मादल भिरेर बिर्खे पनि टुप्लुक्क आइपुग्यो।
'आज त तीज राम्रै जम्नु पर्छ है आमा,' दही केरा घिउ अचार सबै खाने कुराको नाम लिएर भित्र बसेकी आमाले सुन्ने गरी ठुलो ठुलो स्वरले चिच्याउँदै थियो।
मादलको तालमा नाच सुरु भयो। गीतको बोल पनि सुरु भयो- 'तीजको रहर आयो बरिलै।'
मनका बह अनुसारका भाका फेरिरहे। त्यस बेलाका तीजको गीत भनेको नै वर्ष दिनसम्म चेलीबेटीले घरमा पाएका प्रताडित व्यवहारको प्रतिध्वनि हुन्थ्यो। वास्तवमा भन्ने हो भने यही दिनलाई नै नारी दिवसको रूपमा मनाउनु पर्ने हो।
एक्कासि चीलले चल्ला झम्टे जस्तै गरी गुन्जँदै गरेका आवाजहरू मेघको गर्जनसँगै आकाश तिरै विलीन हुन थाले। पुष्प वृष्टिको सट्टा मुसलधारे वर्षा हुन थाल्यो। त्यो रमझम र खुसीयाली केही अघिसम्म देखिँदै गरेको घामलाई बादलले लुकाए जस्तै गरी लुकाइदियो। पहेँलिएको पातले रुखको साथ छाडे जस्तै सबै तितरबितर भए।
अब त्यो आँगनमा बिर्खे र उसकी जहान मात्र देखिए। उनै जोडी त्यो विपद्मा हाम्रो साथमै रहिरहे। अहिले सम्झँदा कलियुगका दधीचि जस्तै लाग्छ।
मानिस ठुलो दिलले हुन्छ, जातले हुँदो रहेनछ। दुखको बेलामा नै मित्रको पहिचान हुने हो।
यतिकैमा त्यो वर्षको तीजको रहर गयो विरलै।
रहेनन् अब ती नङ मासुका सम्बन्ध जस्तै भएर बसेका शिवराज अधिकारी, विचारी, नाथुराम दरै, चरुवा दरै, नेपाले दमै, बिर्खे दमाई लगायत रङ्गीचङ्गी फूलले भरिएका बगैँचा। चाडपर्व मनाउँदा होस वा विद्यालय जाँदाको त्यो क्षणको यात्रामा पुल नभएका एक नदीका दुई किनाराका यात्री जस्तै त्यस दिनदेखि हाम्रो असीम सम्बन्ध अलग्याइदियो, आँधीले सुन्दर फूललाई बोटबाट तितरबितर बनाए जस्तै गरी।
सुखतिर लम्किन धेरै आरोह र अवरोह पार गर्नु पर्छ। तर दुःखतिर लम्कन भने भूकम्पले क्षणभरमै तहसनहस पारे जस्तै रहेछ जिन्दगानी। जीवन भन्ने कुरा पृथ्वीको परिभ्रमणले निकालेको ऋतु जस्तै फरक फरक खालका अनुभूति रहेछन्।
आपद्मा साथ पाउनु सबैभन्दा ठुलो कुरा सान्त्वना नै रहेछ। जहाँ आफ्नू त्यहीँ आगो ताप्नु भनेझैँ आफन्तकै आग्रहलाई अपनत्व ठानेर बसाइँ सरियो। छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी भने जस्तै जसलाई आफ्नो ठान्यौँ उही नै पराई भइदिए।
दुःख जिलो गरेर बचत गरेको २५०० रुपैयाँ थियो। पैसा देखेपछि महादेवको पनि तीन नेत्र। पैसाले घर परिवार, मित्र कोही नचिन्दो रहेछ। शकुनीको पासा पल्टाएझैँ पल्टाएर त्यतिका रकम ख्याल ख्यालमै झ्वाम्म पारिदिए। त्यो समयमा एक हजार रुपैयाँमा भने जस्तो एक बिघा जग्गा किन्न सकिन्थ्यो।
नियति नै लागेपछि कसको के लाग्दो रहेछ र! जन्डिस लागेको बिरामी जस्तै सारा पृथ्वीलाई नै निराशाको पहेँलो रोगले छोप्न लागेझैँ भयो।
मेरो बुवा सरकारी कामको सिलसिलामा गोरखाबाट चितवन स्थित खैरहनी धाइरहन पर्थ्यो। त्यो बाटो हिँड्नु पर्दा शक्तिखोर जुटपानी बिचमा रहेको कालिका मन्दिरमा धूप अक्षता चढाउने गर्नु हुन्थ्यो। त्यो घनघोर जङ्गलमा त्यतिका पटक हिँड्दा पनि हिंस्रक जन्तुको कुनै भय नै भएन रे।
कुनै समस्याबाट छुटकारा पाउन पुकार गर्ने सान्त्वनाको ठाउँ नै मठ मन्दिर रहेछ। माघे झरी पछिको बादल बिनाका खुला आकाश। तर मेरो दिलको आकाशमा निराशाका बादल मात्र मडारिरहेका थिए। त्यसैले हर्केसँगै जुटपानी स्थित कालिका मातासँग पुकार गरी निराशाका बादल हटाउन बिहान सखारै मन्दिरतिर लागेँ।
पूजाआजा गरी वरी फर्कने तरखरमा लागेका हामी, साथीहरूको लहैलहैमा त्यतैबाट शक्तिखोरतिर हानियौँ। रातै झन्डाहरूले त्यहाँका घर, रुखहरू दुलहीझैँ शृंगारिएको थियो। मन्तव्य जारी गर्ने समय सुरु हुनै लागेको रहेछ।
दुई चार जनाले बोलिसकेपछि टङ्कनाथ दाइको पालो आयो। मुठी पारेको हात उठाउँदै लामा लामा दारी पालेका टङ्कनाथ दाइ जोड जोडले देखा पर्नु भयो-
'प्रत्येक सुकुम्वासीलाई ४/४ बिघा जग्गा र ४/४ तोला सुन दिन्छौँ। '
'छुवाछुत प्रथाको अन्त्य गरेरै छाड्छौँ।'
अन्तिमका वक्ताले पनि त्यही कुरो दोहोर्याए। भाषणको हरेक उदगारमा जोड जोडले ताली बजायौँ। सँगसँगै साम्यवाद जिन्दावादको नारा पनि लगायौँ।
निराशा मात्र हात लागिरहेका बेला सबैलाई समान बनाउने साम्यवादको नाराले मन मस्तिष्कलाई नछुने कुरै भएन। त्यस दिनदेखि मन, वचन र कर्मदेखि नै साम्यवादमा समर्पित भएँ।
कार्यक्रम सकिएर फर्कने क्रममा हामी ५-७ जना साथी पानीको प्यास मेट्न बाटासँगको घरको छेवैमा रहेको निनामको रुखको आड लिँदै छहारीमा उभिन पुग्यौँ। एक छिनमा तिनै जोड जोडले भाषण गर्ने टङ्कनाथ दाइ देखिनु भयो र आफ्नो घर परिवारको चिनारी पनि दिनु भयो। हामीलाई चौपट तिर्खा लागेकोले पानीकै प्रतीक्षामा थियौँ। माटाको घैँटोमा राखेको चिसो र स्वादिलो पानी अमृत जस्तै गरी पियौँ। मेरा दलित साथीलाई भने अँजुलीमा पानी थाप्न भनियो। उनीहरूले त्यसै गरी पानी पिए।
अलि पछि अर्को जमघटमा पनि त्यसै गरी भेट भयो। बाटामा निकै आशावादी कुरा गरे तिनले। बाटो काटेको पत्तै भएन। उनी खुसुक्क खरले छाएको सानो पसलतिर छिरे। दिन ढल्किए पनि चैत मासाको घामको राप अलिक कडै थियो। त्यही पसलको अलिक परको दोबाटोको चौतारीमा उनको प्रतीक्षा गर्दै छहारी लियौँ।
हामीले छहारी लिएको बरको रुखमा बचेरा हुर्कँदै गरेको गुँड देख्यौँ। हल्लीखल्लीले होला ढुकुर चरी गुँडबाट भुर्र उडेर पल्लो हाँगामा बस्यो। हर्केले ढुङ्गा टिपेर ढुकुरको सिकार गर्न खोज्यो। हामीले उसलाई रोक्यौँ।
ती युगल जोडी ढुकुरलाई हाम्रा बा आमाको उपमा लिँदा ऊ टक्क अडियो।
एकै छिनमा हर्केले मौनता तोड्दै कार्यक्रमको प्रसङ्ग कोट्यायो।
'लामा लामा दारी पालेका ती मान्छे को रहेछन्?,' कार्यक्रममा राखिएको तस्बिरलाई लिएर हर्केले सोध्यो।
यी मुन्छे त हाम्रा देश भित्रका हुन जस्तो लाग्दैन। रामेले अनभिज्ञताको भावमा कुम हल्लायो।
वीरेले केही सम्झे जस्तो गरी झोलामा हेर्यो। पर्चा सहितको फोटो हामीलाई देखायो। त्यसमा ठुला अक्षरमा पनि लेखिएको रहेछ 'विश्वका मजदुर एक हौँ।'
वीरे हामीभन्दा अलिक पाको र थोर बहुत प्रशिक्षण लिन पनि भ्याएको थियो।
'यी हाम्रा देशभन्दा बाहिरका हुन्,' हातको औँलाले चिनाउँदै भन्यो, 'यी मार्क्स, लेनिन र माओ। गरिब दीन दुखीका मुक्तिदाता।'
हँसिया हथौडा अङ्कित यो झन्डा गरी खाने विश्वका मजदुरहरूलाई एकताको सूत्रमा आबद्ध गर्ने निशानी हो। उसले एकै सासमा सबै बेलिबिस्तार लाउन भन्न भ्यायो।
नेता र झन्डा बाहिरका। हाम्रो भन्नु के नि?
'त्यही गरिबी र पीडा,' हर्केले हातमा भएको त्यही सानो ढुङ्गा झाडीतिर मिल्काउँदै भन्यो।
यही गरिबी र पीडाबाट मुक्ति चाहनकै लागि तिनकै आदर्शलाई पछ्याउनु परेको। त्यही पर्चा झिक्ने वीरेले प्रष्टीकरण दियो।
अलिक बेरको प्रतीक्षापछि किन आएनन् भनी त्यही पसलमा गई चियाएर हेर्दा ती दाइ त बियर र मासु चिउरासँग उही राजनीतिका ठुलै गफ हाँक्दै गरेका रहेछन्। यिनीहरूको साम्यवाद भनेको धनी धनी बिचको समानता र गरिब गरिब बिचको समानता पो रहेछ। धनी र गरिब बिचको असमानताको खाडल कसले पुर्ने रहेछ कुन्नि भन्ने लाग्यो।
'हेर केटा हो, उ त्यो ठुलो घर छ नि, त्यो सामन्तीको घर हो। तिम्रा हाम्रा खुन चुसेर बनाएको घर।'
ती दाइले बेला बेलामा हुने खानेको खाइलाग्दो घर देखे कि यसै भनेर औँल्याउने गर्थे। हुनेखाने देख्यो कि सामन्ती भनेर एकलै भुतभुताउँथे।
त्यो साल लामो खडेरीले तापक्रम दिन पर दिन तातिँदै थियो। बालीनालीका लगाउने त कुरै छोडौँ, भएका रुख पातले नयाँ मुना समेत दिन सकेका थिएनन्। अर्कोतिर काठमाडौँको दशरथ रङ्गशालामा भाग दौड मच्चिएर सत्तरी जना दर्शकले ज्यान गुमाएको घटनाले राजनीतिक माहौल पनि त्यतिकै तातिँदै थियो।
'तिमीहरू पनि भोलि शक्तिखोर आउनू ल,' पानीको मूल खोज्न निस्कँदै गर्दाको जम्काभेटमा वीरेले भन्यो।
'भोलि विशेष कार्यक्रम छ,' उसले फेरि सुध्यायो।
पशुपतिको जात्रा, सिद्राको व्यापार। कालिकाको दर्शन पनि हुने। मनमनै गुनगुनाएँ।
कालिका मन्दिरलाई स्वस्ति गरी तोकिएकै समयमा भेला भयौँ। त्यति बेला पनि उही 'चार चार बिघा जग्गा र छुवाछुत अन्त्यका कुरा' दोहरियो। अनि, 'विश्वका श्रमजीवी एक हौँ।'
बिर्खे दाइ पनि संयोगले त्यहीँ शक्तिखोरमै भेट भए। उनी त्यताबाट चोया, डोको र थुन्से लिएर जुटपानी स्थित आफ्नो पसलमा लैजाने तरखर गर्दै गरेका रहेका रहेछन्।
म पनि त्यो दिन उनका परिवारका सदस्यमा एक जना थपिन पुगेँ।
कायर खोलाले हामी सँगै उठिबास लगाएपछि कामको खोजीमा उनी जहानलाई लिएरै भारत पसेका रहेछन्। ४—५ वर्षसम्म नेपाली मूलका साहुको घरमा चुलो चम्कोको काम गरेपछि तिनै साहुले चप्पल कारखानामा काम लगाइदिएका रहेछन्। कमाइ धमाइ अलिक भएपछि आफ्नै थाँतथलो सम्झँदै देश फर्केर जुटपानीमा पो घर जग्गा जमिन जोड्न पुगे।
त्यो घर त्यही रहेछ, जुन दिन कार्यक्रम सकेर फर्कने क्रममा ती अग्रजले सामन्तीको घर भनेर औँल्याएका थिए।
सत्ताको आँखाले साला पट्टिका सात पुस्ता र भिनाजु पट्टिका नौ पुस्तालाई मात्र चिन्यो। तिनै श्रमजीवी बिर्खे, वीरे, हर्के, हरे, रामलाई कहिल्यै चिन्न सकेन।
यही निराशाको घडीमा विश्वका मजदुर एक हौँ भन्ने तिनै नेतालाई एक पटक फेरि नियालेर हेरेँ। ती त विभिन्न कालखण्डमा आइपुग्दा शक्ति केन्द्रकै हानथापमा महाभारतका कौरव र पाण्डवको कुरुक्षेत्रको लडाइँमा पो व्यस्त रहेछन्।
समानता र छुवाछुत रूपी नाराको अनुभूतिलाई मैलै उति बेलै बिहानीको सङ्केत उज्यालोले दिएको छनक पाइसकेको थिएँ।
विधाताले त हेरेनन् नै। विश्वास गरेकाहरूबाट पनि बेला बेलामा बोली र व्यवहारमा यसरी फरक अनुभूति गर्नु पर्दा आज पनि अविश्वासको बाढीले मनभित्र एक प्रकारको सुनामी नै चलाउने गर्दछ।