‘तिमी अझै आइपुगेको छैनौ? तिम्रो यो समयमा न आउने बानी कहिले नसुध्रिने भयो है?’
म बल्ल भद्रकाली पेट्रोल पम्पमा आफ्नो बाइकमा पेट्रोल भर्दै थिएँ। मैले ठिक साढे पाँच बजे न्युरोड गेटमा भेट्ने भनेर उसलाई समय दिएको थिएँ। सिंहदरबारबाट न्युरोड सामान्यतया १० मिनेटको बाटो हुँदो हो। तर यो काठमाडौँको जाम अनि मेरो घैँटोमा कहिले नलाग्ने घामले गर्दा म जहिले जहाँ पनि निर्धारित समयभन्दा अबेर नै पुग्ने गर्छु।
जसलाई पहिला भेट्दा यही निहुँमा सधैँ झगडा हुन्थ्यो, आज तीन वर्षपछि पनि त्यही हबिगत हुनेवाला छ भन्ने मैले अन्दाज काटिसकेको थिएँ। म हस्याङफस्याङ गर्दै न्युरोड गेट पुगेँ। उनी राष्ट्रिय वाणिज्य बैंकको एटिएम अगाडि मेरो बाटो हेर्दै थिइन्।
मलाई देख्नासाथ केही नबोली बाइकमा बसिन्। उनको मौनतामा बडा चर्को आवाज थियो। आवाज मेरो ढिलासुस्ती विरुद्धको। मैले तातेको फलाम अरू तताउने हिम्मत गर्न सकिनँ। बाइक अगाडि बढाउँदै पुतलीसडकतर्फ अघि बढाएँ।
‘कहाँ लाने हो?’ उनले रिसाउँदै प्रश्न गरिन्।
मैले ‘सर्प्राइज’ भनी उनको कौतुहलता कायम राखेँ।
‘तिम्रो यो बानी पनि अझै गएको छैन? आफैँ भेट्न बोलाउने अनि आफैँ ढिलो गर्ने, तिम्रो पो काम छैन होला, फुर्सद छौ, मेरो त काम छ नि?’
मैले केही जवाफ नफर्काई बाइक चलाइरहेँ। उनी जवाफ नपाएपछि झन् रिसाउँदै चुप बसेको मैले मेरो लुकिङ ग्लासमा मज्जाले देख्दै थिएँ।
बाइक अनामनगर ओरालोमा पुग्यो। मैले उनलाई त्यही क्याफेमा लिएर गएँ जुन तीन वर्ष अघिसम्म हाम्रो अड्डा नै भएको थियो। त्यहाँको पाँच नम्बर टेबल मानौँ हाम्रै नाममा नामसारी गरिएको थियो अनि त्यहाँको चिकेन झोल म:ममा केही हक हामी दुईको पनि थियो।
दैनिक भेट्ने बाहेक त्यो ठाउँ हामी दुवैका निम्ति दुई कुराले अझ बढी खास थियो। हाम्रो सम्बन्ध सुरुवातको पहिलो अनि हाम्रो सम्बन्ध अन्त्य गर्ने अन्तिम भेटको स्थान। त्यो त्यही ठाउँ हो जहाँ हामीले कक्षा ११ का सुरुवाती दिनमै एक अर्कासँग अन्तकको कसम खाएका थियौँ अनि प्लस-टु सक्नासाथ अन्तकलाई त्यहीँ अन्त्य गर्न बाध्य भयौँ। अन्त्य गर्नुको कारण पनि जल्दो बल्दो नै थियो; ऊ विदेश जाने अनि म नेपाल नै बस्ने।
म घरको एकलो छोरो। बुवा-आमाबाट कहिल्यै टाढा नबसेको अनि बस्ने पनि नसोचेको। हुन त कसलाई आफ्ना आमाबुवाबाट टाढिएर बस्न मन हुँदो हो! तर यो दैनिक हजारौँको सङ्ख्यामा युवायुवती बिदेसिएको देख्दा यस्तो लाग्छ मानौँ बाआमा अनि परिवारभन्दा निकट केही देशको भौगोलिक सीमाभन्दा पर छ। सायद त्यो ‘बाध्यता’ जसले बाआमाभन्दा पनि निकट केही बनाइदिन्छ समुद्र पारिको त्यो कृत्रिम सुखी संसारमा।
मलाई त्यो कृत्रिम सुखमा आफ्नो वास्तविक सुख दबाउने चाह कहिले पनि आएन। म बाआमा निकट बसी नेपालमा नै केही गर्न चाहन्थेँ। उनी सुन्दर भविष्यको सपनादेखि हकिकतको जहाजमा सपनाको उडान भर्न चाहन्थिन्। यही नै एक मात्र कारण थियो उनी र म सम्बन्धमा नरहनुको।
हामीले सम्झौता गर्यौँ एक अर्कासँग तर सम्झौता गर्न सकेनौँ आआफ्ना सपनासँग। उसले केही समय म बाहिर बस्छु, आएर विवाह गरौँला अनि तिमी पनि उतै जाने भनेर बारम्बार भन्ने गरिन्। तर मैले उनको त्यो कुरालाई स्विकार्न सकिनँ। उनीसँगको सम्बन्ध चटक्कै अन्त्य गर्ने सामर्थ्य त्यस बेला मसँग थिएन। सायद उनीमा पनि नहुँदो हो।
उनले त अझ म बाहिर जान्छु अहिले सम्बन्ध नसकौँ, पछि तिम्रो मिलेछ भने बिहे गरेर बाहिर जाने नत्र त्यति बेला सम्बन्ध अन्त्य गरी आफ्नो बाटो लागौँला समेत भनिन्। तर म आफ्नो नेपाल बस्ने निर्णयमा यति अडिग थिएँ कि मैले उनीसँगको सम्बन्ध झुटो आश्वासनमा टिकाइराख्नु उपयुक्त मानिनँ।
नेपाल आएका बेला पक्कै भेट्ने बाचा गरी अन्ततः हामीले छुटिने निर्णय गर्यौँ। उनले हकिकतको जहाजमा सपनाको उडान भरिन् र मैले नेपालकै कच्ची बाटामा आफ्ना पाइलाहरू अघि सारेँ।
उनी परदेशमा विलीन भइन्। बेलाबेला सामाजिक सञ्जालमा देखिने उनका तस्बिरबाट मैले उनको जीवन अनि दैनिकीको अडकल काट्ने गर्थेँ। यी बितेका तीन वर्षका ३६ महिनामा हाम्रो गनेर ३६ पटक पनि कुरा भएन होला। कस्तो अचम्म है यो प्रेम सम्बन्ध, जो सँग साथमा हुँदा दिनमा २४ घण्टा कुरा हुन्छ, भेट हुन्छ, उहीसँग छुट्नासाथ न कुरा हुन्छ न भेट।
छुटिनु भनेको अनजान हुनु नै हुन्छ र?
मृत्यु भएर जलाइएका मानिसका तस्बिर सजाएर राख्ने मानिसले प्रेममा बिछोडिएर टाढिएका मानिसका तस्बिर भने किन जलाउँछन्? आखिर जसरी भए पनि बिछोड त बिछोड नै होइन र? कि बिछोडिएका पात्रलाई जीवन्त बनाइराख्न कसैको मृत्यु नै हुनुपर्छ?
उनी नेपाल आएको मैले उनको इन्स्टा स्टोरीबाट थाहा पाइसकेको थिएँ। हामी हाम्रो बाचाअनुरूप भेट्छौँ कि भेट्दैनौँ भन्ने लागिरहन्थ्यो। तर मैले उनलाई हाम्रो बाचाको झझल्को दिने हिम्मत भने गर्न सकिनँ। सायद उनी बिनाको दैनिकीमा म अभ्यस्त भइसकेर पनि होला, मैले उनलाई हाम्रो त बाचा यस्तो थियो नि भनेर भन्न चाहिनँ। म उनले के गर्छिन् भनेर हेरी बसेँ।
उनी काठमाडौँबाट उनको गाउँ गएको पनि उनकै इन्स्टाबाट थाहा पाएँ। उनी पनि सायद मैले भेटौँ भन्छु कि भन्ने आसमा हुँदी हुन्। कस्तो अचम्म है, जोसँग भेट्न केही वर्ष अघिसम्म बहानाका घडी हेरिन्थ्यो, आज उहीसँग समयले भेटाउला नि भनी चाहानाको घडी हेरिन्छ। मान्छे मान्छे बिचको साथ पनि मान्छे र घडीसँगको जस्तै हुनु नि, चरित्र बेग्लै भए पनि पात्र सदा उही।
एक दिन बिहान अचानक मेरो फोनमा एउटा भ्वाइस म्यासेज आउँछ, ‘हेलो सर कता हौ?’
त्यतिन्जेल थामिएर बसेको मेरो मन त्यो एउटा आवाजले चिराचिरा बनाइदिन्छ। सम्बन्ध हुँदो हो त म उनलाई भेट्नासाथ अङ्कमाल गरी उजाडिएको मेरो मन हराभरा बनाउँथेँ। मनलाई सम्हाल्न अनि सम्झाउन बाहेक अरू के नै गर्न सक्थेँ र मैले! जे सक्थेँ त्यही गरेँ। कुरा भयो अनि सोही कुरा अनुरूप आज भेट्ने निर्णयमा हामी पुग्यौँ।
बाइकबाट ओर्लिएर हामी त्यही टेबलमा गयौँ। सदा जस्तै चिकेन म:म मगायौँ। त्यो ठाउँ उस्तै थियो। त्यो टेबल उस्तै। मान्छे हामी उस्तै थियौँ। म:म उस्तै। म:म बेच्ने दिदी पनि उस्तै। सबै उस्तै हुँदा पनि सबै फरक लाग्थ्यो। सबै आफ्नै हुँदा पनि सबै पराई लाग्थ्यो। फरक थियो त केवल सम्बन्ध। सम्बन्ध उसको र मेरो।
ठाउँ एउटै, नाउँ एउटै, पात्र एउटै भएर पनि चरित्र फरक थियो। म:म एक प्लेटबाट दुइटा भएको थियो। समानान्तर हुने हाम्रो बसाइ सम्मुख भएको थियो। उसको शिर बिसाउने मेरो काँध खाली थियो। उसलाई आफ्नो भन्ने मेरो माथ खाली थियो। कति शक्ति रहेछ यो सम्बन्धमा पनि, जो नहुँदा मात्र पनि आफ्ना नै बिराना लाग्ने।
चलिरहेका आआफ्ना दैनिकी, विगत अनि भविष्यका केही भलाकुसारी हामीले गर्यौँ। केही हाँसोका खित्का छोड्यौँ। केही आँसुका थोपा झार्यौँ। आआफ्ना भावना सुनायौँ, आआफ्ना भावना बगायौँ। त्यो साथ समय अनि उसलाई भेट्न पाउने मरो माथलाई त्यहीँ छोडी हामी त्यहाँबाट बाहिरियौँ।
मैले उसलाई कोटेश्वरसम्म छाडी म आफ्नो कोठातर्फ अघि बढेँ। उनले छुट्ने बेला गरेको अङ्कमालले मेरो कुम यसरी सुगन्धित भयो मानौँ ऊ मेरो यही कुममा टाँसिएकी छिन्। यहीँ छिन् मेरो साथ, समाइ मेरा हात, भाग्यमानी साबित गर्दै छिन् मेरो माथ।
तीन वर्ष पछिको भेट, मात्र तीन दिन पछिको जस्तो भयो। टाढा भइसकेका दुई आफ्नाहरूको मन पगाल्ने शब्दहरू एकाएक सस्तो भयो। ऊसँग त्यहाँ कुरा गर्दै गर्दा ऊ त्यही पहिलाकै मेरी माया जस्तो भयो। कुरै कुरामा उनको बिहेको कुरा सुन्दा छाँगाबाटै तल खसे जस्तो भयो। जति तल खसे पनि मैले वास्तविकताको धरातलमा उक्लिएर उनको त्यो यथार्थलाई स्विकार्नु नै थियो।
स्विकारेँ मैलै आफूले रङ्गाउने उत्कट चाहना राखेको सिउँदो, अरू कसैको हातले रङ्गिने यथार्थ। उनीसँग सात फेरा घुम्न लम्किएका मेरा पाइला अरू कसैका पाइलाले प्रतिस्थापित हुने यथार्थ। उनी अनि म मात्र भएको कल्पनाको हाम्रो घर भत्किएको यथार्थ। उनको नाम पछाडि बस्न पाउने मेरो थरको कर मारिएको यथार्थ। स्विकारेँ मैलै उनलाई आफ्नो भन्न पाउने हक खोसिएको यथार्थ। स्विकारेँ मैले उनको आफ्नो बन्न पाउने हक खोसिएको यथार्थ।
एउटा वेगमा अघि बढिसकेको मेरो जीवन उनीसँगको भेटले टक्क अडिएजस्तो भो। कठोर बनेर सुक्खा भएका मेरा आँखालाई सिञ्चित गर्ने आँसु पुनः सस्तो भयो। मलाई अनि मनलाई स्वतन्त्र बनाउने प्रेमले आज फेरि मनलाई नै बाँधेजस्तो भयो। प्रेमकै खुसी अनि प्रेम कै दुखबिच आज आफैँले आफ्नो जीवन साँधेजस्तो भयो।