शुशिल जागिरको शिलशिलामा डोटी आएको थियो। डेरावाल मात्रै भए पनि ऊ शैलीको परिवारकै सदस्यजस्तो थियो। आफ्नो सरल, विनम्र र आत्मीय व्यवहारले उसले सबैको मन जितेको थियो।
ऊ आएपछि सशस्त्र द्वन्द्वमा छोरो गुमाएको बुवा-आमाका वृद्ध ओठ मुस्कुराउन खोज्दै थिए। शैलीको मनमा पनि मिठो उत्साह पलाउँदै थियो। दुर्भाग्यबस अकस्मात उसको सरूवा भयो र ती निर्दोष मनका सबै सुखद भ्रम टुट्न पुगे।
चैतको उराठलाग्दो दिन! ऊ सदाको लागि बिदा भएर जाँदै थियो। बिहानैदेखि आमाका आँखा जलमग्न थिए, बुवाको अनुहारमा पनि गहिरो उदासी थियो। हिँड्ने बेलामा ऊ आफैं पनि रोयो र सबैलाई मर्माहत बनायो। आमाले आफ्ना वृद्ध हात कमाउँदै उसलाई माला लगाई दिइन्। बाका सेतै फुलेका परेलहरू पनि आँसुले निथ्रुक्क भिजेका थिए तर उहाँले एक शब्द पनि बोल्न सक्नु भएन।
झोला बोक्नुअघि उसले बाआमालाई कसिलोसँग अंगालोमा बाध्यो र आँसु पुछ्दै बाटो लाग्यो। गहभरी आँसु लिएर शैली पनि दिपायल बसपार्कसम्म गइन्। त्यहाँ पुग्दा धनगढी जाने बस छुट्ने बेला भइसकेको थियो, उसले भावुक हुँदै भन्यो।
‘के गर्नु शैली, आखिर जानै पर्छ! तर म यो आत्मीयतालाई म बाँचुन्जेल मुटुभरी साँचेर राख्ने छु’
उसका भावुक शब्दहरू पोखिँदै गए, शैलीको मनमा काँडा उम्रिँदै गयो। अब ऊ फर्केर आउने छैन भन्ने सोचिन् र छाती गह्रुंगो भएर आयो, बोल्ने शब्दहरू जुटेनन्, आँखामा आँसु टिलपिल भए। बिदाइको त्यो क्षणमा अत्यन्त भारी भएर गुज्रिँदै थियो, त्यहीबेला सहचालकले नमिठोसँग चिच्याउदै भन्यो- छिटो चढ्नु न भन्या, के गन्थन गरी र’को? ढिला भइसक्यो’
समयले पर्खिने कुरा थिएन ऊ पनि गहभरी आँसु लिएर बसमा चढ्यो। आँखाले देखिन्जेलसम्म उसले झ्यालबाट हेर्दै बिदाईको हात हल्लाइरह्यो। हेर्दाहेर्दै बसले डाँडो काट्यो। र उनी फेरि अर्को पटक जिन्दगीको चौबाटोमा एक्लै भइन्।
उनको मुटुमा भक्कानो पर्यो, लामो सास फेरिन् र मनमनै सोचिन्-
‘साँझ एकछिन ढिला हुन हुँदैन्थ्यो, खुब चिन्ता लाग्थ्यो! अब त ऊ जिन्दगीभरी फर्केर आउने छैन! अब न उसको प्रतीक्षाको बेचैनी छ, न आइपुगे पछिको खुसी! कसरी खेलौना बनाउँदो रहेछ समयले!’
आँसुले दृष्टि धमिलो थियो। हानिँदै उनी सेती नदीको पुलमा पुगिन्। भूमरी परेका पानीका दह र नदी किनाराका गहिरा भंगालाहरूतिर हेरिन्। आफ्नै जिन्दगीका भंगालाहरू त्यहाँ प्रतिविम्बित भएजस्तै लाग्यो। अकस्मात् बाँच्ने चाहना भित्रैबाट मरेर गयो। पुलको डण्डीमा उनले मजबुतिका साथ समाइन् र अनुभूति शून्य भएर आँखा चिम्लिन्।
गजबको संयोग! त्यहीबेला पछाडिबाट कसैले उनको पाखुरा समायो। झसंग हुँदै उनले फर्केर हेरिन्, पछाडि आफ्नै बालसखी सम्झना थिइन्। सम्झनाले आश्चर्य मान्दै सोधिन्
‘आम्मै! शैली, यो पुलमा तँ एक्लै के गरेर बसेकी? के भयो तँलाई ?’
उनी झल्यास्स निन्द्राबाट व्युँझिए झैं भइन्। त्यो अकल्पनीय भेटले आश्चर्य चकित बनायो तर वर्षौंपछि बालसखीलाई भेट्दा पनि मनमा खुसी भएन। आत्महत्या गर्ने उनको मनस्थिति सामान्य अवस्थामा आइसकेको थिएन। सम्झनाले उनलाई तानेर आफ्नो गाडीतर्फ लगिन् र एकोहोरो बोल्दै गइन्- ‘हिँड् मेरै गाडीमा जाऊँ सिलगढीसम्म। कलेजबाट छुट्टिएको एक जुगपछि भेट भ’यो। कति कुरा गर्न मन छ, गफ गर्दै जाऊँ!’
शैलीले कुनै नाइँ नास्ती गरिनन्। चुपचाप गाडीमा बसिन्। सम्झनाले आफ्नो करिब ११\१३ वर्षे छोरासँग परिचय गराइन्, सुखद पारिवारिक जीवनको पनि खुलेर बखान गरिन्। उनी युद्ध जितेकोजस्तै गरी उत्साहित थिइन् तर शैलीले भने तटस्थ भावले उसको कुरा सुन्दै गइन्।
'हेर् शैली! ऊ विश्वकर्मा र म ठकुरीकी छोरी। सजिलो त अहिले पनि छैन! झन् बार वर्ष अगाडिको के कुरा गर्नु?... मैले झुण्डेर मर्छु भने तै पनि परिवारले स्वीकारेन! धेरै संघर्षपछि बल्ल मेरो परिवारमा अन्धविश्वास हटेको छ ...।
एकछिन अडिएर उनले फेरि अगाडि भन्दै गइन्,‘....तर गाउँ-गाउँमा अझै पनि अन्तरजातीय जोडीहरू विवाहको सपना अधुरै छोडेर आत्महत्या गर्न बाध्य छन्। कहिले खुल्ने हाम्रा चेतना? कहिले रोकिने यो जातीय उत्पीडन? केही ठूला सहरका संभ्रान्तहरूको कुरा बेग्लै हो तर अधिकांश गाउँका दुःखी गरिबहरू आज पनि विभेदकै आगोमा जलिरहेका छन् !..’
बोल्दा बोल्दै ऊ आवेगमा आई, बोतल झिकेर पानी खाई र शैलीलाई सोधी ' .....बरू तेरो के छ नि शैली ? तैंले त बिहे पनि गरिनस्!’
उनलाई आफ्नो बिहे गर्ने उमेर गुज्रिसके झैं लाग्थ्यो, त्यसैले उनी बिहेको प्रश्न सुन्नै चाहँदैन थिइन्, सम्झनाको त्यो प्रश्नले उनलाई फेरि नमिठो अनुभूति भयो र पनि केही न केही जवाफ त दिनैपर्थ्यो।
हतास हुँदै उनले विस्तारै भनिन्- ‘मेरो जिन्दगी त यस्तै भयो सम्झना! कता अलमिए कता ? आधि उमेर बाँच्ने र बचाउने संघर्षमै बित्यो, अब के बिहे गर्नु ? कोसँग बिहे गर्नु!’
शैलीको जवाफ सुनेर सम्झना पनि स्तब्ध भइन्। गाडीमा गहिरो सन्नाटा छायो। त्यो बोझिलो मौनताका बीच दिपायलबाट सिलगढीसम्मको छोटो यात्रा पनि ज्यादै लामो लाग्यो। सिलगढी पुगेपछि शैली गाडीबाट झरिन्। सम्झनाको माइती अलि टाढा भएकोले उनी अगाडि बढ्दै गइन्।
शैलीलाई सिधै घर जान मन लागेन, निरुद्देश्य उनी हिँड्दै गइन्। बाटाभरी आरूका फूलहरू झरेका थिए, कति निर्मम पैंतालाले माटो बनाइसकेका थिए, कति पिसिन बाँकी थिए, ती निश्प्राण फूलहरूले पनि उनलाई झन् भावुक बनाए। ओसिला आँखाहरू फेरि रसाउँदै गए, भारी मनका साथ उनी ठूलो चौरको कुनामा गएर बसिन्।
मनमा भावनाको चर्को अन्तरद्वन्द्व चलिरहे। सोचाइहरू जीवन र मृत्युको वरिपरि घुमिरहे। हठात बुबाआमाका लाचार अनुहार आँखामा आए। त्यसपछि कर्तव्य विमुख आफ्नै स्वार्थी निर्णयप्रति ग्लानी भयो। झमक्क साँझ परिसकेको थियो। साँझको त्यही अँध्यारोमा लाचार मन लिएर उनी घर पुगिन्।
भित्र पस्नासाथ आमाले भनिन्- ‘अब कुनै कर्मचारीहरूलाई भाडामा नराख्ने है छोरी! साइनो न सपनाको मान्छे आउँछ, माया मोह लगाउँछ! फेरि बाटो लाग्छ। आफ्नै पीरले मर्नु न बाँच्नु छ, बिनासित्ती चोट खान किन अर्को नहुने सम्बन्ध गाँस्नु?’
पीडा र उत्तेजनाले आमा हिरिक्क हुने गरी खोक्न थालिन्। बल्ल तल्ल खकार निस्कियो र फ्याँ फ्याँ गर्दै पसिना पुछेर भुइँमा बसिन्, शैलीले हत्तपत्त सिलिण्डर गुडाउँदै ल्याइन् र अक्सिजनको मुखुण्डो मुखमा लगाई दिइन्। केही हल्का महसुस भएपछि आमाले बिस्तारै भनिन्।
‘नौ रंगी सपना देखाएर हुर्केको छोरोलाई युद्धको नाममा बलि चढाएँ! आफूलाई दमले एकैछिनमा हुरूक्क बनाउँछ! बुढा पक्षघातले हर घिसारेर हिँड्छन्, हाम्रो बिचल्ली कसले देखेको र?. छोरो बाँचेको भए पनि त कमाएर ल्याउथ्यो, घर जग्गा बेचेर उचार गर्न त पर्थेन, तिम्रो पनि बिहे हुन्थ्यो, हामी पनि ढुक्कले मर्न त पाँउथ्यौं’
आमाका जीर्ण शरीर, उनको आँखाका आँसु, कारुणिक शब्दहरूले मनमा छुरा रोपे जत्तिकै पीडा भयो। तै पनि उनले दारा किटेर सहिन् आमालाई सम्झाउँदै भनिन्-
‘आ .. आमा नचाहिने चिन्ता गर्नु हुन्छ! बेला आएपछि सबै कुरा भइहाल्छ नि!’
आमालाई सजिलो ओछ्यान लगाइदिएर उनी भान्सामा गइन्। मन त्यसै पनि अस्थिर थियो, आमाको कुराले झन् सम्हालिनसक्नु भयो। साँझको धन्ना सकेपछि सुत्ने कोठामा गइन्। झ्याल खोलेर हेरिन्, रात चुक घोप्टे जतिकै अँध्यारो थियो। रातको त्यो चकमन्नतामा बेला बेला स्याल रोएको आवाज आउथ्यो र मनको विरह झन् गहिरिँदै जान्थ्यो। उनले लामो सुस्केरा हालेर झ्याल बन्द गरिन् र ओछ्यानमा गएर पल्टिइन्।
आँखामा पटक्कै निन्द्रा थिएन केवल शुशिलको अनुहार नाचिरहेको थियो। सँगसँगै सिलगढीको शैलेश्वरी मन्दिर, मालिका मन्दिर, छतिवन ताल, तलकोट र कर्णाली दोभानतिर घुमेका पलहरू आँखाभरि रसाउँदै आए। उसले बोलेका शब्दहरू पनि कानमा गुन्जिए, ऊ भन्ने गर्दथ्यो, ‘तिमी कति सुन्दर छ्यौ शैली! कुनै नामुद लेखकको मनमोहक शैली जस्तै!’
ऊ आफ्नो प्रेमिल शैलीमा उनलाई फुरूक्क पार्थ्यो। कहिले ऊ मायामा स्पष्टसँग खुलेझैं लाग्थ्यो कहिले उसको अडकलै लगाउन सकिँदैनथ्यो तर पनि ऊ आँखाको सपना, मनभरीको रहर र जीवनको गन्तव्य जस्तै लाग्न थालेको थियो। ती सबै सुखद् पलहरू आँसुका ढिक्का ढिक्का भएर झरे। पटक्कै निन्द्रा लागेन। उनी जुरूक्क उठिन् र आफैंले आफैंलाई भनिन्
‘ऊ मेरो मृगतृष्णा मात्रै रहेछ! अचानक आयो, सामिप्यताको आभाष दिलायो र फेरि सबै भ्रम तोडेर गयो!’
रातभरि यस्तै अन्तरद्वन्द्वले उनलाई गिजोलिरहे। एकपल पनि उनी निदाउन सकिनन्।
भोलिपल्ट बिहानै सम्झना घरमा आइन्। बुवा आमासँग केहीबेर भलाकुसारी गरिन्। त्यसपछि दुबै जना कलेजका सम्झनाहरूमा पोखिए। सँगै खाना खाएपछि उनले शैलीका अनिँदा आँखा र चमकहीन मुहारमा गहिरिएर हेरिन् र अघिल्लो दिनको त्यो अस्वाभाविक उदासीको बारेमा सोधिन्।
शैलीले पनि उनलाई आफ्नो जीवनका सबै पीडादायी अनुभूतिहरू बताउँदै गइन्, ‘तँलाई थाहै छ सम्झना! कलेज सुरूदेखि म सुमन संँगको गहिरो प्रेममा थिएँ। तेरोजस्तो जातको तगारो पनि थिएन तर ऊ अति महत्वाकांक्षी थियो! मलाई फस्ल्यांङ्ग फुस्लुङ पार्यो र अर्कै महिलासँग डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया गयो। गएपछि पनि केही वर्ष आश्वासनमा भुलायो र पछि आफैं सम्पर्कविहीन भयो। शायद ऊ त अहिले पनि फुलेकै छ होला सम्झना! तर म भने पलाउने सपना देख्दा देख्दै झरें।
आफ्ना दुबै हातले आँखाका आँसु पुछिन् र नजिकै रहेको करूवाको पानी पिएर भन्न थालिन्, ‘... यो सानो ठाउँ! समाजले मलाई ऊसँग जोडेर चरित्रहीन बनाइदियो। अन्यत्रबाट बिहेको प्रस्ताव आएन, गाउँमा त मलाई उसको बात लागिसकेको थियो।
उनी झन् झन् भक्कानिँदै भन्दै गइन्, ‘युद्धको नाममा दाजु मारियो। त्यसपछि आमाको दमको रोग र बुबाको पक्षघातले गर्दा मैले आफ्नो बारेमा सोच्नै पाइनँ, जिन्दगीले पीडामाथि पीडा थप्दै गयो। त्यसपछि बाँच्नै मन लागेन। किन बाँच्ने ? केको लागि बाँच्ने भन्ने लाग्यो ? र म भौंतारिँदै सेती नदी पुलमा पुगें।’
शैलीका व्यथाहरू सुनेर सम्झनाको मुटुमा भक्कानो पर्यो । दुबै जना आँसुले निथ्रुक्क हुने गरी रोए तर गर्न सक्ने कुरा केही पनि थिएन। हिँड्ने बेलामा उनलाई न्यानो माया र सहानुभूति देखाइन्। नयाँ जीवन सुरू गर्ने सल्लाह दिँदै बिदा भइन्।
दिनहरू बित्दै गए, शुशिल विवाहित थियो। गएपछि उसले एक दुई पटक त फोन गर्यो तर पछि कहिल्यै पनि सम्झना गरेन। उनी सोच्न थालिन् ‘मायाले जोडिएका भए पो! आवश्यकताले भेटिएकाहरूले किन सम्झिरहन्थे र ?’ उनले पनि शुशिललाई सम्पर्क गर्ने प्रयास गरिनन्।
समय अझै कठिन हुँदै गयो। बुबा लामो समयदेखि अर्ध पक्षघातको रोगी हुनुहुन्थ्यो। शुशिल गएपछि उहाँको ब्लडप्रेसर बढ्न थाल्यो, जति औषधि गरे पनि नियन्त्रण आएन र त्यसले उहाँको प्राणै लिएर छोडयो।
जसोतसो बुबाको किरिया सकियो। त्यसपछि आफू कसरी बाँच्ने ? आमाको उपचार कसरी गर्ने भन्ने कुरा झन् जटिल भयो। घरको आम्दानीको एकमात्र बाटो बुबाको पेन्सन थियो, त्यो पनि बन्द भयो र आमालाई लिएर मामाघर काठमाडौं जानुको विकल्प भएन। आमा त 'लोग्ने मरेको ठाउँ मै मर्छु ' भनेर जिद्दी कस्दै थिइन्। यसका वाबजुद उनले घरमा ताल्चा ठोकिन् र भक्कानिँदै जन्मेको माटो छोडेर हिँडिन्।
काठमाडौंमा बडो कष्टले अर्को एक वर्ष बित्यो। यसैबीच आमा गम्भिर बिरामी भइन् । उनलाई सिनामंगल अस्पतालमा भर्ना गरियो। खर्चको त चिन्ता थिएन, मामाले गर्नु हुन्थ्यो । दुर्भाग्य! एक हप्तासम्म पनि उनको स्वास्थ्यमा सुधार आएन। एक दिन निराश मन लिएर उनी फार्मेसीबाट फर्किंदै थिइन्, परैबाट आमा र मामाले कुरा गरिरहेको देखिन्। नजिकै भित्ताको छेका परेर उनीहरूको कुरा सुनिन्।
आमा भन्दै थिइन् 'छोरीले भन्न सकिन। मलाई यसको र सुमनको सम्बन्धको बारेमा थाहा थियो। मैले यसको बाउलाई भनेकी पनि थिए। तर छोरी सानै छ भनेर उनले टारी दिए। पछि दाजु पनि मारियो, बुबालाई पक्षघात भयो र अनि बिचरीको बिहेको कुरै हुन पाएन! अब म पनि बाँचौंला जस्तो लाग्दैन। यसको बिचल्ली हुने भयो बाबु।'
बोल्दा बोल्दै आमाको गला अवरूद्ध भयो, मामाले आमाको आँसु पुछिदिनुभयो र सम्झाउँदै भन्नुभयो
'म छु नि दिदी! एउटी भान्जी छिन, किन चिन्ता गर्छेउ, तिमीलाई पनि ठिक भइहाल्छ हिम्मत नहार न।'
त्यसपछि आमा बोल्नु भएन। त्यसदिन उहाँलाई निकै गारो भएको थियो। उनले अक्सिजन मात्र बढाइदिइन्। आमाका आँखा लोलएजस्तो भयो, मामा पनि आमासँगै हुनुहुन्थ्यो। त्यहाँ उनलाई पनि उकुस मुकुस भएजस्तो भयो, आफ्ना टिलपिलाएका आँखा लिएर बगैंचामा गइन्।
बगैंचामा गोदावरी फुलका सुकेका बोटहरू, यत्रतत्र जंगली झारहरू! गोड्दै नगोडिएका फूल क्यारी र बिरामीका कुरूवाहरू निराश, थकित अनुहार सिवाय केही देखिँदैनथ्यो। तिनलाई हेर्दाहेर्दै उनलाई मनको पीडामाथि झन् पीडा थपिए झैं भयो। उनी कुनामा गएर बसिन् र दुबै हातले मुख छोपेर धोको पुग्ने गरी रोइन्।
मामा उनलाई खोज्दै बगैंचामै पुग्नुभयो। उनी दौडेर आमालाई हेर्न आइन्। आमालाई निकै नै गारो भइसकेको रहेछ। जसले जे बोले पनि झर्को मान्ने, कहिले उठेर बस्ने, कहिले सुत्ने कोल्टे फेरिरहने गर्न थालिन्। कहिले स्लाइनको पाइप थुत्न खोज्ने, कहिले अक्सिजनको उपकरण उतार्ने गर्न थालिन्।
उनले अतालिँदै गएर डाक्टरलाई बोलाइन्, डाक्टर आएर आमालाई हेरे र गम्भीर भएर भने, ‘हामीले हरसम्भव प्रयास गर्यौं, अब गर्ने काम ईश्वरको हो, बरू डर लाग्छ भने आफन्तहरूलाई पनि बोलाउनुस्!'
डाक्टरले इन्जेक्सन लगाएर गए, आमा केहीबेर लठ्ठिएजस्तो भइन्। डाक्टरको कुरा सुनेपछि उनले आमाको आश मारिन्। दिमागले पनि कामै गर्न छोड्यो। समयको त्यो कठिन परीक्षा देखेर उनी भक्कानो परिन्। घडी हेरिन् रातको १२ बजिसकेको थियो।
कता-कताबाट सम्झनाको याद आयो र उनले तुरून्तै फोन गरिन्। आमा बेसुरका कुरा गर्न थालिसकेकी थिइन्, उनलाई रूनु न हाँस्नु भयो। आधा राततिर आमाले भनिन्- ‘हेर त नानी! बुबा बाहिर आउनु भ'को छ, जाऊ भित्र बोलाऊ ’
उनको सातो पुत्लो उड्यो तर उनलाई डराउने छुट थिएन। छाती फुट्लाजस्तो भएको थियो तर रोएर बस्ने अवस्था थिएन। संयमित हुँदै उनले परिस्थितिको सामना गर्दै गइन्।
फोन गरेको घण्टा भरमा सम्झना र उनको श्रीमान विनय आइपुगे। उनीहरू आएपछि ठूलो सहारा मिलेजस्तै लाग्यो, एकाएक आँखाबाट आँसुको मूल फुट्यो। यता हेर्दाहेर्दै आमा शिथिल भइसकेकी थिइन्। उनको होस हवास उड्यो, डाक्टरहरू केहीबेर दौडादौड गरे र आमालाई भेन्टिलेटरमा राखियो।
असिम छटपटीमा रात बित्दै गयो, बिहानीपख आमाले महाप्रस्थान गरिन्। उनको ढुकढुकी सदाको लागि बन्द भयो। सारा पीर, व्यथा र छटपटीबाट मुक्त भएर उनले मृत्युवरण गरिन्।
डाक्टरले सहानुभूतिपूर्वक शैलीतर्फ हेर्दै लाचार भावमा भने- ‘हामीले बचाउन सकेनौं!!!’
त्यसपछि यो संसारमा शैलीको आफ्नो भन्ने कोही रहेन। आमासँगको वियोगमा मन कौलाशियो तर उनी रून पनि सकिनन् अतिशय पीडाले मूर्तिवत भइन्। फेरि अन्तिम संस्कार गर्ने कार्य चुनौतीपूर्ण भयो। त्यो दुखद् घडीमा सम्झनाको लोग्ने अघि सरेर सहयोग गरे। श्रद्धापूर्वक उनले नै आमाको अन्त्येष्टिको चाँजोपाँजो मिलाए।
शवबहानमा आमाको पार्थिव शरीर आर्यघाट पुर्याइयो। अग्नीमा समर्पण गर्ने क्रममा आमालाई चितामा सुताइयो। अन्तिम पटक उनले आमालाई हेरिन्, मातृवात्सल्य कि प्रतिमूर्ति चीर निन्द्रामा थिइन्। मुटु फुट्लाजस्तो भयो, आमाको त्यो शान्त अनुहारमा हेर्न सकिनन्, भावविह्वल हुँदै माला लगाइदिइन् र सम्झनाले उनलाई कुनातिर लगिन्।
समय बित्दै गयो उनी आफैंले आमालाई दागबत्ती दिइन्, विस्तारै विस्तारै आगो दन्किँदै गयो,आमा जल्दै गइन्, धुवाँ उड्दै गयो, धुवाँ सँगै उनी पनि उड्दै गइन्, चेतनाभन्दा पर बादलमाथि कतै। कल कल झरनाको मनोहर संगीत, लहलहाउँदो दुबोको हरियो मैदान, रंङ्गीचंगी फूलहरूको शान्त र सुन्दर बगैंचामा आत्मीय मुस्कानका दाजु र बुबा आमाको स्वागतमा थिए।
उनी भावविह्वल हुँदै उनीहरूको त्यो सुखद मिलनमा हराउँदै थिइन्।
पछाडिबाट कसैले बोलाएको जस्तो लाग्यो। उनी झसंग भइन्। तान्द्रा टुट्यो!
आगो दन्किरहेको थियो, आमा चितामा जलिरहेकी थिइन्, धुवाँको मुश्लो आकासिँदै थियो। चिताकै नजिक एक जना अधबैंसे पुरुष आँखाभरी आँसु लिएर उभिएको थियो, उसले भन्न थाल्यो
'जस्तो घात गरेर हिँडेको थिएँ, उस्तै चोट लिएर फर्केको छु। तिमीभन्दा पर अर्को मेरो खुसी रहेन छ। डिपेन्डेन्ट भिसाको लोभले मर्नु न बाँच्नु बनायो। हुन त मैले तिम्रो माया लत्याएर हिँडेको थिएँ। तर मलाई त्यसकै अपराधबोधले र ग्लानीले छोड्दै छोडेन र प्रायश्चितको लागि खोज्दै खोज्दै आइपुगें।'
तिल चामल कपाल अधबैंसे शरीर र व्यथित अनुहार लिएर सुमन उनकोसामु याचना गरिरहेको थियो तर अतिशय पीडाले संवेदनाहीन शैलीको अनुहारमा कुनै परिवर्तन आएन, धुवाँ अझै पनि आकासिँदै थियो। उनले भावशून्य नजरले सुमनलाई एकोहोरो हेरिरहिन्।
(रविन्द्र केसीका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)