सहयात्राको आधा दशकमात्र भएको थियो तर दाम्पत्य जीवनमा धाँजा फाटिसकेको थियो।
आवरण त दुरूस्तै थियो तर आत्मीयता भने मर्दै गइरहेको थियो। मनका दुरी यसरी बढेका थिए कि फेरि त्यो मेटिने सम्भावना नै देखिँदैनथ्यो।
विजय अमेरिका जाँदै थियो। उसलाई बिदा गर्न संगीता एयरपोर्ट गएकी थिइन्।
इमिग्रेसनको काम सकियो र उसले एक नजर संगीतालाई हेर्यो, एउटा भावहीन हाँसो फिजायो र चुपचाप डिपार्चर कक्षतर्फ लाग्यो। उनलाई आफू सम्बन्धको अन्तिम बिसौनीतिर पुगेजस्तै लाग्यो। मन भारी भएर आयो, आँखा रसिला भए र मनमनै सोचिन्।
‘लोग्ने-स्वास्नीको नाता पनि स्वार्थकै सम्झौता त रहेछ नि!’
एयरपोर्टबाट सरासर चक्रपथ आइन्। मनमैजु जाने बसमा चढिन्। ढोका छेउको सिटमा बसेर झ्यालबाट बाहिरतिर हेर्न थालिन्।
फूटपाथमा झरेका ज्याकारान्डा फूलहरूमा आँखा परे, निर्मम पैंतालाहरूले कुल्चिएका ती फूलहरूले मनको उदासी झन बढाए। विजयको चेहरा फेरि आँखा अगाडि आयो र त्यससँगै मनमा एउटा प्रश्न पनि उब्जियो।
‘के अब ऊ फेरि फर्केर आउला र ?’
मनमा कुनै उत्तर थिएन केवल पीडादायी सम्झनाहरूमात्र थिए। स्टुडेन्ट भिसा पाएको दिन उसले भनेका शब्दहरूको सम्झना आयो। आँखाहरू आँसुले टिलपिलाउँदै गए। त्यसदिन उसको हर्षको सीमा थिएन। अति नै उत्साहित भएर उसले भनेको थियो।
‘अब म अमेरिका जाने नै भए संगीता! तिम्रो पनि आफ्नै पेशा छँदैछ, आमा र छोरालाई हेर्नू। तिमी पनि खुसी भएर बाँच्नु है’ सम्बन्धलाई बिट मारेजस्तै गरी त्यतिबेला उसले भनेका ती धारिला शब्दहरू मुटु नराम्रोसँग बिझेका थिए।
त्यही रन्कोमा उनले निदाइरहेको बालक छोरालाई हेरेकी थिइन्। रात छटपटीमै बितेको थियो र निन्द्रा पटक्कै लागेको थिएन।
धुम्बाराहीमा पुगेपछि गाडी एकछिन रोकियो। त्यहाँबाट एक जना महिला चढिन् र उनकै सिटमा आएर बसिन्।
दुबै जनाले एउटा अपरिचित मुस्कान फिजाए। गाडी फेरि अगाडि बढ्यो र उनी फेरि सम्झनामै डुब्दै गइन्।
आफू हिँडेको बाटो सम्झेर अचम्म लाग्यो। कलेजका सुरूआती दिनदेखिका आकर्षण (?), अदालती विवाह र त्यसपछिको निरन्तर मतभिन्नता! गजबको भुलभुलैयाजस्तै लाग्यो जीवन। केही सपनाहरू, केही महत्वाकांक्षा र अभिमान। अरू के चाहिँदो रहेछ मन भाँच्चिनको लागि!
बस रोकियो।
सहचालकले ‘बालाजु, बालाजु, ल आउनुस है’ भनेर करायो।
उनी बसबाट झरिन्। चोकमा उभिएर चारैतिर नजर फिजाइन्। त्यो ठाउँ आज अर्कै जस्तो लाग्यो! बाटाहरू पहिले भन्दा अलि विराना र अलि फराकिला लागे।
घाम डुबिसेकेको थियो, लामो सुस्केरा लिँदै उनी घरतिर लागिन्। घर पुग्नासाथ ५ वर्षको छोरा उनको कम्मर समाउँदै लाडे पल्टिन थाल्यो। सासु पनि कताबाट आइपुगिन्।
एउटा गहिरो नजरले उनको अनुहारमा हेरिन् र उनलाई सम्झाउँदै विस्तारै भनिन्- ‘पीर नगर बुहारी, म बुढीले त चित्त बुझाएकी छु। के गर्छेउ ? सधैं सँगै बसेर गुजारा चल्दो रहेनछ त!’
ओसिला आँखाहरू फेरि रसाए। मन रित्तो थियो, भन्ने कुराहरू केही पनि थिएनन्। उनी चुपचाप थिइन्, सासूले फेरि विस्तारै उनलाई सोधिन्- ‘आँसु झारेर छोरालाई दुखी त बनाइनौ ? के गर्नु छोरीको मन कमलो हुन्छ …’
उनले लामो सुस्केरा लिइन् र विनम्र भावमा सासूलाई जवाफ दिइन्-किन आँसु झार्नु र आमा! सबैका आफ्ना आफ्नै सपना हुन्छन् .. उहाँ पनि आफ्नो सपना पूरा गर्न हिँड्नु भएको न हो .... !
सासूको अनुहार एकाएक अँध्यारो भयो र अरू कुरा केही पनि नगरिकन उनी किचेनतिर लागिन्।
संगीता छोरालाई लिएर आफ्नै कोठा गइन्। ओछ्यानमा डंग्रंग पल्टिइन्।
छोरोले टेबलमा राखेको उनीहरूको तस्बिर भुइँमा खसाल्यो। विवाह भएकै साल मनकामनामा मन्दिरमा खिचेको त्यो सुन्दर शिशाको फ्रेममा रहेको तस्वीर टुक्रा टुक्रा भयो। ऊ हिँडेकै दिन तस्वीर फुट्यो! त्यो अनपेक्षित संयोग पनि उनलाई आफ्नै भोगाइजस्तै लाग्यो र उनले मनमनै भनिन्।
‘आखिर फुट्दै जानु त रहेछ नि जिन्दगी पनि!’
साँझ परिसकेको थियो। कोठामा उकुसमुकुस भएजस्तो लाग्यो। उठेर उनी छतमा आइन्।
आकाशमा बेमौसमी बादलहरू मडारिइरहेका थिए। त्यहीबेला एक हुल परदेशी चराहरू तीव्र गतिमा उनको टाउको माथिबाट उडेर गए । आँखाले देखुन्जेलसम्म ती चराका बथानलाई हेरिन् र मनमा एउटा जिज्ञासा पलायो।
‘कहाँ पुगेर बास बसौंला भनेर हानिएका होलान यी!’
छतमा पनि नमिठा सम्झनाहरूले छोड्दै छोडेनन्। पहिलो पटक उनीहरूको झगडा भएको दिनको सम्झना आयो।
त्यसदिन उनी अफिसबाट अलि ढिला आएकी थिइन्। विजय पहिल्यै नै आइसकेको रहेछ। कोठामा प्रवेश गर्नासाथ उसले बाघले झम्टे झैं गरी भनेको थियो-‘तिमी किन सधैं ढिला आउँछौ हँ? कहाँ जान्छ्यौ तिमी ? केटी मान्छे भएर यसरी रात साँझ हिँडेको राम्रो हुँदैन संगिता’
दुनियासँग विद्रोह गरेर अदालती विवाह गरेको प्रिय मान्छे थियो विजय।
सुरूमा त उसले यस्तो प्रश्नमा गर्यो भन्ने पत्यारै लागेन ! पछि सारै मन दुख्यो तै पनि आफूलाई संयमित बनाउँदै उनले भनेकी थिइन्- ‘कानुन व्यवसायी हुँ। अड्डा, अदालत र क्लाइन्टहरू सबैतिर हेर्नै पर्यो। डिस्को गएर ढिला आएको त होइन नि म! तिम्ले त मेरो चरित्रमा माथि नै पो प्रश्न उठायौ त .....?
अझै आक्रोसित मुद्रामा उसले भनेको थियो- ‘प्रश्न त उठ्छ नि संगीता, केटी मान्छे त घरमा पो बस्नुपर्छ। सत्रतिर हिँडछ्यौ, मैले सत्र थरीको कुरा सुन्नु पर्छ! अनि प्रश्न उठ्दैन त ?’
कुरा सुनेर उनको उनको दिमाग रन्थनियो र उनले पनि आक्रोसित मुद्रामै भनिन्- ‘कति संकुचित रहेछौ तिमी! बिहेअघि त खुबै फेमिनिष्ट थियौ। सायद तिमी जत्ति अरू कोही पनि थिएनन् होला तर तिम्रो सक्कली रूप त अर्कै पो रहेछ!’
संगीताको आक्रोश झन् झन् बढ्दै थियो तर पनि उनले आफूलाई संयमित बनाउँदै भनिन्-
‘म फुल्दा तिमी झर्नु पर्दैन विजय। तिमी ओइल्यायौ भने म पनि पलाउन सक्दिनँ। हामी त एक अर्काका परिपूरक हौं।अलिकति नजर फराकिलो पारेर त हेर! आडम्बरको चस्मा त उतार!’
संगीताले शालिन प्रतिवाद गरिन्, ऊ केही मथ्थर भयो तर आफ्नो पूर्वाग्रहमै अडिग रहँदै उसले निर्णायक भावमा भनेको थियो- ‘भो भो सिकाउनु पर्दैन, मैले सबै कुरा बुझेको छु । तिमी जे मन लाग्छ त्यही गर, अब म तिम्रो मतलब गर्दिनँ’
त्यतिकैमा कुरा टुङ्गिएको थियो।
कुरा मात्रै होइन त्यसदिनदेखि सम्बन्ध पनि टुंगिँदै गएको थियो। आत्मीयता हराइसकेको थियो। यसका बाबजुद उनीहरू चुपचाप एउटा भावहीन बन्धनमा अल्झिरहेका थिए।
अतितका तिनै नमिठा सम्झनाहरू मनमा बेलगाम भइरहेका थिए, त्यहीबेला सासूले खाना खान बोलाइन्।
संगीताले खान मन छैन भनेर टारिदिइन्।
छोरो अघि देखिनै हजुर आमासँगै थियो। कोठामा उनी विजयका सँगकै झझल्कोहरूमा फिजारिएकी थिइन्। कोठा शून्य थियो तर मनमा सम्झनाका लस्करहरू थिए।
समय आफ्नै रफ्तारमा चल्दै थियो।
ऊ अमेरिका गएपछि बचे-खुचेको औपचारिक सम्बन्ध पनि निख्रिँदै गयो। आक्कल झुक्कल हुने टेलिफोन विस्तारै बन्द भयो। जिन्दगीका यी नमिठा अनुभूतिहरूले अक्सर यसैगरी अठ्याउँथे।
महिलाले खुलेर बाँच्न खोज्दा चरित्रमाथि नै प्रश्न उठाउने पितृसत्ताप्रति मनमा आक्रोशको राँको बल्थ्यो तर पनि उनका सामु सहँदै जानुको विकल्प हुँदैनथ्यो।
कहिलेकाहीँ उनी सामाजिक सञ्जालतिर भुल्थिन्। त्यहाँ अनेक थरीका मानिसहरू भेटिन्थे।
सुरू सुरूमा त शालिन तरिकाले प्रस्तुत हुन्थे। पछि-पछि विस्तारै अश्लिलतातिर लैजान खोज्थे।
कतिपय त डेटिङ र शारीरिक सम्बन्धको पनि प्रस्ताव राख्थे। यो समाजको यौनिक कुरूपताको स्पष्ट चित्र त्यहीँ देखिन्थ्यो।
एकदिन साँझ उनी मोबाइल चलाउँदै थिइन्।
नोटिफिकेसनको आवाज आयो। विजयकै साथी मानवको रहेछ। उनीहरूबीच सामान्य कुराकानी हुँदै थियो, विस्तारै उसका शब्दहरू अलि अमर्यादित हुँदै गए, केहीबेरपछि त उसले सिधै लेख्यो- ‘यति सुन्दर जीवन कुण्ठै-कुण्ठाले बर्बाद पार्न हुन्न भाउजु! हिँड्नुस्, तपाईं र म एक हप्ता जति थाइल्याण्डतिर घुमेर आऔं। फ्रेस पनि भइन्छ।’
मानवलाई त उनले तुरून्तै ब्लक गरिदिइन तर यौन स्वार्थका लागि मात्र जोडिने खोज्ने अरू व्यभिचारीहरू सबैलाई ब्लक गर्ने उपाय थिएन। अक्सर उनी विस्मित हुँदै सोच्थिन्।
‘सक्षम महिलाको त यस्तो हालत छ, अरू विवश नारीहरूको के गति होला यो समाजमा!’
अनगिन्ति विवश दिदी बहिनीहरूको नियति सम्झेर दु:ख लाग्थ्यो तर समाजको यो कुरूप प्रवृत्ति उनी एक्लै बदल्ने सक्ने कुरा थिएन, यही अनुभूतिले उनलाई सधैं खुम्च्याइ दिन्थ्यो।
जसोतसो गरी समय बित्दै थियो। सासूको स्मरण शक्ति क्षिण हुँदै गयो। उनी छोराको मात्र रटान लगाउन थालिन्।
उनको व्यवहार पनि बच्चाको जस्तै हुँदै गयो। उनलाई सम्हाल नै गाह्रो हुन थाल्यो। न उनलाई माया मारेर हिँड्न सकिन्थ्यो, न उनको त्यो बिचल्ली हेरी रहन सकिने अवस्था थियो!
संगीता कर्तव्य र चाहनाको विरोधाभाषमा नराम्रोसँग पर्थिन्।
‘यसरी पो अचानोमा पार्दो रहेछ त जिन्दगीले!’
एकदिन आधा रातमा सासूले ‘बाबु, बाबु’ भनेर कराएको सुनिन्।
लगत्तै केही चिज कतै बाजरिएजस्तो पनि लाग्यो। हतार, हतार हेर्न आइन्, रगत पच्छे भएको टाउको समाएर उभिएकी सासूलाई देखिन्। संगीताको सातो गयो। उनले आत्तिँदै सोधिन् र सासूले विस्मित आवाजमा जवाफ दिइन्- ‘छोरा आको जस्तो लागेर दौडेर आ’को, ढोकामा बेस्सरी ठोक्किएँ। सपनामा पो र’छु त नानी!’
सासूका कुरा सुनेर संगीता अवाक् भइन्। उनको औधि माया लागेर आयो। रातको २ बजेको हुनुपर्छ। त्यसपछि उनी पटक्कै निदाउन सकिनन्। भोलिपल्टदेखि उनले एक जना महिलालाई तलबमा घरमै राखिन्।
मनमा गहिरो खिन्नता थियो। अफिसको झ्यालबाट बाहिरतिर हेरिन्। क्षितिजमा काला र खैरा बादलका टुक्राहरू मडारिइरहेका थिए। लाग्थ्यो कि आकाशमा पनि उनको मनमा जस्तै भावनाको अन्तरद्वन्द्व छ। बेढंगका ती बादलका ती अमूर्त आकृतिहरूले मनको उदासीलाई झन् बढाए।
झ्यालबाट नजर हटाएर उनी विजनेस कार्डहरू पल्टाउँदै गइन्।
एउटा कार्डमा पुगेर टक्क अडिइन्, ‘रूपक रायमाझी, टेक्सास’।
रूपक निकै वर्षदेखि अमेरिकामा थियो। उनको मनमा एउटा आशा पलायो उसलाई खोज्न थालिन्, सजिलै फेसबुकमा भेटियो। उनको खुसीको सिमाना रहेन, उनले तुरून्तै अडिओ कल गरिन्।
पहिला सामान्य कुराकानी भयो। पछि उनले सासूको अवस्थाको बारेमा पनि बताइन्।
आमा-छोरा भेटाइदिने आफ्नो उत्कट अभिलाषा पनि रूपकलाई सुनाइन्।
उनको कुरा सुनेर दु:खी हुँदै रूपकले पनि विजयको बारेमा आफूले थाहा पाए जति कुरा भन्यो-
‘सुरूमा ऊ एक जना नेपाली केटीसँग लिभइनमा थियो। इण्डियन रेष्टुरेन्टमा काम गर्थ्यो। पछि आफ्नै व्यवसाय गरेर बसेकी मेक्सिकन मूलकी केटीसँग छु भन्थ्यो’
‘अनि ?? ..’
‘निकै अगाडि न्युयोर्कको एउटा क्याफेमा रोमानियन केटीसँग भेटियो। त्यसपछि ऊ कहिल्यै पनि सम्पर्कमा आएन। मलाई पनि अचम्म लाग्छ किन त्यसरी ऊ हरायो। अब म उसको खोजी त गर्छु संगीता तर समय लाग्न सक्छ बुझ्यौ’
रूपकसँग कुरा सकियो। फोन डिस्कनेक्टमात्र भएको थियो त्यहीबेला घरमा काम गर्ने केटीले फोन गरिन्-
‘दिदी आमालाई त के भयो के भयो। बोलचालै गर्नु हुन्न’
संगीता आत्तिँदै घर पुगिन् र आफ्नै गाडीमा राखेर सासूलाई अस्पताल लगिन्। डाक्टरले अल्जाइमरको शंका गरे। केही औषधि दिएर घर पठाए। लामो समयसम्म उपचार चलिरह्यो तर उनको व्यथा कम हुन सकेन। हुँदाहुँदै उनी मान्छे समेत नचिन्ने भइन्। खाना अर्कैले खुवाइदिन पर्ने भयो। संगीता नराम्रो परिबन्दमा परिन्। सपनाहरू पानीका फोकाजस्तै फुट्दै गए र जिन्दगीले सोच्दै नसोचेको मुकाममा पुर्यायो।
सासूको जागृत चेतना त कहिल्यै पनि हुँदैनथ्यो तर पनि सधैं बिहानै उठ्थिन् र बाहिर/भित्र गर्थिन्।
एक दिन उनी निकैबेरसम्म उठिनन्। हेर्न भनेर उनी सासूको कोठामा पुगिन्। सासू मुर्छित अवस्थामा ओछ्यानमै रहिछन्। उनको सातोपुत्लो उड्यो, केही पनि नसोची तुरून्त उनले अस्पताल लिएर गइन्।
अस्पतालमा पुग्नासाथ उनलाई आइसियूमा लगियो। मनमा अनिष्ठ कल्पनाहरू आए। मुख च्यापच्याप्ति सुक्यो र बेचैनीको सीमा रहेन।
केहीबेरपछि डाक्टले बोलाए। उनले विस्तारै सासूको निधार सुमसुम्याइन्। उनको असाध्यै माया लागेर आयो, मुखमा सल कोचेर खुब रोइन्।
फेरि बिरामी कक्षबाट उनलाई बाहिर पठाइयो। परबाट उनले घरमा काम गर्ने केटीलाई आउँदै गरेको देखिन्। उनको पछि पछि एक जना पातलो अधबैंसे पुरूष पनि थियो। मैला कपडा, फुलेका दाह्री र लामा लामा जगल्टा भएको त्यो मान्छे कता कता चिने जस्तो लाग्यो।
उनले नियालेर हेरिन्, उसका ओठमा कलेंटी परेका थिए र आँखा जलमग्न थिए। काँपेका आवाजमा उसले विस्तारै भन्यो-
‘म त अमेरिकाबाट डिपोर्ट भएर आए संगीता! आप्रवासनसम्बन्धी नियम उल्लंघन गरे भनेर स्वदेश फिर्ता पठाइयो!’
उनले विस्मित भएर विजयलाई हेरिन् तर केही भन्न सकिनन्। उसका आँखाबाट आँसु बगिरहेका थिए।
उसले गहिरो आत्माग्लानीका साथ भन्दै गयो- ‘सुखको लालसामा मैले आफ्ना अनमोल खुसीहरू लत्याएँ। आकाश छुने भ्रम लिएर उडें तर नराम्रोसँग भुइँमा पछारिएँ संगीता। संकुचित मानसिकता र अति महत्वाकांक्षाले प्रियजनहरूसँगको पनि नाता टुट्यो र म बर्बाद भएँ।’
संगीताले उसको कुरामा कुनै प्रतिक्रिया जनाइनन्। फरक्क फर्केर उनी आइसियूतर्फ लागिन्।
विजय पनि उनकै पछि-पछि लागेर गयो। बेहोस अवस्थामा अनेक उपकरणहरुले जेलिएकी आमालाई देख्यो र टाढैबाट आत्तिँदै करायो- ‘आमा के भयो हजुरलाई…’
आमाको गाला सुम्सुमायो। उसको स्पर्श पाएपछि शायद एकपलका लागि उनको वात्सल्यले अलजाईमरलाई पनि जित्यो, उनका ओठहरू फडफडाए। अनुहारमा हल्का उज्यालोपना आयो। आँखाबाट पानी बगे जसरी आँसु बगे। उनले बोल्नै खोजेझैं गरिन् तर आवाज निस्किएन!
ऊ भावविह्वल भयो र फेरि आमालाई बोलायो, ‘आमा! म आइपुगें आमा!’
हेर्दाहेर्दै आमाको सास बढ्यो, अनुहार रगत चुहिएलाजस्तो भयो। निमेषभरको त्यो खुसी, उत्तेजना र सकस (?) पछि उनका दुबै आखा सिलिङतिर हेर्दै स्थिर भए र आँखाको आँसु रोकियो।
वर्षौदेखि पिलपिल गर्दै बलिरहेको त्यो ममताको दीयो सदाको लागि निभ्यो। उनले महाप्रस्थान गरिन्। शायद छोरालाई पर्खिरहेको उनको हंश तृप्त भएर ब्रह्माण्डमा विलिन भयो र केवल पार्थिव देहमात्र उनीहरूका अगाडि बाँकी रह्यो।
संगीताले सेतो तन्नाले आमाको मुख छोपिदिइन। ‘डिपोर्टेड’ भन्ने शब्द कानमा बज्रिरहे। उसले लत्याएका मनहरू र समयले लगाएका निको नहुने घाउहरूले पीडामाथि झन् पीडा थपे, थचक्क उनी नजिकैको कुर्सीमा बसिन् र संवेदनाहीन भइन्।
लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।