यतिबेला म अस्पतालमा छु, चुपचाप मृत्युसँग कठिन युद्ध लड्दै छु।
एक्लै, निहत्था र सहाराविहीन! घरिघरि बाआमासँगका वात्सल्यमय दिनका सम्झना आउँछन्।
भाइसँगका प्रेमिल र स्नेहीपलले उस्तै भावुक बनाउँछन्।
ती सुमधुर यादले जीवनप्रति चरम आशक्ति जगाउँछन्, सँगसँगै पीडाले निमोठ्दै लान्छन् अनि जीवनप्रति घोर वितृष्णा पैदा गर्छन् पनि।
अचेल मेरो चेतनामा जीवनले मृत्युसँग हरेक पल आरोग्यताको भिख माग्ने गर्दछ।
आज फेरि खोकी बढ्यो, उठेर बेडमा बसें।
एक जना नर्स आएर औषधि खुवाएर गइन्। त्यसपछि फेरि दिमागमा सुदूर अतीतदेखिका अनगिन्ती सम्झना सलबलाए। साइतको टीका लगाइदिँदै आमाले अवरूद्ध आवाजमा भनेका कुरा सम्झें- बुढेसकालमा जन्मेकी छोरी, तँ नहुर्किकन मर्छुको जस्तो लाग्थ्यो, आज जागिर खान जाने भइस्! जा नानी! तँलाई काँडाले पनि नकोरोस्।
आमाको आशिष थाप्दै बालाई हेरें। उहाँका सेतै फुलेका परेलाबाट आँसुका ढिक्का झरिरहेका थिए।
उहाँको अनुहार हेरिरहन सकिनँ र भक्कानिँदै बाटो लागें।
मनभरी अनगिन्ती आशंका, द्विविधा र अनिश्चितताको द्वन्द्व थियो । धरमराएका मनोबललाई दरो पारेर घरबाट निस्केँ।
पर! लाकुरी भन्ज्याङ्ग पुगेर फर्केर हेरें। आमाले हातको पाली लगाएर हेरिरहनु भएको रहेछ।
हिँड्ने बेलैमा भिजेका आँखा ओभाएकै थिएनन्।
फेरि एक पटक भारी मनले बिदाइको हात हल्लाएँ र ओरालो झर्दै गएँ। धमिला बादलका टुक्रा कार्पेट बिछ्याएजस्तै गरी पर क्षितिजसम्मै फैलिएका थिए। हुस्सु, कुहिरो र बादलले प्रकृतिको चेहरा पनि मैजस्तो व्यथित देखिन्थ्यो।
हिँड्दै जाँदा सानैदेखिको मिल्ने साथी मनोजसँग भेट भयो। उसले जिज्ञासु नजरले मलाई हेर्यो र मैले भनें ‘म त काठमाडौं हिँडेँ मनोज! उतै मामा घरमा बसेर पढ्छु’।
उदास अनुहार पारेर उसले सुस्तरी सोध्यो ‘अचानक गाउँ नै शून्य पारेर जान लाग्यौ त कौशिला?’ मनमा अचानक एउटा आत्मीयताको लहर उठ्यो र मेरो चेतनालाई सिरिंग पार्यो। आफ्नो संवेगहरू लुकाएर मैले भनें ‘सँगै पढेका अरू साथीहरू पनि छन् नि मनोज!’
आँखा रसिला पारेर उसले फेरि भन्यो ‘मनपर्ने मान्छे नै नभएपछि, अरू जो भए पनि के गर्नु र कौशिला?’ म नाजवाफ भएँ।
तर अपसोच हाम्रा बाटाहरू नै अलग्गिसकेका थिए। उसले लाचार नजरले मलाई हेरिरह्यो र म विक्षिप्त हुँदै अगाडि बढें।
करिब सात आठ-घण्टाको बसको यात्राभरि मनमा अनेकौं तर्कनाहरू चलिरहे।
थोरै खेतीपाती, बुबाको पेन्सन र बाख्रा पाठा बेचेको कमाइले धानिएको पारिवारिक नियति सम्झेर विस्मित भएँ।
सडक दुर्घटनामा परी जवान दाजुको मृत्यु भएको शोकले गलेका आमाबुवाको चिन्ताले छोड्दै छोडेन।
ऋण काढेर उपचार गर्नुपर्ने बाआमाको खर्च र त्यही बाध्यतामा च्यापिएका मेरो किशोरी महत्वाकांक्षाले पनि दुःखी बनायो।
नौ कक्षामा पढ्दै गरेको भाइको डाक्टर बन्ने रहरले मनमा छटपटी चल्यो।
साँझतिर मामाघर काठमाडौं गौशाला पुगें।
धेरै पछिको त्यो भेटमा हामी सबै खुसी भयौं। साँझसँगै बसेर खाना खायौं। निकैबेरसम्म पारिवारिक सुख-दुखमा कुरा भए।
मामाले मलाई जागिर पनि खोजिदिएको कुरा बताउनुभयो।
केही दिनपछि नै मलाई कलेज पनि भर्ना गरिदिने कुरा गर्नुभयो।
मेरा आँखा बिस्तारै खुसीका आँसुले भरिए। मनमनै सोचेँ, अब जीवनमा खुसीका दिन आउने भए, सुत्ने बेलामा पनि तिनकै कल्पनामा पुलकित भइरहें।
भोलिपल्ट बिहान मामाले बाल्कन ओभरिसज नयाँ बानेश्वर लैजानुभयो।
त्यही दिनदेखि नै मैले त्यहाँ रिसेप्सनिष्टको जागिर सुरू गरें।
मामाले नजिकैको प्राइभेट कलेजमा भर्ना गरिदिनुभयो।
जिन्दगीले एकै पटक सबै कुरा दिएजस्तो लाग्यो।
बिहान कलेज र दिउँसो अफिस गरेर दिन बित्दै गए।
सपनाको रंगहरू पनि अचानक चहकिला देखिन थाले।
यसैबीच अचानक मामा काठमाडौंको घर बिक्री गरेर गाउँतिर लाग्नुभयो र मकोठा खोजेर एक्लै बस्न थालेँ। दिनहरू बितिरहेका थिए, आमाले पशुपतिनाथको दर्शन गर्ने इच्छा गर्नुभयो।
त्यही मौकामा बाको आँखाको मोतिबिन्दुको अपरेसन पनि गराएँ, एउटा नयाँ चस्मा समेत किनिदिएँ।
आफ्नै पौरखमा बाआमालाई सहर घुमाउन पाउँदा असीम सन्तुष्टि मिल्यो। घर फर्किने बेलामा भाइलाई पनि एक जोर नयाँ कपडा किनेर पठाइदिएँ।
गाडी चढ्नेबेलामा आमाले गहभरि आँसु पार्दै भन्नुभयो ‘हाम्रो पनि दिन फर्किएछन् नानी!’ भावुकताले बाका आँखा पनि टिलपिलाए।
गाडी अगाडि बढ्यो र मैले फेरि एकपटक बिदाइको हात हल्लाएँ।
बाआमा घर फर्केको केही दिनपछि नै बाल्कन ओभरसिज टाट पल्टियो। त्यसपछि जीवन कल्पना नगरेको मोडमा पुग्यो।
म बेरोजगार, बेसहारा र बेवारिसे भएँ। हरेक दिन विज्ञापन हेर्न थालेँ र ठाउँ-ठाउँमा पुगेर दरखास्तहरू हालेँ।
कतै म प्रारम्भिक छनोटमै परिनँ त कतै अनुभव पुगेन र कतै मेरो सिफारिस गरी दिने कोही भएन। समयले एउटा गज्जबको परिबन्दमा पार्यो।
जागिर पाउनु आकाशको जुनलाई छुनु जत्तिकै हुँदै गयो।
कति बोझिला र लाचार थिए ती अनुभूति! यही बेला नर्स आइन् र मेरो ज्वरो नापिन्।
अझै १०२ नै रहेछ। उनले मलाई एउटा सिटामोल खुवाएर फर्किइन्।
उनी गएपछि फेरि मनमा पुरानै कुरा खेलिरहे। सम्झना आयो, कसरी निर्दोष कौशिलाबाट क्रिष्टिना हुन पुगें!
कसरी मैले मेरो जीवनको स्वाभाविकता गुम्यो र कुन आवेगमा यो मायावी दुनियाँमा होमिन पुगें। के ती सपनाहरू मात्रै थिए ? कि मैले भोगेको यथार्थ नै हुन्? म अचम्ममा पर्छु !
फेरि सोच्छु, त्यो बेला त मसँग मेरो बेरोजगारीको एउटा मात्रै प्रश्न थियो। तर अहिले जीवन प्रश्नै प्रश्नहरूको गुजुल्टो भएको छ। बाआमाको लाचार बुढेसकालको प्रश्न, उनीहरूका वृद्ध रहरहरूको प्रश्न र आफ्नै जीवन र मृत्युको प्रश्न।
अचम्म लाग्छ, किन कहिल्यै छोड्दैनन् मलाई यस्तै अगिन्ती प्रश्नहरूले ?
एक दिन जागिरको खोजीबाट म निराश भएर फर्किएकी थिएँ। कोठाभित्र ज्यादै छटपटी भयो र बाहिर छतमा गए। चकमन्न अँध्यारो थियो। कठ्याङ्ग्रिएको त्यो हिउँदे रातमा केही पिलपिलाउँदा सडक बत्तीहरू अँध्यारोसँग अनवरत संघर्षमा थिए।
तल एउटा बुढो भुस्याहा कुकुर चिसोले गुडुल्किएको थिय।
त्यो आकासतिर मुन्टो फर्काएर एकहोरोसँग रूँदै थियो। निश्पट्ट अन्धकार, हतास मन र कुकुरको कारूणिक रूवाई ! मुटुमा पीडाको आगो दन्कियो। निकैबेरसम्म त्यो कुकुरको नियति सम्झेर भावुक भएर मनमा झन् गहिरो पीडा थपेर कोठामा आएँ।
केहीबेरपछि बाल्कन ओभरसिजमा सँगै काम गरेकी आरती दिदीको फोन आयो, केही औपचारिक कुराकानीपछि उनले सोधिन् ‘के गर्दैछौ कौशिला ? कुनै नयाँ काम पायौ कि पाएनौ ? ’
मैले जवाफ दिएँ ‘कहाँ पाउनु र दिदी! कतै भेटिँदैन। कि आफ्नो मान्छे हुनुपर्ने कि पैसा दिन सक्नु पर्ने कि सँगै सुत्न तयार हुनुपर्ने, हामी केटीहरूलाई त असाध्यै गारो रहेछ दिदी काम पाउन। अब फर्केर जाऊँ भने पनि बा-आमालाई पीर! यतै बसौं भने के गरेर बाँचौं ?आपत पर्यो मलाई त!
‘मेरो त यही घर छ तर म बुझ्छु कौशिल’ लामो सुस्केरामा उनी भन्दै गइन् ‘यो सहर सारै निर्दयी छ बुझ्यौ। यहाँ तिमीजस्ता कति किशोरीहरू पढेर के के गरौंला भनेर आउँछन्। तर बाध्य भएर कति अमर्यादित पेशा पुग्छन् र कतिले हार मानेर आत्महत्या पनि गर्छन्। यस्तै छ हाम्रो नियति! बरू मैले एक जना चिनेको दाइसँग कुरा गरेको छु। उहाँलाई गएर भेट न, कतै काम खोजी दिनुहुन्छ कि !’
दिदीको कुराले मनमा केही उत्साह पलाएर आयो।
रातभरि अनेक तर्कनाहरू चले। भोलिपल्ट उनले भनेको विकास थापाको अफिसमा गएर भेटेँ। उहाँको व्यक्तित्व निकै आकर्षक रहेछ।
मैले नमस्ते गरें, उहाँले बस्न कुर्सीतर्फ इशारा गर्दै सोध्नुभयो ‘तिम्रो नाम कौशिला ?’ मैले हो भन्ने भावले मुन्टो हल्लाएँ।
केहीबेरसम्म हामी मौन रह्यौ र पछि उहाँले भन्नुभयो ‘यस्तै छ हाम्रो समाज! बिनास्वार्थ कसैले केही दिँदैन। मान्छे कसरी बाँच्छ र कुन कष्टले मर्छ? कसैलाई चासो हुन्न कौशिला!’
फेरि केहीबेरको सन्नाटापछि उहाँले भन्दै जानुभयो ‘खाली दर्शन, आदर्श र मर्यादाको माला जपेर बाँच्न सकिँदैन बुझ्यौ, बुद्धि लगाउनु पर्छ। यति सुन्दर रूप र यौवन छ तिम्रो, किन जाबो एउटा जागिरको लागि मरिमेट्छौ तिमी ?’
उहाँको प्रस्तुतिमा यस्तो सम्मोहन थियो कि म उहाँको कुरा सुनेको सुन्यै भएँ।
उहाँले नजिकै बसेकी महिलालाई देखाउँदै भन्नुभयो ‘जाऊ मानिषासँग कुरा गर अनि सबैतिर सोचेर निर्णय गर।’
मनिषाले मलाई अर्को कोठामा लगेर सम्झाउन थालिन् ‘हेर कौशिला समयलाई चिन। यो सुन्दर जवानीको महत्व बुझ। हाम्रा ग्राहकहरूलाई खुसी पार, तिम्रो भाग्य रातारात चम्किने छ।’
उनी भन्दै गइन् ‘अब छनौट तिम्रै हो कौशिला, के रोज्छौ तिमी ? सम्पन्नता र वैभव कि जीवन भरिको यो दरिद्रता ?’
कुरा सुनेर मेरो दिमाग शून्य भयो, म केही नबोली उठेँ।
उनले मलाई रोकेर भनिन् ‘अब तिमी पिलन्धरे कौशिला होइन, आधुनिक क्रिस्टिना बन्नुपर्छ, यसैमा तिम्रो र परिवारको पनि खुसी छ, राम्रोसँग सोचेर खबर गर।’
चरम मानसिक अन्तरद्वन्द्व लिएर कोठामा फर्किएँ।
केहीबेर सुस्ताएपछि झ्यालबाट बाहिरतिर हेरें। घाम डुब्दै गयो र बिस्तारै प्रकृतिको सुन्दर चेहरा धमिलो हुँदै गयो।
बासको झ्याङमा कानै फुट्ने गरी सारिउ कराए। त्यो कर्कस आवाजसँगै मेरो मानसिक अन्तर द्वन्द्व झन् बढ्दै गयो। बाआमा र भाइका लाचार चेहराहरू आँखा अगाडि आइ नै रहे। रात झन्-झन् गहिरिँदै गयो र त्यही अँध्यारोमा समयको एउटा लाचार छाया लमतन्न भएर मेरोसामु तेर्सियो। त्यसैमा एउटी सुकोमल र अक्षत कौशिला हराई। ममा एउटा उत्तर आधुनिक क्रिस्टिनाको जन्म भयो।
***
केहीबेरपछि डाक्टर आएर मलाई जाँच गरे पछि भने ‘तपाईंलाई अझै थप जाँच गर्नुपर्ने भयो।’ मैले चुपचाप सुनिरहेँ।
नर्सले मेरो छातीको एक्सरे गरिन्। रगत पनि निकालिन्। म टोलाउँदै थिएँ, त्यहीबेला बिरामी वार्डमा रूवाबासीको आवाज सुनेँ।
यताउति हेरेँ, अस्ति भर्खर अस्पताल आएकी केटीको मृत्यु भएछ।
मैले आफ्नै मृत्युको भयावहतालाई आँखैसामु अनुभूत गरेँ।
त्यसपछि सितांग हुँदै सोचें ‘कतै म पनि यसैगरी मरें भने... ।’
निरीह भएर बेडमा पसारिएँ।
फेरि चुपचाप क्रिस्टिनाको रूपमा मैले हिँडेका पुराना बाटोका पदचापहरूमा फिजारिँदै गएँ।
मैले बाध्यताले आफूलाई नियतिको हवाला गरेको दिनको सम्झनाले मुटु दुख्यो।
बिस्तारै नेताहरू, व्यापारीहरू, उद्योगपतिहरू अनि उच्च पदस्थ कर्मचारीहरूमाझ प्रिय हुँदै गएको कुरा पनि मनमा आए।
उनीहरूसँगै स्वदेश र विदेशका ठूला ठूला होटलमा रात बिताएको कुरा पनि सम्झें। सामाजिक मर्यादाको आवरणका अनगिन्ती पर-स्त्रीलम्पटहरूको सक्कली अनुहारहरू देखेँ।
नयाँ-नयाँ केटीहरूको अंगालोमा मस्त रहने तथाकथित सम्मानित व्यक्तिहरूलाई भोगें। सुरा-सुन्दरीमा लाखौं-लाख उडाउने कयौं व्यभिचारी पुरूषहरूको सामना गरें।
यौन पार्टनर बदल्दै हिँड्ने यही समाजका आधुनिक सति-सावित्रीहरूलाई पनि भेटेँ। भोग विलास र यौनिकतामा डुब्दै गएको यो समाजको विकृत चेहराले धेरै पटक विस्मित बनायो।
म पढाइ छोडेर भि.आई. पि.यौनकर्मी हुन पुगें। सुरूमा यो बाध्यता थियो, पछि यही दलदलमा भासिएँ। छोटो समयमै मेरो हैसियत अकाशियो। बाआमाको लागि पनि गाउँमा सहयोगी राखिदिएँ। भाइलाई पनि भनसुन गरेर अमेरिका पठाइदिएँ। कतिलाई जागिर खुवाए, कतिलाई ठेक्का दिलाएँ र कतिको ऋण पास गराएँ।
देशको जुनसुकै क्षेत्रबाट जत्रोसुकै काम पनि पट्याउन सक्ने भएँ।
यो देशका संभ्रान्त यौन पिपासुहरू मेरो वैंशका लागि गिडगिडाउँथे, म तिनको चरम आशक्तिमा पटक-पटक अट्टहाँस लगाउँथे।
घरिघरि म यो देश कसरी चल्दो रहेछ भन्ने सोचेर रनभुल्ल पर्थेँ।
स्वच्छता, पारदर्शिता र निश्पक्षताको जगमा आफ्नो सुन्दर भविष्य खोजिरहेका अनगिन्ती होनहार किशोरकिशोरीहरूको सपनाहरूको मलाई माया लागेर आउथ्यो। कहिलेकाहीँ एक्लै हुन्थेँ, उदासीले नराम्रोसँग छोप्थ्यो, बाआमालाई छलेर बाँचिरहको जिन्दगी सम्झेर पीडा हुन्थ्यो र रक्सीको सहारामा लिन्थेँ।
कहिलेकाहीँ मदिरामै रात बितेको पनि पत्तो हुँदैनथ्यो।
यसरी नै समय बित्दै गयो, बिस्तारै मलाई आफ्नो अस्वाभाविक जीवनशैली धान्न गाह्रो हुँदै गयो। एक दुई वटा म्युजिक भिडिओमा देखा परेँ, केही फिल्ममा पनि काम गरेँ। अनि अरू पनि विभिन्न आवरणमा म करिब पाँच वर्षभन्दा बढी यसरी नै हिँडेँ। तर केही दिनदेखि मलाई उच्च ज्वरो आउन थाल्यो। सुख्खा खोकी लाग्न थाल्यो। खाना पनि पटक्कै रुच्न छोड्यो। बेडबाट उठ्नै नसक्ने भएँ र आफैं एम्बुलेन्स बोलाएर अस्पताल आएँ। आज पाँच दिनदेखि अस्पतालमा छु।
मनमा निरन्तर छटपटी भएर सास फेर्ने पनि गारो हुँदै गयो। नर्सले अक्सिजन लगाइ दिइन्।
केही औषधि पनि खुवाइन्। बेडमा पल्टिरहेको थिएँ।
आफ्नै टोलकी शर्मिलालाई देखें र मेरो बेडनजिकै कुर्सीमा बस्दै उनले भनिन् ‘तपाईंको धेरै याद आएर फ्ल्याटमा गको थिएँ, बिरामी भएको थाहा पाएँ र सोधपुछ गर्दै यहाँ भेट्न आ’को दिदी।’
मैले बिस्तारै भनें ‘हेर न, अचानक केही दिनदेखि सन्चो भएन!’
उनले कृतज्ञ भावमा बिस्तारै भनिन् ‘दिदीको कत्रो गुन छ मलाई। बेलामा म बेसाहरा र बेखर्ची भएको बेलामा दिदीले कम्प्युटर एसिस्टेन्टको जागिर दिलाई दिनुभयो। नत्र भने त मेरो हविगत के हुन्थ्यो होला दिदी !?’
मैले शान्त भावमा उनलाई भनें “तिमीले त बेलैमा मेरो सहयोग पायौं। मलाई सहयोग गर्ने त कोही पनि भएनन् शर्मिला! सारै दु:ख लाग्छ! अझै पनि निर्दोष चेलीहरूको विवशता देखेर !”
गम्भीर हुँदै उनले भनिन् ‘हो दिदी ! हामीसँगै पढ्ने पनि कति जना यौन कर्ममा पुगे, कतिले बार डान्सर भए ,कति खाडीमा पुगेर यौन उत्पीडन भोगिरहेछन्। कहाली लाग्छ दिदी सम्झिँदा पनि! सबैको भाग्य एकै नहुँदो रहेछ।’
उनको कुराले मलाई झन् भावुक बनायो र मैले भनें “सबैको भाग्य किन उस्तै हुन्थ्यो र शर्मिला !..” आफ्नै भाग्य सम्झेर आँखा रसाए, सुटुक्क आँसु पुछें।
केहीबेर बसेर उनी फर्किइन्। गोमन सर्पले झैं डस्ने थुप्रै विकास र मानिषाहरूप्रति खपिनसक्नु आक्रोश जाग्यो। तर के गर्नु ! रोगले हलचलै गर्न नसक्ने थिएँ।
फेरि निरीह भएर बेडमै पल्टिएँ। अस्पतालमा दिनहरू यसरी नै बित्दै गए ।
धेरै दिनपछि आरती दिदी मलाई भेट्न आउनु भएको रहेछ। नजिकै आएर बस्नु भयो र भन्नुभयो “ओ हो! कति दुब्लाई छेउ तिमी त?”
म चुपचाप रहें, केहीबेरको सन्नाटापछि उहाँले फेरि भन्नु भयो “तिम्रो दोषी मै हुँ बैनी! त्यो वेश्यावृत्ति गराएर कमिसन खाने विकाससँग मैले नै तिमीलाई भेटाएको थिएँ। त्यसको बारेमा पत्रिकामा पढें र ठूलो ग्लानी भयो। तिमीलाई खोज्दै यहाँसम्म आइपुगेँ।”
मेरो आँखा रसाए, तै पनि मैले शान्त भएर भनेँ “दोष कसैको पनि होइन, मेरै भाग्यको हो दिदी। पारिजात भएर फुलेपछि आधा रातमै झर्नु पर्दा के दु:ख मान्नु र दिदी !
दिदीका आँखा पनि टिलपिलाए।
म बोल्दै गएँ “म त धैरै थाकेँ दिदी! कहिले कोसँग, कहिले कोसँग हिँडेको हिँड्यै भएँ! खुरूक्क गाउँ फर्केर बाआमासँग बसेको भए यो हविगत त हुँदैनथ्यो ...!’
भावविह्वल भएर दिदीले मलाई हेरिरहिन्।
मैले आँसु पुछ्दै भनेँ “खोई दिदी ! आज भोलि त बेवारिसे नै मर्छु कि जस्तो लाग्छ त!”
दिदी निकै बेर नि:शब्द रहिन् र पछि बिस्तारै सान्त्वना दिँदै धेरै बेरसम्म मैसँग बसिन्।
दिदी गएपछि फेरि मनमा भावनाको द्वन्द्व चल्यो। अचानक विक्षिप्तताले छोप्यो र चिच्याएँ। दौडिएँ र तीन-चार जना सेता कोट धारीहरू आए र मलाई फेरि इन्जेक्सन दिएर सुताए।
भोलिपल्ट बिहान आँखा खोलेँ, शरीर उस्तै शिथिल थियो।
केही बेरपछि डाक्टरले आएर भन्नुभयो।
“ल अब चिन्ता नलिनोस् तपाईंको डाइग्नोसिस भयो,” डाक्टरको कुराले ममा उत्सुकता जाग्यो र सोधेँ “के भएको रहेछ डाक्टर साब ?” उहाँले मलाई हेर्दै भन्नु भयो “एच.आई.भी एड्स र केही डिप्रेसनको पनि लक्षण पनि छ तर चिन्ता मान्नु पर्दैन। अहिले यी दुवै रोगहरूको राम्रो उपचार हुन्छ ।”
त्यो सुनेर मलाई करेन्ट लागेजस्तै भयो।
म नि:शब्द भए र बेडमा लडे ।
लगत्तै आमाको फोन आयो। आमाले भन्नुभयो ‘नानी के भयो तँलाई? फोन पनि लाग्दैन। सन्चै त छेस्,? आ.. धेरै मरि नमेट् नानी! बिदा लिएर आइज। तेरा साथी संगीहरू सबै बालबच्चा बोकेर आउँछन्..तँलाई चाहिँ बिहे गर्ने पनि फुर्सद छैन ! हामी डाँडामाथिका जुन ! के भर छ र हाम्रो ... एउटी छोरीको कन्यादान पनि नगरी मरे त अगति परिन्छ बाबै !’ आमाको कुरा सुन्दा-सुन्दै हातबाट मोबाइल भुइँमा खस्यो।
मन मनै सोचे ‘अब त मलाई कसले बिहे गर्ला र ? कन्यादान गर्न पाउनु होला आमा !’ मुटु चुडिएलाजस्तै भयो। र फेरि डाक्टरले भनेका शब्दहरू ‘एच.आई भी एड्स र केही डिप्रेसनका लक्षण पनि ...” हथौडाजस्तै गरी वर्षिरहे।
आँखाबाट आँसु बगेको पत्तै भएन, शरीर शिथिल हुँदै गयो,आँखा अगाडि अँध्यारो छायो र बिस्तारै म चेतना शून्य भएँ।
त्यहीबेला कसैले बोलाएको मधुरो आवाज सुने ‘कौशिला, ए कौशिला ... मलाई राम्ररी हेर त ... म मनोज ..तिम्रो केटाकेटीको साथी.... म डाक्टर मनोज।’
मैले बिस्तारै नजर उठाएर हेरेँ, मेरो अगाडि मेरो प्रिय बालसखा मनोज उभिरहेको थियो, जोसँग म काठमाडौं आउँदा लाकुरी भन्ज्याङ्गमा छुट्टिएकी थिएँ।