समय सृष्टिको आधार हो। समय अनित्य जीवनको यात्रा र गन्तव्य पनि हो। समय नै रंग हो र समय नै आकृति पनि हो। जीवनहरू त केवल समयको समग्र प्रतिबिम्बहरू मात्र हुन्। हाँसो, आँसु, चित्कार र फेरि खुसी मान्छेका अनुभूतिमा कोरिने यी संवेदनाका चक्रहरू सबै समयकै बिम्ब हुन्, जसलाई नियतिको रूपमा मान्छेले नि:शर्त आत्मसात गर्नुको कुनै विकल्प हुँदैन।
कुपोषणले सुकेजस्तो अनुहार, बाँसका जराहरूजस्ता केश र सुकेर जीर्ण भएको शरीरकी एक अधबैंसे महिलालाई आज सहरको व्यस्त चोकमा देखें।
उनी हातमा ढुङ्गा बोकेर, रौद्ररूपमा उफ्रँदै र कराउँदै हिँडिरहेकी थिइन्।
एकछिन रोकिएर हेरें, उनलाई बालकहरूले ढुंगाले हान्दै लखेटी रहेका थिए, भुस्याहा कुकुरहरू झम्टी-झम्टी टोक्न खोजिरहेका थिए, तर उनी भने ती सबै कुरासँग नितान्त बेखबर हुँदै अगाडि बढिरहेकी थिइन्।
जति-जति उनी मेरो नजिक आउँदै थिइन्, उति-उति मेरो स्मृतिपटल धर्मराउँदै थियो। उनी करिब २०, ३० मिटरको दूरीमा आइपुगेपछि मैले उनलाई चिनेँ र अनायस एउटा पीडाको लहर अन्तस्करणमा पैदा भयो ।
त्यो अप्रत्यासित जम्काभेटमा मैले किन्चित आफ्नो संयम गुमाए र केही असहजताका साथ उनलाई बोलाएँ ‘मानुषी..ए मानुषी ..मानुषी’ उनले फरक्क फर्किएर मलाई हेरिन्, झन् उच्च आवाजमा कराउन थालिन् ‘माधव !.. खोई माधब ? ...खोई खोई माधव ?’
उनको त्यो चिच्याहट सुनेर एकै छिनमा त्यहाँ ठूलै भिड जम्मा भयो। त्यही भिडबाट एक जना प्रहरी र ‘मानव सेवा आश्रम काठमाडौं’ लेखिएको भेस्ट लगाएका केही महिला अगाडि आए र उनीहरूले ‘ओहो यिनी त यहाँ पो आई पुगिछन् !’ भन्दै मानुषीलाई गाडीमा हालेर लिएर गए। म दोधारे मनस्थितिमा किंकर्तव्यमुढ भएर सबै कुरा हेरिरहें।
घर आएको धेरै बेरसम्म पनि मन ज्यादै अस्थिर थियो । केही समय आराम गरेपछि कोठाबाट बाहिर आएँ। डुब्नै लागेको घामसँगै बिस्तारै पहेलिँदै गरेको आकाशतिर हेरें। पूरै क्षितिज ढाकेर काला, खैरा र सेता अनगिन्ती बादलका टुक्राहरू बेढंगले भौंतारिरहेका थिए।
मैले सोचें, कति यस्तै बादलका टुक्राहरू धर्तीमा झरेर शून्यमा बिलाइसकेका होलान्, कति झर्दैछन् र कति झर्दै जानेछन्। मेरो भावुकताले मलाई झक्झक्यायो कि कतै कुनै साइनो त छैन ती बादलका टुक्राहरूको हाम्रो जीवनसँग पनि!
म लगत्तै फेरि मेरो अतितमा पुगेँ। त्यतै कतै बिलाइसकेका केही पदचापहरू फेरि मेरो स्मृतिपटलमा प्रकट भए र म निकैबेर तिनै पदचापमा अहिलेसम्म बाँचेका जीवन खोजिरहें। मेरो, मानुषी र माधव र अनगिन्ती हामीहरू जस्तैको जीवन ! तर अमूर्त जिज्ञासाको कुनै वस्तुगत उत्तर कहाँ भेटिन्थ्यो र ?
मानुषीको चिन्ताले धैर्यताको सीमा नाघ्न खोजिरहेको थियो। त्यसैले घरमा आउनासाथ तुरुन्तै मानव सेवा आश्रममा टेलिफोन गरें र मानुषीको बारेमा सोधें।
उताबाट फोन उठाउने महिलाले भन्नुभयो, ‘विगत केही वर्षदेखि मानुषी यही छन्, उनी कहिले रुन्छिन्, कहिले गाउँछिन्, कहिले आक्रोसित हुन्छिन्। धेरै जस्तो माधव! माधव ! भनेर चिच्याउँछिन् टेलिफोनमा जति कुरा सुन्दै गए त्यति नै निराशा पनि बढ्दै गयो तर जिज्ञासा भने मेटिएन र फेरि सोधें, ‘उनी कसरी त्यहाँ आइपुगिन् त?’
उताबाट भन्नुभयो, ‘उनलाई कुनै एउटा कल्याणकारी संस्थाले यहाँ ल्याइदिएको थियो। त्यसपछि आजसम्म न कसैले उनको खोजी गरेको छ। न कोही भेट्न नै आउँछ। मानसिक आघातको कारण थाहा नभएसम्म उपचार पनि राम्रो हुन सक्दो रहेन छ। बरु तपाईंलाई केही थाहा भए बताइदिनुहुन्थ्यो कि ?’
टेलिफोनमा कुरा गर्दागर्दै मन ज्यादै भारी भएर आयो र टेलिफोन राखिदिएँ।
वास्तवमा माधवको सहादतसँगै मानुषीका आशाका सम्पूर्ण बाटा बन्द भएका थिए र जीवनका सम्पूर्ण मोड टुङ्गिएका थिए। उनी एक किसिमले परित्यक्तजस्तै भएकी थिइन्। उनको त्यो कारुणिक अवस्थाले विक्षिप्त थिएँ।
मानुषीलाई भेटेदेखि नै मन ज्यादै अशान्त थियो। म विभाजित मस्तिष्कले कहिले माधव र कहिले मानुषीको दृष्टिकोणबाट उनीहरूको प्रेममा गहिरिन्थें। किन भावुकताको गणितमा अक्सर दुःख, पीडा, शोक र आँसुको मात्रै धेरै समिकरणहरू हुने गर्दछन् ? के मानुषी आफ्नो वियोगान्त प्रेमको त्यो भावुकताबाट उम्केर वास्तविकतामा सामान्य ढंगले जिन्दगीलाई गति दिन सक्दैन थिइन् ? मलाई आजभोलि यस्ता कयौं प्रश्नहरूले विचलित बनाइरहन्थे।
घरिघरि मेरो कानमा माधवका ती मर्मस्पर्शी शब्द पनि गुन्जिन्थे। ऊ भन्ने गर्थ्यो कि ‘मानुषीभन्दा अर्को मेरो कुनै खुसी छैन, ऊ नै हो मेरो फैलने क्षितिज र पुग्ने गन्तव्य !’ अक्सर मेरो मानसपटलमा मानुषी र माधवका अनगिन्ती स्मृतिहरू छताछुल्ल हुन्थे। सारै दुःख लाग्थ्यो, माधवको अवसानसँगै वेवारिस भएका आफ्नै प्रेमिल सपनाहरूले मानुषीलाई छतविक्षत पारेको देख्दा !
शान्ति केही दिनदेखि माइत गएकी थिइन्, घरमा म धेरै जसो एक्लै हुन्थें। मेरो त्यो एक्लोपनमा अतितका कयौं स्मृतिहरूमा छताछुल्ल भएर पोखिन्थे। माधव, मानुषी, शान्ति र मेरा चुलबुले बाल्यकालदेखि स्कुल कलेजसम्मका अनगिन्ती सम्झनाहरू असरल्ल परेर फिजारिन्थे।
माधवको दु:खद् अवसान र मानुषीको कारुणिक वर्तमानले मलाई सारै मर्माहत पार्थे। यस्तै, मानसिक अस्थिरताले कोठाभित्र पनि निसास्सिए जस्तो लाग्यो र छतबाट बाहिरतिर हेरें।
चारैतिर निष्पट अँध्यारो छ र यसो आँखा घुमाएँ, घर अगाडिको बुढो नास्पातीको रुख आफ्ना नाङ्गा हाँगाहरू फिजाउँदै वर्षौंदेखि अहिलेसम्म पनि आफ्नै विरहमा त्यसरी मौन थियो !
भोलिपल्ट शान्ति माइतीबाट फर्किइन् र हामी दुबै जना मानुषीलाई भेट्न गयौं। उनलाई एउटा कोठामा बाहिर पट्टिबाट ताल्चा लगाएर राखिएको रहेछ।
प्रिय सखीको त्यो हालत देखेर शान्ति विचलित भइन्। यता मेरो पनि अवस्था त्यस्तै थियो। तै पनि मैले मानुषीलाई बोलाएँ, तर उनले कुनै वास्ता गरिनन्। त्यसपछि शान्तिले पनि स्कुल कलेजका केही प्रसंग झिकिन्, त्यसले पनि उनमा कुनै असर परेन। अन्त्यमा, हामीले साथै लगेको फलफूलको झोला देखायौं, उनले झम्टेर खोसिन् र भित्तापट्टि फर्केर खान थालिन्। उनको त्यो अकल्पनीय अवस्था देखेर हामी दुबै जना ज्यादै दुःखी भयौं।
उदास मन लिएर अफिसमा गयौं र उनको बारेमा थाहा पाए जति कुराहरू बताएर भारी मनका साथ घर फर्कियौं।
यसैबीच जीवनको उत्तरार्धमा जवान छोरा र ज्वाइँलाई युद्धमा गुमाएर उजाड र लाचार बुढेसकाल झेलिरहेकी मानुषीको आमालाई सम्झिए। मानुषीको बारेमा केही कुरा भन्न पाए, थोरै भए पनि आमालाई खुसी मिल्थ्यो कि! भन्ने लाग्यो र केही दिनपछि नै शान्ति र म गाउँमा गएर आमालाई भेट्यौं। उमेरले मात्र होइन रोग र शोकले पनि आमा निकै गलिसक्नु भएको रहेछ।
हामीलाई देख्नासाथ उहाँका गह भरिँदै आयो र आँखा टिलपिल पार्दै भन्नुभयो,‘ओहो तिमीहरू आका ...’ आमाको नजिकै बस्दै मैले भनें, ‘हो आमा ! हामीले मानुषीलाई भेटेर आको ..’ मेरो कुरा सुनेर आमाले आश्चर्य भावमा सोध्नुभयो, ‘होर ! जिउँदै छे र मानुषी ! अनि किन सँगै लिएर नआएका त...!’
‘उसलाई अलि सन्चो छैन आमा, अलि पछि ल्याउँछौं हामी’ कुराकानी हुँदै गर्दा करिब ३५, ३६ वर्षकी मानुषीकी भाउजु विधवा पहिरनमा पानी लिएर आउनुभयो।
उहाँको त्यो व्यथित अनुहार, विधवाको पहिरन र टिलपिलाएका आँखाहरू देखेर हामीलाई पनि असीम पीडा भयो। यसैबीच आमाले भन्नुभयो, ‘के गर्नु यो अभागी खप्पर ! जवान छोरा र ज्वाइँ लडाइँमा मरे।
यो बुहारी त घर मै थिई र अनेक गरेर सम्झाए। जायजन्म भएको छैन, मेरा शेषपछि यसको के होला ? भन्ने चिन्ता लाग्छ’ भाव विह्वल आमाको असीम वेदनामा हामी पनि डुब्दै गयौं।
आमा अझै भन्दै जानुभयो, ‘मानुषीको पनि कस्तो अभाग ! बिहेको १५ दिनमै ज्वाइँ लडाइँमा मरे’ गला अवरुद्ध भयो र पनि बिस्तारै भन्दै जानुभयो, ‘ज्वाइँकै शोकले बिचरी बौलाएर घर छोडेर भागिछ ! उमेर भएका सबै लडाइँमा मरिहाले। अब कसले खोज्थ्यो उसलाई। मैले त मरिसकी होली भन्ठानेको थिएँ !’ युद्धमा जलेकी एउटी विवश आमाको कारुणिक पीडा पोखिँदै गयो र हामी पनि त्यही वेदनामा आहत भयौं र ती युद्धका अवशेषहरू सँगै हामी पनि चोइटिँदै गयौं।
आमाले फेरि भन्नुभयो, ‘७५ की लागें। दमले घरिघरि सासै रोकिएलाजस्तो हुन्छ। जिउँदै रहिछे। मुखसम्म हेरेर मर्ने पाए पनि हुन्थ्यो !’
हिँड्ने बेलामा मैले भनें, ‘आमा चिन्ता नगर्नुस्, मानुषीलाई ठिक भएपछि सँगै लिएर आउँछौं’ अत्यन्त विस्मित भावमा उहाँले भन्नुभयो, ‘खोई बाबु’ उहाँका शब्दहरूमा आश्वसतताको किरणले आलोकित विश्वास देखिएन। ती वृद्धा आँखाहरूबाट निरन्तर वेदनाका आँसुहरू बगिरहे।
भोलिपल्ट बिहान शान्तिले भनिन्, ‘हिजो रातभरि पटक्कै निन्द्रा परेन। मानुषीको आमासँगको भेट र स्कुल कलेजमा माधव र मानुषीहरूसँग बिताएका दिनहरूको सम्झनाले रातभरि नै छटपटी भइरह्यो।’
चिया पिउँदै मैले भनें, ‘म पनि त कहाँ निदाउन सके र ? माधवको मृत्युका विभत्स दृष्यहरू आँखा अगाडि घुमिरहे। मलाई पनि सारै बेचैनी भयो’ उनले फेरि कुरा थपिन्,‘ माधवको नाम लेख्न मानुषीले ब्लेडले हात चिर्दा अस्पताल लानु परेको कुरा सम्झेर झन् खपिसक्नु भएन। मैले लामो सुस्केरा लिँदै भनें, ‘विचरी मानुषी! चारपल पनि दाम्पत्य जीवनको माधुर्य अनुभूति नगर्दै बर्बाद भई।’ त्यसपछि म एक विक्षिप्त जोश संगालेर कार्यालयतिर गएँ।
जवान छोराहरूलाई युद्धमा गुमाएपछिको धर्मराएको बुढेसकालमा मानुषीको आमाको जस्तै लाचार र स्वप्नहीन जिन्दगी बाँचिरहेका माधवको बुवालाई सम्झियौं र केही दिनपछि नै म र शान्ति उहाँलाई भेटन गयौं। गाउँ पुग्नासाथै मेरा पूर्वस्मृतिहरू असरल्ल भए।
माधव, मानुषी, शान्ति र म, हामी सँगसँगै हुर्किएको त्यस स्थानमा बिताएका चुलबुले बाल्यकाल र किशोरावस्थाका सुमधुर क्षणमा एकछिन चुर्लुम्म डुब्यौं।
काफल, चुत्रो र ऐँसेलु खाँदै लडीबुडी गरेर हुर्किएको त्यो सुन्दर डाँडो, पौडी खेल्ने त्यो खोलाको मधुर जलतरङ्ग, पिङ्ग खेल्ने त्यो ठूलो चौर सबै प्लटिङ सिध्याइसकेको रहेछ र त्यो देखेर निकै दुःखी भयौं।
हामी माधवको घरतिर जाँदै थियौं, बुवालाई मानेडाँडाको चौतारीमा लौरो काँधमा राखेर चुरोट पिउँदै गरेको देख्यौं। उहाँ पनि अत्यन्त जीर्ण भइसक्नु भएको रहेछ। मैले अगाडि गएर शिर झुकाएँ, उहाँले टाउकोमा हात राखिदिनु भयो।
‘को ? सुरज होइन ?’ हामी नजिकै गएर बस्यौं। अनि मैले भनें, ‘हो साइलो बा, म सुरज।’ ती वृद्ध आँखा टिलपिलाउँदै गए र उहाँले काँपेका आवाजमा भन्नुभयो, ‘तिमीहरू सधैं सँगै हुन्थ्यौं तर अब कहिल्यै नभेटिने भयौ। के गर्नु दैवको लिला’ उहाँ असीम वेदनाले मर्माहत हुँदै चुरोटको लामो सर्को तानेर खोक्न थाल्नुभयो।
‘के गर्नु साइला बा म पनि घाइते भएको थिएँ, छिट्टै भेट्न आउन सकिन’ उहाँले लामो सुस्केरा लिनुभयो र फेरि पोखिँदै जानुभयो।
‘माधव १२ वर्षको थियो, त्यसकी आमा मरी। ऊ त्यही परको चिहानमा आफ्नै हातले जलाएँ। माधव र सहदेवको त लाससम्म पनि देख्न पाइएन ! दुवै जना यही बाटो हाँस्दैहाँस्दै कमाउन हिँडेका, उतै लडाइँमा मरे। मानुषी पनि बौलाएर हिँडेकी अत्तोपत्तो छैन ! मर्ने बेलामा सबैले छोडेर गएँ।’
बोल्दा बोल्दै उहाँको आवाज अवरूद्ध भयो र मुजा मुजा परेका गालाबाट आँसु बगिरहे।
‘हामी छौं नि साइला बा हजुरको। धेरै चिन्ता गर्नुहुन्न, आफू पनि कमजोर हुनुहुन्छ !’ लामो सुस्केरा लिएर उहाँ आफ्नै सुरमा बोल्दै जानुभयो, ‘अझै पनि माधेकी आमा त्यतैतिर घाँस काट्दै पो छे कि! जस्तो लाग्छ। छोराहरू पनि यही बाटो फर्केलान् कि जस्तो लाग्छ। दिनभरि यही डाँडोमा तिनीहरूकै झझल्कोमा डुब्छु र साँझ परेपछि घर फर्किन्छु।
घरमा एउटी विधुवा बुहारी छ, त्यसैको ज्यालाबनीको कमाइले टुहुरा नाति नातिनाहरू समेत पालिएका छौं ! के गर्नु बाबु मर्न भन्दा बाँच्न निकै गाह्रो रहेछ!’ साइला बाको कारुणिक व्यथा सुनेर हामी स्तब्ध भयौं र उहाँलाई सम्झाउने शब्दहरू भेटिएनन्। त्यसपछि उहाँमा श्रद्धा र सहानुभूतिका केही शब्द बिसाएर फर्कियौं।
साइला बासँगको भेटपछि पुनः एक पटक जीवनलाई फर्केर हेरें।
कता कता जीवन शिशिर ऋतुले गाएको उदास गीत जस्तो लाग्यो। फेरि सोचें हुन त सबै जीवनहरूको अन्त्य मृत्यु नै हो। तर किन केही मृत्युहरूले सदाको लागि अत्यन्त जटिल प्रश्नहरू पनि छोडेर जान्छन् !
आखिर किन ? केका लागि ? कसकाविरूद्ध ? थिए ती बलिदानहरू ! युगको छातीमा लेखिएका यी यक्ष प्रश्नहरूका उत्तरहरू कहीँ भेटिँदैनन् र शायद अब भेटिने पनि छैन। कयौं जवान नारीहरूको पखालिएका सिउँदो, कयौं निर्दोष कोपिलाका असीमित रहर र कयौंका बुढेसकालका सहारा गुमाएर हामीले पाएको यो जर्जर वर्तमान देखेर निकै आहत हुन्छु अचेल !
अक्सर म सम्झने गर्छु। केही वर्ष अघिको कहालीलाग्दो रातको त्यो विभत्स युद्ध जसमा कयौं जीवनहरू उत्सर्गित भएका थिए। कसरी बिर्सन सकिन्थ्यो र ?
अनगिन्ती जीवनहरूको बत्ती सदाको लागि निभेको त्यो रात ! रगतको आहलमा करुणा डुबेर मरेको त्यो रात। गोला बारुदको गर्जन र घाइतेहरूको चित्कारबीच मानवता लज्जित भएको त्यो रात।
अनि छटपटाउँदा छटपटाउँदै माधवलगायत कयौ सौर्यवान योद्धाहरूले वीरगतिका साथ जीवनको अन्तिम सत्य अंगालेको त्यो रात। त्यो अत्यन्त निर्मम, क्रूर र विभत्स रात ! जसले कयौं सपनाहरूलाई पलाउनै नसक्ने गरी निमोठिदियो।
यसै बीचमा समयले हाम्रो जीवनमा अर्को दुःख थपिदियो, मानुषी साँझ करिब ८ बजे तिर आश्रममा बेहोस भइछन्। उनलाई आश्रमले हृदय रोग केन्द्रमा भर्ना गरिएको जानकारी दियो। घरनजिकै भएकोले तत्काल राति नै दौडेर अस्पताल पुगें। आइसियूमा राखेर उनको उपचार हुँदै रहेछ, तर उनी अचेत नै रहिछन्। मलाई डाक्टरले भन्नु भयो, ‘हामी आशावादी हुन सकेनौं। आज बेलुकीसम्म जे पनि हुनसक्छ।’
त्यसपछि लाग्यो कि अब मानुषी जीवनको करिब करिब अन्तिम सास लिँदैछिन् र मृत्यु उनको एकदम सामुन्ने आइसकेको छ । मन सारै व्यथित भयो।
एक त मानुषी अचेत थिइन्, त्यसमाथि पनि आइसियूमा जुनबेला पायो त्यही बेला भेट्न पनि नपाइने। मैले राति त्यहाँ बसिरहनुको कुनै औचित्य देखिनँ। त्यसैले अस्पतालबाट बाहिर निस्केर घर जाने गल्लीतिर लागें। रातको समय जताततै चकमन्न छ, फाट्टफुट्ट पिलपिलाउँदा सडक बत्तीहरू बलेका छन्।
बादलले आकाश डम्म ढाकेको छ। हावा जोडले चलेको छ। बाटामा ठाँउ ठाँउमा भुस्याहा कुकुरहरू चिसोले कुइँकुइँ गरी गुँडुल्किएका छन्, यस्तो लाग्छ कि आज प्रकृतिको उदास चेहरा मेरो सामुन्ने छ !
घर पुग्दा पनि मानुषीका चिन्ताले झन व्यग्र बनायो।
‘जिउँदै रहिछे, एकपटक मुखसम्म हेरेर मर्ने पाए हुन्थ्यो’ भन्ने मानुषीका आमाका ती शब्द कानै फुटाउँलान् झैं गरी बजे जस्तो लाग्यो। जीवनको अन्तिम संघारमा रहेको ती वृद्धा आमाले छोरीको अन्तिम अवस्थामा मुखसम्म पनि देख्न पाइनन् भने ....भन्ने कल्पनाले बेचैन हुँदै घर पुगें।
बिछ्यौनामा पल्टिएँ, निन्द्रा लाग्ने त कुरै थिएन, मानसिक अन्तरद्वन्द्वमै रात छर्लंङ्ग भयो।
भोलिपल्ट पुनः हामी अस्पताल पुग्यौं। बेहोस मानषीलाई देखेर शान्ति विचलित भइन् र नजिकै रहेको बेन्चमा थचक्क बसेर टाउको समाउन थालिन्। मैले पठाएको निजी गाडीबाट मानुषीको आमा साँझ ५ बजेतिर अस्पताल आइपुग्नुभयो।
अचेत अवस्थाकी छोरीलाई हेरेर बिलौना गर्न थाल्नु भयो, ‘कस्तो भाग्य रहेछ बाबा तिम्रो ! बाचुन्जेल न एक पल खुसी र न एक मुठ्ठी माया ! केही पाइनौ तिमीले !’ आमा मुर्छा पर्नु होला जस्तो भयो, हामीले ज्यादै मुश्किलले उहाँलाई सम्हाल्यौं।
त्यसपछि मैले शान्ति र आमालाई घर पठाइदिएँ। सायद मानुषी मातृवात्सल्यको अन्तिम स्पर्श पर्खिरहेकी थिइन्! त्यसैले उहाँहरू घर हिँडनु भएको एकैछिनपछि उनको ढुकढुकी पनि सदाको लागि बन्द भयो! मानुषीले महाप्रस्थान गरिन् !
आज उनी शान्त भएर चीरनिन्द्रामा छिन्। त्यहाँ उनलाई पागल बनाउने माधवका याद छैनन्। सधैं जिस्क्याइ रहने बच्चाहरू छैनन्, लखेटिरहने भुस्याहा कुकुरहरू पनि छैनन् र थुन्ने कुनै पर्खाल पनि छैन। सारा दुःख, पीडा र वेदनाबाट आज उनी मुक्त भएकी छन् र त्यो अनित्य देह छोडेर ब्रम्हलीन भएकी छन्।
पूर्णिमाको रात भएर पनि आकाशलाई बादलले डम्म ढाकेको थियो। कहीँकहीँ फाटेका बादलका छिद्रहरूबाट पिलपिलाउँदा ताराहरू मात्र देखिन्थे। मलाई लाग्यो कि ती तारा होइनन्, ती शायद माधव, सहदेव र जीवन उत्सर्ग गरेका तमाम वीरयोद्धाहरूका बिम्ब हुन्, जो ज्युँदै मरिरहेका आफ्ना कयौं विधवाहरू, निर्दोष कोपिलाहरू, घाइते सहकर्मीहरुू र अशक्त बाबु आमाहरूको लाचार मनको पीडामा भावुक बनेर पिलपिलाई रहेका थिए।
हामी मानुषीको अन्तिम संस्कारमा थियौं। उनको देह चितामा थियो र फेरि एकपटक सबै सन्तान गुमाइसकेकी लाचार आमा अर्को एउटा अग्नि परीक्षामा थिइन्।
उनको मातृत्व कंकलाशव्दले रोएको थियो तर उनी संवेदनाहीन थिइन्। उनी चिता नजिकै गइन्, मृत छोरीको अनुहार हेरिन, दुबै गाला असीम स्नेहले सुम्सुम्याइन् र फूलको माला लगाइदिएर फर्किइन्। म भावुकताको पराकाष्ठामा थिएँ र पनि सम्हालिएर मानुषीलाई चिताग्नी दिएँ। उनको देह जल्दै गयो, धुँवाको मुस्लो आकासिँदै अनन्ततिर फैलिँदै गयो।
मैले सोचें उनी अघि बढ्दै छिन् आफ्नो मायालु अंगालो फिजाएर प्राणभन्दा पनि प्यारो माधवलाई भेट्न !
मैले कामना गरें मेरो प्यारो मित्र माधव तिमीले जिउँदै हुँदा नपाएको तिम्री मानुषी, तिम्रो खुसी, तिम्रो फैलने क्षितिज र पुग्ने गन्तव्य अब तिम्रै संसार आएकी छन्। तिमीहरू सधैं सुखी रहनू, खुसी रहनू अनन्तसम्म असीम शुभकामना !