जोसँग हिजो साधु सन्त डराए
जसका कारण मन्दिरका मूर्ति हराए
गेरु बस्त्रमा गाउँदैछ उही आज
तस्मै नकराय नमोः शिवाय ।
१
अहँ, जुग जमाना ठिक भएन
धेरै विश्वास पनि उचित भएन
फुल्छ गुलाब, काँडाकै बिचमा
तर पनि ऊ सुरक्षित भएन ।
२
जब गतिलो कर्म हुँदैन
छिमेकमै मेला पर्म हुँदैन
नियतै खराब देखिएपछि
मन्दिर बनाउँदैमा धर्म हुँदैन ।
३
भन्दिनँ, मैले आफ्नो देश अनि माटो बनाएर आएको छु
आएको छु त केबल आपूm बच्ने बाटो बनाएर आएको छु
कालै देखे बिरोध गरेछस् भन्न सक्छ मेरो सरकारले
त्यही भएर त मैले कपाल रातो बनाएर आएको छु ।
४
मेरो देशमा अचेल केके भा’को हो ?
मान्छे किन यसरी बिग्रिँदै गा’को हो ?
मारिनु पनि मेरै गल्ती थियो होला है ?
यो प्रश्न मेरो हैन निर्मलाको हो ।
५
कतै हानाहान कतै मारामार
कतै भ्रष्टाचार कतै बलात्कार
यस्तै समाचार बोकेर आउँछन्
एका बिहानै प्रायः अखबार ।
६
देश नाना थरिका भयमा छ
ढिलासुस्ती सयका सयमा छ
भ्रष्टाचारका हाँगा यत्रतत्र छन्
लाग्छ, मूल जरो न्यायालयमा छ ।
७
कहिले जिउनुको सार बन्छ
कहिले जिउने आधार बन्छ
अनायसै भुइँमा केर्दा पनि
तिम्रो हँसिलो मुहार बन्छ ।
८
विभीषण रामका भाइ थिएनन्
राम हनुमानका दाइ थिएनन्
आफ्नो अर्को भन्नु यस्तै रहेछ
दुर्योधन द्रौपदीका पराई थिएनन् ।
९
सुन्नै नहुनेले सबथोक सुन्छन्
षड्यन्त्र गर्छन् वा जालो बुन्छन्
कि सासले बोला या इसारा गर
ख्याल गर, भित्ताका पनि कान हुन्छन् ।
१०
केके देखाउँछ केके गर्छ
यो बजारलाई पनि मान्नै पर्छ
विष हाल्दा पनि मुसा मर्दैैन
बरु दुध खाएर बिरालो मर्छ ।
११
न उसलाई कुनै संवेदनाले छोयो
न म हाँस्दा हास्यो ऊ न रुँदा रोयो
राम राम जपिरह्यो हातमा छुरा लिएर
एकादेशको पत्थरको कथा हो यो ।
१२
(पोखरेली युवा सांस्कृतिक परिवार, पोखराले प्रकाशन गरेको युवा साहित्यकार भण्डारीको १०७ वटा मुक्तकहरूको संग्रह ‘असुरक्षित गुलाब’ आज पोखरामा प्राज्ञ सरुभक्तबाट लोकापर्ण हुँदैछ।)