विकटको राजधानी अनि विकास सम्भावना बोकेको दक्षिण स्याङ्जाको एउटा गाउँ हो निबुवाखर्क। सामान्य परिवारमा हुर्कर सामान्य रहनसहनले जीवनयापन गर्दै आएको हर्क बहादुरको जीवन भूमरीमा नै बित्यो।
बिहान उठेदेखि राति सुत्दासम्म ऊ कहिल्यै खाली बसेको प्रायः कसैले देखेनन्। ऊ बिहान हसियाँमा धार लाउने, दिउँसो पाए ज्यामिको काम नत्र घरमै कपडा सिलाउने भने रात परेसि भान्सामा श्रीमती सघाउने काम गर्थ्यो।
हर्केको परिवारमा उसको जहान पाँच छोरी अनि एक छोरा छन्। छोराको आशमा एकपछि अर्को सन्तान जन्माएकी फूलमाया शारीरिक कमजोरीले थलिए जस्तै छिन्। उनी घर परिवारको काम अलिअलि गर्छिन् नत्र भने त्योभन्दा बाहिरी काम भने त्यति गर्दिनन्। प्रेसरकी रोगी फूलमाया, खुट्टा दुख्ने, बेलाबेलामा प्रेसरले दुख दिनेदेखि लिएर अलिक कमजोर छिन्।
छोराछोरीलाई जसोतसो पढाएर हर्केले चार वटाको कन्यादान समेत गरिसकेको छ भने अब एक छोरी र एक छोरो छन्। गरिब तथा जेहेन्दारको छात्रवृत्तिबाटै पनि उसले आफ्ना सबै छोराछोरीलाई १२ पढायो। तर विचरा हर्केले सुखको नाउँमा छोराछोरीको ओठको मुस्कानभन्दा अरु भने कहिल्यै पाएन।
साहुको ऋण त्यसमाथि आफ्नै जहान कमजोरी, यताउता गर्यो। आय स्रोत भनेनी आशाको भरोसा भनेनी हर्के आफू नै हो। कान्छी छोरी र छोरालाई ब्याचलर पढाउने र ठूलो भएको देख्नी सपना भने हर्केले देख्न छाडेको छैन। ऊ निदाउदा होस् या बिउझदा, भगवानले उसको चाह पूरा गर्नेछन् भन्नी कुरामा विश्वस्त छु भन्दै जहिले अठोटका साथ अगाडि बढेकै हुन्छ।
तर एक्कासी श्रीमती बिरामी भएपछि उपचारको निम्ति धेरै अस्पताल धाउन पर्यो। ॠण माथि ॠण थपियो। हर्केको पिल्लर मानिएकी उसकी जहान फूलमायाले उपचारकै क्रममा उसकेलाई छोडेर नै यो संसारदेखि बिदा भइन्। फूलमायाले यो संसार छोडेपछि हर्केको आधार स्तम्भ नै भाचियो, ऊ मनैदेखि टुट्यो।
तर पनि उसले देखेको जिउदो सपना आफ्ना छोराछोरीको भने आफू टुटेर नि बचाइरहेको थियो। कान्छी छोरी आस्था र छोरा आकाश एउटै तह पढ्थे। दुवै पढाइमा अग्रसर नै थिए। आस्था प्रथम आउदा भाइ आकाश जहिले द्वितिय स्थानमा आउथ्यो।
परिवारको खस्किदो स्थिति, उच्च शिक्षाको लागि बुटवल या पोखरा जानुपर्ने र बुबा एक्लै हुने कुरालाई लिएर दुई मध्य आकाशलाई उच्च शिक्षा पढाउने र बहिनी आस्थाले बुबासँग बसेर सघाउने छोराछोरीहरुले निर्णय गरे।
१२ को रिजल्ट आयो जसमा आस्थाले ७५% र आकाशले ७२% ल्याएर पास गरे। जसपश्चात उच्च-शिक्षाको लागि आकाश गाउँ छाडी बुटवल छिर्यो। आकाश व्यस्थापन संकायको विद्यार्थी थियो। ऊ सँगै साहित्य समाजशास्त्र र राजनीति शास्त्रमा पनि थोरै थोरै इच्छाशक्ति भने राख्दथ्यो। ऊ प्रायः खुलस्त बोल्नी, सबैसँग छिटो घुलमिल हुने स्वभावको थियो।
उच्च शिक्षाको निम्ति धेरै कुरा बुझ्दा बुटवलकै एक त्रिवि मान्यता क्याम्पसमा ऊ भर्ना भएर आफ्नो अध्ययनलाई निरन्तरता दिन थाल्यो। पढाइ एवम् घुलमिलमा चतुर आकाश हप्ता दिनमै क्लासमा आफ्नो माहोल बनाएको थियो। सर्लक्क परेको ज्यान, हसिलो मुहार, खुलस्त बोलीको क्याम्पसमा चर्चा चल्न थाकिसकेको थियो।
क्याम्पसमा उसलाई चिनेका साथीभाइले उसको खुलेर तारिफ गर्थे। तर आकाश जति खुलस्त देखिए पनि आफ्नो मनको व्यथा कसैलाई सुनाउदैन थियो। ऊ क्याम्पस नजिकैको घरमा डेरामा बस्थ्यो भने नजिकै एउटा रेस्टुरेन्टमा वेटरको जागिर समेत गरेर आफ्नो खर्च टार्न प्रयास भने गरेको थियो।
गाँउमा हर्के झन् पछि झन् बुढो र अशक्त हुँदै गएको थियो। दिन प्रतिदिन काम गर्न शक्ति घट्दै गयो। अब पछि छोराले त दुख पाउदैन कि भनी कान्छी छोरी आशाको समेत हर्के आफू चल्दै कन्यादान गर्दिन चाहेको भन्दै गाउँ नजिकैको एउटा भारत तिर नोकरी गर्नेलाई आफ्नी फूल जस्ती छोरी समेत जिम्मा लाइदियो।
छोरीको कन्यादान लगतै हर्के एक्लो भयो। उच्च शिक्षाको सपना बोकी बजार छिरेको आकाश अब गाउँ फर्किनी स्थिति पनि थिएन र बाबुलाई लिएर जाने स्थिति पनि, बाबु छोरा दुई ज्यान दुई ठाउँ भएका थिए। दुवैलाई गल लाउदा खाने पानी समेत दिने कोही भएनन्।
उता आकाश प्रथम वर्षको परीक्षा दिएर प्रथम श्रेणीमा उतिर्ण भयो। त्यो खबर सुनेर हरकोही खुसी थिए। विस्तारै दोस्रो वर्षको अध्यायनको क्रममा आकाश कसैलाई मन पराउन पुगेछ। विस्तारै पढाइभन्दा बाहिर बढी ध्यान जान पुग्यो। आफ्नो माहोल भएको फाइदा उठाइ विद्यार्थी नेता बन्ने भूत चढ्यो उसमा।
खल्तीमा पैसा नै नभए पनि साथीभाइ, दाइभाइ गर्दा उसको जिन्दगी अगाडिभन्दा राम्रो र स्तरीय देखिन्थ्यो। पारिवारिक जिम्मेवारी अनि अध्ययनमा उसले ध्यान दिन विस्तारै छोड्दै थियो। क्याम्पसमा आकाशले यस्तो माहोल बनायो कि केटी समेत प्रभावित भएकी थिइ। जसले गर्दा आकाशको प्रस्ताव उक्त केटीले सहर्ष स्वीकार गरी।
हुनेखाने परिवारमा हुर्केकी ऊ, हुँदाखानी आकाशको स्थिति समेत बुझेकी थिइन। दिनहुँ जसो क्याम्पसमा भेटघाट, क्याम्पसको क्यान्टिनमा चियागफ, विस्तारै घढ्दै गयो उनीहरु बीचको दूरी, अनि सम्बन्ध पनि एकदम प्रगाढ देखिन्थ्यो।
उता हर्केलाई बुढेसकालमा दम रोगले सताउन लागेछ। उता आकाशको दोस्रो वर्षको परीक्षा। हर्केका छोरीहरु आकाशलाई नभनी विभिन्न अस्पताल देखाउने गर्न थाले। केही औषधि ल्याएर त्यही औषधिकै भरमा त्यही एक्लो घरमा छोडेर गए।
मंसिर पुसको जाडो, दमको रोगी। खाना आफै बनाइ खान नसक्ने। तल्लोघर, माथिल्लो घर, वल्तिर, पल्तिरको आशमा खाना डुहाकेर बस्नि दिन समेत आए हर्केका। उता छोराको रिजल्ट बिग्रेर आयो। यता हर्के छिमेकीको आशमा दुई रात भोकै र दमले आत्तिएर मरेछ। विचरा मर्ने बेला पानी समेत देख्न पाएन।
दिनरात काम गरेर राति खाना बनाएर खाना दिने बाबु यो दुनियाँ छोडे रे भन्दा आकाश सम्हालिन सकेन। तीन घण्टा बेहोसीको अवस्थामा बुटवलदेखि स्याङ्जासम्म उसका साथीहरुले पुर्याए। आकाशले बाबुको लास देख्नासाथ अंगालोमा हालेर झम्टिदै रुन थाल्यो। आकाशलाई सम्हाल्न भनी आएका उसका छिमेकी पनि बिना आँसु कोही फर्किएनन् होला, त्यतिसम्म रोएको थियो आकाश।
उता पढाइ बिग्रेको, यता बुबाको मृत्यु हुनुसम्म आकाशलाई भएको थियो। बुबाको १३ दिनको कर्मक्रिया सकेसी साहुहरुमा लेनदेन का कुरा चल्न थाले। छोराछोरी हुर्काउदादेखि बिहेदानसम्मका ऋण अनि फूलमाया हर्के बिरामी हुँदाको ऋणका अगाडि हर्केको सम्पती केही थिएन। र दामसाही भइ आकाश हिड्न बाहेक केही थिएन।
जन्मेको गाउँ भन्न बाहेक त्यहाँ अब उसको केही बचेन। सहर आयो। उसले आफ्नो प्रेमिकालाई सबै बतायो। उसले हौसला भने दिइराख्थी। यो गर त्यो गर, आकाश पनि उसका कुरा मनमा लिएर गर्थ्यो, क्याम्पससँगै जागिर गर्थ्यो। गाउँदेखि सहर आएसी प्रेमिकाले त्यति नबोल्नी अलिअलि बोल्नी, सम्झाए झैँ गर्ने गर्न थालिन।
आकाश भेट्न खोज्दा बहाना गराएर टार्दिनी, क्याम्पसमा आकाशको अघि जो नदेखिने गर्न थालिन्। एक दिन आकाशले फोन गर्दा उसलाई फोन व्यस्त आयो। साथीहरुसँग बोल्दै होला भनी वास्ता गरेन। केही घण्टापछि गर्दा फेरि उहीँ। हतार हतारमा फेसबुक खोल्यो। उताको उसको नाम पनि फेसबुक प्रयोगकर्ता भनी आएछ।
आकाशले भन्यो, सायदै मेरो पीडाले मन भरिएछ कि क्या, आँसु देखाउनभन्दा लुकाउन ठिक मानिछन् भन्दै मुसुक्क मुस्कुरायो। उसको रहरहरु नै मरेको अनुभूति भयो उसलाई। दिनहुँ फोन गर्थ्यो, लाग्थेन बोल्ने हरेक प्रयास गर्यो तर पनि उसका प्रयास कहिल्यै सार्थक बन्न सकेनन्।
जति बाबुको मृत्युमा ऊ रोएको थियो, त्यति नै ऊ रोयो तर पनि सम्बन्ध तोड्ने अडान राखेकासँग उसले कहिल्यै जित हासिल गर्न भने सकेन। ऊ क्याम्पस जान समेत छोडिसकेको थियो। कहिलेकाही जान्थ्यो, त्यो समय पनि पढाइमा ध्यान दिदैनथ्यो। बाहिरी वातावरणमै रमाउन खोज्थ्यो।
जब उसको प्रेमिकालाई देख्थ्यो, बोलाउन खोज्थ्यो तर ऊ बोल्न नै चाहदैन थिइ। सायद उसको इच्छाशक्ति समेत मरेको थियो उसको निम्ति। विस्तारै साथीभाइमा पुन: घुलमिन हुन थाल्यो आकाश। जति बाहिर भए त्यतिनै उनको यादले मनमनै रोइरहन्थ्यो।
साथीहरुले धेरै सम्झाइ बुझाइ गरिसकेपछि करिब २ महिनामा आकाश अगाडि कै स्थितिमा फर्कियो तर त्यस दिनपछि ऊ कहिल्यै हारेन। आफ्नो पढाइसँगै जागिर गरेर खुसी हुन थाल्यो। ऊ प्रायः आफ्नो बाबु झैँ जतिबेला पनि व्यस्त रहन्थ्यो। बिहान क्याम्पस दिउँसो जागिर अनि साझमा पुस्तकसँगै लडिबुडी गर्दै जिन्दगी बिताउन लाग्यो।
एकपछि अर्को सफलता प्राप्त गर्न थाल्यो आकाशले। भनिन्छ नि, जसको कोही हुँदैन उसको इश्वर हुन्छ भनेर। त्यस्तै भएको थियो आकाशको जीवनमा पनि। सदैव बुबाको सपना सोची अगाडि बढ्यो। मेहनत र संघर्षले आज ऊ सरकारी अधिकृत भयो।
पछि बीचमा आकाशलाई फेरि उसले प्रेम प्रस्ताव राखेकी थिइन्। उसले प्रतिउत्तर हाँस्दै भन्यो- ‘तिमीले त मेरो सम्बन्धको घाँटी रेटेकी थियौ, मैले त त्यसैको बदलामा हाँसीहाँसी तिम्रो घाँटी रेटेको छु। तिमीलाई मैले मेरो नजरमा मारिसकेको छु।’