बाटाहरू थकित छन्
गन्तव्य नपाएका पाइलाहरू
थामेर बस्नु परेकोमा
बिचरा पाइलाहरू
बढिरहन्छन्
भेट्न सक्दैनन् गन्तव्य
चाहनाहरू उडिरहन्छन्
माथि माथि
बादलभन्दा पनि माथि
कसरी सम्हालेर राख्ला
आकाशले
यति धेरै मान्छेका
असंख्य चाहनाहरू
अन्तिम किनारा
नलागेका अदालतका मुद्दा
जस्तै चाहनाहरू
यहाँ
गन्तव्य पुग्न
बाटोमा हिँड्नु व्यर्थ रहेछ
बाटोमा नहिँडेकाहरू
गन्तव्यमा पुग्दा रहेछन्
बाटोलाई दुःख दिनु
आवश्यक रहेनछ यहाँ
उडेका चाहना
कति बेला गुटमुटिएर
झर्दछ थाहा छैन
खेर जाने दुःख मात्र
गर्छन् चाहनाहरू
आकाशमा उड्नको लागि
साह्रै दया लाग्छ
मान्छेका चाहनादेखि
तर
बाटोमा नहिँडेर
गन्तव्यमा पुग्नेहरूका
चाहना र रहरहरू
आकाशमा उडेर
गुटमुटिँदै झर्नु पर्दैन
उनीहरूको रहर
उनीहरूका चाहना
स्वचालित मेशिनमा
राखिन्छ र
उत्पादन हुन्छन्
कार
बैंक ब्यालेन्स
घर जग्गा
शेयर
सुन, चाँदी हिरामोती
विदेश यात्रा
र अन्य
धेरै उत्पादन
त्यसैले त आजभोलि
बाटोमा हिँड्न छाडेका छन्
बाठा मान्छेहरू।