थापाथली, काठमाडौं
सडकमा गाडीहरूको भीड नै थियो। फुटपाथमा पनि केही पैदल यात्रु थिए।
युवतीः दाइ तपाईं लामो दाह्री कपाल पालेको यतै मन्दिर वरपर डुलिरहने एउटा युवकलाई देख्नुभएको छ?
चिया पसले अलमलिँदै भन्छन्¸ तपाईंले सोध्नुभएको मान्छेको मानसिक सन्तुलन बिग्रिएको छ हो ?
युवतीः हो, उसको मानसिक सन्तुलन ठीक छैन।
चिया पसलेः भनेपछि त्यो बाँदरहरूसँग खेलेर बसिरहने मान्छेको बारेमा सोध्नुभएको होला¸ होइन र?
युवतीः हो, उसकै बारेमा सोधेको हो। ऊ आजकल कता गएको छ होला,यतातिर देखिएको पनि छैन।
चिया पसले मन खिन्न गर्दै भन्छन्¸बिचरा ऊ त अघिल्लो हप्ता मर्यो नि।
यो कुरा सुनेर ती युवती एकछिन त स्तब्ध हुन्छिन्।
चिया पसले पसल अगाडि चेस खेलेर बसेका ग्राहकहरूलाईं चिया दिएर आउँछन् र लामो सास लिँदै विस्तारमा भन्छन्¸अघिल्लो हप्ताको शनिबार बिहानै उसले कताबाट हो खोजेर एक झोला स्याउ र केरा बाँदरहरूलार्इ खुवाउनको लागि भनेर लिएर आएको रहेछ,बाटो काट्न लाग्दा प्राइभेट कारले ठक्कर दिएर उसको त यही सडकमा नै अन द स्पट डेथ भयो।
चिया पसले भन्दै थिए,ऊ अचम्मको मान्छे थियो¸उसलाईं मान्छेको बारेमा केही मतलब हुँदैनथ्यो तर बाँदरहरूलाईं भने खुब माया गर्थ्यो, कता कताबाट खाने कुरा खोजेर ल्याएर बाँदरहरूलाईं खान दिन्थ्यो।
युवती भने अझै पनि आफ्नो मिल्ने साथी मर्यो भन्ने कुरामा विश्वास गर्नै सकिरहेकी हुन्न। चिया पसले भने आफ्नै तालमा उसको बखान गर्दैथ्यो¸त्यो मान्छेको मानसिक सन्तुलन बिग्रिएको जस्तो देखिए पनि दिमाग भने तेज थियो है।
ऊ मेरो चिया पसलमा पनि कहिलेकाहीँ अरूले चेस खेलेको हेर्न आउँथ्यो। एक शब्द नबोली टुलुटुलु अरूले खेलेको हेरेर बस्थ्यो। एकदिन नेपालकै एकजना फिडे मास्टरले उसलाईं¸‘तिमीलाईं पनि चेस खेल्न मन लागेको छ¸म सिकाइदिऊ’ भन्नु भएको थियो।
उसले त उहाँसँग चेस खेलेर बिस स्टेपमा नै हराएर देखाइदियो। त्यसपछि त यहाँ चेस खेल्न आउनेहरूले उसको खुब तारिफ गरे। तर त्यसपछि भने उसले फेरि कहिल्यै कसैसँग चेस खेलेन।
चिया पसलेसँग छुट्टिएर ती युवती त्यहाँबाट कुपण्डोलतिर लाग्छिन्। थापाथली पुलको बीचमा पुगेपछि उनी पुलबाट तल बगिरहेको बागमतीलार्इ हेर्दै टोलाउँछिन्। उनको मनमा पुराना दिनहरूका याद सल्बलाउन थाल्दछन्।
***
पुस महिनाको समय, जाडो मौसम।
बिहानको ९ बजिसक्दा पनि अझै राम्रोसँग घाम लागिसकेको थिएन।
हुस्सु र कुहिरोका ढिक्काहरू जमिनबाट केहीमाथि हावामा तैरिरहेका देखिन्थे।
यद्यपि यतिबेलासम्म सहर बजार भने पूरै जागिसकेको थियो। पसलहरू प्राय: सबै खुलिसकेका थिए। नगरबसहरू पनि स्टेशनमा यात्रु ओराल्दै र चढाउँदै गुडिरहेका थिए।
जागिरेहरू,बाटो हिँड्ने बटुवाहरू सबै आ/आफ्नो गन्तव्यतर्फ लागिरहेका थिए। विद्यालय पढ्ने बालबालिकाहरू पनि झोला बोकेर विद्यालयतर्फ हिँडिरहेका थिए।
अचानक त्यहाँ बाटो काट्ने क्रममा एउटी स्कुले बालिकालाई तीव्र गतिमा हुँइकिँदै आएको मोटरसाइकलले झण्डै हानेको हुन्छ। धन्न एक जना युवकले आफैंलार्इ खतरामा पारेर ती सानी स्कुले बालिकालाईं सडकवारि तानेर जोगाउँछन्।
बालिकालाईं जोगाउने क्रममा युवक पनि सडकमा लड्न पुगेका हुन्छन्। एकछिन त्यहाँ भीडभाड हुन्छ। सानी स्कुले बालिकालाई दुर्घटनाबाट बचाएकोमा सबैले युवकलाईं धन्यवाद दिन्छन्। बिस्तारै सबै आ/आफ्नो बाटो लाग्छन्।
यो सबै घटना बाटोपारिबाट श्रुति र उसको साथी सीमाले पनि देखिरहेका हुन्छन्।
बालिकालार्इ दुर्घटनाबाट बचाउने युवक उनीहरूकै कक्षामा पढ्ने मनीष हुन्छ। उनीहरू सबै स्नातक तह पहिलो वर्षका विद्यार्थी हुन्छन्। भीड आफ्नो बाटो लागेसँगै श्रुति र उसको साथी सीमा पनि रोकिराखेको स्कुटर स्टार्ट गर्दै कलेजतिर लाग्छन्।
उक्त दिन मनीष कलेजमा अलि ढिलो आइपुग्छ।
कक्षामा प्रवेश गर्दैगर्दा उसको सेतो कमिजमा कालो टाटो लागेको देखेपछि उसकै कक्षामा पढ्ने अनिमेशले उसलाई ‘क्या हो टाइपिस्ट प्रिन्टरको मसी सकियो क्या। मसी फेर्दा त सर्टमै कालो लागेछ’भनेर होच्याउँदै जिस्काउँछ। अरू साथीहरू पनि हाँस्छन्।
श्रुति आज भने मनीषलाईं सधैं जसो जिस्काइरहने यो समूहमा सहभागी भएकी हुँदिनन्। उनी त आज बिहानको घटनाले मनीषप्रति फिदा भएकी हुन्छिन्।
एक हप्तापछि...
आज सर नआएर बीचमा दुइटा कक्षा खाली थिए। मनीष लाइब्रेरीमा एक्लै पढेर बसेको हुन्छ। त्यही बखत श्रुति पनि लाइब्रेरीमा आउँछिन् र मनीष भए नजिकै गएर बस्छिन् र सोध्छिन्¸ मनीष¸ के छ तिम्रो खबर?
मनीषः मेरो खबर ठीकै छ।
श्रुतिः मैले तिमीलाईं कहाँ कहाँ खोजें। तिमी त यहाँ लाइब्रेरीमा एक्लै बसेको पो रहेछौ।
मनीषः अलि कति पढ्नु पर्ने थियो त्यसैले। केही काम थियो कि!
श्रुतिः अँ। एउटा काम थियो। पर्सि रिसर्च मेथड विषयको क्लासमा पावर प्वाइन्ट प्रस्तुति दिने पालो मेरो छ। मेरो प्रस्तुतिको लागि पावर प्वाइन्ट बनाइदिन्छौ कि भनेर हो।
मनीषः हुन्छ। तपाईंको पेनड्राइभमा फाइल राखेर दिनुस्।
श्रुतिः केको तपाईं भनेको होला। तिमी भने भइहाल्छ नि!
मनीषः हुन्छ।
श्रुति मनीषलाईं आफ्नो पेनड्राइभ दिन्छिन् अनि कस्तो पावर प्वाइन्ट बनाउनपर्ने हो त्यो पनि भन्छिन्।
मनीषः हुन्छ। म भोलि बनाएर लिएर आउँछु।
श्रुति फेरि अर्को हप्ता पनि कम्प्युटरको एक्सेल प्रोगाम सिकाउन पर्यो भनेर मनीषकै बेञ्चमा ल्यापटपसहित गएर उसैसँग बस्छिन्। मनीष कुनै बहाना बनाएर कक्षाबाट बाहिर निस्कन्छ।
श्रुति आजकल मनीष कुन बेला कलेज आउँछ भनेर बाटोमा पर्खी बस्छिन्। मनीषलार्इ बाटोमा देख्ने बित्तिकै स्कुटर गुडाउँदै ऊ भए नजिक आउँछिन्।
‘ए मनीष¸ तिमी पनि कलेज जाँदै छौ। आऊ मेरो स्कुटरमा पछाडि बस’ भन्छिन्।
मनीषः हैन नजिकै छ। म हिँड्दै गइहाल्छु नि। तिमी जाँदै गर।
श्रुतिः कलेज अझ २० मिनेट टाढा छ। बसन पछाडि स्कुटरमा। मेरो स्कुटरमा बस्नै नहुने भन्ने केही छ?
मनीष धक मान्दै भन्छ¸मेरो हिँड्ने बानी छ। अलि अलि त हिँड्नु पर्यो नि¸हैन ? कक्षामा पनि कुर्चीमा बस्ने हो। काम गर्दा पनि कुर्चीमा बसेर काम गर्ने हो। हिँडे पछि अलिकति भए पनि व्यायाम हुन्छ नि।
श्रुति मस्किँदै भन्छिन्¸तिमी त कस्तो बाठो। हिँडेर पनि कहीँ व्यायाम हुन्छ।तिमी त केटा भएर पनि कस्तो लाज मान्छौ।
मनीषः म हिँड्दै आउँछु नि । गाह्रो नमान है।
मनीषलाई थाहा हुन्छ कि श्रुति उसको पछि किन लागेकी छ भनेर। तर मनिषलाई प्रेमको कुनै लफडामा पर्नु थिएन।
यता श्रुति मनीषसँगको एकतर्फी प्रेममा चुर्लुम्म डुबिसकेकी हुन्छे। ऊ सानैदेखि जिद्दी स्वभावकी थिई। त्यसैले मनीषले वेवास्ता गरे पनि ऊ मनीषको पिछा छोड्ने पक्षमा हुन्न। तर पनि मनीषले आफ्नो वास्ता नै नगरेको¸ आफूसँग बोल्न र हिँड्न नचाहेको देख्दा ऊ मनमनै छट्पटाउँथी¸अस्थिर हुन्थी।
मनीषले कक्षामा बोल्ने केटी मान्छे भनेको उसको स्कुलदेखिको साथी प्रशंसा मात्र हुन्छे। मनीषले कक्षामा आउन छुटेको दिनको नोट माग्ने¸ नबुझेको सोध्ने साथी पनि प्रशंसा नै हुन्छे। यता श्रुति भने बिस्तारै के निष्कर्षमा पुग्छे भने प्रशंसाले मनीषलाईं आफ्नो बनाएकी छ। यसले गर्दा मनीष ऊबाट सधैं टाढिन खोज्छ।
एकदिन मनीष प्रेसको कामले गर्दा कलेज आएको हुँदैन¸ त्यसैदिन श्रुति आफ्ना साथीहरू लिएर प्रशंसालार्इ क्यान्टिनमा खाजा खान जाँदा धम्की दिन्छे कि¸ अब उप्रान्त ऊ मनीषसँग नबोलोस् र नजिक हुने प्रयास पनि नगरोस्।
प्रशंसाले भन्छिन्¸‘मनीष त मेरो विद्यालयदेखिको साथी हो¸ऊसँग म बोल्दा हिँड्दा तिमीलाईं के अप्ठयारो पर्छ र ?’
प्रशंसाको कुरा सुनेर श्रुति आवेशमा आइहाल्छे र विचरा प्रशंसालार्इ एक झापड हानेर उसलाईं धम्काउँदै भन्छे¸ ‘मनीषसँग अब हिँडेको देखें र मेरो मनीषलाईं मबाट टाढा बनाउन खोजिस् भने साथीहरू ल्याएर तेरो हात खुट्टा भाँच्छु¸ बुझिस् नि केटी !’ यो कुरा सबैले देखिरहेका हुन्छन्।
भोलि मनीष कलेज आउँदा यसबारेमा थाहा पाउँछ।
ऊ आफ्नो विद्यालयदेखिकी मिल्नेर सहयोगी साथीलाईं श्रुति लगायतका केटीहरूले धम्काए भन्ने थाहा पाएपछि दुखित हुन पुग्छ।
श्रुति कक्षामा नआई टेबल टेनिस खेलेर बसेकी हुन्छिन्।
मनीष त्यहीँ जान्छ र श्रुतिलाई बोलाउँछ।
श्रुतिः किन मनीष¸ आज त अचम्म भएछ। मलाई खोज्दै तिमी आएछौ।
उसले श्रुतिलाई भन्छ¸‘तिमीले प्रशंसामाथि किन हातपात गर्यौ र मसँग नभेट्नु भनेर धम्की दियौ हँ?
श्रुति मनीष भए नजिक आएर भन्छिन्¸‘प्रशंसाले आखिर तिमीलाई कुरा लगाइसकी।’
मनीषः प्रशंसाले भनेर होइन¸ अरूले नै भनेर मैले थाहा पाएँ। तिमीले उसलाई किन कुट्यौ।
श्रुतिः त्यो खाली तिमीसँग टाँसिन्छे। तिमीसँग बोल्छे। त्यै भएर सम्झाएकी मात्र हुँ?
मनीषः तिमीले उसलाई झापड पनि हानेकी छौ। धम्की दिएकी छौ। आखिर किन तिमीले प्रशंसालाई धम्कायौ हँ?
श्रुति रुखो गरी जवाफ दिन्छे।
श्रुतिः त्यो मेरो बाटोको तँगारो बनी। म तिमीसँग नजिक हुन कति प्रयत्न गर्छु तर तिमी मेरो बेवास्ता गर्छौ तर त्योसँग सधैं बोल्छौ हिँड्छौ त्यसैले।
मनीषः प्रशंसा मेरो विद्यालयदेखिको असल साथी हो। ऊसँग म बोल्दा तिमीलाई किन टाउको दुख्नुपर्यो?
श्रुतिः असल साथी हो भने साथीकै सीमामा बस्नुपर्छ। उसले सधैं तिमीलाई किन भेट्नुपर्यो?
श्रुति झन् ठूलो स्वरले चिच्याउँछिन्¸ म तिम्रो नजिक अरू कोही केटी भएको हेर्न सक्दिनँ त्यसैले। तिम्रो मेरो प्रेममा फेरि पनि ऊ बाधा बनेर आर्इ भने म उसको हात खुट्टा नै भाँचिदिन्छु।
श्रुतिको जवाफले हद पार गरिसकेपछि मनीष पनि आक्रोशमा आउँछ। मनीषले श्रुतिलाई सबैको अगाडि बेस्सरी एक झापड हान्छ। झापड यति कडा थियो कि त्यो झगडा हेरिरहेका सबैले परबाटै झापडको आवाज समेत सुनेका हुन्छन्।
मनीष भन्छ, म तिमीसँग न त हिजो प्रेममा थिए¸ न त आज छु र न त भोलिको दिनमा नै हुनेछु। तिमीले प्रशंसामाथि फेरि पनि हातपात गर्यौ भने म तिमीलाई बाँकी राख्दिनँ बुझ्यौ?
मनीषले सबैका अगाडि श्रुतिलाई झापड हानेपछि श्रुति रूँदै बस्छिन्। सीमा श्रुतिलाई फकाउने प्रयास गर्छिन्। यतिञ्जेलसम्म त्यहाँ ठूलै भीड लागिसकेको हुन्छ।
मनिष बीचमै कलेजबाट कोठातर्फ फर्कन्छ।
तर कोठामा फर्किसकेपछि पनि कलेजमा भएको लफडाले मनीष दिनभरि तनावमा रहन्छ। दिनभर तनावमा भए पनि ऊ साँझतिर काममा जान डेराबाट निस्कन्छ।
यता श्रुतिको मन टुटेको हुन्छ। झापडको चोटले भन्दा पनि मनीषले उसलाई म तिम्रो प्रेममा न आज छु¸ न त कहिले नै हुनेछु बुझ्यौ भनेर भनेका कारण उसको चित्त सार्ह्रै दुखेको हुन्छ ।
श्रुति एक पटक मनिषसँग फेरि भेट्न चाहन्छे। बरू ऊ प्रशंसासँग पनि आफूले गरेको दुर्व्यवहारप्रति माफी माग्न तयार हुन्छे। तर मनीष सधैं आफ्नोमात्र होस् भन्ने उसको कामना हुन्छ। ऊ स्कुटर लिएर मनीषलाई भेट्न उसको डेरामा जान्छे। मनीष डेरामा हुँदैन। ढोकामा साँचो लगाएको हुन्छ। ऊ मनीषको कोठा अगाडि डोरीमा सुकाएको मनीषको गलबन्दी ओढेर त्यहाँबाट निस्कन्छे। त्यो गलबन्दीमा बेरिँदा ऊ मनीषको मायामा बेरिएको महशुस गर्छे।
श्रुति बाटोमा स्कुटर हुँइकाएर फर्कंदै गर्दा न बाटोमा गुडिरहेका अरू गाडी नै याद गरिरहेकी हुन्छे¸ न बाटो काट्ने मानिसहरूको बारेमा नै ख्याल गरिरहेकी हुन्छे। ऊ त बस सोचिरहेकी हुन्छे¸म न त मनीषको हुन सकें न त उसको सोचाइमा राम्रो मान्छे बन्न नै सके।
श्रुति घर पुग्छे। घरमा कोही हुँदैनन्। उसका बाबु आमा दुवै कामको सिलसिलामा एक महिनादेखि नै विदेश हुन्छन्। उसकी साथी सीमा पनि एकछिन बाहिर कतै कामले निस्किएकी हुन्छे।
श्रुति फेरी सोच्छे¸आखिर मनीष मेरो कहिल्यै हुन्न भने म कसरी बाँच्ने। श्रुति पश्चतापले भित्रभित्रै जल्न पुग्छे। ऊ केही कुरा राम्रोसँग सोच्न पनि सकिरहेकी हुँदिन।
अन्तत: श्रुतिले एउटा जटिल निर्णय गर्न पुग्छे र डायरीको पानामा केही कुरा लेखेर छोड्छे। श्रुतिले आफ्नै कोठाको फ्यानमा मनीषको डेराबाट ल्याएको गलबन्दीले पासो लगाएर झुण्डिएर आत्महत्या गर्छे र एउटा इहलिलाको त्यही आकस्मिक अन्त्य हुन्छ।
बेलुकातिर सीमा श्रुतिकोमा फर्कदा घरमा बत्ती बलेको हुँदैन। आज यो श्रुतिलाई के भएछ साँझमा बत्ती नबालिकन के गरेर बसेकी छ भनेर बत्ती बालेर श्रुतिको कोठामा छिर्दा त श्रुति त्यही कोठामा फ्यानमा पासो लगाएर झुण्डिएको अवस्थामा देख्छे।
सीमा त्यो देखेर सुरूमा त छाँगाबाट खसे झैं हुन्छे।
श्रुतिले पढ्ने टेबलमा डायरीमा केही कुरा लेखेर छोडेकी हुन्छे। सीमाले त्यो डायरी त्यही कतै लुकाउँछे। आफ्नो मिल्ने साथी कुनै युवकको अन्धो प्रेममा झुण्डिएर मरेकोमा सीमालाई निकै दु:ख लाग्छ। प्रहरीलाई खबर हुन्छ। एक दुई दिनमा श्रुतिका बाआमा फर्किएर आउँछन्।
बाहिर यो आत्महत्या होइन नियोजित हत्या हो भन्ने हल्ला चल्छ।
प्रहरी यो आत्महत्या हो या मनीषले आफ्नो गलबन्दीले उसलाई झुण्डाएर मारेको हो भन्नेमा यकिन गर्न सकिरहेको हुँदैन। मनीष उपर कर्तव्य गरी श्रुतिको हत्या गरेको भनी जाहेरी दरखास्त पर्दछ।
नारीवादी संगठनहरू यस विषयलाई लिएर सडक तताउन सुरू गर्दछन्। श्रुतिलार्इ न्याय दे¸हत्यारालाई फाँसी दे भन्दै उनीहरू सडकमा नाराबाजी र प्रहरी कार्यालय घेराउ गर्न सुरू गर्छन्।
प्रहरीले जाहेरी दरखास्तका आधारमा घटनाको अनुसन्धानका लागि मनीषका नाममा पक्राउ पुर्जी जारी गर्दछ।
मनीषलाई भने लागिरहेको हुन्छ¸‘आखिर म निर्दोष छु¸ निर्दोष हुँदाहुँदै ममाथि कसरी अन्याय हुन सक्छ।’
त्यसैले ऊ कतै भाग्दैन¸ ऊ आफैं घटनाको अनुसन्धानमा सहयोग गर्न प्रहरी कार्यालयमा हाजिर हुन्छ।
श्रुतिको शव जाँच प्रतिवेदन आउँछ¸ प्रतिवेदनमा कोही बाहिरी व्यक्तिको झापड प्रहारले मृतकको गालामा चोट लागेको¸ झुण्डिएको हुनाले मृतकको घाँटीको वरिपरी ब्लु मार्क र नोड मार्क भेटिएको उल्लेख हुन्छ।
श्रुतिलाई झुण्ड्याउन प्रयोग भएको पासो मनीषले प्रयोग गर्ने गरेको गलबन्दी भएको पुष्टि विधि विज्ञान प्रयोगशालाको रिपोर्टले गर्दछ।
मनीषले श्रुतिलाई मार्ने धम्की दिएको र मनीषले नै श्रुतिलाई झुण्डाएर मारेको हुनुपर्छ भनी सीमा¸ अनिमेश लगायत श्रुतिका साथीहरूले प्रहरी समक्ष साक्षीको वकपत्र गर्दछन्।
मनीषले भने आफूमाथि लागेको श्रुतिको हत्या अभियोगका सम्बन्धमा इन्कारी बयान दिएको हुन्छ।
प्रहरीले दबाब थेग्न नसक्दा विस्तृतमा अनुसन्धान नभ्याउँदै हतासमा रायसहितको प्रतिवेदनमा मनीषनै श्रुतिको हत्यारा हो भनि हदैसम्मको सजाय गर्नुपर्ने उल्लेख गर्दछ।
सरकारी वकिलले प्राप्त प्रमाण र साक्षीको वकपत्रबाट मनीषले नै श्रुतिको हत्या गरेको देखिएको हुँदा निज उपर मुलुकी ऐन¸ २०२० को ज्यानसम्बन्धी महलको १ नं. विपरीतको कसूरमा सोही महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद सजायको माग दाबी लिई जिल्ला अदालतमा अभियोगपत्र दर्ता गर्दछ।
फौजदारी मुद्दाको फैसला गर्दा शंकारहीत तवरबाट पुष्टि गरेर मात्र गर्नु पर्दछ।तर मुद्दाको कारबाही सुरू नहुँदै मुद्दाको फैसला हुन ढिलो भयो भनेर फैसलाका लागि जिल्ला अदालतमा दबाब परिसकेको हुन्छ।
जिल्ला अदालतले हत्या भएको रात मनीष प्रेसमा गएको नदेखिनु¸श्रुति झुण्डिन प्रयोग भएको पासो मनीषको गलबन्दी हुनु¸घटना भएको दिन मनीषले श्रुतिमाथि हातपात गरेको र सो कुरामा अभियुक्त मनीषको समेत साविती बयान रहनु¸साक्षीको वकपत्रमा पनि मनीष र श्रुतिका अधिकांश साथीहरूले मनीषले घटना भएको दिन श्रुतिलार्इ मार्ने धम्की दिएको थियो भनि वकपत्र गरेकोजस्ता प्रमाण र परिस्थितिको विश्लेषणले प्रतिवादी मनीषले नै श्रुतिको हत्या गरेको प्रमाणित भएको हुँदा प्रतिवादी मनीषलाई कर्तव्य गरी श्रुतिको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मुलुकी ऐन¸ २०२० को ज्यानसम्बन्धी महलको १ नं विपरीतको कसूर गरेको हुँदा सोही महलको १३(१) नं. बमोजिम सर्वस्व सहित जन्मकैदको सजाय हुने फैसला गर्दछ ।
म निर्दोष छु¸निर्दोष हुँदाहुँदै मलाई दोषी करार गर्ने गरी भएको जिल्ला अदालतको फैसला त्रूटीपूर्ण भएकाले सो फैसला बदर गरी सफाइ पाउँ भन्दै मनीषले पुनरावेदन अदालतसमक्ष पुनरावेदनपत्र दर्ता गर्दछ।
साधक जाँचको रोहमा मुद्दा पुनरावेदन अदालतमा पुग्दछ। पुनरावेदन अदालतले जिल्ला अदालतको फैसला मनासिव देखिएको हुँदा सदर हुने ठहर्छ भनी फैसला गर्दछ।
सास रहिञ्जेल आश रहन्छ भन्छन् मनीषले जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालतको फैसला बदर गरी आरोपित कसूरबाट सफाइ पाउँ भनी सर्वोच्च अदालतमा समेत पुनरावेदनपत्र पेश गर्दछ। तर सर्वोच्च अदालतले पनि मुलुकी ऐन¸ २०२० को ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय ठहर गरेको जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालतको फैसला मिलेको हुँदा सदर हुने ठहर्छ भनी फैसला गर्दछ।
अन्तत सबै आश र भरोसा सकिन्छन्। अब जेल जीवननै मनीषको लागि बाँकी जीवन बन्न पुग्दछ। उसका सारा सपनाहरू त्यसै तुहिन्छन्। उसको भविष्य अन्धकारमय बन्न पुग्दछ।
यस्तैमा जेल जीवनको पाँच वर्ष व्यतित भैसकेको हुन्छ।
एक दिन मनीषलाई एउटा पत्र र डायरी प्राप्त हुन्छ। पत्रमा पश्चतापका शब्दमा लेखिएको हुन्छ¸‘सायद तपाईं जेलभित्र रहँदा मेरो साथीको आत्माले शान्ति पाएको छैन होला। तपाईं निर्दोष हुनुहुन्छ।’ त्यो पत्रसँगै प्राप्त डायरीमा श्रुतिको मृत्युकालीन घोषणा समेत संलग्न हुन्छ।
यो पत्रले फेरि नाटकीय रूपमा मनीषको जिन्दगीमा न्यायको लागि अर्को लडाइँ सुरू गर्दछ।
न्यायप्रशासन ऐन¸२०७३ को दफा ११ मा पुनरावलोकनसम्बन्धी व्यवस्था रहेको छ। उक्त दफाको उपदफा (२) मा मुद्दामा भएको इन्साफमा तात्विक असर पर्ने किसिमको कुनै प्रमाण रहेको तथ्य मुद्दाको किनारा भएपछि मात्र सम्बन्धित पक्षलाई थाहा भएको देखिएको अवस्थामा सर्वोच्च अदालतले आफ्नो फैसला वा अन्तिम आदेश पुनरावलोकन गर्न सक्ने उल्लेख भएको हुन्छ।
मनीषले न्याय प्रशासन ऐन¸ २०७३ को दफा ११ को उपदफा (२) को आधारमा श्रुतिको हत्या आरोपमा आफूलार्इ कसूरदार ठहर गरिएको कर्तव्य ज्यानसम्बन्धी मुद्दाको फैसला पुनरावलोकन गरी पाउँ भनि सर्वोच्च अदालत समक्ष पुनरावलोकनको लागि निवेदन दिन्छ।
श्रुतिको मृत्युसँग सम्बन्धित महत्वपूर्ण प्रमाण भेटिएको हुँदा सर्वोच्च अदालतले पुनरावलोकनको निवेदन दर्ता गर्ने निर्णय गर्दछ।
मुद्दाको प्रक्रिया फेरि सुरू हुन्छ। बृहत पूर्ण इजलासमा मुद्दा हेरिन्छ। फरेन्सिक जाँच गरी हेर्दा डायरीमा लेखिएको मृत्युकालीन घोषणा श्रुतिले नै लेखेको देखिन्छ।
उनले उक्त मृत्युकालीन घोषणामा आत्महत्याको कारण आफैं भएको र मनीष लगायत अरू कसैप्रति कुनै गुनासो नभएको लेखेकी हुन्छिन्।
श्रुतिको शव जाँच प्रतिवेदनमा श्रुतिको शव परीक्षण गर्दा घाँटीमा ब्लु मार्क र एक ठाउँमा मात्र नोड मार्क भेटिएको भनि उल्लेख गरिएको कुरालाई पनि पुनः विश्लेषण गरिन्छ।
अन्तत: श्रुतिले आत्महत्या गरेकी हुन्, श्रुतिको मृत्यु हुनुमा मनीषको कुनै दोष छैन¸ मनीष पूर्ण रूपमा निर्दोष छ। शंकारहित तवरबाट फैसला हुनुपर्नेमा त्रूटीपूर्ण फैसलाका कारण मनीष दोषी ठहर हुन पुगेको हुँदा मनीषलाई यस पूर्व सुनाइएको सर्वस्वसहित जन्मकैदको फैसलालाई न्यायिक पुनरावलोकनको माध्यमबाट उल्टाउँदै मनीषलाई कैद मुक्त गर्ने फैसला सम्मानित सर्वोच्च अदालतले गर्दछ।
पाँच वर्षको जेल जीवन पश्चात मनीष निर्दोष ठहर हुन्छ¸ आजाद हुन्छ।
तर पाँच वर्षको जेल जीवनले मनीषको जीवनमा धेरै कुरा नबदलिने गरी बदलिसकेका हुन्छन्।
मनीष पढाइ छुटिसकेको हुन्छ। ऊ फेरि कलेजमा भर्ना भएर भर्खरका विद्यार्थी जसरी पढ्न जान पनि सक्दैन।
उसले आफूले इच्छाएको क्षेत्रमा जागिर पाउन पनि सक्दैन। ऊ साथी भाइ समाजसँग राम्रोसँग घुलमिल पनि हुन सक्दैन। अदालतले निर्दोष ठहर गरी जेलबाट छुटेर आएको भए पनि समाजले भने उसलाई एक अपराधी कै रूपमा व्यवहार गरिरहन्छ। मनीषप्रति मात्र नभएर उसको परिवारप्रति नै समाज सशंकित हुँदा अन्तत:मनीष आफ्नै घर परिवारको लागि पनि बिरानो बन्न पुग्छ। ऊ घर छोडेर कतै टाढा गइदेओस् भन्ने सोच उसकै परिवारले राख्छन्।
तमाम कारणहरूका समय बित्दै जाँदा मनीष आफ्नै परिवार र समाजबाट टाढा टाढा हुँदै जान्छ। बिस्तारै उसको मानसिक सन्तुलन पनि बिग्रिन पुग्दछ।
***
माथि युवती अर्थात् प्रशंसाले सम्झिरहेको पात्र अरू कोही थिएन¸ऊ मनीष नै थियो।
अदालतले आफ्नो त्रूटीपूर्ण फैसला न्यायिक पुनरावलोकनबाट सच्यायो तर मनीषले न्याय पायो या पाएन यो कुरा भने सधैंका लागि अनुत्तरित नै रहिरह्यो।