कविता:
मेरो समाधिस्थललाई
छोएर बहने बतासहरू
हरेक दिन आउँछन्
विचलित बनाउने सन्देशहरू बोकेर ।
कहिले सुनाउँछन्
बलात्कृत अबोध पालुवाहरूका
कारूणिक र कहालीलाग्दो चित्कारहरू
कहिले सुनाउँछन्
लुटिएका सपना, आशा र विश्वासको
भित्रैसम्म पुर्याइएका घाउका पीडाहरू
कहिले सुनाउँछन्
मैले छोडेर आएको गाउँ बस्तीहरू
मेरो समाधिस्थल जस्तै
सूर्यास्तले छपक्कै छोपेको खबरहरू
र,हरेक दिन मेरा प्रियजनहरू
टिठलाग्दा अनुहारहरू बोकेर
उभिरहेका हुन्छन रे
पूर्वको बूढो पहाडतिर हेर्दै
बिहानीको प्रतीक्षामा।
बिहान सबेरै
चिर्बिर चिर्बिर गर्ने चराहरू
जसको स्वर सुनेर म
सारा पीडाहरू भुल्थें
उनीहरू पनि बसाइ हिँडे रे
अचेल ती लेकबेंसीहरूमा
मनै खिन्न बनाउने गरी
झ्याउकिरीहरू मात्र कराउँछन् रे
एकोहोरो कर्कश आवाजहरू निकालेर ।
मेरो समाधिस्थलका फूलहरू
जुन मेरा सहयोद्धाहरूले छाडेर गएका थिए
हराए जस्तै
हराउँदै गएका छन् रे फूलहरू
र जबरजस्ती अन्त कतै
बाँच्नको लागि
रहर बिना फुल्दी रहनुपरेको छ रे।
भत्भती पोलेको मन बोकेर बस्दा
अनौठो गरी यो आकाश
मेरै समाधिस्थलमा
कुनै संकेतहरू नदिई
खसाउँछ वेजोड चटयांगहरू
र उत्प्रेरित गर्छ मलाई
यो समाधिस्थल च्यातेर उठ्न।
सम्झी रहेको छु
उदास अनुहारहरू बोकेर
मेरो समाधिस्थलमा
हात-हातमा फूलहरू बोकेर
उपस्थित सहयोद्धाहरू
जो फर्किएका थिए
नयाँ बिहानीका नाराहरू लगाउँदै
सोध्न मन लागेको छ
अहिले ती बिहानीहरू
कसको पोल्टामा रमाइरहेका होलान्?
ए मेरा सहयोद्धाहरू !
हरदम
सूर्यास्त हुने
निस्सासिने
छट्पटी मात्र हुने
परित्यक्त निर्जन यो समाधिस्थलमा
अब त
सहिदको उपाधि लिएर मात्र
बाँच्न पनि मन लाग्न छोडिसकेको छ।
फेरि एकचोटि
उठ्न मन लागेको छ उधारेर यो चिहान
र, धावा बोल्न मन लागेको छ
तिम्रा बोलीहरूको विरूद्ध
तिम्रा हातहरूको विरूद्ध
तिम्रा नियतहरूको विरूद्ध
तिम्रा छलछाम र घातहरूको विरूद्ध
र सधैं सधैंको लागि
पुन:सहिद हुन मन लागेको छ।
सायद त्यसपछि मलाई
मेरो यो समाधिस्थलमा
अनुभव हुने छैन
निस्सासहट
छट्पटी
र सूर्यास्तको
निशन्देह:
निदाउन सक्छु म आरामले
जसरी सुत्छन् फैलिएर आकाशमा बादलहरू
मेरो मृत देह
र समाधिस्थल
शितल हुनेछ त्यसैगरी
जसरी शितल हुन्छन्
छेवैका साना टापुहरू
समुद्री बतासहरूले ।
तर हाललाई
तिमीले हातमा बोकेर ल्याएका
महँगा पुष्पगुच्छाहरू
मेरा लागि मुश्किलले पोखिएका
श्रद्धान्जलीका दुई शब्दहरू
र, तिम्रो कुत्सित नियत र पदचापहरू
अस्वीकार्य छ
मेरो समाधिस्थल वरिपरि ।