कथा
यो कुरा सुन्दा तपाईंलाई लाग्न सक्छ कि त्यो दिन पृथ्वीको थिएन, कुनै अर्को ग्रहबाट आएर पृथ्वीलाई छोपेको थियो। तपाईंलाई त अझ यो पनि लाग्न सक्छ कि म जुन निभानको कुरा गर्दैछु त्यो निभान नै कुनै अर्कै ग्रहको थियो, त्यो के त ‘पिके’को आमिर खान, हो त्यस्तै।
मलाई पनि उसलाई पहिलो पल्ट भेट्दा त्यस्तै लागेको थियो। हैन हैन पिके जस्तो नांगो थिएन, बस थोरै फरक थियो, उसको कुरा गराइले गर्दा। ‘कसैलाई नभन्नू है’ भन्दै दायाँबायाँ हेरेर सानो स्वरमा निभानले भनेको थियो, म मान्छेको जिउबाट उडेको सपनाको बाफ देख्न सक्छु।
उसलाई त्यही क्षण छोडेर भागौंझैं लागेको थियो तर भाग्न सकिनँ, नभागेकै कारण अहिले तपाईंलाई यो कथा सुनाउँदै छु।
‘के हो आज त बबाल कथा फुरेजस्तो छ नि?’ रवीन दाइले जिस्काउँदै भन्नुभयो।
‘हैन हौ दाइ यो त पूरै सत्य घटनामा आधारित कुरा हो, सुन्दै जानु न तपाईंलाई अब म पूरै कथा भन्छु’, मैले हौसिँदै भनें।
धेरै पल्ट दाइले ‘नाइ नाइ’ भन्दा भन्दै जबरजस्ती आफूले लेखेका कथा सुनाएको थिएँ, यस्ले यो पल्ट पनि नसुनाइ छोड्दैन भन्ने लागेर होला , केही नभनी सुन्नुभयो।
साँझ परेको थियो, पानी पर्ला पर्ला जस्तो बादल लागेको थियो, आकाशको रंग भने सदा भन्दा फरक, गुलाबी थियो।
तपाईंले देख्नुभएको होला, त्यस्तै आकाश मान्छेको फेसबुक स्टोरीहरूमा या आफैंले पनि संयोगबस देख्नुभएको होला। तर हुनुपर्ने भन्दा केही गाढा गुलाबी थियो आकाश त्यो दिन। बादल गुलाबी थियो, प्रकाश पनि गुलाबी, कुनै बूढाबुढीसँग त्यो दिन तपाईंले भेट्नु भएको भए सायद भन्थे होलान् मेरा भानदाइ यस्तै दिनमा बितेर गए, ९० सालको भूकम्प आउने दिन पनि यस्तै भएको थियो या यस्तो भएको दिन देशमा ठूलो दुर्घटना घट्छ तर त्यो दिन त्यस्तो केही घट्ना घटेन, अरू दिनझैं सामान्य रह्यो।
ठ्याक्कै भन्दा, हिजो जस्तो थियो नि त्यस्तै थियो त्यो दिन।
त्यो दिनको अनौठो कुरा चाहिँ निभान नै हो, जो सिंहदरबार अगाडिको बाटोछेऊ कुर्सीमा बसेर उल्टो किताब पढिरहेको थियो।
अनौठो लागेर उसको छेउमा गएर बसेँ।
म छेउमा बसेको थाहा पाएपछि निभानले मतिर फर्केर हेर्यो, मैले भने एकोहोरो उसको उल्टो किताबमा हेरिरहेँ।
किताबलाई त्यसरी हेरेको देखेर उसले सोध्यो, ‘पढ्नुभाको छ यो किताब ?’
मैले भनें,‘खै मज्जाले देखाउनुस् त, त्यसपछि उसले त्यो उल्टो किताब मलाई दियो। किताबको बाहिरी आवरण हेरेँ नीलो आकाशको तस्बिरमा काला मोटा अक्षरले लेखिएको थियो , ‘सपनाका बाफहरू’ अनि तल सानो अक्षरमा लेखिएको थियो निभान।
मैले उसलाई यो किताब त मैले देखेकै थिएन भनेर हाँस्दै किताब फिर्ता गरेँ।
अनि हात अगाडि बढाएर भनें, ‘म नयन’।
उसले पनि हात अगाडि बढाएर भन्यो, ‘निभान’।
अनौठो मान्दै भनेँ, ‘यो किताबको लेखक तपाईं नै हो कि क्या हो?’ ऊ हो को भावमा मुस्कुरायो।
एकदमै खुसी लागेको थियो, लगभग मेरो उमेरको देखिने मान्छे, त्यही माथि एउटा लेखक, सँगै बसेर गफ गर्न पाउने भएँ भनेर, त्यतिबेला मलाई के थाहा उसले हातमा अक्षर बिनाको किताब बोकेको छ भन्ने।
मैले संवाद अगाडि बढाउने मनसायले सोधेको थिएँ, ‘केको बारेका लेख्नुभएको छ त किताब?’
उसले त्यही बेला कसैलाई ‘नभन्नू है’ भन्दै दायाँबायाँ हेरेर सानो स्वरमा मलाई भनेको थियो, म मान्छेको शरीरबाट उडेको सपनाको बाफ देख्न सक्छु, त्यही बाफको कुरा छन् यो किताबमा।
मलाई कुन पागलसँग बस्न आएछु भनेर मनमा थोरै डर पसेको थियो, एक मनले सोचेँ उठेर जाउँ, तर मगजले भन्यो त्यत्रो किताब लेख्ने मान्छे त्यसै हावा त नबोल्ला, फेरि लेखकको एउटा अनौठो बानी हुन्छ एउटा कुरा भनेर अर्कै अर्थ दिने। कतै ज्ञानकै कुरापो भन्न लागेको हो कि! भनेर उठिहाल्न सकिनँ।
‘किताबको शीर्षक त सारै जिज्ञासा जगाउने रहेछ, कति भयो किताब निकाल्नु भएको?’ सपनाका बाफहरूबारे बुझ्नका लागि प्रश्न गरेँ।
उसले मन्द मुस्कुराउँदै भन्यो, ‘छाप्नका लागि छापाखाना धाइरहेको छु कसैले छाप्न मानेका छैनन्।’
‘अनि किताब त छापाखानामै छापिएर आएको जस्तो छ नि?’ किताब साँच्चै राम्रो छापाखानाले छापेझै थियो त्यसैले सोधेको थिएँ।
‘हैन केको प्रिन्ट हुनु आफ्नो मनको शान्तिको लागि साथीकोमा प्रिन्ट गराएको। यही एउटा मात्र हो संसारभर यो नामको किताब’, थोरै हिच्किचाउँदै उसले भनेको थियो।
‘मलाई यस्तो हावा गफ नपेल न भाइ’, रवीन दाइले नपत्याएझैं भन्नुभयो, ‘काठमाडौं अचम्मको सहर हो, अजीव अजीव मान्छे थुर्पिने ठाउँ हो, त्यो त मलाई थाहा छ तर सपनाको बाफ देख्ने मान्छे रे’ अलिक उल्लाउने पारामा दाइले भन्नुभयो, ‘मलाई त भनिस् भनिस् अरूलाई चै नभन्नू तँलाई बौलायो भन्लान् नि!’
दाइले विश्वास गर्न सकिरहनुभएको थिएन मेरो कुरालाई त्यसैले पूरै कहानी सुन्ने रहर जागोस् भनेर दाइलाई भने, ‘त्यो दिन त हाम्रो खासै कुरा हुन पाएन, कोठामा गएर खाना पकाउनु छ, भाइ पनि आउने बेला भयो होला भनेर ऊ हिँडिहाल्यो। तर केही दिन पछि फेरि उसलाई रत्नपार्कको एउटा कुर्सीमा त्यही किताब उल्टै पढिरहेको भेटेको थिएँ।
दाइलाई त्यसबेलाचै मेरो कुरामा अलिक चाख लागेछ क्यार छैउमा आएर बस्दै भन्नुभयो, ‘भाइ तैले भनेको कुरा यदि साँचो हो भने त्यो मान्छे पागल भएको हुनुपर्छ, नत्र भन् त तँ आफैं, सद्दे मान्छेले त्यस्तो हर्कत देखाउँछ? अझै तँ भन्छस् किताब पनि खाली थियो भनेर।’
‘हैन हैन खाली थियो हैन खाली रहेछ’, पछि थाहा पाएको मैले त्यो पनि केही बेर अगाडि मैले सम्झाउँदै ।
त्यो दिन म जमलमा किताब किन्न भनेर गएको थिएँ, त्यहाँ मिलान कुन्देराको लाइफ इस एल्सवेयर किनें।
विदाको दिन भएर खासै काम पनि थिएन त्यसैले कहिल्यै नगएको रत्नपार्क जानुपर्यो भनेर १५ रुपैयाँको टिकट किनेर भित्र पसेको थिएँ। त्यहीभित्र एउटा कुर्सीमा बसिरहेको थियो निभान उल्टो किताब पढेर। छेउमा गएर उसको नाम बोलाएर हात बढाएँ अनि हालखबर सोधेँ, उसले केही नचिनेझैं गरेर मसँग हात मिलायो।
एउटा कुरा अचम्मको थियो उसको मुहारमा, केही खोजिरहे जस्ता आँखा थिए उसका, मैले सिंहदरबार अगाडि देखेको निभानका जस्तै, भन्नाले केही परिवर्तननै थिएन उसको आँखामा, केही त पक्कै खोजिरहेथे ती आँखाले।
कुर्सीमा बस्नमात्र भ्याएको थिएँ केही पर रूखको छहारीमा बसेको एउटा मान्छे देखाएर उसले भन्यो, ‘त्यो मान्छेलाई हेर त उसको शरीरबाट सपनाको बाफ उडिरहेको छ।’
के भनौं भनौं भएको थियो मलाई, हो भनौं भनेँ देखेको केही हैन अब होइन भनौं कसरी भनौं , पागल जस्तो कुरा गरेको छ रिसाउने पो हो कि! के भन्नु के नभन्नुको दोधार मलाई थिच्नै लागेको थियो।
उसले आफैं भन्यो, ‘त्यो मान्छे गायक बन्न सहर पसेको हो, केही वर्ष भएछ उसले ठूला मान्छेको चाकडी गरेको, कसैले गाउन दिइ हाल्छ कि भनेर अनि चाकडी गर्दा गर्दा उसलाई लाग्न थालेछ कि मान्छेको भाग्यमा लेखिएको हुनुपर्छ यस्ता कुराहरू, मेरो भाग्यमा गायक लेखिएको रहेनछ, आजबाट उसले गायक बन्ने सपना त्यागेर गाउँमा गएर कोदालो चलाउने निर्णय गर्दैछ।
उसका त्यस्ता कुरा सुनेर छक्क परिरहेको थिएँ। उसले भन्दै गयो, ‘मैले यो कुरा उसको शरीरबाट उडेको बाफ देखेर भनेको। मलाई त भन्छौ भने नि नयन, यो मान्छे त भाग्यमानी पो लाग्छ, कोही कोहीको त सपनाको धुवा उड्छ पनि यसको बाफमात्र आएछ।’ एकदमै हाँसेकोझैं नलाग्नेगरी हाँसेर उसले भन्यो।
फेरी मलाई एक पल्ट हेर्यो र भन्यो त्यो परको केटी छे नि त्यो रातो टिसर्ट लगाएर केटासँग बस्ने त्यो केटी यहाँ नायिका बन्छु भनेर आकी थिई अहिले उसको पेटमा त्यो केटाको बच्चा छ। लगभग ४ महिनाको। अनि उसको मनमा अलमल छ जीवनले कता लैजान्छ भनेर, अहिले उसको शरीरबाट मरेको नायिकाको सपनाको बाफ आइरहेको छ।
यी कुराहरू भन्दै गर्दा उसले हातको किताब बन्द गरिसकेको थियो। उसलाई अझै बुझ्न भनेर सोधें, ‘सबैको सपना थाहा पाउँदो रहेछौ, ल अब भन मेरो शरीरको बाफले के भनिरहेको छ त? के सबैको शरीरबाट सपनाको बाफ आउँछ?’, उसले थोरै हाँस्दै भन्यो, ‘मैले भन्दा त्यो कुरा तिमी आफैंले खोजेको राम्रो।’
उसको कुरा बुझ्न गाह्रो परेको थियो मलाई र अहिले पनि कताकता त्यस्तै भइरहेको छ।
दाजु, त्यो दिन भने उसले बिदा हुन भन्दा अगाडि मलाई किताब हातमा दिएर भनेको थियो, ‘राख झोलामा अहिले चै नहेर्नू मलाई अर्को पल्ट भेटेको बेला दिए हुन्छ।’
उसको व्यवहार अनौठो लागेर भनेँ, ‘तिमीसँग भएको यही एउटा किताब हैन? उसले थोरै हाँसेझैं गरेर भन्यो, ‘केही छैन मसँग सफ्ट कपी छ।’ उसको आँखामा अझै केही खोजिरहेकै थिए। थाहा थिएन के भनेर।
त्यो दिन पनि उसले पहिलो भेटमाझै ‘खाना पकाउनु छ’ भन्दै बिदा मागेको थियो।
अँध्यारो हुन लागेकोले त्यो किताब झोलामा हालेर हिँडेको थिएँ म घरतिर।
आज लगभग रत्नपार्कमा ऊ सँग भेट भएको एक हप्ता भएछ।
उसले दिएको किताब आजसम्म खोज्न भ्याएको रहेनछु।
दाइ छेउमा बसेर जिज्ञासु आँखाले मलाई हेरिरहनु भएको रहेछ।
हातको पत्रिका देखाउँदै भनें, ‘दाइ यो समाचार हेर्नु त यसमा उसको फोटो टाँसिएको छ। दाइले खै देखा यता भन्दै पत्रिका हातमा लिनुभयो, अनि अनुहारको रङ पूरै मधुरो बनाएर भन्नुभयो, ‘भनेको त थिएँ नि पागल जस्तो छ भनेर झुन्डेरै मरेछ। हेर त उमेर पनि भर्खर २२ मात्र पुगेको रहेछ।’
केहीबेर हामी दुवै मौन भयौं। अनि दाइले सोध्नुभयो, ‘किताबमा केही पनि रहेनछ त? अँ दाइ आज यो पत्रिकाबाट ऊ हिजो मरेको थाहा पाएपछि मात्र खोलेको हो किताब सबै पन्ना खाली छन् अनि अन्तिम पानामा भने यति लेखेको छ हेर्नु त’, दाइलाई सपनाका बाफहरू थमाउँदै भनेँ।
दाइले किताबको पाना हेरेर मनमनै पढेका अक्षर यस्ता छन्।
हरेक मान्छेको आफ्नै सपना हुन्छन्, मेरो पनि थियो, यो केही पहिलेको कुरा हो। अहिले त म अरूको शरीरबाट उडेको सपनाको बाफ देख्छु। मेरो सपना पनि त्यसरी नै मलाई थाहा नदिइ उडेको रहेछ कुनै दिन बाफ बनेर। म अहिले हराएको त्यही सपनाको बाफको खोजमा छु। अचेल लाग्छ संसार त सपना जतन गर्न जान्नेको मात्र हुने रहेछ। यस्ता जीवन पनि छन् जो सपना मरे पनि आफू बाँचेका छन्, तर मेरो सपना त मेरो जीवनभन्दा ठूलो थियो, म सपनाबिना अब कसरी बाँचू? मान्छेको जीवन धेरै हन्डरले तातेपछि, सपना त बाफ बनेर उड्दो रहेछ र बाँकी रहेको खोक्रो जीवन त्यो कुनै दिन धूवाँ। मेरो दुवै हुने भयो।