अन्नपूर्णको काखैमा हरिया डाँडाबीच लमतन्न फैलिएको धान्द्रुक डाँडाको कोम्रुङको सिरानीमा पर्छ राजमान गुरूङको चुइले गाउँ।
कुनाको सानो ठाउँ हत्तपत्त कोही नपुग्ने जस्तो। दायाँ हेर्दा अन्नपूर्ण दक्षिण र हिउँचुली टल्किन्छन् भने तल बेसीमा मोदी खोला काली गण्डकी भेट्न हतारिइरहेको।
ठिक पारि माछापुच्छ्रे हिमाल ठिंग उभिएको — साँच्चै माछाको जस्तै दुई फ्याक पुच्छर ठड्याएर!
बायाँतर्फ देखिन्छन् पर्वत, स्याङ्जा र कास्की जिल्लाबीचका पहाड र उपत्यका — अनि ती जिल्लाको संगमस्थल पञ्चासे पहाड। यहाँबाट फेवातालमा पानी लैजाने हर्पन खोलाको पहिलो थोपा मात्रै खस्दैन, पोखरा दक्षिण–पश्चिमको संस्कृतिको केन्द्रबिन्दुको विकासक्रम पनि सुरू हुन्छ।
हो यिनै पहाड हेर्दै ४६ वर्षीय राजमान गुरूङ हुर्किए।
युवा भएपछि पोखरा गए, काठमाडौं गए अनि दुबई पनि पुगे। दुबईमा उनले पाँच वर्ष बिजुलीको काम गरेर पसिना बगाए।
हिजोआज भने उनका दिन पोखरा, घान्द्रुक, कोम्रुङ, चुइले अनि त्यहाँबाट तीन घन्टा माथि पर्ने मुल्डे लेक गर्दै बित्छ।
करिब २५ वर्ष भयो उनले मुल्डे लेकदेखि केही तलतिर दोबाटो भन्ने स्थान (३,६०० मिटर उचाइ) मा 'लक्की लज' खोलेको।
लक्की यस कारण कि — तल धान्द्रुक वा टाढापानी वा घोडेपानी वा पारि म्याग्दीको खोप्रा डाँडादेखि यति माथि, यति टाढा केही वर्षअघिसम्म पदयात्रीले लज त परको कुरा, बास बस्ने ठाउँ पनि पाउँदैनथे।
‘त्यति बेला यो एकलासको डाँडामा बस्दा माओवादीले लैजालान् भन्ने डर थियो। त्यसैले छाडेर दुबई गएँ,’ हालैको एक चिसो तर घमाइलो बिहान चियाको चुस्की लिँदै राजमानले पुराना दिन सम्झिए, ‘२०६३ सालपछि देशमा शान्ति फर्कियो। म पनि गाउँ फर्किएँ। अनि यो पदमार्गमा थप लजहरू खोल्न एक्याप (अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना) को अनुमति लिन दौडिन थालेँ।’
मुल्डे लेकमा ३० लाख रूपैयाँ खर्च गरेर बनाइएका विभिन्न संरचनाबारे जानकारी दिँदै राजमान गुरूङ। तस्बिरः सुरेन्द्र फुयाल
घान्द्रुकको चुइले गाउँ माथि मुल्डे जाने बाटोबाट देखिएका अन्नपूर्ण माछापुच्छ्रे हिमाल। तस्बिरः सुरेन्द्र फुयाल
राजमान गुरूङले दुबईको गर्मी खाएर, अघाएर आफ्नो गाउँ फर्किएपछि मुल्डे लेकको कथा बदलिएको छ।
उनको लजको बाटो भएर पदयात्रीहरू मुल्डे लेक मात्र होइन, पारि म्यादीको खोप्रा डाँडा र तलका टाढापानी र माथिको हिडन लेक (त्रिवेणी देवी ताल) आउजाउ गर्ने क्रम ह्वात्तै बढेको छ। पर्यटन याममा दैनिक ५० देखि ६० जनासम्म गाँस र बासको खोजीमा आउँछन्।
त्यसैले राजमान र उनकी श्रीमती राजकुमारीलाई पारि म्याग्दी वा वारि धान्द्रुकतिरबाट मुल्डे लेक आउने पदयात्रीको सत्कार गर्न भ्याइनभ्याइ छ। आम्दानी मनग्य हुन थालेपछि छोरा र छोरीलाई पोखरामा पढाइरहेका छन्।
हालैको एक साँझ हामी १४ जना नेपाली (ह्याप्पी हाइकर्स) को हुल पुग्ने बित्तिकै लक्की लजमा नेपाली विद्यार्थीको अर्को ठूलो समूह पनि आइपुग्यो। एक जना रूस छाडेर काजखस्तान बसाइ सरेका युवा र एक जर्मन युवती पनि त्यहीँ बास बस्न आइपुगेका थिए।
राजमान खोप्रा डाँडाको एक अक्करे भीरबाट लडेर मृत्यु भएकी ३७ वर्षीय जर्मन सोलो ट्रेकर (एकल पदयात्री) एस्ट्रिड एलिजाबेथ वेइसरको उद्धारमा सहयोग गर्न दुर्घटनास्थल पुगेर भर्खरै फर्किएका थिए।
भन्दै थिए, ‘सायद गुगल नक्सा हेर्दै उनी त्यो मानिस हिँड्न छाडेको खतरनाक बाटोमा पुगेकी होलिन्, ठूलो भीरबाट खस्न पुगिन्। हराएको पाँच दिनमा उनलाई बल्ल भेटियो, हेलिकोप्टरमा शव पठाइयो।’
मुल्डेको क्रम विकास
मुल्डे लेकमा बनाइएको एक बुद्ध प्रतिमा। तस्बिरः सुरेन्द्र फुयाल
मुल्डे लेक एकै रातमा प्रसिद्ध ट्रेकिङ गन्तव्य बनेको भने होइन। करिब १५ वर्ष अघिसम्म पनि राजमानको लजमा मुस्किलले पदयात्री आइपुग्थे, आक्कल झुक्कल।
११ वर्षअघि हुदहुद आँधीले अन्नपूर्ण क्षेत्रमा जनधनको ठूलो क्षति गरेका बेला काठमाडौंबाट हिमाली पदयात्रा रूचाउने वरिष्ठ पत्रकार कुन्द दीक्षित उनको लक्की लज पुगे। यसपछि बिस्तारै यो क्षेत्रमा पदयात्रीको संख्या बढ्न थालेको राजमानले बताए।
कारण — कुन्द दीक्षित मुल्डे लेक पुगेर वरिपरिका दृश्यावली हेरेर यति प्रफुल्ल भए कि उनले आफ्नो नेपाली टाइम्स पत्रिकामा मुल्डेबारे लेख लेखे। यति मात्रै होइन, मुल्डे लेकबाट देखिने सबै हिमाली चुचुरा समेटेर एक थुप्रो पोस्टर छापेर पठाइदिए।
अनि मुल्डे भ्यू प्वाइन्टको चर्चा चुलिन थाल्यो।
हामी पनि दोस्रो दिन झिसमिसेमै बाटोमा जमेको बरफ छल्दै ३० मिनेट उकालो चढेर मुल्डे लेक (३९०० मिटर) पुग्दा उत्ति नै आनन्दित भयौं।
यस कारण — पारि धादिङ–काठमाडौं पूर्वबाट घाम झुल्किने बित्तिकै वरिपरिका हरिया पहाड र खर्क राता पहेँला हुन थाले। त्यता नजर लगाउँदै गर्दा पश्चिममा धौलागिरिको टाकुरा रातो भयो।
अनि क्रमशः टुकुचे, निलगिरि, अन्नपूर्ण प्रथम, अन्नपूर्ण दक्षिण, हिउँचुलीका टाकुरा रंगिन थाले। माछापुच्छ्रे, अन्नपूर्ण तेस्रो र मनास्लुका टाकुरामा पनि के कम, फागु खेलेझैं रंगिए।
ती दृश्य आफ्ना मोबाइल वा क्यामरा वा आँखा वा मानसपटलमा कैद गर्न मुल्डे लेक पुगेका ह्याप्पी हाइकर्स तँछाडमछाड गर्न थालिहाले।

मुल्डे भ्यू प्वाइन्टबाट बिहानै देखिएका धौलागिरि र अन्नपूर्णका चुलीहरू। तस्बिरः सुरेन्द्र फुयाल
मुल्डे लेकको यस्तो रमिता देखेर सायद दक्षिणतिर रहेका पुनहिल र टाढापानी डाँडा पूरै लोभिन्छन् होला। किनभने, मुल्डे लेकबाट देखिने दृश्यावली करिब करिब पुनहिलबाट देखिने दृश्यावलीसँग मेल खान्छन्।
तर हिजोआज मोटरबाटो पुगिसकेको घोडेपानीको जस्तो थामिनसक्नु भिड मुल्डे लेकमा हुने कुरै भएन।
पोँडे खर्क
मुल्डे लेक क्षेत्र समेटिएको अन्नपूर्ण क्षेत्रको नक्सा।
मुल्डे लेकबाट टाढापानी हुँदै फर्किने विकल्प छँदैछ। तर अझै टाढा पुग्ने हो भने मुल्डे लेकबाट खोप्रा डाँडा वा खयर ताल वा पोँडे खर्कतिर लाग्ने विकल्प पनि छ। हाम्रो १४ जनाको हुल चाहिँ लक्की होटलबाट पोँडे खर्कतर्फ लाग्यो, पहिला ओरालो झर्दै त्यसपछि ठाडो लाग्दै।
पश्चिमतिर खोप्रा डाँडा जाने र सिधै उत्तर अन्नपूर्ण दक्षिणको फेदीमा फैलिएको पोँडे खर्क जाने पदमार्ग छुट्टिने दोबाटोमा अर्का जर्मन सोलो ट्रेकर भेटिए। एक्लै स्याँस्याँ गर्दै मुल्डेतर्फ आइरहेका, झन्डै हामीसँग ठोक्किने गरी।
उमेर पचास निकटका ती मनुवाले पनि जर्मन महिला भिरबाट खसेर बितेको सुनेका रहेछन्। उनले आफ्नी देशवासी ती केटी ‘निकै साहसी तर मूर्ख भएको’ टिप्पणी गरिहाले।
सत्य कुरा तिनै महिला र उनी गुल्टिएको साक्षी खोप्रा डाँडालाई मात्रै थाहा होला!
म र साथी कमल हुलको पछिपछि अघि बढिरह्यौं। सुस्तरी सुस्तरी। स्वाँस्वाँ गर्दै। अनि रोकिँदै।
यहाँ रूखहरू थिएनन्, खाली घाँस सुकेर मरिसकेको खर्क मात्र थियो। चार हजार मिटरको उचाइतर्फ उकालो लाग्दा पोखरा वा काठमाडौंको जति अक्सिजन कहाँ पाइन्छ र? हेर्दा त्यहीँ माथि जस्तो देखिने पोँडे खर्क पुग्न घन्टौं लाग्यो।
बाटोमा ठूलो पहिरो गएको एउटा भिर पार गरेपछि डाँडामा पुगियो। उचाइ ४२०० मिटर। बेस्सरी हुरी चल्दै थियो अनि चिसो सिरेटो। दृश्यावली चाहिँ गजबकै — अगाडि पूरै माछापुच्छ्रे र मर्दी हिमाल; तल बेसीमा अन्नपूर्ण पग्लिएर बग्न थालेको मोदी नदी; दक्षिणतिर तीव्र निर्माण भइरहेको धान्द्रुक गाउँ — कुनै नयाँ नेपाली कंक्रिटको जंगलरूपी सहर जस्तै।
अनि अगाडि आइपुग्यो रातो जस्ताको छाना भएको सुन्दर हिडन प्याराडाइज होटल।
पोँडे खर्कमा चुइलेका रामकाजी गुरूङले चलाएको होटलमा सरसामान लैजान घोडाको सहारा लिनुपर्छ। तस्बिरः सुरेन्द्र फुयाल
भित्र भेटिए चुइलेकै रामकाजी गुरूङ। अनि हाम्रो हुलबीच दुई स्विटजरल्यान्डका नवयुवा एन्डी र साइमन।
एन्डीकी आमाले बारपाकमा सामाजिक कामका लागि सहयोग जुटाएकाले दुवै त्यही बहानामा नेपालका हिमाली क्षेत्रमा यसरी पेटभरि घुम्दै रहेछन् कि मानौं, दुवै स्विटजरल्यान्डको च्यामोनिक्स क्षेत्रको एल्प्स पर्वत मालामै छन्। आफ्नै गाउँमा छन्!
नेपालका पुराना स्विस मित्र टोनी हेगनबारे मेरो बखान सुनेपछि दुवैले उनीबारे हत्तपत्त मोबाइलमा खोजी गरेर पढे। अनि दंग भए।
मुस्कुराउँदै साइमनले भने, ‘ओहो स्विट्जरल्यान्डमा तिब्बती शरणार्थी पनि उनैले पो लगेका रहेछन्!’
हिडन लेक (त्रिवेणी देवी ताल)
बाहिर एक टुक्रा पनि बादल नभएको आकाश। तेस्रो दिनको बिहानीको दृश्य मुल्डे लेकको भन्दा पनि जादुमय।
साढे छ बजेपछि माछापुच्छ्रे पछाडि कहीँ दूर काठमाडौँतिरबाट सूर्य झुल्कियो। अनि चुचुराहरू एकपछि अर्को झललल। हामी चिया नास्तापछि माथि हिडन लेक अर्थात् त्रिवेणी देवी ताल जानु थियो।
सुस्तरी सुस्तरी खर्कको सुकेका घाँसबीचको उकालो जाने बाटो देखाए चुइलेदेखि हामीसँगै आएका हाम्रा गाइड कृष्ण बानियाँले।
बाउबाजे तल के बदमासी गरेर माथि गोठाला बन्न आएका रे! अनि उनी पनि भेडा चराउँदै यता धेरै पटक आएका रे!
डेढ घन्टा उकालो र तेर्सो हानेपछि खर्क माथि पुगियो। अन्नपूर्ण दक्षिणको फेदीमा पुगेझैं लाग्यो। तैपनि लुकेको ताल देखिएन।
अझै अगाडि बल्ल आयो एउटा अर्को पहाड पछाडि लुकेर बसेको हिडन लेक जसलाई धान्द्रुके गुरूङले निकै शक्तिशाली मान्दै पुज्दा रहेछन्।
आकार मानव मुटु जस्तै तर मध्य मंसिरमा आधा जमिसकेको। नाम दिएका रहेछन् त्रिवेणी देवी बाराही ताल। छेवैमा पोखराको ताल बाराही जस्तै सानो तर सुन्दर मन्दिर बनेको रहेछ। मन्दिर बाहिर देवतालाई पानी चढाएपछि राखिएका तामाका घडाको ठूलो बिस्कुन देखियो।
पोँडे खर्कदेखि दुई घन्टा हिँडेर पुगिने हिडन लेक (त्रिवेणी देवी ताल) लाई घान्द्रुकका गुरूङले आफ्ना संरक्षक मान्छन्। तस्बिरः सुरेन्द्र फुयाल

ठिक पछाडितिरबाट पानी बगेर बनेको त्रिवेणी ताल (४३५० मिटर) बिछट्टै सुन्दर तर लुकेर सुरक्षित बसेको जस्तो देखियो। मानौं, यो साँच्चै देवीदेवताको बासस्थान हो।
मानव मुटु आकारको तर सानो यो ताल लगभग रसुवाको गोसाइँकुण्डकै उचाइमा छ।
तालमा हाम्रो हल्लाप्रेमी हुल आइपुगिसकेको थिएन। लाग्यो शक्तिपिठ यही हो र अहिले शक्तिको वर्षा भइरहेको छ। त्यसलाई समात्न म केही बेर छेवैको चौरमा पलेँटी आसनमा बसेँ, सानोतिनो ध्यान गर्ने कोसिस गर्दै।
तर हात हातमा कसैको नभएको मोबाइल फोन बोकेको भिड आइपुगिहाल्यो। सुरू भयो हल्ला र ताल किनारको जमेको बरफमा हिँड्ने र ‘स्टन्ट हान्ने’ प्रतिस्पर्धा। अनि ध्यान सबै भंग। शान्ति भताभुंग। मानौं, काठमाडौंको कुनै व्यस्त चोकका मानिस सबै यति बेला धान्द्रुकमाथि शिरको त्रिवेणी कुण्डमैं आइपुगिसकेका छन्।
अझै माथि रहेछ माराम्चे भनिने अर्को रहस्यमयी गन्तव्य।
ताल नजिकैको खर्कको भिर छेउछेउ जाने सजिलो विकल्प रोज्दा दिउँसोको १२ बज्न लागेको थियो। अब हामीलाई हावाहुरीले यसरी हान्यो, मानौं हामी हिमाल पारि जोमसोम बजार वरपर वा मनाङको कुनै पहाडमा छौं!
एकैछिनमा हावा रोकिएपछि माथि जाने यात्रा सहज भयो। अर्को एक घन्टा बिस्तारै हिँडेपछि आइपुग्यो माराम्चे भ्यू प्वाइन्ट। यहाँबाट निकै तल माराम्चे खोँचमा हिउँनदी पग्लिएर नदी बनेको देखियो।
हिडन लेकदेखि एक घन्टा उकालो गएपछि पुगिने माराम्चे भ्यू प्वाइन्टबाट अन्नपूर्ण दक्षिणबाट झरेको हिमनदी नजिकै देख्न सकिन्छ। तस्बिरः सुरेन्द्र फुयाल
अगाडि अन्नपूर्ण दक्षिणको हिमनदी टुप्पादेखि फेदसम्मै देखियो। साथमा अरू हिउँ चुचुरा बिस्तारै आकाशमा मडारिएका सेता बादलले छोपिन लागेका।
‘लडेर हुने वा काटेको घाउ चटक्कै निको हुने जडिबुटी खोज्न हामी त्यहाँ तल जाने गर्छौं,’ कृष्ण बानियाँले हिमनदी झरेर तल नदी बग्न लागेको गहिरो खोँचतर्फ देखाउँदै भने।
तर विशाल भिर झरेर फेरि उक्लिने न हाम्रो योजना थियो, न हामीसँग तागत थियो।
छोम्रुङ झर्दै झिनु डाँडा
उत्तिकै चिसो चौथो बिहान। माछापुच्छ्रे पछाडिबाट झुल्किएको सूर्यको किरणले कसरी तताउन सक्थ्यो। हामी पोँडे खर्कबाट सिधै झरेर माराम्चेबाट आएको नदी बगेको खोंचतर्फ झर्न थाल्यौं। लगभग हाम फाल्दै फाल्दै!
माराम्चेबाट आएको नदीमाथि नयाँ झोलुंगे पुलले यात्रा सहज बनाइदियो। अब फेरि तेर्सो उकालो सुरू भयो। केही बेरमा फेरि अर्को पहाडमाथि आइपुग्यौं जहाँबाट पारि हामीले हिँडेको माथिल्लो घान्द्रुकका गाउँ टाढापानी र मुल्डे लेकको रमणीय दृश्य धीत मरून्जेल हेर्यौं।
अझै ओरालो लाग्दै गएपछि अर्को रमणीय ठाउँ आइपुग्यो, तिरिबुङ। घमाइलो खर्कमा करिब दुई दर्जन चौंरी चरिरहेका। हामीलाई देखेपछि केही तर्किए र पाखा लागे।
तिनका गोठाला रहेछन् गोर्खा घर भएका गोठे गुरूङ। निकै ठट्यौला। महिनाको २५ हजार रूपैयाँ तलब कमाउन ११ महिना छोम्रुङ माथिको यो डाँडाको चौंरीगोठमा बस्दा रहेछन्।
छोम्रुङदेखि ठिक पश्चिममा माथि खर्कमा रहेको तिरिबुङमा पदयात्रीलाई खान बस्न नयाँ लज बनाइएको छ। तस्बिरः सुरेन्द्र फुयाल
तिरिबुङबाट फेरि एक पटक अन्नपूर्ण हिमशृंखला आँखाको धीत मरून्जेल हेरेपछि हामी वनको बाटो ओरालो लाग्यौं, छोम्रुङ गाउँतर्फ।
निरन्तर ओरालो झरेको झर्यै गर्दा घुँडा र पिँडुलामा चोट लाग्न सक्छ। त्यसैले ठाउँ ठाउँमा रोकिँदै, तलका बस्ती र हरिया वन तथा खोंचका दृश्यपान गर्यौं। लगभग ३० हजार पाइला निरन्तर ओरालो झरेपछि बल्ल छोम्रुङको टाकुरा पुग्यौं।
'रियल छोम्रुङ' नाम गरेको नयाँ होटल रङरङका फूलका गमलाले सिँगारिएको रहेछ। पछाडि हिमाल टल्किरहेको। मानौं, कुनै स्वर्गमा आइपुगियो!
छोम्रुङ गाउँमाथिको वनबाट देखिएको हिमाल। तस्बिरः सुरेन्द्र फुयाल
‘छ्याजालो (गुरूङ भाषामा नमस्कार), साहुजी तपाईंको होटल एकदमै सुन्दर रहेछ। कुनै दिन मौका मिले बस्नुपर्छ।'
आफ्नो भाषा सुनेर गुरूङ दाइ मुसुक्क हाँसे र भने, ‘छ्याजालो, भइहाल्छ नि!’
छोम्रुङको डाँडाबाटै हो अन्नपूर्णको आधार शिविर (एबिसी) जाने। तर हामीलाई अझै तल झर्नु थियो।
मोदी खोला माथि, मात्र १७ सय मिटर उचाइ भएको झिनु डाँडा। यहाँ पुग्दा चुइले र मुल्डे लेकमाथिबाट सूर्य अस्ताउन लागिसकेको थियो।
छ्याजालो भनेपछि 'नमस्ते होटल' की साहुनी मुसुक्क हाँसिन्। कोलकाताबाट आएका बंगाली युवा पदयात्री पाहुनालाई आफ्नै बगैंचामा फलेको रोजमेरीको पात बेच्न व्यस्त थिइन्।
झिनु डाँडा पुगेपछि झिनु तातोपानीमा डुब्न बिर्सिनै हुँदैन। हामी चार दिनदेखि हिँडेर लखतरान र फोहोरी भएका मनुवालाई त्यो झनै आवश्यक हुने नै भयो।
त्यसैले झोला राखेपछि फेरि ४० मिनेट ओरालो झरियो, तल मोदी खोलाको खोंचतर्फ, जहाँ झिनु तातोपानी कुण्ड हामी र अन्य थकित यात्रीलाई कुरिरहेको थियो।
झिनुको प्रसिद्ध तातोपानी कुण्ड
प्रति व्यक्ति सय रूपैयाँको टिकट किन्दा दुःख लागेन किनभने झिनुको तातोपानी धारा र पोखरी बर्सेनि मोदीको बाढीले बगाइदिन्छ। हरेक वर्खापछि तिनको पुनर्निर्माण गर्नुपर्ने बाध्यता छ।
तातोपानीमा डुबुल्की लगाउने क्रममा आँखैसामु एक बंगाली आइपुगे। एबिसी गएर आएका उनले आफू पर्वतारोही रहेको र भारतको उत्तराखण्डमा सात हजार मिटर अग्ला हिमाल चढिसकेको धाक लगाइहाले।
चर्को स्वरमा गफ दिन माहिर ती बंगालीले आफ्नो अन्तिम इच्छा पनि सुनाउन भ्याए — म हरेक वर्ष हिमाल चढ्न आइरहन्छु। सायद म कुनै हिमालकै टाकुरामा मर्न पुग्छु होला!
मैले भनेँ, 'त्यस्तो चाहिँ नहोस्। हो हिमाल आरोहण जोखिमपूर्ण हुन्छ तर हिमालमै गएर मर्ने कुरा चाहिँ नगर्नुहोला कृपया। जीवित फर्किएर आफ्नो कथा संसारलाई सुनाउनु पो पर्छ।’
उनको गफ सुनेर अवाक भएका हामी भने तातोपानी कुण्डमा डुबिरह्यौं आफ्ना दुखेका पासुला आफै मालिस गर्दै। साँझ झमक्कै परेर अँध्यारो भए पनि हामी डुबी नै रह्यौं करिब एक घन्टासम्म।
किनभने, अर्को दिन सखारै हामी झिनु डाँडा जोड्ने झोलुंगे पुल तरेर पारि जानु थियो। त्यहाँबाट जिप यात्रा गर्दै सुरक्षित घर फर्किनु थियो।
झिनु डाँडा जोड्न लामो झोलुंगे पुल बन्नुअघि पदयात्रीहरू लामो ओरालो झरेर फेरि कष्टकर उकालो चढ्नुपर्ने बाध्यता थियो। तस्बिरः सुरेन्द्र फुयाल
फर्किने बिहान झिनुको लामो झोलुंगे पुल तरेर पारि पुगेपछि फरक्क फर्किएर मैले घाँटी तन्काएर कुम्रोङ खोलादेखि मास्तिर हेरेँ— हामीले हिँड्न सुरू गरेको चुइले गाउँ देखिन्छ कि भनेर।
देखिएन।
तैपनि त्यहीँका हाम्रा गाइड कृष्ण बानियाँ बिदाइ गर्न जिप स्ट्यान्डसम्मै आउँदै थिए।
मुल्डे क्षेत्र चिनाउन अहोरात्र खटिने राजमान गुरूङ भने सायद मुडे वा चुइलेतिर कतै थिए होलान्, नयाँ नयाँ पदयात्रीको स्वागत गर्न तम्त्यार भएर।
आखिर उनी जस्तै युवाको मेहनत र हातेमालोको देन न हो, अन्नपूर्ण दक्षिण मुनितिर रहेका मुडे लेक, पोँडे खर्क, त्रिवेणी देवी ताल, माराम्चे र तिरिबुङ जस्ता नयाँ नयाँ पदयात्रा गन्तव्य!
***
(सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्सः @surendraphuyal