नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रलाई डिजिटल रूपान्तरणतर्फ उन्मुख गराउँदै ‘एआई फर टुरिजम एण्ड हस्पिटालिटी एक्सिलेन्स’ विषयक मानव संसाधन विकास तालिम सुरू भएको छ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा सुरू भएको तालिममा देशभरका ६० जना पर्यटन तथा हस्पिटालिटी व्यवसायी सहभागी छन्।
पाटा नेपाल च्याप्टरका अध्यक्ष खे्म लाकाईले द्रुत गतिमा बदलिँदो विश्वमा प्रतिस्पर्धी बन्न पर्यटन जनशक्तिको डिजिटल सीप र एआई दक्षता अत्यावश्यक भएको बताए।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले एआईले पर्यटन प्रवर्द्धन, बजार रणनीति र क्षेत्रीय वृद्धि रणनीतिमा क्रान्तिकारी परिवर्तन ल्याइरहेको उल्लेख गर्दै सहभागीहरूलाई अन्तरक्रियात्मक रूपमा सिकाइमा संलग्न हुन प्रोत्साहित गरे।
तालिम हङकङ पोलिटेक्निक विश्वविद्यालयको स्कुल अफ होटल एण्ड टुरिज्म म्यानेजमेन्टकी सहायक प्राध्यापक डा. फाये हाओको नेतृत्वमा सञ्चालन भइरहेको छ।
यस क्रममा एआईका आधारभूत अवधारणादेखि एआई मोडेल र एजेन्ट, नैतिक पक्ष, तथा होटल–रिसोर्ट, एयरलाइन्स, डेस्टिनेसन म्यानेजमेन्ट, माईसइभेन्ट सेवामा एआईको व्यवहारिक प्रयोगसम्बन्धी विषयमा विस्तृत छलफल हुनेछ।
नेपाली ट्राभल ट्रेडको सक्रिय सहभागिता सहित सुरू भएको तालिमले पेशागत क्षमता विकास, नवप्रवर्तन, प्रवर्द्धन तथा नेपाललाई स्मार्ट सेवा प्रदायक र दिगो पर्यटन अभ्यासतर्फ उन्मुख गराउने लक्ष्य राखेको आयोजक संस्थाले जनाएको छ।