थाइ एयर एसियाले असोज ३० (अक्टोबर १६) गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि नियमित उडान थाल्ने भएको छ।
थाइ एयर एसियाले बैंकक–भैरहवा–बैंकक उडानका लागि नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिइसकेको छ। विमानस्थलका कार्यालयका अनुसार थाइले भैरहवाबाट सातामा दुई उडान गर्नेछ।
यसअघि २०८१ कात्तिकबाट यो एयरलाइन्सले भैरहवामा नियमित उडान सुरू गरेको थियो। उडान थालेको केही महिनापछि उडान रोकेको थाइले अब फेरि नियमित उडान गर्न लागेको हो।
यसअघि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘ट्याक्सी वे’ निर्माणका लागि १० घण्टा बन्द भएपछि पाँच वटा कम्पनीले भैरहवातर्फ उडान सुरू गरेका थिए। गत वर्षको कात्तिकदेखि कतार, थाइ एयर एसिया, जजिरा, फ्लाइ दुबई र नेपाल एयरलाइन्स गरी पाँच वटा वायुसेवाले नियमित उडान थालेका थिए।
जाडोयाम लागेसँगै भैरहवाको मौसम समयमै नखुल्ने र भिजिबिलिटी कम हुँदा उडान अवतरणमा समस्या भएकाले केही समयका यी वायुसेवाले उडान रोकेका थिए।