परराष्ट्र मन्त्री आरजु राणा देउवाले नेपालगञ्ज र भारतको नयाँदिल्ली सिधा उडानका लागि आफूले सक्दो पहल गर्ने बताएकी छन्।
नेपालगञ्ज दिल्ली उडानका लागि पहल गरिदिन आग्रह गर्दै सोमबार मन्त्रालयमा आएका बाँकेका प्रमुख राजनीतिक दलका नेता, सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने बाँके र बर्दियाका सांसद, उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधि एवं अन्य सरोकार भएकाहरूसँग कुराकानी गर्दै मन्त्री राणाले सिधा उडानका लागि पहल गर्ने बताएकी हुन्।
‘सो उडानका लागि मैले पहिलेदेखि नै पहल गरिआएकै छु। नेपालगञ्ज-दिल्ली उडानको एजेण्डालाई हामी प्राथमिकतामा राखेका छौं। यो उडानले नेपाल र भारतलाई नै पारस्परिक लाभ पुग्ने र कनेक्टिभीटी जति बढाउन सक्यौं त्यति धेरै नेपाललाई फाइदा पुग्ने भएकाले म यो उडानका लागि लागिपर्नेछु,’ उनले भनिन्।
नेपाल र भारतका बीचमा कनेक्टिभिटी बढाउन सक्दा मात्र पर्यटन, पारवहन, उद्योग व्यापार तथा जनसम्पर्क लगायतमा बृद्धि हुने र यसबाट दुवै पक्षलाई लाभ पुग्ने उनको भनाइ छ।
यो उडानले पश्चिम नेपालको अर्थतन्त्रमा उल्लेख्य योगदान पुग्ने र त्यस क्षेत्रको मुहार नै फेरिने बताउँदै मन्त्री राणाले नेपालगञ्जमा पनि होटल लगायतका आवश्यक पर्यटन पूर्वाधार बनिसकेकाले नेपालगञ्ज-दिल्ली उडानका लागि आफू गम्भीरताका साथ लाग्ने बताइन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा यस विषयलाई प्राथमिकताको एजेण्डाका रूपमा समावेश गरिदिन बाँके र बर्दियाका उद्योगी व्यवसायी तथा राजनीतिक दलसहितको सर्वपक्षीय टोलीले मन्त्री राणालाई भेटेर आग्रह गरेका थिए।
त्यस अवसरमा उनीहरूले नेपालगञ्जलाई ‘मानसरोवर गेटवे’ का रूपमा स्थापित गर्नका लागि नेपालगञ्ज–दिल्ली सिधा उडान अपरिहार्य रहेको बताएका थिए।
यसबाट सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका करिब २५ जिल्लाका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने उनीहरूको भनाइ थियो।