जिल्ला प्रहरी परिसर काठमाडौंमा एकैसाथ ६ जना अधिकारीहरूको सरूवा भएको छ।
बुधबार र बिहीबार गरी काठमाडौंका प्रमुख तथा एसएसपी विश्व अधिकारीसहित छ जनाको सरूवा भएको हो। एसएसपी अधिकारी गत माघमा काठमाडौं आएका हुन्।
पछिल्लो समय भदौ २३ र २४ गते काठमाडौंमा भएको प्रदर्शनपछि काठमाडौं प्रहरीको आलोचना भइरहेको थियो। यसअघि गत चैत १५ गतेको घटनामा पनि सुरक्षा निकायको कमजोरी भएको भन्दै आलोचना भएको थियो।
यसैबीच काठमाडौंको प्रमुखको रूपमा एसएसपी रमेश थापालाई पठाइएको छ। उनी प्रहरी प्रधान कार्यालय नक्सालस्थित सहप्रवक्ताको रूपमा कार्यरत छन्।
परिसरमा रहेका दुई एसपीलाई पनि बुधबार राति सरूवा गरिएको छ।
परिसरका प्रवक्ताको जिम्मेवारीमा रहेका एसपी अपिलराज बोहरा र मुद्दा हेर्ने जिम्मा पाएका कुलदिप चन्दको पनि सरूवा भएको छ।
बोहरालाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालमा सरूवा गरिएको छ।
एसपी चन्दको लुम्बिनी प्रदेश प्रहरी कार्यालय मानवस्रोत व्यवसथापन महाशाखा दाङ दरबन्दी थियो। यद्यपि काठमाडौंमा मुद्दाको चाप बढी भएको भन्दै त्यसको व्यवस्थापन गर्नका लागि पठाइएको थियो।
अहिले प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय पाल्पाबाट एसपी पवनकुमार भट्टराईलाई परिसरमा सरूवा गरेको छ। डिएसपी हुँदा उनी काठमाडौंका फिल्ड कमाण्डर थिए।
त्यसैगरी परिसरमा रहेका तीन जना डिएसपीको पनि सरूवा भएको छ।
काठमाडौंको फिल्ड कमाण्डर रहेका सुन्दर तिवारीको पनि सरूवा भएको छ। उनको साइबर ब्युरो साइबर अपराध अनुसन्धान शाखामा सरूवा भएको छ।
डिएसपी प्रल्हाद कार्कीको नगर प्रहरी कार्यालयमा सरूवा गरिएको छ।
यसअघि गरिएको सरूवामा कार्कीलाई सिंहदरबारको जिम्मेवारी दिइएको थियो। तर पछि उनी त्यहाँ नगइ परिसरमै बसेका थिए। उनी सिंहदरबार नगएपछि डिएसपी जनार्दन घिमिरेलाई खटाइएको थियो।
त्यसैगरी, परिसरमै रहेका डिएसपी मोहनमणि अधिकारीलाई प्रहरी वृत्त स्वयम्भूको जिम्मेवारी दिएको छ।