प्रभु हेलिकप्टर स्थापनाको १० औँ वर्षमा प्रवेश गरेको छ।
यस अवसरमा प्रभु हेलि लिमिटेडका अध्यक्ष सुभाष अमात्यले पछिल्लो एक दशकमा प्राप्त साथ र सहयोगप्रति सम्पूर्णमा आभार व्यक्त गर्दै आगामी दिनमा थप गुणस्तरीय सेवा दिनेमा प्रतिबद्धता जनाए।
एक दशकअघि तत्कालीन मुक्तिनाथ हेलिकप्टरका नामबाट सञ्चालित कम्पनीलाई प्रभु ग्रुपले २०७२ सालमा सम्पूर्ण सेयर खरिद गरी प्रभु हेलिकप्टरका नामबाट सञ्चालनमा ल्याएको हो।
'नेपालको विविध र चुनौतीपूर्ण भौगोलिक अवस्थामा सुरक्षित, भरपर्दो र प्रभावकारी हवाई यातायात सेवामा प्रतिबद्ध भई निरन्तर लागेका छौँ, आगामी दिनमा पनि यात्रु तथा सेवाग्राहीबाट यही खालको माया र विश्वास पाउने अपेक्षा गर्दछौँ,’ उनले भने।
कम्पनीले हाल पोखरा, काठमाडौँ र लाङटाङमा हेलिकप्टर टुर तथा साइटसिङ सेवा उपलब्ध गराइरहेको छ भने मुक्तिनाथ, गोसाइकुण्ड, कालीञ्चोक भगवती र लुम्बिनीमा पनि हेलिकप्टर टुर उपलब्ध गराउँदै आएको छ।
साथै सगरमाथा, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको आधार शिविरमा पनि हवाई उडान गर्नुका साथै उद्धार लगायतका सेवा पनि उपलब्ध गराउँदै आएको छ।
प्रभु हेलिकप्टर लिमिटेडले सर्वसाधारणका लागि आइपिओ निष्कासनको तयारी गरेको छ।
कम्पनीका अनुसार आइपिओ जारी गर्नका लागि आइपिओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिसकेको छ।