अन्नपूर्ण नर्थ पदमार्गमा पदयात्रा जाने पर्यटकको संख्या बढेसँगै नारच्याङ गाउँ होमस्टेमा पनि पर्यटकको चहलपहल बढेको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा विगत ८ वर्षदेखि होमस्टे प्रवर्द्धन गरिए पनि अपेक्षा अनुसार पर्यटक आएका थिएनन्। होमस्टे सञ्चालक सीता तिलिजा पुनका अनुसार पदमार्गमा पर्यटक आउन थालेपछि होमस्टे बस्न आउनेहरू पनि बढेका हुन्।
‘अन्नपूर्ण पदमार्गमा आउने पर्यटक हाम्रो होमस्टेमा बस्न थालेका छन्,’ उनले भनिन् ।
अन्नपूर्ण नर्थ पदमार्गमा जाने अन्तिम गाउँ हो, नारच्याङ। मगर समुदायको बाहुल्य रहेको नारच्याङ गाउँमा स्थानीय संस्कृति, जनजीवन, प्रकृति र खानाको स्वाद लिन सकिन्छ। कालीगण्डकी नदी किनारमा अवस्थित नारच्याङ गाउँबाट ३ दिनमा अन्नपूर्ण नर्थ पदयात्रा पूरा गर्न सकिने सीताले बताइन्।
‘यहाँ बास बसेर पदयात्रा जानेहरू तीन दिनमा फर्केर यहीँ आइपुग्नुहुन्छ,’ उनले भनिन्, ‘गाउँमाथि लेकमा रहेका फराकिला पाटन घुम्न जाने पर्यटक पनि बढेका छन्।’
गाउँबाट करिब ३ घन्टाको पैदल यात्रामा लेकको समथर पाटन पुग्न सकिने उनले बताइन्।
अन्नपूर्ण नर्थ पदमार्ग विशेषगरी अन्नपूर्ण हिमाल चढ्न आउने आरोही हिड्ने पदमार्ग हो। यही बाटो भएर फ्रान्सेली आरोही मौरिस हर्जोग नेतृत्वको आरोहण दल अन्नपूर्ण आरोहण गर्न गएका थिए। सन् १०५० जुन ३ तारिखका दिन हर्जोग र लुइस लचेनले अन्नपूर्ण आरोहणमा सफलता पाएका थिए।
विश्वमा रहेका १४ वटा ८ हजार मिटरभन्दा अग्लो हिमालमध्ये पहिलो पटक हर्जोग नेतृत्वको आरोहण दलले अन्नपूर्ण अरोहणमा सफलता पाएको थियो। उक्त आरोहणको ७५ औं वर्षगाठ मनाउन हर्जोगका छोरा म्याथिएस इम्यानुएल म्याक्सिमिलेन, नाति सिमोन ज्याक्युस, फ्रान्सेली पर्वतारोहण अनुसन्धानकर्ता तथा सांगीतिक टोलीसहित १४ जना फ्रान्सेली टोली अन्नपूर्ण नर्थ पदयात्रामा निस्किएका छन्।
अन्नपूर्ण गाउँपालिकाको आयोजना एवं नेपाल पर्यटन बोर्ड गण्डकी र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को सहयोगमा अन्नपूर्ण नर्थ आधार शिविरमा हिरक महोत्सव मनाइँदैछ।
टोलीलाई नारच्याङ गाउँका स्थानीयले शनिबार बाजागाजासहित भब्य स्वागत गरेका थिए । उनीहरूले गाउँको स्थानीय संस्कृति प्रदर्शन गरेका थिए भने फ्रान्सेली टोलीले पनि आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए।
अन्नपूर्ण गाउँपालिका म्याग्दीका अध्यक्ष भारतकुमार पुनले मौरिस हर्जोगले अन्नपूर्ण चढेको ७५ वर्ष बित्दा पनि पदमार्ग प्रवद्र्धन हुन नसकेको बताए। गाउँपालिकाले पदमार्गमा चियाघर र पदयात्री बास बस्न मिल्ने होटल खोल्न सहजिकरण गरेको बताए।
‘अन्नपूर्ण आधारशिविर नर्थको प्रवद्र्धन हुन सकेन, यसले म्याग्दी जिल्ला नै पछाडि प¥यो,’ उनले भने, ‘मौरिस हर्जोग मात्र होइन, हिमाल चढ्न आउने सबै अरोही यही बाटो हिड्ने हो। यहाँ पदयात्री पनि ल्याउन हामीले पहल गरिराखेका छौं।’
नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले अन्नपूर्ण दिवसको अवसरमा अन्नपूर्ण नर्थ क्षेत्रको प्रचार–प्रसार गर्न पदयात्रा आयोजना गरिएको जानकारी दिए। उनले मौरिस हर्जोगद्वारा सन् १९५० मा लेखिएको पुस्तक ‘एन्नपूर्ण’ प्रकाशित भएपछि यस क्षेत्रमा पर्यटनको विकास सुरु भएको बताए।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी अध्यक्ष कृष्णप्रसाद आचार्यले मौरिस हर्जोगका छोरा र परिवारसहितको टोली अन्नपूर्ण दिवस मनाउन आएको बताए। उनले अन्नपूर्ण बेसक्याम्प साउथतर्फ पर्यटकको चाप उच्च भए पनि नर्थतर्फ कम भएकाले त्यसको प्रचारप्रसार गर्न नेपाल पर्यटन बोर्डसँग मिलेर काम भइरहेको जानकारी दिए।
जुन ३ मा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा मौरिस हर्जोग लगायत आरोहीहरूको सालिक अनावरण कार्यक्रम तय गरिएको छ। साथै, मौरिस हर्जोग पदमार्गको पनि उद्घाटन गरिनेछ।





तस्बिरः राकेश मगर

