गण्डकी प्रदेशका पर्यटकीय गाउँहरूमा पर्यटक पठाउन पोखरामा ‘होमस्टे मार्ट’ आयोजना गर्ने भएको छ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले आउँदो जेठ ९ र १० गते पर्यटकीय गाउँको प्रवर्द्धन गर्न होमस्टे मार्ट आयोजना गर्न लागेको बोर्डका गण्डकी प्रमुख मणिराज लामिछानेले जानकारी दिए।
उनका अनुसार होमस्टे मार्टमा गण्डकीका २५ वटा होमस्टे गाउँहरूका विशेषता, प्रकृति, संस्कृति र रैथाने खानाको प्रवर्द्धन गरिने छ।
‘होमस्टे मार्टले गाउँमा रहेका व्यवसायीलाई शहरका व्यवसायीसँग जोड्छ। पर्यटकीय शहर पोखरा आउने पर्यटकलाई गाउँ पुर्याउने पुलको काम गर्नेछ,’ उनले भने, ‘यो कार्यक्रमले होमस्टेको बजारीकरण गर्न सहयोग समेत गर्नेछ।’
लेकसाइडको क्रिष्टल महलमा आयोजना गरिने होमस्टे मार्टमा गोरखा र म्याग्दीबाहेक गण्डकीका बाँकी ९ वटा जिल्लाका सामुदायिक होमस्टे सहभागी हुनेछन्। पर्यटनमार्फत् गाउँमै आयआर्जनको अवसर सिर्जना गर्न र युवा पलायन रोक्न पनि होमस्टे मार्टले सहयोग गर्ने लामिछानेले बताए।
होमस्टे मार्टमा सहभागी हुन आउने सामुदायिक होमस्टेका प्रतिनिधि एवं व्यवसायीले आफ्नो गाउँ घुम्न आउने पर्यटकका लागि दिने प्याकेज सुविधा, खाना, कला, संस्कृति र प्रकृतिका बारेमा प्रदर्शन गर्नेछन्। सामुदायिक होमस्टेलाई प्रदान गरिएको स्टलमार्फत उक्त प्रदर्शनी राखिने छ।
गण्डकी प्रदेशका गाउँहरूमा होमस्टे व्यवसायी फैलिँदै गएपनि प्रचार प्रसार र प्रवर्द्धनमा अभाव हुन नदिन होमस्टे मार्ट कार्यक्रम राखिएको गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)की अध्यक्ष शोभा सापकोटाले बताइन्।
‘ग्रामिण पर्यटन प्रवर्द्धन भएमा शहरमा पनि पर्यटकको चाप बढाउन सकिन्छ,’ उनले भनिन्, ‘होमस्टेका समस्या समाधान गर्न र एकअर्काका अनुभव आदानप्रदान गर्न पनि यस कार्यक्रमले सहयोग गर्छ।’
गाउँमा पर्यटन व्यवसाय स्थापित हुनु महत्वपूर्ण रहे पनि रैथाने कला, संस्कृति, प्रकृति र खानामार्फत् पर्यटन प्रवर्द्धन गर्नु राज्यको दायित्व भएको उनले बताइन्।
गण्डकी प्रदेशका सामुदायिक होमस्टेको प्रवर्द्धन गर्न पहिलोपटक २०७५ सालमा पोखरामा होमस्टे मार्ट आयोजना गरिएको थियो। त्यसपछि २०७६ सालमा दोस्रो पटक होमस्टे मार्ट आयोजना गरिए पनि त्यसपछि रोकिएको थियो। तेस्रो होमस्टे मार्टमार्फत् ग्रामिण पर्यटन प्रवर्द्धन अभियानलाई निरन्तरता दिएको बोर्डका गण्डकी प्रमुख लामिछानेले बताए।
नेपालको १६ पञ्चवर्षीय योजनाको लक्ष्य २५ लाख पर्यटक भित्राउने र कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा पर्यटन क्षेत्रको योगदान ७ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ। उक्त लक्ष्य हासिल गर्न ग्रामिण पर्यटन प्रवर्द्धन गरी रोजगारीको सिर्जना गर्न आवश्यक रहेको लामिछानेले बताए।
होमस्टे मार्टमा सहभागी हुन अहिले चलिरहेका सामुदायिक होमस्टे दर्ता भएको, प्यान वा भ्याट नम्बर लिएको, नवीकरण भएको, सरकारलाई तिर्नुपर्ने कर तिरेको लगायत मापदण्ड तोकेर छनौट गरिएको बोर्डले जनाएको छ।
गण्डकी प्रदेश सरकारले सामुदायिक होमस्टेमा पूर्वाधार विकास गर्न यसअघि करिब ५० करोड लगानी गरेको गण्डकीका पर्यटन मन्त्रालयका सचिव जीवन तिवारीले बताए।
केही होमस्टेमा अनुदान दुरूपयोग भएको सूचना पाएको हुँदा त्यसबारे छानबिन गर्ने उनले बताए।
‘कुन कुन होमस्टेमा कति रकम गएको छ भनेर हामीले हेर्दैर्छौं, कतै दुरूपयोग भएको छ भने कारबाही अघि बढ्छ,’ उनले भने, ‘अनुदान लिन दर्ता गर्ने अनि नवीकरण नगर्ने प्रवृत्ति देखिएको छ। यसको रोकथाम गर्न जरूरी छ।’
उनका अनुसार गण्डकी प्रदेशमा ३३० वटा होमस्टे दर्ता भएका छन्। तर अधिकांशले नवीकरण गरेका छैनन्। सबै कानुनी प्रक्रिया पूरा गरेर चलेका होमस्टेलाई मात्र सहयोग गर्ने गरी प्रदेश सरकारले तयारी गरेको पनि उनले बताए।
होमस्टे मार्टमा गाउँ पर्यटन प्रवर्द्धन गर्न विभिन्न शीर्षकमा अन्तक्रिया समेत आयोजना गरिएको छ।
नेपाल पर्यटन बोर्ड गण्डकीको आयोजना एवं गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) सह–आयोजक रहेको हामेस्टे मार्टका लागि पर्यटन मन्त्रालय गण्डकी र पोखरा पर्यटन परिषदले सहकार्य गरेको छ।