नेपाल पर्यटन बोर्डको फोटो नेपाल प्रदर्शनी अन्तरगत “कुन्डलिनी–२” नामक एकल चित्रकला प्रदर्शनी तथा “कुन्डलिनी योग” पुस्तकको लोकार्पण भएको छ।
नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।
चित्रकार भीमप्रसाद शर्माको १३ औं एकल प्रदर्शनीका रूपमा आयोजित यस कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा लगायतको उपस्थिति थियो।
कार्यक्रममा मन्त्री पाण्डेले नेपालको कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा यस्ता सिर्जनात्मक प्रदर्शनीहरूको भूमिका महत्वपूर्ण रहेको बताए।
पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले बोर्डले आगामी दिनमा कलाकार र फोटोग्राफरहरूसँग सहकार्य गर्दै पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने बताए।
प्रदर्शनी जेठ १० सम्म नि:शुल्क अवलोकन गर्न सकिनेछ।
नेपाल पर्यटन बोर्डले फोटोनेपालको पोर्टलमा फोटो प्रतियोगिता पनि सञ्चालन गर्दै आएको छ, जसमा प्रत्येक महिनाका उत्कृष्ट ३ तस्बिरलाई पुरस्कार दिइनेछ। जनही २५ हजार पुरस्कार दिने व्यवस्था छ।
नेपालको हिमाल, सम्पदा वा लुकेका सौन्दर्य स्थलहरूलाई झल्काउने कुनै पनि दृश्यलाई पठाउन बोर्डले आग्रह गरेको छ।