कैलाश–मानसरोवरको तीर्थयात्रा होस् कि ट्रेकिङ, धेरैको रोजाइमा पर्छ। तर जोखिमपूर्ण भएकाले यो यात्रा निजी ढंगले एक्लै गर्न उपयुक्त छैन। भरपर्दो ट्राभल एजेन्सी र दसदेखि १२ दिनसम्म लाग्ने हुँदा राम्रो पूर्व तयारी चाहिन्छ।
हामीले यो लेखमा कैलाश–मानसरोवर यात्रामा जाँदा ध्यान दिनुपर्ने कुरा, एजेन्सी छनोट, शुल्क, जोखिम, स्वास्थ्य रक्षा, ट्रेकिङका सामग्री लगायत विषयमा जानकारी दिएका छौं।
पर्यटन व्यवसायीहरूका अनुसार कैलाश–मानसरोवर यात्राको उपयुक्त समय वैशाख मध्यदेखि असोज मध्य (मेदेखि सेप्टेम्बर) सम्म मानिन्छ।
यो क्षेत्र तिब्बतमा पर्ने भएकाले यात्राका लागि चीन सरकारको अनुमति (भिसा) लिनुपर्छ। नेपालमा यस्तो अनुमति चिनियाँ दूतावासबाट प्राप्त हुन्छ। अनुमति लिने काम ट्रेकिङ एजेन्सीले गरिदिन्छ। चीन प्रवेशको नाकामा भिसा जाँचबुझ हुन्छ।
यो यात्रामा जान ल्हासा, हिल्सा र रसुवागढी गरी तीनवटा नाका प्रयोगमा छन्।
काठमाडौंबाट जहाजमार्फत ल्हासा भएर कैलाश–मानसरोवर जान सकिन्छ। जहाजमा जानेहरू ल्हासा पुगेर त्यहाँबाट गाडीमा जान पाउँछन्। तर ल्हासाको उडान नियमित नहुने र भाडा महँगो पर्ने भएकाले धेरैजसो यात्रु स्थलयात्रा नै रोज्छन्।
गाडीबाट जान रसुवागढी सहज र कम खर्चिलो हुने भएकाले ट्रेकिङ एजेन्सीहरूले यही नाका बढी प्रयोग गर्छन्। कोरोनापछि भारतीय पर्यटकका लागि कैलाश–मानसरोवर यात्रा बन्द छ। भारतीयसहित केही नेपालीहरू हिल्सा नाकाबाट पनि जान्थे। हाल हिल्सा नाकाबाट नेपालीहरू फाटफुट मात्र जाने गरेका छन्।


कैलाश यात्रामा मुख्य दुइटा आकर्षण छन्।
एक– कैलाश मानसरोवर दर्शन गरेर ल्हासा घुमफिर।
दुई– मानसरोवर दर्शनपछि कैलाश पर्वत परिक्रमा। यो परिक्रमालाई 'कोरा गर्ने' पनि भन्छन्।
केही यात्रु मानसरोवरमा पूजा गरेर ल्हासा घुम्न जान्छन्। केही यात्रु कैलाश पर्वतको ट्रेकिङमा जान्छन्। आफू कुन यात्रामा जाने हो त्यसको जानकारी एजेन्सीलाई पहिल्यै दिनुपर्छ। त्यही अनुसार एजेन्सीले यात्रा अनुमति लिन्छ।
एजेन्सीहरूले ७० वर्षभन्दा बढी उमेरका यात्रुलाई कोरा नगर्न सल्लाह दिन्छन्।
मानसरोवर दर्शनपछि कोरा गर्ने र ल्हासा जानेहरू चार हजार ६७० मिटर उचाइमा अवस्थित तिब्बतको दार्चेन बजारबाट छुटिन्छन्। कोरा परिक्रमा गर्दा पाँच हजार ६३० मिटर उचाइमा अवस्थित डोल्मा ला (पास) पार गर्नुपर्छ। यो यात्रा दुई दिन र एक बिहानको हुन्छ।
यति उच्च हिमाली भेगमा पहिलो पटक यात्रा गर्नेहरूलाई जोखिम हुन सक्छ। यो उचाइमा श्वासप्रश्वासमा समस्या हुन सक्छ। यही कारण कतिपय यात्रु कोरा पूरा नगरी बीचैबाट फर्कन बाध्य हुन्छन्।
अल्पाइन कैलाश ट्रेकका सञ्चालक प्रदीप पण्डितका अनुसार प्रतिकूल स्वास्थ्य अवस्था ख्याल नगरी यात्रा गर्दा ज्यान समेत जाने गरेको छ।
'कैलाश पर्वतको ट्रेकिङमा जाँदा आफ्नो स्वास्थ्य अवस्था र उमेर ख्याल गर्नुपर्छ। कतिपय यात्रु जबर्जस्ती हिँड्छन्। तर जति उचाइमा पुग्यो उति गाह्रो हुन्छ,' उनले भने, 'उचाइमा पुगेपछि तल झर्न पनि गाह्रो हुन्छ। नजिकै अस्पताल छैन। यात्रुले यो कुरा ख्याल गर्नुपर्छ।'


कतिपय यात्रु रकम तिरे अनुसार खाना, स्वास्थ्य परीक्षण लगायत सुविधा नपाएको गुनासो पनि गर्छन्।
यो लामो र कठिन यात्रा सहज बनाउन भरपर्दो एजेन्सी छान्नुपर्छ। हाल प्रतिव्यक्ति एक लाख ५० हजारदेखि एक लाख ९० हजार रूपैयाँसम्म खर्च लाग्छ।
एजेन्सीहरूले खाना, बाससहितको र खाना-खाजाबाहेकको प्याकेज चलाएका हुन्छन्। तर आवश्यक परेका बेला होटल–खाजाघर नपाइन सक्ने भएकाले सबै कुरा समावेश भएको प्याकेज लिन उपयुक्त हुन्छ।
कैलाश–मानसरोवर यात्रा गराउने एजेन्सीहरूको छाता संस्था एसोसिएसन अफ कैलाश टुर्स अपरेटर्स नेपाल (एक्टोन) छ। यो छाता संस्थामा ३० वटा एजेन्सी आबद्ध छन्। यीबाहेक अन्य केही एजेन्सीले पनि यात्रा गराउँछन्।
कैलाश–मानसरोवर चिसो ठाउँ भएकाले न्यानो लुगा आवश्यक पर्छ। कोरा गर्ने हो भने ट्रेकिङका लागि आवश्यक झोला, टेक्ने लौरो, ट्रेकिङ जुत्ता, थर्मस, सुख्खा खानेकुरा, चकलेट लगायत सामग्री आवश्यक पर्छ। त्यस्तै जुनसुकै बेला पानी पर्न सक्ने भएकाले रेनकोट बोक्नुपर्छ। ट्रेकिङ जाँदा सकेसम्म कम तौलका हलुका सामग्री बोक्नुपर्छ। यसो भए हिँडाइ सजिलो हुन्छ।
पहिलो दिन काठमाडौंबाट गाडीमार्फत रसुवाको स्याफ्रुबेँसी पुगिन्छ। दोस्रो दिन अध्यागमनको काम पूरा गरेर नाका प्रवेशसँगै केरूङ बजार पुगिन्छ। तेस्रो दिन केरूङबाट सागा, चौथो दिन कैलाश मानसरोवर र पाँचौं दिन दार्चेन पुगिन्छ।
छैटौं दिन दार्चेनबाट देरापुक, सातौं दिन जुजुलपुक हुँदै आठौं दिन दार्चेन पुगेर उसै दिन सागा आइपुगिन्छ। नवौं दिन सागाबाट केरूङ पुगिन्छ। यसरी केरूङ हुँदै दस दिनमा ओहोरदोहोर गर्न सकिन्छ।

