पोखराको मौसम शनिबार धमिलो छ। आकाश खुलेको छैन। हिमाल छोपिएको छ। घाम चर्किन नपाउँदा चिसो बढेको छ।
धमिलो अनि चिसो मौसममा पनि पोखरेली व्यवसायी अंग्रेजी नयाँ वर्षको स्वागतार्थ तातिएका छन्। उनीहरूले लेकसाइडको शहिदचोकदेखि खहरेसम्म साढे ३ किलोमिटर सडकमा यातायात बन्द गरेका छन्। सडकमा खानाका विविध परिकारदेखि हस्तकलाका सामग्री र पुस्तकसम्म बिक्री गर्न राखेका छन्।
अंग्रेजी नयाँ वर्ष २०२५ को स्वागत गर्न उनीहरूले सडक महोत्सव आयोजना गरेका छन्। जहाँ सडकमै विविध सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएका छन्। महोत्सवको उद्घाटन गर्न लेकसाइडको खहरेदेखि युवा क्लब, महिला समूह, व्यावसायिक समूह लगायतले शनिबार दिउँसो झाँकीसहित र्याली निकाले।
महोत्सव संयोजक विकास भट्टराईका अनुसार पोखराका ६० वटाभन्दा बढी समूहले झाँकीसहित र्यालीमा भाग लिएका थिए। परम्परागत वेशभूषा, बाजागाजासहित निकालिएको र्याली लेकसाइडकै कोमागाने पार्क पुगेर टुङ्गिएको थियो। जहाँ महोत्सवको उद्घाटन समारोह आयोजना गरिएको थियो।
अंग्रेजी नयाँ वर्ष मनाउन यसरी महोत्सव आयोजना गर्न थालिएको २६ वर्ष पुगेको छ। ‘अफ सिजन’को शून्यता चिर्न यसरी महोत्सव आयोजना गरिएको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताए।
‘अंग्रेजी नयाँ वर्षको समयलाई अफ सिजन मानिन्थ्यो। जुनसुकै सिजनमा पनि पोखरा घुम्नका लागि उपयुक्त छ भन्ने सन्देश यो महोत्सवले दिएको छ,’ उनले भने।
महोत्सवका अवसरमा मंगलबार साँझ ४ बजेदेखि मध्यरातसम्म ‘द इन्ड गेम’ शीर्षकमा कन्सर्ट आयोजना गरिएको छ। कन्सर्टको जिम्मा लिएको प्रचार नेपाल प्रालिका निर्देशक आशिष पुरीका अनुसार कन्सर्टमा कलाकारहरू सविन राई एण्ड द स्यारो, पूर्ण राई एण्ड दाजुभाइ, डोङ, देवेन्द्र बब्लु एण्ड फिरन्ते, इन्फ्लेम ब्याण्ड लगायतको प्रस्तुती रहनेछ। महोत्सवको मुख्य स्टेज कोमागाने पार्कमा हुनेछ।
यसका अलवा हरेक दिन साँझ लेकसाइडको सडकमै ३ वटा स्टेज बनाएर सांस्कृति कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको छ। जहाँ स्थानीय कला र संस्कृति प्रदर्शन गरिनेछ।
‘महोत्सवमा सबै प्रकारका पर्यटक रमाउन सकून् भनेर हामीले सोही अनुसार कार्यक्रम व्यवस्थापन गरेका छौं,’ रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले भने।
महोत्सवका परिकल्पनाकार वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले यस्ता गतिविधि हरेक महिना आयोजना हुनुपर्ने बताउँछन्। पर्यटन प्रवर्द्धन गर्न सांस्कृति गतिविधिहरू अत्यधिक हुनुपर्ने उनले बताए।
‘पोखरामा नेपालका सबै कला, संस्कृतिको प्रवर्द्धन र प्रदर्शन आवश्यक छ, जसले नेपाली र विदेशी पर्यटकलाई आकर्षण गर्न सक्छ,’ उनले भने, ‘सरकारले सहयोग गर्ने हो भने विदेशी कला, संगीत र संस्कृति पनि पोखरामा प्रदर्शन गर्न सकिन्छ।’
सडक महोत्सवलाई अब अन्तर्राष्ट्रिय स्तरमा आयोजना गर्नुपर्ने उनको सुझाव छ। नेपालको सबैभन्दा ठूलो सडक महोत्सव पोखरामा भइरहेको भन्दै उनले यसको सिको अरू पर्यटकीय गन्तव्यले पनि गर्न थालेको उनले बताए।
पोखरा सडक महोत्सवसँग जुधाएर अन्य गतिविधि गरिएकोमा भने व्यवसायीले गुनासो पोखेका छन्।
महोत्सवकै छेको पारेर नेपाल ड्रागन बोट एसोसिएसन र चिनियाँ राजदूतावासको आयोजनामा ड्रागन बोट रेस आयोजना गरिएको छ भने पोखराकै पामेमा बेलुन फेष्टिभल चलिरहेको छ।
‘एउटा महोत्सवसँग अर्को महोत्सव जुधाउन भन्दा फरक फरक समयमा कार्यक्रम आयोजना गर्दा राम्रो हुन्छ,’ व्यवसायी भट्टराईले भने, ‘नयाँ वर्षका बेला भएभरका सबै कार्यक्रम गर्नुभन्दा फरक फरक समयमा गर्दा पर्यटन प्रवर्द्धन हुन सक्छ।’
पोखराका मेयर धनराज आचार्यले महोत्सवहरू जुधाउन नहुने पक्षमा आफू पनि रहेको बताए।
आफूले महोत्सव जुध्न नदिन प्रयत्न गरेको पनि उनले दाबी गरे। सडक महोत्सवलाई महानगरले सहयोग गर्ने भन्दै उनले पोखराको पर्यटन विकास र प्रवर्द्धनमा सधैं व्यवसायीको साथमा रहने बताए।
महोत्सवको उद्घाटन गरेका सूचना, संचार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सडक महोत्सव जस्तै गतिविधि अरू समयमा पनि हुनुपर्ने बताए। पोखरा पर्यटनको केन्द्र भएको भन्दै उनले पर्यटकलाई आकर्षण गर्ने खालका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्न सुझाव दिए।
‘एउटा कार्यक्रम सकिएपछि अर्को खालका कार्यक्रम गर्न सकिन्छ। जसले पर्यटकको ध्यान खिच्न सकोस्,’ उनले भने, ‘नयाँ वर्षमा पोखरा आउने पर्यटकको बाढीले मुलुकको अर्थतन्त्रलाई सकारात्मक दिशा दिन सक्छ।’
पोखरालाई पर्यटकीय सहरका रूपमा स्थापित गर्न व्यवसायी र तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने उनको सुझाव छ।
-1735390584.jpg)
-1735390584.jpg)
-1735390583.jpg)
-1735390582.jpg)
-1735390582.jpg)
-1735390582.jpg)
-1735390583.jpg)
-1735390582.jpg)
-1735390581.jpg)
-1735390581.jpg)
-1735390583.jpg)